दातृ निकायको आठ करोड लगानीमा बुटवलमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला

चन्द्रकान्त खनाल/रूपन्देही

दातृ निकायको आठ करोडभन्दा बढी लगानीमा निर्माण भएको लुम्बिनी प्रदेश जनस्वाथ्य प्रयोगशाला भवन प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उदघाटन गर्नुभएको छ। एड्स, क्षयरोग र मलेरियाविरुद्धको ग्लोबल फन्डको अनुदान र सेभ द चिल्ड्रेनको प्राविधिक सहयोगमा अत्याधुनिक प्रविधि जडित प्रदेश जनस्वास्थ्य प्रयोगशाला निमार्ण भई प्रदेश सरकारलाई हस्तान्तण गरिएको हो।

भवन उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री चौधरीले स्वास्थ्य सेवामा आम नागरिकको पहुँच पुर्याउने लक्ष्य रहेको बताउनुभयो। प्रयोगशालाको गुणस्तरलाई ध्यान दिन सुझाव दिँदै यसमा आवश्यक पर्न सबै किसिमको गुणस्तरीयताप्रति सहज रहन र यसलाई रिसर्च सेन्टरका रूपमा विकास गर्न पनि आग्रह गर्नुभयो। ‘दक्ष जनशक्ति तयार गर्ने गरी यहाँबाट तालिम चलाउने र नयाँ दक्ष जनशक्ति तयार गर्ने गरी लाग्नुस्,’ मुख्यमन्त्री चौधरीले भन्नुभयो, ‘यसमा प्रदेश सरकारको साथ र सहयोग रहने छ।’

बृहत्तर, समन्वयात्मक, एकीकृत र दिगो लुम्बिनी प्रदेश जनस्वास्थ्य प्रयोगशाला सेवा, प्रदेशभित्रका प्रयोगशाला सेवाको समन्वय, सुपरीवेक्षण, अनुगमन, नियमन, अन्तरक्षेत्रगत निरीक्षण, अवस्था विश्लेषणलाई सबलीकृत गरी प्रयोगशाला सेवाको प्रभावकारीता बढाउने, प्रदेश सरकारलाई प्रदेश जनस्वस्थ्य प्रयोगशाला सेवासम्बद्ध मानव संशाधन योजना, नीति, नियमावली र कार्यक्रमहरूको मस्यौदा तयारीमा परामर्शदायी निकायका रूपमा भूमिका निर्वाह गर्ने मुख्यमन्त्री चौधरीको भनाइ छ।

त्यस्तै प्रदेशका स्वस्थ्यमन्त्री राजु खनालले प्रदेशको स्वस्थ्य सेवालाई मजबुत बनाउने गरी सेवा शुभारम्भ भएको बताउनुभयो। दाताहरूको सहयोग र प्रदेश सरकारको समेत सहकार्यमा आठ करोड ७० लाख २० हजार चार सय ७० रुपैयाँको लागतमा तयार भएको प्रयोगशालालाई थप स्तरवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

ग्लोबल फन्डका सिनियर पोर्टफोलियो म्यानेजर (नेपाल) का मिस्टर इस्फनले ग्लोबल फन्डले नेपालमा विकासका लागि काम गरिरहेको बताउँदै निर्माण भएको प्रयोगशलाले समुदायका मानिसले सेवा पाउने उल्लेख गर्नुभयो।

लुम्बिनी प्रदेशका पूर्वसामाजिक विकासमन्त्री सुदर्शन बरालले कोभिड संकमणका बेला धेरै समस्या व्यहोर्नुपरेको स्मरण गर्दै आफ्नो कार्यकालमा शिलान्यास गरेको परियोजनाको भवन निर्माण पूरा भएको बताउनुभयो। लेभल–२ प्रयोगशालाको अभावमा कोभिड संक्रमणको परीक्षणमा कठिनाइ भएको र अहिले बनेका पूर्वाधारबाट आम नागरिकले सेवा पाउने उहाँको विश्वास छ। यस्तै स्वास्थ्य जनताको पहुँचभन्दा बाहिर गैरहेको र यसले निरपेक्ष गरिबीको रेखामुनी पुग्नेको संख्या बढाएको बरालको गुनासो छ।

बुटवल उपमहानगरपालिका नगरप्रमुख खेलराज पाण्डेले तीन तहकै सरकारको सहकार्यमा सुरु भएको योजनालाई स्थानीय सरकारबाट आवश्यक जग्गा उपलब्ध गराएको बताउनुभयो। उहाँले बुटवलमा आगामी असोजसम्म १५ शय्याका दुईवटा अस्पताल सञ्चालनमा आउने पनि जानकारी दिनुभयो।

बुटवल, १२ तामनगरमा निर्माण भएको यो प्रयोगशालाको तत्कालिन समाजिक विकासमन्त्री सुर्दशन बरालले २०७८ सालमा शिलान्यासन गर्नुभएको थियो।

प्रयोगशालामा रगत गणना, कलेजो परीक्षण, मृगौला परीक्षण, लिपिड प्रोफाइल परीक्षणलगायका परीक्षण नियमित गरिनेछ। साथै प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र स्थापना तथा सञ्चालन, ब्लड कल्चर र औषधि संवेदनशीलता माइक्रोबायोलोजिकल र इम्युनोलोजिकल परीक्षण, एचआइभी भाइरल लोड टेस्टिङजस्ता मोलिक्युलर परीक्षण, पानीको गुणस्तर परीक्षण, रोग विज्ञान, बायोकेमिकल र हेमाटोलोनिकल परीक्षण, नमुना रिफेरल तथा नमुना ढुवानी प्रणालीलाई सुदृढीकरण गर्दै प्रयोगशाला तथा रोग निदान नेटवर्कको विकास गर्ने कार्यक्रम रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोशलाका निर्देशक रोशनलाल चौधरीले बताउनुभयो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

चन्द्रकान्त खनाल/रूपन्देही का अन्य पोस्टहरु:
दातृ निकायको आठ करोड लगानीमा बुटवलमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link