वीरगञ्जः अधिकृतलाई मार्ने धम्की,  कर्मचारी आन्दोलनको मुडमा

अनिल तिवारी

वीरगञ्ज महानगरपालिकामा जनप्रतिनिधिबाट कर्मचारीहरू असुरक्षित भएको भन्दै आन्दोलनमा उत्रने चेतावनी दिएका छन्। जनप्रतिनिधिहरूको इच्छा अनुसार काम नगरेका कारण कार्यालयमा जनप्रतिनिधिको अपशब्द सहितको कोपभाजनबाट आजित भएर राजिनामा समेत दिन  कर्मचारीहरू बाध्य भएका छन्। कर्मचारी माथि भौतिक रुपमा आक्रमणका घटना बढन थालेको भन्दै वीरगञ्ज महानगरपालिकाका कर्मचारीले शान्ति सुरक्षाको व्यवस्थाको माग गर्दै महानगर प्रमुख समक्ष आन्दोलनको चेतावनी दिएका छन्।
मुख्य रुपमा महानगरमा चलिरहेको असारे विकासका परियोजनामा जनप्रतिनिधिका आसेपासेको इच्छालाई परिपूर्ति गर्न कर्मचारीहरूमाथि दबाब बढ्दै गएको एक कर्मचारीले बताए। विभिन्न स्वार्थ समूहसँग जोडिएका व्यक्तिहरूले महानगरको कार्यालय र फिल्डमा जाने कर्मचारीलाई इच्छा अनुसार काम नगरेको भन्दै  दुर्व्यवहारको घटनाहरू महानगरमा बढ्दै गएको छ। जसले गर्दा कार्यालयमा काम गर्ने वातावरण नभएको भन्दै मंगलबार दिउसो प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलन गर्ने चेतावनी दिएका छन्।
वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले वडा नं. १ मा विकास निर्माणको कामको अनुगमन गर्न गएको समयमा केही व्यक्तिहरूले अभद्र व्यवहार गर्न खोजे पछि कर्मचारीहरू झन आक्रोशित भएका हुन। विकास निर्माणका काममा  पटक पटक केही स्वार्थी समूहले इच्छा अनुसारका बिल बजेट पास नभएको रिसइबीमा कर्मचारीहरू माथी आक्रमण गर्ने धम्की दिने गरेकाले काम गर्ने वातावरण नभएको कर्मचारीको भनाई छ।
महानगरपालिकाका वडा नं. १ का वडा अध्यक्ष मनोज राउतको अनुरोधमा स्थलगत अनुगमनमा पुगेका प्रमुख प्रशासकीय अधिकृत पौडेल नै माथि केही व्यक्तिले हुलहुज्जत गर्न खोजेका थिए। महानगरपालिकाले सडक गल्ली भित्रका ५ मिटर सम्मका रोडमा ढलान नगर्ने नीति अख्तियार गरेको छ।
महानगरको सौन्दर्यकरणको बजेटबाट सडकमा कङ्क्रिट ब्लक पेवर्स राखेर सडक निर्माणको काम भइरहेको अवस्थामा उक्त सडकमा पेवर्स नराखी ढलान गर्न स्थानीयवासीले माग गरेका थिए। प्रशासकीय अधिकृत पौडेलले सौन्दर्यकरणका लागि तोकिएको बजेट भएकोले यसमा पेवर्स राख्ने काम भएको जानकारी दिनु भएको थियो।
पर्यावरणलाई व्यवस्थित गर्न साना गल्लीहरूमा ढलान भन्दा पेवर्स प्रभावकारी हुने र यसले गाउँटोलको सौन्दर्यकरण राम्रो देखिने भएकोले महानगरपालिकाले चालु आर्थिक वर्षदेखि साँघुरा सडकमा ढलान नगर्ने नीति लिएको छ। बर्सातको पानी जमिनमा सजिलै जाने र वृक्षरोपण गर्न सकिने भएकोले पेवर्सबाट सडक निर्माण गर्न खोजिएको महानगरपालिकाको भनाई छ।
अहिले सरोकार समेत नभएका व्यक्तिहरू बजेट र विकासको नाउँमा कार्यालयमा प्रवेशगरि योजना शाखाका कर्मचारीलाई धम्काउने र गालीगलौज समेत गर्न थाले पछि कार्यालय र फिल्डमा खटिने कर्मचारी असुरक्षित भएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराउन खोजिएको एक कर्मचारीले बताए।
वीरगञ्ज महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा नगर प्रहरी र नेपाल प्रहरीले सुरक्षा दिने गरेका छन्। असार मसान्तमा बजेट माग्ने र अनावश्यक दुख दिने नियतले कार्यालयमा आउने मानिसको संख्या बढेकोले सुरक्षा सतर्कता बढाइएको महानगरपालिकाले जनाएको छ।
