प्रदेश नम्बर एकको राजधानी समेत रहेको मोरङ जिल्लालाई सुगम जिल्ला मानिन्छ । यही जिल्लाका केही स्थानहरू भने यति पिछडिएका छन् कि यो मोरङ नै हो र भनेर पत्याउन मुस्किल पर्छ ।
मोरङको निर्वाचन क्षेत्र नं १ मा पर्ने केराबारी, मिक्लाजङ गाउँपालिका र लेटाङ नगरपालिकामा पर्ने जिल्लाका उत्तरी क्षेत्रका जनताले अहिलेसम्म राज्य भएको महसुस गर्न सकेका छैनन् ।
तत्कालीन सिंहदेवी पूरै गाविस अहिले केरावारी गाउँपालिका वडा नम्बर २ मा परिणत भएको छ । यसको केन्द्र साविकको केरावारी गाविस कार्यालय हो ।
विषेशगरी केराबारी गाउँपालिका १ र २ नम्बर वडा धनकुटा जिल्लासँग सीमाना जोडिएको विकट पहाडी क्षेत्रमा पर्छ । सिंहदेवीभरि अहिलेसम्म पर्याप्त सञ्चार, विद्युत् र यातायात, शिक्षा, स्वस्थ्य सडक जस्ता आधारभूत सुविधा पुग्न सकेका छैनन् । केही स्थानमा भने भर्खरैमात्र सडक, विद्युत् पुगेको छ भने यातायातको सुविधाबाट त्यस भेगका जनता अहिले पनि टाढै छन् ।
स्थानीयवासीका अनुसार पहाडी भू–वनोटले चारैतिर घेरिएको मोरङको सिंहदेवीमा उब्जनीका लागि खेती गर्ने स्थानको अभाव हुँदा त्यसक्षेत्रका बहुसंख्यक जनता मर्कामा छन् ।
‘धानखेतीका लागि जमिन छैन, यहाँ फल्ने मकै र कोदोले मुस्किलले तीन महिना पनि टार्न धौ धौ हुन्छ । पेट भर्नका लागि ९ महिना अन्न नकिनी अरू विकल्प छैन ।’ केरावारी गाउँपालिकामा–२ सिंहदेवी संगम टोलका राजेन्द्र अधिकारीले दुखेसो पोख्नुभयो ।
उहाँका अनुसार पछिल्लो समय यहाँका धेरै युवाहरू वैदेशिक रोजगारीमा गएका छन् । स्थानीयले धेरै स्थानमा आफैंले पैसा उठाएर सडक निर्माण गरेका छन् । पछिल्लो समय भने स्थानीय तह, प्रदेश र संघ सरकारले सडक निर्माणमा केही बजेट छुटाएर सडक निर्माणको काम अघि बढाएको छ ।
‘भौगोलिक विकटताले हामीले धेरै दु:ख खेपेका छौं, राज्यले पनि हामीप्रति साहनुभूति देखाएन’ अधिकारीले गुनासो पोख्नुभयो ।
एक घण्टाको पैदल दूरीमा रहेको लेचाङ्गोमा रहेको माध्यामिक विद्यालय र उपस्वास्थ्य केन्द्र सिंहदेवीका बासिन्दाको शिक्षा र स्वास्थ्यका लागि प्रमुख केन्द्र हो ।
त्यसैगरी उत्तिकै दूरी पार गरेपछि फाइवा निमावि विद्यालय रहेको छ। त्यसमापनि पाँचसम्म मात्र सरकारी दर्ता छ त्यसमाथि निजीस्तरमा शिक्षक राखेर आठ कक्षासम्मको पठन पाठन गरिँदै आएको छ ।
पूरै वडामा खानेपानीको समस्या छ । केराबारीमा रहेको गाउँपालिकाको केन्द्रमा आउँदा दिनभरको समय खर्चिनुपर्नेछ ।
गाउँपालिकाको केन्द्र पुग्न सिंहवेदीका बासिन्दालाई ३ घण्टा पैदल नहिँडी सुखै छैन । जिल्लाकै विकट मानिने यी क्षेत्र सबै भौगोलिक रूपमा पहाडी इलाकामा पर्छन् ।
छैन चुनावको रौनक
सदरमुकाम विराटनगरबाट करिव ६ घण्टाको सडक र पैदक यात्रापछि पुगिने साविकका रमितेखोला, पाटीगाउँ, सिंहदेवी, भोगटेनी र वारंगीमा चुनावको कुनै चहल पलह देखिँदैन । त्यस क्षेत्रका मतदाता पनि नेताहरूसँग खासै सरोकार समेत राखेको देखिदैन् । न यहाँको निर्वाचन कार्यालयले निर्वाचन लक्षित गतिविधि सञ्चालन गरेको छ, न राजनीतिक दलहरू चुनावी प्रचार–प्रचारमा पुगेका छन् ।
