रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले १ देखि १४ युनिटसम्मको महसुल २० रुपैयाँ मात्रै कायम गरेको छ। संस्थाको रजत महोत्सवका अवसरमा १ हजार देखि १४ हजार लिटर (१ देखि १४ युनिट) सम्म २० रुपैयाँ कायम गर्ने जनाएको छ।
यस्तै संस्थाले १५ देखि २१ युनिटसम्म १०२ रुपैयाँ र त्यसमाथि २२ देखि ३५ युनिटसम्म प्रतियुनिट १६, ३६ देखि ५५ सम्म प्रतियुनिट २० र ५५ देखि माथि प्रतियुनिट महसुल २५ रुपैयाँ कायम गरेको छ।
संस्थाको २५ औं वार्षिक साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष झवीन्द्र भण्डारीले यसै आर्थिक वर्षदेखि नयाँ धारा जडान गर्ने उपभोक्तालाई संस्थाले निःशुल्क मिटर उपलब्ध गराउने जानकारी गराउनुभयो।
खानेपानी संस्थाले आर्थिक वर्ष ०७९/०८० को अन्त्यसम्म आफ्नो सेवा क्षेत्रभित्र ७ हजार ४८३ धारा जडान गरेको छ भने सोही अवधिमा ३२५ वटा नयाँ धारा जडान र २५१ वटा मिटर ठाउँसारी गरेको छ।
यस्तै दैवी प्रकोप (आगलागी) नियन्त्रणका लागि तिलोत्तमा–३ को कार्यालयअगाडि, शंकरनगर चोक र शान्तिकुञ्ज चोकमा कुल ३ वटा फायर हाइड्रेन्ट जडान गरेको छ। साथै चालू आवमै वनबाटिकाअगाडि र तिलोत्तमा कलेजअगाडि थप २ वटा फायर हाइड्रेन्ट जडान गरिने अध्यक्ष भण्डारीले बताउनुभयो।
संस्थाको नवनिर्मित भवनको उत्तरतर्फ पार्क र पानीको फोहोरा निर्माण, सम्पूर्ण पाइपलाइनलाई व्यवस्थित गर्न थप ३० वटा चेम्बर निर्माण, रजत महोत्सवका अवसरमा रजतस्तम्भ निर्माण गरिने र सामुदायिक विद्यालयलाई दिइँदै आएको पानी महसुलको ४० प्रतिशत छुटलाई निरन्तरता दिइएको अध्यक्ष भण्डारीले जानकारी गराउनुभयो। यस्तै तिलोत्तमा ३ र ४ सिमानगरमा रहेका २ वटा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थालाई संस्थामा एकीकरण गर्न पहल गरिने अध्यक्ष भण्डारीको भनाइ छ।
साधारणसभामा तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरी देवी चौधरीले खानेपानी संस्था सामाजिक सेवा गर्ने संस्था भएकाले नागरिकलाई महत्व दिएर आफ्ना गतिविधि सञ्चालन गर्न आग्रह गर्नुभयो। संस्थाले सुरक्षित खानेपानी वितरणमा जोड दिनुपर्ने बताउँदै उपप्रमुख चौधरीले खानेपानी संस्था सरसफाइसमेत जोडिएकाले सरसफाइलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
खानेपानी डिभिजन कार्यालय रुपन्देहीका प्रमुख राजकुमार चौधरीले जलवायु परिवर्तन एवं औद्योगिक प्रदूषणले विश्वमा पानीका मुहान सुक्दै गएका कारण मानवीय जीवन कष्टकर बन्दै गएको बताउनुभयो।
नेपालमा पानीको उपलब्धता प्रशस्त रहे पनि नदी, खोला तथा समग्र पानीको उचित व्यवस्थापन नहुँदा पछिल्लो समय देशभरमै पानीको समस्या बढ्दै गएको चौधरीले स्मरण गराउनुभयो। पानीका स्रोत तथा मुहान बचाउन सबै प्रकृतिको संरक्षणमा लाग्नुपर्ने चौधरीको भनाइ थियो।
त्यस्तै, संस्थाका कोषाध्यक्ष मित्रलाल न्यौपानेले चालू आवका लागि ३२ करोड ३ लाख ७० हजार ५०५ रुपैयाँको अनुमानित बजेट प्रस्ताव गर्नुभएको छ। साथै, सभाले संस्थाका अध्यक्षको वार्षिक तथा कोषाध्यक्षले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पनि पारित गरेको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
चन्द्रकान्त खनाल/रूपन्देही का अन्य पोस्टहरु:
- रुपन्देहीका उद्योगीमाथि विद्युत् प्राधिकरणको अत्याचार, उपभोग नै नगरेको महसुल तिर्न धम्कीपूर्ण पत्र
- “अर्थतन्त्र सुधारका लागि सरकार तयार नभए उद्योगी व्यवसायी सडकमा”
- बुटवलको पशु बधशाला सञ्चालनका लागि सम्झौता, असोजभित्रै सञ्चालन हुने
- चीन-भारत जोड्ने छोटो दूरीको कालीगण्डकी कोरिडोर ६८ वर्षपछि सम्पन्न हुँदै
- चीन र भारतलाई जोड्ने बाह्र साले बाटोः पूरा होला त यसपालि?
- अंग्रेजलाई पराजित गरेको खुसियालीमा तानसेनमा भगवती जात्रा, यात्रुलाई भाडामा ५० प्रतिशत छुट
- लुम्बिनी प्रादेशिक अस्पतालमा ५ सयले लिए लैंगिक हिंसासम्बन्धी सेवा
- अब क्षयरोगसम्बन्धी बिरामीको अवस्था र ठोस तथ्यांक उपलब्ध हुने
- लुम्बिनी अस्पतालमा क्षमताभन्दा बढी बिरामी, प्रदेश गौरवको योजना अलपत्र
- मिडिया सबलीकरण र पत्रकारको रोजगारी सुरक्षा गर्न १३ बुँदे ‘वसन्तपुर घोषणापत्र’