कालिकोटकी कोकिला (परिवर्तित नाम) १७ वर्षकी भइन्। गाउँनजिकैका एक जना युवासँग उनको प्रेम सम्बन्ध थियो। पछि आफू एक्कासि गर्भवती भएकोे खबरले उनी अत्तालिइन्। सुरक्षित गर्भपतनबारे जानकारी नपाएकी र घरपरिवार गाउँलेले थाहा पाउने डरले स्वास्थ्यचौकी पुग्ने आँट गरिनन्। त्यसपछि उनले प्रेमीसँग सल्लाह गरिन्। सल्लाहअनुसार प्रेमीले चार घण्टाको पैदल यात्रा गरी मेडिकल पुगेर औषधि ल्याइदिए। त्यसपछि परिवार सुतेको अवस्थामा औषधि सेवन गर्न लगाए र गर्भपतन गराए।
त्यस्तै दैलेखकै १८ वर्षीया रामसरा (परिवर्तित नाम) एसइई दिएर घरमा बसेकी थिइन्। उनी पनि आफूसँगै अध्यनरत साथीसँगको प्रेम सम्बन्धमा थिइन्। यो कुरा घरपरिवारलाई सुइँको समेत थिएन। एक्कासि उनी पनि गर्भवती भइन्। गर्भवती भएकोे थाहा पाएपछि धेरै कुरा सोचिन्, तर अरु केही उपाए खोज्न नसकेपछि अन्तिममा बिहे गरिन्।
प्रेम सम्बन्धमा रहँदारहँदै कहिलेकसो यौनसम्पर्क हुन्थ्यो। तर त्यसरी गर्भ बस्ला भन्ने थाहै थिएन। गर्भवती भएर बिहे गरेपश्चात् सपना चकनाचुर भएको रामसरा बताउँछिन्। ‘गर्भपतन गर्न स्वास्थ्य संस्था जान डर र लाज लाग्यो। घरपरिवार र गाउँलेले थाहा पाइहाल्ने हुन् कि भनेर गइनँ। कसैले थाहा नपाउँदै बिहे गर्ने सोचमा पुगेँ। छोरी पढेर भोलि आफ्नै खुट्टामा उभिएर केही गर्ली भन्ने सोच बाबाको थियो,’ उनले भनिन्, ‘गर्भवती भएर बिहे गरेँ। बिहेपछि मेरो पढाइ छुट्यो बाबाको सपना पनि टुट्यो।’
बिहे गरेपछि घरमा पढ्ने सहज वातावरण नभएरको उनी बताउँछिन्। पहिले बाबाले कर गरी–गरी सहर बोलाउनुहुन्थ्यो मानिनँ,’ उनले भनिन्, ‘अहिले न पढ्ने वातावरण छ न जिन्दगीको आस। गर्भावस्थामै गाइबाख्रा डुलाउन जंगल जान्छु।’
कोकिला र रामसरा समाजका प्रतिनिधि पात्र मात्र हुन्। उनीहरूजस्तै कैयौँको जिन्दगीका पाना पल्टिन नपाउँदै बन्द भएका छन्। प्रेम सम्बन्धमा रहेका युवती यौन सम्बन्धसम्म पुग्ने र अन्तिममा आफ्नो इज्जत ठूलो ठानेर गर्भपतन नगरी बिहेजालमा पर्ने जानकारहरू बताउँछन्।
सुरक्षित गर्भतन सेवामा कानुनी जटिलता
कानुनी जटिलताकै कारण सहजै गर्भपतन गर्ने वातावरण छैन। नेपालको संविधान २०७२ ले महिलाको प्रजनन स्वास्थ्य अधिकारलाई मौलिक हकका रूपमा परिभाषित गरे पनि केही कानुनी जटिलताकै कारण सहजै गर्भपतन सेवा लिन डराउने गरेका छन्।
२०५९ सालमा भएको मुलुकी ऐनको एघारौँ संशोधनले गर्भपतनसम्बन्धी व्यवस्थामा मुलुकी ऐनको ज्यानसम्बन्धी महलमा राखेको छ। कानुनले तोकेको अवधि, प्रक्रिया र स्थानमा नगरेमा महिलालाई समेत सजायको व्यवस्था छ। त्यसैले प्रचलित कानुनले भ्रूण लिंग पहिचान गरी सोका आधारमा गरिने गर्भपतनलाई पनि अपराध मानेको छ।