स्थानीय बासिन्दाहरू चुनाव भन्दा पनि मेलापातमा नै व्यस्त देखिन्छन्। स्थानीय चुनाव हुने जानकारी पाए पनि गाउँमा चुनावको माहोल नदेखिएको लेटाङ–७ वारगीका बुद्धविर लिम्बुले बताउनुभयो ।
‘चुनाव मंसिर ४ गते हुन्छ भनेर सुनेको चाहिँ हो तर अहिलेसम्म कुनै नेता भोट माग्न आएका छैनन् ।’ उहाँले थपे, ‘आउने नेताहरूलाई यो पल्ट पनि गाउँको विकास गर्दैनौं भने भोट पनि हालिन्न भन्ने सोचमा छु । जसले गाउँको विकास गर्छ राम्रो मान्छे छानेर त्यसैलाई भोट हालिन्छ ।’
दलहरूले टिकट दिँदा पनि स्थानीय मानिसलाई दिँदा उसले गाउँको विकास गर्ने यहाँका जनताको चाहना छ । सुगम जिल्ला भनेर राज्यले पनि यस क्षेत्रका लागि बजेट विनियोजन गर्न ध्यान नदिदा जिल्लाकै विकट पहाडी क्षेत्रमा पर्ने यी क्षेत्र विकासमा सदियौदेखि पछाडि परेको लेटाङ–७ रमितेका नरेन्द्रकुमार लिम्बुले बताउनुभयो ।
पूर्व बडाध्यक्ष समेत रहनुभएका लिम्बुका अनुसार चुनावताका आश्वासनको पोका बाँडेर जितेपछि प्रदेश र संघको माननीय भएपछि त्यस क्षेत्रमा फर्केर नजाने गरेका कारण स्थानीयले उनीहरूप्रति भरोसा गर्न छाडेका छन् । त्यस क्षेत्रमा हिउँदको समयमा भर्खरैबाट गाडी कुद्न थाले पनि बर्खामा गाडी कुद्ने अवस्था छैन । राम्रो सडक नहुँदा र धेरै स्थानमा पर्ने खोलामा पुलको अभाव भएकाले बर्खामा गाडी कुद्न सक्ने अवस्था नरहेको लिम्बुले बताउनुभयो । राम्रो विद्यालयको अभावमा त्यसक्षेत्रका अभिभावकले आफ्ना नानीहरू तराईमा आफन्तको घरमा राखेर पढाउने गरेका छन्। स्वास्थ्य, खानेपानी, विद्युत्को अवस्था अहिले पनि उस्तै छ । खासै त्यस क्षेत्रका बासिन्दाले पविर्तन महसुस गर्न पाएका छैनन् ।
साविकका सिंहदेवी, रमितेखोला, पाटीगाउँ, सिंहदेवी, भोगटेनी र वारंगीमा बहुसंख्यक आदिवासी जनजातिको बसोबास छ ।
केरावारी गाउँपालिका मध्ये सिंहदेवीको १, २ नम्वर वडामा सडक सञ्जालले जोडिन सकेको छैन । जिल्लालाई सुगम भनिए पनि यतिका वर्षसम्म सञ्चार, विद्युत् र यातायातले जोड्न नसक्दा आफूहरूलाई मुलुकको दुरदराजको नागरिकको अनुभूति हुने गरेको स्थानीय द्रोण मगर बताउनुहुन्छ ।
‘कुनै समस्या पर्दा यातायातका लागि सडक चाहिने रहेछ । न यहाँ सडक सुविधा छ, न त बिजुली नै,’ मगरले दु:ख पोख्नुभयो ।
उहाँ पनि आसन्न निर्वाचनमा यस क्षेत्रको समस्यालाई राम्ररी बुझेको जनप्रतिधि चुनिएको अवस्थामा आफ्नै ठाउँको विकास हुनेमा आशावादी हुनुहुन्छ। द्रोण भन्नुहुन्छ, ‘हाम्रो क्षेत्रका डाँडा छिचोल्दै वस कुदाउने हाम्रो दु:खमा मलमपट्टी लगाउन सक्ने व्यक्ति यो गाउँको लागि आवश्यक छ।’
सदरमुकाम पुग्न एक दिन
केराबारीदेखि सिंहदेवीसम्मको सडक निर्माणको काम धेरै अघिदेखि सुरू भए पनि भर्खरै मात्र सिधा यातायात सञ्चालनमा आएको छ तर हिउँद याममा मात्र मोटर कुद्ने अवस्थामा यहाँका सडकहरू रहेका छन् ।
