देशभरका ७४ कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्य अवस्था सार्वजनिक

पहिलोपटक देशभरका ७४ कारागार कार्यालयमा रहेका कैदीबन्दीको स्वास्थ्य अवस्था र त्यहाँ कार्यरत स्वास्थ्यकर्मीसहितको केन्द्रीय कारागार अस्पतालको वार्षिक प्रगति प्रतिवेदन–२०८० सार्वजनिक भएको छ।

केन्द्रीय कारागार अस्पताल रुपन्देहीको सभाहलमा आयोजित सार्वजनिकीकरण कार्यक्रममा प्रमुख अतिथि गृहसचिव दिनेश भट्टराई तथा स्वास्थ्य सचिव डा. रोशन पोख्ररेलले उक्त प्रतिवेदन सार्वजनिक गर्नुभएको हो।

कार्यक्रममा केन्द्रीय कारागार अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेट डा. प्रकाश बुढाथोकीले अस्पतालको संक्षिप्त जानकारी दिँदै वर्षभर करिब ३५ हजार कैदीबन्दीलाई बहिरंग तथा एक हजार बढीलाई अन्तरंग सेवा प्रदान गरिएको बताउनुभयो। साथै अझै गुणस्तरीय सेवा विस्तारमा अस्पतालको भौतिक पूर्वाधार बाधक रहेको उहाँको भनाइ छ।

थप शय्या र विशिष्टिकृत सेवा विस्तार गर्न नसकेकै कारण गत आर्थिक वर्षमा ६ हजारभन्दा धेरै बिरामी कैदीबन्दीलाई २३ वटा अस्पतालसँग सम्झौता गरी सेवा र उपचार गर्नुपरेको पनि जानकारी डा. बुढाथोकीले दिनुभयो।

कारागार व्यवस्थापन विभागका महानिर्देशक चक्रपाणी पाण्डेले कैदीबन्दी तथा थुनुवा पुर्जीका आधारमा स्वास्थ्य बिमा गर्ने गरी अघि बढेकाले सबैलाई बिमाको दायरामा राखिने बताउनुभयो।

कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य सचिव डा. पोख्ररेले गुमनाम रहेको अस्पताललाई डा. बुढाथोकी आएपछि व्यवस्थापकीय सुधार भएको र अन्तरमन्त्रालय समन्वय गर्न सफल भएको बताउनुभयो। राज्यले स्वास्थ्यमा प्रशस्तै लगानी गरिए पनि लक्षित वर्गसम्म पुग्न नसकेको बताउँदै स्वास्थ्य बिमामा सबै कैदीबन्दीलाई आबद्ध गर्न सके धेरै फाइदा हुने उहाँले धारणा राख्नुभयो।

त्यसैगरी गृहसचिव भट्टराईले सीमित स्रोत र साधनका बीच पनि अस्पतालले गरेका कार्यक्रमको नजिकबाट निगरानी गरिरहेकाले सधैँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा नीति योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख‚ गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयका क्रमशः रुद्रादेवी शर्मा र डा. कृष्ण पौडल, प्रमुख कारागार प्रशासक जगन्नाथ देवलका ललित कुमार बस्नेत, प्रमुख कारागार प्रशासक डिल्लीबजारका रामबहादुर महत, प्रमुख कारागार प्रशासक नख्खुकी कल्पना घिमिरे, नेपाल प्रहरी अनाश्रित गुल्म प्रमुख प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापा, केन्द्रीय कारागार कारखाना प्रमुख रामहरि ढुंगेललगायतको उपस्थिति थियो।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

चन्द्रकान्त खनाल/रूपन्देही का अन्य पोस्टहरु:
देशभरका ७४ कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्य अवस्था सार्वजनिक
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link