बुटवल–नारायणगढ सडकको लाजलाग्दो निर्माण: डेढ प्रतिशत ब्याजमा झन्डै १७ अर्बको ऋण, समयमा काम नसक्दा बेफाइदा बढी  

चन्द्रकान्त खनाल/रूपन्देही

सरकारले एसियाली विकास बैङ्कबाट डेढ प्रतिशत ब्याजमा झन्डै १७ अर्बको ऋण लिएर पुनर्निर्माण सुरु गरेको बुटवल नारायणगढ सडक खण्डमा ५ वर्षको प्रगति पूर्वी खण्डमा ४० र पश्चिमी खण्डमा ३७ प्रतिशत मात्र छ। निर्माण सक्नका लागि १ वर्ष म्याद थप भएको छ। तर समयमै काम सम्पन्न नहुँदा यात्रुलाई सास्ती मात्र भएको छैन जुन फाइदाका लागि यो ऋण लिइएको थियो त्यो फाइदा नै ढिलाइले हराउँला जस्तो भइसकेको छ।  नेपाल सरकारको काम गर्ने यस्तो लाजलाग्दो प्रवृत्तिका कारण नेपालको अन्तर्राष्ट्रिय बेइज्जत भएको त छँदै छ।

रुपन्देही काठमाडौँबाट बुटवल आउन ७/८ घण्टामा बुटवल आउने यात्रु अहिले १५ घण्टासम्म लगाएर यात्रा गर्न बाध्य भएका छन्। २०७५ चैत ८ गते बुटवल–नारायणगढ सडक खण्ड विस्तार आयोजनाको काम अगाडि बढेपछि यस्तो समस्या आएको हो।

बुटवल देखी नारायणगढसम्मको १सय १४ किलोमिटर सडक साढे ३ वर्षमा निर्माण सम्पन्न गर्ने र पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्ने गरी सम्झौता भएको थियो। तर समयमा निर्माण पूरा नभएपछि म्याद थपेर काम भइरहेको छ भने उक्त सडकमा यात्रा गर्ने यात्रुहरूलाई सास्ती भएको छ।

बुटवल–काठमाडौँ चल्ने लु१ख १६८६ नम्बरको बसका चालक भोजराज आचार्यले बुटवल–काठमाडौँ रुटमा गाडी चलाउन थालेको ६ वर्ष भयो। उहाँलाई बुटवल–नारायणगढ सडकको दुरावस्थाले दिक्क बनाउँछ। बर्खा लगिसकेपछि ठाउँ ठाउँमा पहिरोको समस्या त छँदै छ, त्यसमाथि निर्माणाधीन सडक समयमै नबन्दा सास्ती खेप्नुपरेको छ। उहाँलाई अहिले दुम्कीबास क्षेत्रको यात्रा सबैभन्दा झन्झटिलो लाग्ने गरेको छ।

चालक आचार्यले काठमाडौँबाट बुटवल आउनेभन्दा अझै महेन्द्रनगर, धनगढी चल्ने लामो दुरीका चालकलाई बढी समस्या हुने गरेको बताउनु भयो। उहाँले भन्नुभयो, ‘हामीलाई नै १५ घण्टा लाग्ने भयो अझै धनगढी, महेन्द्रनगर, सुर्खेत जानेहरू झन् समस्यामा छन्।’

निर्माणाधीन अवस्थामा रहेको बुटवल–नारायणगढ सडक खण्डमा सवारी गुड्न त्यति सहज छैन। चालक आचार्यजस्तै भैरहवादेखि काठमाडौँ गाडी चलाउँदै आएका नारायण खनालले पनि सडकको अवस्थाले गर्दा हैरानी खेप्नुपरेको बताउनु भयो। ‘ठाउँ ठाउँमा खाल्टाखुल्टी छ। प्यासेन्जरहरू उफ्रियो, ढिला भयो भनेर रिसाउनुहुन्छ,’ उहाँले भन्नुभयो ‘सडक साँघुरो छ। त्यहीमाथि धुलो र हिलो, हैरानी छ नयाँ गाडी बिग्रिसक्यो।’

नारायणबाट–बुटवल सडकबाट दिनमा हजारौँ निजी तथा भाडाका सवारी साधन गुड्ने गर्दछन्। यही राजमार्ग हुँदै राजधानी तथा पूर्व पश्चिम क्षेत्रमा यात्रुहरू हिँड्नुपर्ने बाध्यता छ।

दुर्घटनाको त्रास पनि उस्तै

यही असोज ४ गते बुटवल–नारायणगढ खण्डमा पर्ने बर्दघाटमा हाइस, ट्रक र माइक्रो बस एकै पटक दुर्घटना भए। एकतर्फी बाटो भएका कारणले हाईस र ट्रक ठोक्किँदा त्यसको असर माइक्रो बसलाई पनि परेको थियो। उक्त दुर्घटनामा मानवीय क्षति नभए पनि सवारी साधनमा क्षति पुगेको छ।