महिलाको शरीरमाथि राज्यले लगाएको बन्देज र कानुनी जटिलताका कारण असुरक्षित गर्भपतन हुने गरेको महिला अधिकारकर्मी बताउँछन्। महिलाको प्रजनन स्वास्थ्य अधिकारको संरक्षण गर्न सुरक्षित गर्भपतन सेवा पहुँचयोग्य र सर्वसुलभ बनाउनुका साथै यसको पहुँच सुनिश्चित गरिनुपर्ने उनीहरूको माग छ।
गर्भपतनका लागि पायक पर्ने ठाउँमा सूचीकृत सेवाप्रदायक संस्था र तालिमप्राप्त जनशक्ति नहुँदा पनि असुरक्षित गर्भपतन गर्नुपर्ने बाध्यता रहेको छुमचौर हेल्थ पोस्टका इन्चार्ज लोकबहादुर रावत बताउनुहुन्छ। विद्यालय उमेरमै सुरु हुने प्रेम सम्बन्ध अन्तिममा शारीरिक सम्पर्कमा पुग्दा र सुरक्षित गर्भपतनबारे जानकारी नहुँदा यस्तो समस्या निम्तिने गरेको उहाँको भनाइ छ।
सानै उमेरमा शारीरिक सम्बन्धदेखि बिहेसम्म
कर्णालीका सबै जिल्लामा सुरक्षित गर्भपतनको सहज पहुँच नभएको र यससम्बन्धी जनचेतना पनि नभएका कारण गर्भवतीहरू स्वास्थ्य संस्थासम्म पुग्दैनन्। जसकारण कर्णालीभर कतिले सुरक्षित या असुरक्षित गर्भपतन गराउँछन्। कोकिला र रामसराजस्तै विवाह बन्धनमा नबाँधिएका वा विवाह हुने उमेर नपुगेका तर असुरक्षित यौन सम्पर्कबाट गर्भवती भएकाहरू समाज तथा परिवारको लाजले विवाह गर्न बाध्य हुने गरेका छन्।
यहाँका किशोरी काँचै उमेरमा प्रेम सम्बन्धमा पर्ने र शारीरिक सम्पर्कबाट गर्भवती हुने गरेका छन्। यसरी गर्भवती हुँदा बिहे गर्नसमेत बाध्य हुने किशोरीहरू चुलोचौकोमा सीमित हुने गरेका छन् भने सामाजिक बहिष्कार, मानसिक समस्या र पढाइमा समेत बाधा पुग्ने गरेको छ।
आवरण AI बाट तयार गरिएको डिजिटल आर्ट
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
जितेन्द्र थापा/सुर्खेत का अन्य पोस्टहरु:
- कृषिलाई शत्रु ठान्ने राउटे समुदाय कृषिमै रमाउँदै
- विश्वासले प्राप्त गरेको सफलता
- भूकम्प पीडित -‘ओछ्याउने छ, शरीरमा लगाउने कपडा छैन’
- छोरा खोरमा, परिवार त्रिपालमा
- ‘ हामीलाई बचाउ सरकार! चिसोले मर्ने भयौँ ।’
- भूकम्पमा बाँचेकाहरूको पुकार ‘हे ईश्वर, पानी नआइज। पानी परेपछि त हामी बाँच्दैनौँ।’
- पीडामा पनि राजनीति, पहुँचका आधारमा राहत
- पशु बस्ने खोरमा १३ वर्षदेखि बन्धक हेमराज, तर किन?
- विषादी प्रयोग गर्न छोडेपछि कसरी भयो कृषि उत्पादनमा वृद्धि
- प्लास्टिकका भाँडासँग हार्दै गाउँघरका काठका ठेकी