सिद्धबाबा सुरुङमार्ग निर्माणको सुरुवाती चरणमै विवाद, आयोजना समयमै सकिनेमा शंका

चन्द्रकान्त खनाल/रूपन्देही

राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरूङमार्ग निर्माणको सुरुवाती चरणमै विवाद देखिएको छ। सुरुवाती चरणमै विवाद देखिएपछि आयोजना समयमै नसकिने हो कि भन्ने चिन्ता बढ्न थालेको छ।

सुरूङमार्ग निर्माणका लागि सो क्षेत्रमा राख्न खोजिएको क्रसरका विषयमा केही स्थानीयले तथ्यहीन आरोप लगाएको भन्दै निर्माण कम्पनीले असन्तुष्टि जनाएको छ। सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने बुटवल–पाल्पा सडक खण्डमा सुरूङमार्ग निर्माणको काम वर्षाको समय भएकाले भौतिक रूपमा रोकिएको छ।
चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले निर्माणको ठेक्का लिएको यो सुरुङमार्ग निर्माण क्रममा असारको पहिलो साता दुईवटा टनेल पहिरोले पुरिएपछि भौतिक निर्माणको काम स्थगित गरेर अन्य काम भइरहेको छ।

सिद्धबाबा मन्दिर तलको डाइभर्सन काम सकेर टनेल पोर्टलको निर्माण र हेडबक्सनिरको माथिल्लो टनेल निर्माणको कामलाई तीव्रता दिएको बेलामा पहिरोले भत्काएको थियो। कम्पनीले अन्य निर्माणको काम दसैँपछि मात्रै सुरु गर्ने योजनामा रहेको सुरुङमार्ग निर्माण परियोजनाको सूचना अधिकारी इन्जिनियर सविता ज्ञवालीले बताउनुभयो।

ज्ञवालीका अनुसार ठेकेदार कम्पनीले भौतिक रूपमा देखिनेभन्दा पूर्व तयारीका अन्य काम गरिरहेको छ भने भौतिक काम दसैँपछि मात्र सुरु हुनेछ। गत वर्ष ग्लोबल टेन्डरबाट चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले यो सुरूङमार्ग निर्माणको जिम्मा पाएर ५ वर्षभित्र बनाउने सम्झौता गरेको हो।

सुरुङ निर्माणका लागि चिनियाँ कम्पनीसँग २०२२ चैत ९ गते ७ अर्ब ३४ करोडको सम्झौता भएपछि पहिलो चरणको काम सुरु गर्न अहिलेसम्म ५८ करोड निकासा भइसकेको छ। उसले तोकिएको समय ९ महिनाभित्रै डिजाइन बुझाएको थियो। त्यही निर्माण कम्पनीलाई डिजाइनसँगै निर्माणको जिम्मा दिइएको थियो।

निर्माण कम्पनीले अहिले यो आयोजनाका लागि आवश्यक पर्ने क्रसर आइई स्वीकृतअनुसार सो क्षेत्रमा बनाएपछि केही स्थानीयले विरोध गरेका छन् भने केहीले सो क्रसर सुरुवात नै नभएको अवस्थामा खोला क्षेत्रको क्रसरबाट सामग्री निकालेर बाहिर लगेको तथ्यहीन आरोप लगाएका छन्।

आइई स्वीकृतअनुसार पाल्पाको तिनाउ गाउँपालिका–३ को तिनाउ खोलानजिकै निर्माण कम्पनीले क्रसर प्लान्ट स्थापना थालेपछि स्थानीयवासीले विरोध गर्दै पालिकामा निवेदन दिएका हुन्। सो क्रसर निर्माणको ९५ प्रतिशत मात्रै काम सकिएको र त्यसबाट कुनै उत्पादनका केही काम नै सुरु नभएको अवस्थामा त्यहाँबाट वस्तु बाहिर लगेको आरोप लागेको हो।

दोभानका स्थानीय तथा सामुदायिक वन समन्वय समितिका अध्यक्ष दलबहादुर गुरुङले क्रसर स्थापना हुँदै गरेको तर त्यसमा काम भने अझै सुरु भने नभएको बताउनुभयो। निर्माण कम्पनीले स्थानीय र पालिकासँग समन्वय गरेर अगाडि जाने विषयमा गम्भीर हुनुपर्ने उहाँको भनाइ छ।

क्रसर राख्ने क्षेत्रको जग्गाका सँधियार तोया लम्सालले अहिले क्रसर निर्माणको काम नै १० प्रतिशत बाँकी रहेकाले यहाँबाट सामान बाहिर लगिएको प्रचार गरिनु गलत भएको बताउनुभयो। स्थानीयहरूले राष्ट्रिय आयोजना रोक्ने विषयमा भन्दा धुलो, धुवाँ र आवाज नहुने ग्यारेन्टी गरेर मात्र क्रसर चलाउनुपर्ने माग राखेको र गाउँपालिकामा बसेको समझदारीमा निर्माण कम्पनीले परीक्षणको समयसम्म ती प्रक्रिया पूरा गरेर चलाउने जनाएको बताउनुभयो।