असोज ७ गते नवलपरासीको ज्यामिरेमा सडकका कारणले नै लु१ख ७६४३ नम्बरको बस पल्टियो। साँघुरो सडकमा निर्माण सामग्री राखिएको थियो। अर्को सवारीलाई साइड दिँदा बस दुर्घटना भएको पश्चिम नेपाल बस प्रालिका सञ्चालक समिति सदस्य एवं दुर्घटना एकाइ संयोजक नारायण घिमिरेले बताउनु भयो।

घिमिरेले निर्माणाधीन सडकका कारणले असोज १ गते सुनौलामा लु१ख ५४२१ नम्बरको बस र भदौ २१ गते खैरेनीमा लु१ख ९९६५ नम्बरको बस दुर्घटना भएको बताउनु भयो।

घिमिरेले भन्नुभयो, ‘पछिल्ला दिन यहाँ सडकका कारणले धेरै दुर्घटना भएको हामीले महसुस गरेका छौँ।’ यहाँ निर्माण सामग्री, ठाउँ ठाउँमा पर्खाल लगाउँदा साइड दिन अप्ठ्यारो, खाल्टाखुल्टी आदि कारण दुर्घटना हुने गरेका छन्।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका प्रमुख एसपी कृष्ण पछाईले दाउन्ने तथा दुम्कीबासलगायत ठाउँमा सडक त्यसै पनि अप्ठ्यारो र अहिले निर्माणाधीन हुँदा दुर्घटना हुने गरेको बताउनु भयो।

सडककै कारण गाडी बिग्रिन थाले

बुटवल–नारायणगढ सडक विस्तार गर्न थालेपछि यहाँ यात्रु, चालक सबैले दुःख पाएका छन् भने गाडी धनीहरूले सडकका कारण आफ्ना गाडी धेरै बिग्रिएको गुनासो गर्दछन्।

यो रुटमा गाडीको टायरदेखि अन्य पार्टपुर्जा छिटो छिटो बिग्रने गरेको पश्चिम नेपाल बस प्रालिका अध्यक्ष दधिराम खरेलले बताउनु भयो। उहाँले भन्नुभयो, ‘सडकको कारण गाडी खर्च ५० प्रतिशत वृद्धि भएको छ, महँगो तेल, पार्टपुर्जा उस्तै बिग्रने गरेका छन्, जसले गर्दा हामी मारमा छौँ।’

खरेलले २ घण्टामा सरर जाने ठाउँमा ५÷६ घण्टा समय लाग्दा त्यसै तेल धेरै खाने र पार्टपुर्जा टिकाउन पनि गाह्रो हुने गरेको बताउनु भयो। २०७५ चैत ८ गते बुटवल–नारायणगढ सडक खण्ड विस्तार आयोजनाको काम अगाडि बढेको हो। ११४ किलोमिटर सडक साढे ३ वर्षमा निर्माण सम्पन्न गर्ने र पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्ने गरी सम्झौता भएको थियो। तर समयमा निर्माण पूरा नभएपछि म्याद थपेर काम भइरहेको छ।

सुस्त काम

२०७५ चैत ८ गते नारायणगढ–बुटवल सडक खण्ड विस्तार आयोजनाको काम अगाडि बढेको थियो। २०८० भदौ ११ र पश्चिम खण्डको साउन ११ मा निर्माण सम्पन्न गर्ने गरी म्याद सम्झौता भएको थियो। पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्ने गरी सम्झौता समेत भएको थियो। तर समयमा निर्माण पूरा नभएपछि म्याद थपेर काम भइरहेको छ। जसमा पश्चिमी खण्डमा ३ सय ५० दिन म्याद थप भएको हो। आगामी भदौ ११ गते म्याद सकिने पूर्वी खण्डको ३ सय ३० दिन म्याद थपिएको छ। अहिलेसम्म पूर्वी खण्डमा ४० र पश्चिमी खण्डमा ३७ प्रतिशत काम सम्पन्न भएको छ।

१ सय १५ किलोमिटर लामो सडकलाई २ खण्डमा विभाजन गरी काम सुरु गरिएको थियो। एसियाली विकास बैङ्कको ऋण सहयोगमा १६ अर्ब ९९ करोड ५२ लाख लागतमा निर्माण भइरहेको पूर्व पश्चिम राजमार्गको काम भइरहेको हो।

हाल पुनः एक वर्षका लागि थपिएको म्याद अनुसार २०८१ साउनमा सडक बनिसक्नुपर्नेछ। यसका लागि हाल सडकमा धमाधम काम भइरहेको नारायणगढ बुटवल सडक आयोजना पूर्वी खण्डका प्रमुख आशिष थापामगरले बताउनु भयो। गैँडाकोटदेखि दाउन्नेसम्मको ६४ किलोमिटर ४ सय २५ मिटर सडक खण्ड हेर्ने अभिभारा उहाँको छ।

यता, पश्चिम तर्फको दाउन्ने बजारदेखि बुटवलसम्मको ६५ किलोमिटरको जिम्मेवारी नारायणगढ बुटवल सडक आयोजना पश्चिम खण्डमा शशाङ्क मिश्रको नेतृत्वले हेरिरहेको छ। आयोजनाले आफ्नो कामलाई हरेक समयमा तत्परताका साथ गर्ने गरी अघि बढेको मिश्रले बताउनु भयो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

चन्द्रकान्त खनाल/रूपन्देही का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link