कोशी प्रदेशमा भयावह बन्दै डेंगु, ‘हटस्पट’ बन्यो धरान, दुई महिनामा आठको मृत्यु

ध्रुव भट्टराई/मोरङ

कोशी प्रदेशमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोग भयावह बन्दै गएको छ। प्रदेशका १३ जिल्लामा डेंगु फैलिए पनि प्रदेश सरकार भने केन्द्रको मुख ताकेर बस्दा अवस्था दिनप्रतिदिन भयावह बन्दै गएको हो। डेंगुको ‘हटस्पट’ धरानमा जेठ दोस्रो सातायता आठ जना संक्रमितको मृत्यु भइसकेको छ।

प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेशमा हाल साढे चार हजार बढी डेंगुका बिरामी छन्। पछिल्ला दिनमा डेंगु क्रमिक रुपमा अन्य जिल्लामा पनि फैलिएको मन्त्रालयले जनाएको छ। यद्यपि मन्त्रालयले डेंगु फैलिन नदिन ठोस योजना बनाएर अघि बढेको भने पाइँदैन।

मन्त्रालयकी सचिव डा. सुधा देवकोटाले गएको दुई सातामा प्रदेशका १४ जिल्ला मध्ये १३ जिल्ला (सोलु) बाहेकका अन्य जिल्लामा डेंगुका बिरामी देखा परेको जानकारी दिनुभयो।

सुनसरीमा मात्रै ३३ सय ३२ जना बिरामी भेटिँदा आठ जनाले ज्यान गुमाइसकेका छन्। त्यसमा पनि धरान उपमहानगरपालिका डेंगुबाट अत्यधिक प्रभावित भएको छ।

सचिव देवकोटाका धरानमा १९ सय ५१ जना र इटहरीमा चार सय ३४ डेंगु संक्रमित छन्। डेंगु फैलिनेमा धरान, वराहक्षेत्र, रामधुनी, देवानगन्ज, दुहबी, बर्जु, इनरुवा, हरिनगर, गढी, भोक्राहा र कोशी गाँउपालिकामा छन्। यस्तै मोरङमा पनि आठ सय ६ जना डेंगुका बिरामी भेटिएका छन्। पथरी, शनिश्चरे, लेटाङ, बेलबारी, केराबारी क्षेत्रका बासिन्दा यसबाट प्रभावित भएका छन्।

झापामा हालसम्म एक सय ५४ र उदयपुरमा ५१ जना डेंगु संक्रमित फेला परेका छन्। बाँकी जिल्लामा डेंगु संक्रमित ५० भन्दा मुनि रहे पनि यो संख्या दिनहुँ बढ्दै गएको मन्त्रालयले जनाएको छ।

धरान उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत उमेश मेहताले धरानमा परीक्षण दरको ५९ प्रतिशत डेंगु रहेको बताउनुभयो। ‘जसरी गत वर्ष काठमाडौँमा घरैपिच्छे डेंगु संक्रमित थिए, सोहीअनुरूप यहाँ पनि संक्रमण फैलन लागेको बुझ्न सकिन्छ,’ उहाँले भन्नुभयो, ‘यसले धरानमा अनब्रेकेबल रूपमा डेंगु संक्रमण फैलन सक्ने संकेत गर्छ।’

मेहताका अनुसार धरानमा चार वर्षअघि सन् २०१९ मा डेंगुको ‘आउट ब्रेक’ भएको थियो। धरान अहिले फेरि डेंगुको ‘हटस्पट’ बन्ने लागेको उहाँको भनाइ छ। हाल धरान उपमहानगरको वडा ११, १६ ,१५ र १८ मा संक्रमण संख्या बढीे छ।

धरानमा संक्रमण फैलिनुको कारण जमेर बसेको पानीलाई मान्नुहुन्छ अधिकृत मेहता। ‘यहाँ पानीको समस्या छ। सोही कारण धेरैजसोले पानी भाँडामा संकलन गरेर राख्ने गर्नुहुन्छ। जसले गर्दा सफा पानीमा एडिस जातिको लामखुट्टेलाई अन्डा पार्न सहज हुन्छ,’ उहाँले भन्नुभयो।

लामखुट्टेको वृद्धि भइरहँदा घर–आँगनको सरसफाइमा पनि ध्यान पुग्न नसकेको बताउनुभयो। ‘सुँगुरका खोरहरू पनि घर छेउछाउमै छन्। सुँगुरलाई पानी खुवाउने सिमेन्टका भाँडामा पानी जमेको हुन्छ,’ अधिकृत मेहताले भन्नुभयो, ‘यसरी व्यक्तिगत सरसफाइ र सतर्क नहुँदा डेंगु संक्रमण नियन्त्रण गर्न कठिन भएको छ।’

