लुम्बिनी प्रदेशको व्यापारिक सहर बुटवलमा दुईवटा केबलकार सञ्चालन हुँदै

नेपालसहित भारतका विभिन्न पर्यटक तान्ने योजनासहित सञ्चालन हुने यी केबलकारले थला परेको अर्थतन्त्रसमेत सुधार हुने अपेक्षा

लुम्बिनी प्रदेशको व्यापारिक सहर बुटवलमा दुईवटा केबलकार सञ्चालन हुने भएका छन्। बुटवल गोलपार्कदेखि बसन्तपुरसम्म र बुटवल फूलबारीदेखि पाल्पाको नुवाकोटसम्म केबलकार सञ्चालन हुने भएका हुन्। कोरोना कहरपछि देश आर्थिक संकटमा फसेको र पूर्वावस्थामा झैँ व्यावसायिक लगानीयोग्य वातावरण नभएको भनिरहेका बेला रूपन्देहीमा भने नयाँ लगानीको वातावरण सिर्जना भएको छ।

व्यावसायिक घराना आईएमई ग्रुपको लगानीमा बुटवलको गोलपार्कदेखि पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडा नम्बर ३ बसन्तपुरमा र बुटवलसहित अन्य स्थानका व्यवसायीको लगानीमा फूलवारीदेखि नुवाकोटसम्म केबलकार सञ्चालन तयारी अवस्थामा रहेको बताइएको छ।

चन्द्रकान्त खनाल/रूपन्देही

नेपालसहित भारतका विभिन्न स्थानका पर्यटक तान्ने योजनासहित यी दुई स्थानमा केबलकार सञ्चालन हुने भएको हो। यसले थला परेको अर्थतन्त्र बिस्तारै सुधार हुने अपेक्षासमेत लिइएको उद्योगीहरु बताउँछन्। लुम्बिनी प्रदेशकै ठूलो व्यापारिक सहर बुटबलमा व्यावसायिक रूपमा केबलकार सञ्चालन हुने भएपछि पर्यटन व्यवसाय फस्टाउने पर्यटन व्यवसायी बताउँछन्। आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले केबलकार सञ्चालन हुन लागेको हो।

यही जेठ ८ गतेबाट औपचारिक रूपमा केबलकार सञ्चालन गर्ने तयारी गरिएको नेपाल उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकाल बताउनुभयो। बुटवलदेखि केही मिनेटको दूरीमै फरक मौसम पाइने वसन्तपुरमा तराईंको गर्मी छल्न जाने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने अपेक्षा गरिएको छ। नेपाल र भारतका पर्यटकलाई बुटबल हुँदै पाल्पाको वसन्तपुरसम्म पु¥याउने योजनासहित एक वर्षपहिले केबलकार योजना सुरु भएको थियो।

करिब ५ अर्ब बढीको लगानीमा निमार्ण गरिएको केबलकार चढेर वसन्तपुर डाँडा पुगेपछि आरामदायी बसाइसहित जिपलाइन, क्यासिनोसहित पाँचतारे होटलसमेतको सुविधा उपलब्ध हुने छ। वसन्तपुरबाट स्टार होटल, विभिन्न परिकार पाइने रेस्टुरेन्ट, बुटबल–भैरहवा सहर, भारतको नौतनवा बजार तथा नवलपरासीका विभिन्न भागको मनोरम दृष्य अवलोकन गर्न सकिने बताइएको छ।

हरेक वर्ष नेपालबाट धार्मिक पर्यटक भारतको आछामराज्यस्थित कामाख्य मन्दिर जाने भएकाले उक्त प्रतिरूपसमेत यहाँ बनाइएको छ। मन्दिरमा जेठ १२ गतेदेखि महापुराण लगाउने तयारी रहेको केबलकार कम्पनीले जनाएको छ।

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले बुटवलमा निर्माण भएको केबलकारले नेपाली मात्र नभई भारतीय पर्यटक पनि नेपाल भित्र्याउन सहयोग पुग्ने बताउनुभयो।

तराईको गर्मी छल्न चिसो बसन्तुर सबैको रोजाइमा पर्ने शर्माको भनाइ छ। यसैगरी केबलकार सञ्चालनले नेपालकै पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने लुम्बिनी केबलकार प्रालिले जनाएको छ। यता बुटवलपारि बुटवल (बुटवलमावि) देखि पाल्पाको नुवाकोटसम्म सञ्चालन हुने सिद्धार्थ केबलकारको संचरना निर्माण काम जारी छ। अध्यक्ष माधव नेपालले संरचना निर्माण सम्पन्न भएपछि केही समयमा नै सञ्चालन हुने बताउनुभयो। अहिले यो केबलकारको माथिल्लो स्टेसनसहित पोल निर्माण काम जारी छ।

अध्यक्ष नेपालका अनुसार आगामी दसैंसम्ममा केबलकार सञ्चालन गर्ने तयारी छ। १.९ किलोमिटर रहेको यो केबलकारको संरचना निर्माण अन्तिम तयारीमा छ। गत वर्ष फागुनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बुटबल उपमहानगरपालिका, ३ गोलपार्क, बमघाटमा लुम्बिनी केबलकारको शिलान्याश गर्नुभएको थियो भने ऐतिहासिक, पुरातात्विक र पर्यटकीय बुटवल नगरीबाट पाल्पाको नुवाकोटगढीसम्म सञ्चालनमा आउने सिद्धार्थ केबलकारको ओली सरकारका तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिलान्यास गर्नुभएको थियो।

उक्त केबलकार करिब ८० करोडको लगानीमा निर्माण हुन गइरहेको र यसको निर्माणपश्चात् बुटवलको पर्यटन व्यवसायलाई गति दिने विश्वास पर्यटन व्यवसायी तथा नुवाकोट विकास समितिका अध्यक्ष माधव नेपालको भनाइ छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

चन्द्रकान्त खनाल/रूपन्देही का अन्य पोस्टहरु:
लुम्बिनी प्रदेशको व्यापारिक सहर बुटवलमा दुईवटा केबलकार सञ्चालन हुँदै
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link