हाइब्रिड धानको चेपुवामा बुद्धकालीन ‘कालानामक’, कसरी पो होला जोगाउने?

रामविकास चौधरी/रूपन्देही

अमरनाथ कुर्मीको घरमा यो वर्ष कालानमक चामलको भात पाकेको छैन। पाकोस् पनि कसरी ? मर्चवारी–६ स्थित उहाँको खेतमा अघिल्लो वर्षदेखि कालानमक रोपिएकै छैन। ‘कुनै समय साँझबिहान कालानमक चामलको भात खाने हाम्रा लागि अब त त्यो चामल बिरानो बन्न थाल्यो,’ उहाँले सुनाउनुभयो।
सम्मरीमाई–७ बेतकुइयाँका मनमोहन कुर्मी दुई वर्षअघिसम्म एक बिघा खेतमा कालानमक धान रोप्नुहुन्थ्यो। राम्रो पैदावार हुने उन्नत जातका अन्य बीउ भित्रिएसँगै ढिलो पाक्ने कालानमकमा रोग–कीराको प्रकोप बढी देखापर्न थालेपछि त्यसलाई विस्थापित गरी उहाँले अन्य जातका हाइब्रिड धान रोप्न थाल्नुभयो।

‘दुःख पनि धेरै, उत्पादन पनि कम हुने, त्यसमाथि रोगको प्रकोप पनि देखिन थाल्यो,’ अगुवा कृषक अशोक त्रिपाठीले भन्नुभयो, ‘सभ्यतासँग जोडिएको कालानमक, कनकजीरा, बासमती र गौरियालगायतका रैथानेबाली जोगाउनै गाह्रो भयो। त्यसैले छोटो समयमा पाक्ने र धेरै उब्जनी दिने हाइब्रिड धान लगाइरहेका छौं।’

‘कालानमक चामल मानव स्वास्थ्यका लागि उत्तम आहार मानिन्छ। यसलाई महामानव बुद्धको भोजनका रुपमा प्रयोग भएको मान्यता पनि छ,’ त्रिपाठीले भन्नुभयो, ‘पछिल्लो समयमा लगानीअनुसारको प्रतिफल नपाएपछि किसानहरूले कालानमक रोप्न छोडेका छन्, जसले गर्दा बीउसमेत लोप हुने अवस्थामा पुगेको छ।’

बौद्धकालीन संस्कृतिसँग ऐतिहासिक साइनो जोडिएको कालानमक लोप हुन लागेको भन्दै लुम्बिनी सांस्कृतिक नगरपालिकाका पूर्वप्रमुख मनमोहन चौधरीकले चिन्ता व्यक्त गर्नुभयो।

‘हाइब्रिड चामलले पेट त भरिन्छ । तर स्वाद हुँदैन,’ उहाँले भन्नुभयो, ‘खेतहरू हाइब्रिड धानले भरिन थाले। कालानमक खान पनि चाडपर्व कुर्नुपर्ने भयो।’

कालानमकको उत्पादकत्व कम तर बजारमूल्य बढी छ। अन्य धान प्रतिहेक्टर ४ मेट्रिक टन उत्पादन हुँदा कालानमक डेढ मेट्रिक टन मात्रै हुन्छ। तर चामल बिक्रीमा भने किसानलाई बराबरीको लाभ छ। अन्य चामलको भन्दा यो तीन गुणा बढी मूल्यमा बिक्री हुन्छ। अहिले यसको बजार मूल्यप्रति केजी एक सय ६० देखि एक सय ८० सम्म छ।

‘कपिलवस्तु राज्यमा कालानमक धानको प्रशस्त खेती हुन्थ्यो। जुन जलमार्गबाट भारतका अन्य राज्यसम्म पुग्थ्यो,’ कालानमक संरक्षणकर्ता तथा बुद्धधर्मका स्थानीय शोधकर्ता भोला गुप्ताले भन्नुभयो, ‘संस्कृतमा ओदन भनेको भात हो। शुद्ध ओदन (शुद्धभात) उत्पादन गर्ने भएकाले राजाको नाम पनि शुद्धोदन भएको हो।’

पछिल्लो समयमा कालानमक चामलको प्याकेजिङ र ब्रान्डिङ गरिरहेको लुम्बिनी एग्रो टुरिजम एन्ड रिसर्च सेन्टरले मात्र एक हेक्टरमा कालानमक खेती गरेको संस्थाकी अध्यक्ष पूर्णिमादेवी पाठकले बताउनुभयो। उहाँका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिकामा मात्र कुल १० हेक्टर बढी क्षेत्रफलमा कालानमक धान लगाउने गरिएको छ।

जिल्लाभरि करिब ५० हेक्टरमा कालानमक धान खेती सुरु भएको उहाँले बताउनुभयो। ‘लगानीअनुसार यसले संख्यात्मक प्रतिफल दिन नसक्दा किसानले खेती गर्न छाड्न थालेका छन्,’ उहाँले भन्नुभयो, ‘कालानमक धानको दाना बन्ने बेलामा कीरा बढी लाग्ने र चुसेर नष्ट पार्ने हुँदा किसानहरू यसको खेतीबाट विमुख हुन थालेका छन्।’

खाँदा नरम, स्वादिलो र मगमग बास्ना दिने कालानमक मानव स्वास्थ्यका लागि असाध्यै पोसिलो मानिन्छ। बुद्धकालीन यो चामलको स्वाद लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई चखाउन सके यसको संरक्षणसँगै किसानले आर्थिक लाभ लिन सक्ने पाठकको भनाइ छ।