वीरगञ्ज महानगरका कर्मचारीले स्वार्थ समूह र व्यक्तिबाट हुने अनावश्यक हस्तक्षेप, दुर्व्यवहार, आक्रमण र धाकधम्कीका घटना नियन्त्रण नभए कार्यालय र फिल्डमा काम गन नसकिने जानकारी दिएका छन्। वीरगञ्ज महानगरपालिका भित्र र फिल्डमा खटिने कर्मचारीको शान्तिसुरक्षाको व्यवस्था गर्न र दोषी माथि कारवाही गर्न स्थानीय प्रशासनसँग माग गरेका छन्। भौतिक असुरक्षाको कारण काम गर्न सक्ने वातावरण नभए चरणबद्ध आन्दोलनमा उत्रने कर्मचारीले चेतावनी दिएका छन्।
उनीहरूले राजनीतिक समस्याको समाधान राजनीतिक ढंगबाट समाधान खोजिनुपर्ने तर्फ सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन्। वीरगञ्ज महानगरपालिकाका कर्मचारीले कार्यालय भित्र निर्भयता पूर्वक काम गर्ने वातावरण नभएमा आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।
महानगरमा क्रियाशील तीन वटा कर्मचारी सङ्गठनले मंगलबार संयुक्त विज्ञप्ति जारी गरी राजनीतिक विषयसँग जोडिएका मुद्दालाई राजनीतिक रुपमा हल नगरी कर्मचारीलाई निशाना बनाउने गरी भएका अवान्छित क्रियाकलाप तत्काल बन्द नगरे अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण कामकाज ठप्प पारेर आन्दोलनमा उत्रने जनाएका छन्।
वीरगञ्ज महानगरपालिकाको १२ औं नगर अधिवेशनबाट पारित बजेट कार्यान्वयनको सन्दर्भमा तोकिएको शीर्षक अन्तरगत तोकिएको काममा खर्च गर्नुपर्ने कानूनी व्यवस्था विपरित योजना र बजेट माग गरेर शाखा शाखामा गई हुलहुज्जत गर्ने, अवान्छित कार्य गर्न दवाव दिने र अनावश्यक भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गर्ने कार्य प्रति कर्मचारी सङ्गठनले घोर भर्त्सना गरेका छन्।
स्थानीय तह कर्मचारी संघ इकाई समिति वीरगञ्जका अध्यक्ष मुकेश गुप्ता, नेपाल नगरपालिका कर्मचारी एशोसिएसन इकाई कमिटी वीरगञ्जका अध्यक्ष मनोज कर्ण र स्थानीय तह कर्मचारी युनियन पर्सा जिल्लाका अध्यक्ष घनश्याम प्रसाद कुर्मीले आज संयुक्त विज्ञप्ति जारी गर्दै वीरगञ्ज महानगरपालिकाका कर्मचारी माथि भइरहेको अभद्र क्रियाकलाप तुरुन्त बन्द गर्न चेतावनी दिएका छन्।
चालु आर्थिक वर्षको अन्तिम चरणमा रहेका र यो आर्थिक वर्षमा भए गरेका विकास निर्माणको कामको स्थलगत अनुगमन गरी तोकिएको शीर्षकमा योजना सम्पन्न गर्नुपर्ने दायित्वबाट कर्मचारीलाई विचलित बनाउने उद्देश्ले राजनीतिक दलको आवरणमा हुने अराजनीतिक तथा आपराधिक क्रियाकलाप रोक्न सम्पूर्ण पक्षसँग अपिल गरिएको छ।
विभिन्न स्वार्थ समूहसँग जोडिएका व्यक्तिहरूले महानगरको कार्यालय र फिल्डमा जाने कर्मचारीलाई दुर्व्यवहार गर्न खोजेको हुँदा काम गर्ने वातावरण नभएको भन्दै नगर प्रमुख राजेशमान सिंह समक्ष कर्मचारीले ध्यानाकर्षण पत्र बुझाएका छन्।
वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले वडा नं. १ मा विकास निर्माणको कामको अनुगमन गर्न गएको समयमा केही व्यक्तिहरूले अभद्र व्यवहार गर्न खोजेको र कार्यालयमा समेत अनावश्यक भिड जम्मा गरेर मानसिक तनाव दिन खोजेका थिए। सोही विषयलाई लिएर आज कर्मचारी सम्बद्ध तीनवटा सङ्गठनले संयुक्त विज्ञप्ति जारी गरेका हुन।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

अनिल तिवारी /वीरगञ्ज का अन्य पोस्टहरु:
वीरगञ्जः अधिकृतलाई मार्ने धम्की,  कर्मचारी आन्दोलनको मुडमा
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link