सिंहदेवीका स्थानीयलाई यो सडकको प्रयोग गदै विराटनगर सदरमुकाम विराटनगर पुग्न गाडीको यात्रा जान मात्र कम्तिमा ६ घण्टा लाग्ने गरेको छ। ‘विराटनगर जान मात्र एक दिन त ठीक्क हुन्छ फर्कने त कुरै हुन्न एक दिनको वास विराटनगरमै हुन्छ ।’ सिंहदेवी हावेचौरीका अनिल थापा मगरले भन्नुभयो ।
अनिलका अनुसार सिंहदेवीवाट सिधा केरावारी जोड्ने सडक पूर्णरूपमा सञ्चालनमा आउन सके २ घण्टामै सदरमुकाम विराटनगर पुग्न सकिन्छ।
सिंहदेवीका पूर्व गाविस अध्यक्ष डिल्ली शर्मा अधिकारीका अनुसार साविकको सिंहदेवी गाविस पूरै यातायातको सुविधावाट बञ्चित छ । वडावासीलाई पनि केरावारी गाउँपालिका कार्यालयमा काम लिएर जार्नुपर्दा अहिले पनि तीन घण्टा पैदल हिँड्नुपर्छ ।
केरावारी गाउँपालिकाको कुल जनसंख्या ३० हजार ४ सय ३१ छ । पहाडी इलाका भएकाले साविकको सिंहदेवी, याङशिला र पार्टीगाउ गाविसवासीको मुख्य आम्दानीको स्रोत अम्रिसो हो ।
हाल यी तिनवटै गाविस केरावारी गाउँपालिका अन्तर्गत पर्दछ । तराई मधेस भनेर चिनिने जिल्लामा पाटीगाउँ, सिंहदेवी, भोगटेनी र वारंगी गाविस पनि यस्तै विकट पहाडी स्थानीय तह हुन् । त्यसैगरी याङशिला, केराबारी, लेटाङ र टाँडीलगायतका गाविसका केही वडाहरू पनि पहाडी क्षेत्रमा पर्दछन् ।
अहिले मोरङका उत्तरी क्षेत्रमा पर्ने याङशिला, पार्टीगाउँ, सिंहदेवी गाविस लेटाङ नगरपालिका १ नम्वर वडासहित केरावारी गाविस मिलेर केरावारी गाउँपालिका बनेको छ । त्यसैगरी अर्को मिक्लाजुङ गाउँपालिकामा रमिते खोला, टाँडी, जाते ३, ४ वडा मधुमल्ला १ देखि ६ सम्मको वडा मिलेर बनेको छ ।
त्यसैगरी लेटाङ नगरपालिकामा लेटाङ भोगटेनी नगरपालिका २ देखि ११ सम्मका वडा जाते ५, ६, ९, १०, ११ र १२ नम्वर वडा र वारङ्गी गाविस पूरै मिलेर बनेको छ । जसमा मिक्लाजुङ्ग गाउँपालिका र केराबारी गाउँपालिकाका उत्तरी क्षेत्र बढी विकट छन् । विकाट पहाडी त्यस क्षेत्रमा करिब ५ हजार बढी घरधुरी छन् ।
केराबारी, मिक्लाजङ गाउँपालिका र लेटाङ नगरपालिकामा समेटिएको मोरङको निर्वाचन क्षेत्र नं १ बाट आगामी मंसिर ४ हुने प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनका तर्फबाट काग्रेसका जिल्ला सभापति समेत रहनुभएका डिकबहादुर लिम्बु र एमालेका तर्फकबाट धनश्याम खतिवडा उम्मेदवार रहुनुभएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
ध्रुव भट्टराई/मोरङ का अन्य पोस्टहरु:
- कोशीमा सांसदहरूले भत्ता बापत १९ लाख रुपैयाँ बुझे, बनेन जनसरोकारका कानुन
- झापा र मोरङमा हात्ती आतङ्क, पाँच जनाको ज्यान गयो
- ‘विराटनगरलाई बजेट विनियोजन गर्दा उपेक्षा नगरियोस्’- अध्यक्ष नवीन रिजाल
- हिँड्ने बाटो रोकिएपछि बढ्यो कोसीका तीन जिल्लामा हात्तीको आक्रमण
- कर्मचारी नहुँदा कोशी लोकसेवा आयोग आफै समस्यामा
- कोशी प्रदेश सरकारको कृषिमा १६ करोड बढी अनुदान
- बलिकाहरूमाथि हुने यौनजन्य हिंसाका घटना बढ्दो
- चुलोले स्खलित गरेको पदको गरिमा
- कोसीको खेल क्षेत्रमा हालसम्मकै न्यून बजेट: निराश छन् खेलाडि
- कोसीमा चार हजार ३५८ महिला हिंसाका उजुरी, अधिकांश मिलापत्र