विगत पाँच वर्षदेखि बुद्धकालीन तथा लुम्बिनीको रैथाने कालानमक चामलको प्रचार–प्रसार, संरक्षण र बजारीकरण गर्दै आउनुभएका पाठकले भन्नुभयो, ‘कालानमक चामलमा पोटासियम, प्रोटिन, फाइबर, भिटामिन बी, आइरन र एन्टी–असिक्डेन्टको मात्रा बढी हुन्छ।’

मसिनो र बासनादारको सूचीमा पर्ने कालानमक धानको भुस कालो हुन्छ। अहिले बजारमा हाइब्रिड र रैथाने गरी दुई खालका कालानमक धानको बीउ पाइने गरेको कृषि ज्ञान केन्द्र रुपन्देहीका प्रवक्ता तथा कृषि प्रसार अधिकृत अनिल कुमार कानु बनिया बताउनुहुन्छ।

प्रवक्ता बनियाले रुपन्देहीमा ६४ हजार आठ सय १९ हेक्टर धानखेतीका लागि लक्षित क्षेत्रफलमा कमै मात्र कालानमक धान खेती लगाउने गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘कालानमकका लागि प्रसिद्ध कपिलवस्तु, रुपन्देही र पश्चिम परासीका केही मात्र समृद्ध किसानले विशेषगरी निजी पकवानका लागि यसको खेती गर्ने गरेका छन्।’

पछिल्ला वर्षमा कपिलवस्तुमा मात्रै पाँच हजार हेक्टरमा कालानामक धान लगाइन्थ्यो। अहिले भने कालानमकको जस्तै बासना दिने भारतीय सिड कम्पनीबाट उत्पादित गोपालभोग धानसमेत गरेर कुल चार सय ७५ हेक्टरमा घटाएर यसको खेती गरिएको कृषि ज्ञान केन्द्र कपिलवस्तुले जनाएको छ।

बुद्धकालीन समयमा असार पूर्णिमाका दिन तिलौराकोट दरबारबाहिर धान मंगलोत्सव मनाएर कालानमक धान लगाइने गरिएको लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठी (भिक्षु मेत्तेय) ले बताउनुभयो।

उपाध्यक्ष त्रिपाठी (भिक्षु मेत्तेय) ले कालानमक प्राचीन कपिलवस्तुको रैथाने प्रजातिको धानबाली रहेकोे बताउनुभयो। बढी पानी चाहिने र रोग तथा कीराको प्रकोप लाग्ने भएकाले कृषकहरूले बिस्तारै यो धान लगाउन छाड्दै गएको उहाँको बुझाइ छ।

प्राचीन कपिलवस्तुको गौरव कालानमक धानलाई प्रवद्र्धन गर्नुपर्ने बताउँदै भन्नुभयो, ‘कालानमकको विशिष्ट विशेषताका कारण नेपाल कृषि अनुसन्धान परिषद् नार्कले कालानमक धानलाइ बुद्धकालीन मानेर चार वर्षअघि नै शुद्धोदन नामको उन्नत जातको कालानमक धानको बीउसमेत विकास गरेको थियो। तर त्यसबारे कृषकलाई त्यति जानकारी नै छैन।’

कालानमक नेपालकै रैथाने भएकाले यसको बीउ जोगाउन किसानलगायत सम्बन्धित सरोकारवालाले ध्यान दिनुपर्ने तर्क उहाँको छ। ‘अहिले पुराना कालानमक लोप भइसक्यो कि जस्तो छ,’ उहाँले भन्नुभयो, ‘यसलाई जोगाउन नार्कले चासो दिनुपर्छ।’

कपिलवस्तु, रुपन्देही र पश्चिम परासी जिल्लामा करिब ६ सय हेक्टरमा यसको खेती भइरहेको उपाध्यक्ष त्रिपाठीको भनाइ छ। कालानमक संरक्षणका लागि विशेष चासो राख्ने उहाँले कपिलवस्तुमा साढे तीन सय हेक्टर कालानमक र ५० हेक्टर गोपालभोग लगाइने गरिएको बताउनुभयो।

सम्मरीमाई गाउँपालिकाका अध्यक्ष विनोद कुमार श्रीवास्तवले भन्नुभयो, ‘पुराना जातका धान जत्तिको मीठो, स्वादिलो र स्वास्थ्यवर्धक अहिलेका नयाँ जात छैनन्। थोरै खेतमा लगाएको बालीले किसानलाई वर्षभरि खान पनि पुग्दैन।’

उहाँले प्रथा बचाइराख्नका लागि भए पनि सीमित वर्गले थोरै जमिनमा पुरानै जातका धानलाई निरन्तरता दिएको बताउनुभयो। गापा अध्यक्ष तथा कालानमक संरक्षणकर्ता श्रीवास्तवले परिवर्तित समयसँगै लोपोन्मुख पुराना प्रजातिका धानको अध्ययन अनुसन्धान गरी विकसित गर्दै लगेमा फेरि उत्पादनमा आउन सक्ने बताउनुभयो।

कृषिसम्बन्धी परम्परागत विचारधारामा परिवर्तन ल्याई उत्पादन बढाउने उद्देश्यका साथ आफू अघि बढने प्रयासमा रहेको श्रीवास्तवको भनाइ छ। समयानुकूल सस्तो र प्रभावकारी नयाँ प्रविधि कृषकसमक्ष पुग्न नसकेपछि उत्पादनमा ह्रास आएको पनि उहाँको ठहर छ।

दीर्घकालीन कृषि योजनालाई आधार मानी पकेट क्षेत्रको विकास र व्यावसायीकरणमा प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गर्न सके कालानमकको उत्पादन राम्रो हुने र यसबाट बढी आर्थिक लाभ लिन सक्ने उहाँको सुझाव छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

राम बिकास चौधरी/ लुम्बिनी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link