अहिले उपमहानगरले डेंगु संक्रमण न्यूनीकरण गर्न ‘सर्च एन्ड डिस्ट्रोइ’ अभियान थालेको छ। यो अभियानअन्तर्गगत विभिन्न टोलमा संघसंस्था, स्वास्थ्यकर्मी र विद्यार्थी मिलेर लार्भा र लामखुट्टेको वासस्थान खोज्ने र नष्ट गर्ने काम भइरहेको छ। सोमबारबाट उपमहानगरले आफैँले पनि शिविर स्थापना गरी थप परीक्षण गर्ने भएको छ।

यता कोशी प्रदेशमा डेंगु परीक्षणका लागि आवश्य किटको अभाव देखिएको छ। जसले गर्दा परीक्षणमा थप समस्या भएको छ। पछिल्लो एक महिनादेखि संक्रमण फैलिए पनि प्रयाप्त मात्रामा किट उपलब्ध नहुँदा परीक्षणमा समस्या देखिँदै आएको हो।

किट उपलब्ध गराइदिन प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र कोशी प्रदेश कार्यालयमा माग गरे पनि थोरै संख्यामा मात्र किट दिने गरेको सुनसरी वराहक्षेत्र नगर अस्पतालका व्यवस्थापक मोहन सुवेदीले बताउनुभयो।

पछिल्ला दिनमा डेंगु महामारीका रूपमा फैलिए पनि आवश्यक परीक्षणका लागि किट अभाव हुँदासमेत प्रदेश सरकारले बेखबर बनेको उहाँको आरोप छ। डेंगु महामारी निणन्त्रणमा प्रदेश सरकार उदासिन देखिएको र प्रदेश सरकारको काम भने अहिले डेंगु फैलिएका क्षेत्रमा जीवनजल र सिटामोल पठाउने कामबाहेक नियन्त्रण कार्यमा ठोस योजनासहित प्रदेश सरकारले सक्रियता नदेखाएको सुवेदीको गुनासो छ।

यता प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रले भने आफूहरूसंग डेंगु परीक्षण गर्ने किट अभाव भएकाले मागअनुसार दिन नसकेको जनाएको छ। आपूर्ति केन्द्रका प्रशासकीय अधिकृत काशीनाथ पराजुलीले प्रदेश सरकारले किट खरिद नगरेको र संघ सरकारबाट प्राप्त किट मात्र वितरण गरिएकाले आपूर्ति केन्द्रमा समेत किटको अभाव भएको बताउनुभयो। ‘केन्द्रले पठाइदिइएको किट मात्रै हामीसँग हुने हो,’ पराजुलीले भन्नुभयो, ‘थोरै किट आएकामा सबै वितरण भइसकेको छ। अब हामी किट मौज्जाद शून्यको अवस्थामा छौँ।’

यसैबीच कोशी प्रदेशका सोलुबाहेका अन्य जिल्लामा संक्रमण फैलिएपछि स्वास्थ्य मन्त्रालयले पनि डेंगु नियन्त्रणमा अग्रसता देखाएको छ। मन्त्रालयले डेंगु परीक्षणका लागि तत्काल किट खरिद गर्नेदेखि आवश्य उपचारको प्रबन्ध मिलाउन अग्रसरता लिएको हो।

आइतबार मन्त्रालयमा सचिव देवकोटाको संयोजकत्वमा बसेको बैठकले तत्काल डेंगु महामारी नियन्त्रण गर्न प्रभावित क्षेत्रमा परीक्षणको कार्यलाई तीव्रता दिने र संक्रमितको उचित उपचारको व्यवस्थापनमा जुट्ने निर्णय भएको सचिव देवकोटाले बताउनुभयो।

उहाँका अनुसार तत्काल डेंगु परीक्षणका लागि आवश्यक किट खरिद गर्न १० लाख रुपैयाँ प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रलाई रकम निकासा गर्ने निर्णय गरेको छ। त्यसैगरी सबैभन्दा बढी डेंगु प्रभावित धरानमा आवश्य चिकित्सकसहितको टोली पठाउने निर्णय भएको पनि सचिव देवकोटाले जानकारी दिनुभयो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

ध्रुव भट्टराई/मोरङ का अन्य पोस्टहरु:
कोशी प्रदेशमा भयावह बन्दै डेंगु, ‘हटस्पट’ बन्यो धरान, दुई महिनामा आठको मृत्यु
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link