‘म पनि क्रसर राख्ने क्षेत्रको सँधियार हुँ, प्रभावित क्षेत्रको मान्छे हुँ तर आयोजनाको विरोधी होइन, निर्माण कम्पनीले स्थानीयसँग समन्वय गर्नचाहिँ नजानेकै हो, हामीले परीक्षणमा धुवाँ, आवाजले असर नगरे काम गर्न दिन्छौँ’, उहाँले भन्नुभयो।

तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले सिद्धबाबा सुरुङमार्ग आयोजनाको ठेकेदार चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले क्रसर प्लान्ट स्थापना गरेको विषयमा स्थानीयको उजुरी आएपछि दुवै पक्षलाई राखेर छलफल गराएको बताउनुभयो।

क्रसर प्लान्टले दोभान गाउँका स्थानीयवासीलाई वातावरणमा हानी पुर्याएको भन्दै विरोध आएपछि कम्पनीको प्रतिनिधि र आफूहरू छलफलको लागि बसेको श्रेष्ठको भनाइ छ। गाउँपालिकालाई यो विषयमा सुरुमा जानकारी नदिएको र स्थानीयसँग निर्माण कम्पनीले समन्वय नगरेका कारण यस्तो भएको अध्यक्षको भनाइ छ।

तर सोही ठाउँका लागि आइई भएका कारण सोही योजनाका लागि क्रसर बनाइएको निर्माण कम्पनीले जनाएपछि त्रिपक्षीय छलफल भएको हो। छलफलमा कम्पनीले क्रसरको ९५ प्रतिशत काम सकेकाले अब ५ प्रतिशत पनि काम सकेर १५ दिनको परीक्षण हेर्ने र सो समयमा आवाज, धुलोलगायतका वातावरणीय प्रभावमा असर नपर्ने भए मात्र स्थानीयले चल्न दिने समझदारी भएको आयोजनामा सूचना अधिकारी सविता ज्ञवालीले बताउनुभयो।

‘राष्ट्रिय आयोजनामा आइई स्वीकृत भएपछि सोही आयोजनाका लागि क्रसर चलाउन पाइन्छ, तर स्थानीयले उजुरी दिएपछि पालिकामा छलफल भएर आइईमा स्वीकृत मापदण्डअनुसार काम गर्न निर्माण कम्पनी तयार छ,’ ज्ञवाली भन्नुभयो, ‘विदेशी निर्माण कम्पनीलाई काम नथाल्दै यहाँबाट बाहिर समान लगियो भनेर आरोप लगाउँदा गलत सन्देश जाने हो कि भन्ने चिन्ता छ।’

अहिले पालिकाको टोली यो विषयमा थप जानकारी लिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय गएको छ। आयोजनाका प्रमुख ई रामपुकार जैसवालले अन्तर्राष्ट्रिय निर्माण कम्पनीलाई सुरुवातमै अनावश्यक विवादमा पार्न खोजेमा आयोजना ढिलाइ हुनसक्ने वताउनु भयो।

‘सम्बन्धित निकायले सो आयोजना निर्माणका लागि आईई गरेर सो क्षेत्रमा क्रसर सञ्चालन गर्न दिएको हो, उसले कानु विपरीत काम गरे खबरदारी गर्न पाइन्छ तर काम नै नथाल्दै यहाँको क्रसरबाट समान लगेर अन्य आयोजनामा पठायो भन्ने गलत प्रचारले राम्रो सन्देश दिएको छैन’, जैसवालले भन्नु भयो।

‘अहिले क्रसर राखेको मात्र हो, त्यसको काम नै पूरा भएको छैन, चलाएको नै छैन अनि त्यहाँबाट उत्पादन गरेर वस्तु बाहिर लगियो भन्ने समाचारले आयोजना प्रभावित हुनसक्छ, निर्माण कम्पनीले कामको गुणस्तरको विषयमा गरेका कमजोरी, कानुन मिचेका र समन्वय नगरेका विषय त उठाउनुप¥यो तर आयोजना प्रभावित हुने गरी जानुभएन भन्ने हो, जैसवालले भन्नु भयो। सिद्धबाबा सुरूङमार्ग निर्माण भएपछि दैनीक हिडने सयौ सबारीका साधान तथा यात्रुहरुलाई राहत हुने छ।

 

 

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

चन्द्रकान्त खनाल/रूपन्देही का अन्य पोस्टहरु:
सिद्धबाबा सुरुङमार्ग निर्माणको सुरुवाती चरणमै विवाद, आयोजना समयमै सकिनेमा शंका
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link