मधेसको मुख्य पर्वको रूपमा रहेको छठ पर्वको रौनकता सबैतिर छाएको छ। तराईका सबै जिल्ला लगायत राजधानीमा समेत यो पर्व हर्षोल्लासका साथ छठ पर्व मनाइँदै छ। घर परिवार एवम् सन्तानको सुख समृद्धिको कामनाका लागी अत्यन्त श्रद्धापूर्वक मनाइने यस पर्वले सामाजिक सद्भाव र समानताको सन्देशलाई समेत बहन गरेको छ।
घरका महिला देखि पुरुष,सानो देखि ठुला सबैलाई छठ पर्वले व्यस्तता बढाएको छ। सबै ताल तलाउ तथा ,नदी, पोखरीका घाटहरू दुलही जस्तै सिँगारिएका छन्। त्यस्तै वीरगन्जको घडीअर्वा पोखरी लगायत अन्य ठाउँमा पनि छठको रमझम उत्तिकै छ। दुलहीझैँ सिँगारिएका तला तलाउहरूमा हजारौँ भक्तजन भेला भएका छन्। अत्यन्त निष्ठा र कठोरता तपस्या पूर्वक मनाइने छठ पर्वको रौनकताले भक्तजनलाई निकै नै उत्साहित बनाएको छ। घाटहरूमा लगाइएको झिलिमिली बत्तीले रातिको दृश्यलाई झनै मनमोहक बनाएको देखिन्छ। यस्तै गाउँघर, सहर बजार लगायत गल्लीमा गुन्जिएका छठका सुमधुर गीतले यसको रौनकता अझै थपिएको छ।
न पुजारी र शास्त्रीय विधि विधान। सिधै लोक मान्यता र परम्परामा आधारित सबै जातजाति, वर्ग र उमेर समूह तथा लिङ्गका मानिसहरू मनाउने छठ मधेसको लोक पर्व हो। नेपालको तराई, भारतको बिहार तथा पूर्वी उत्तर प्रदेशबाट सुरु भएको यो पर्वको बिस्तार हुँदै गएको छ। सूर्य देउताको उपासना र षष्ठी माताको आराधना गरी ३६ घण्टा सम्मको निर्जला व्रत बसे मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको पण्डित अखिलेस तिवारीको भनाइ छ।
‘सझिया घाट’का दिन दुलहीजस्तै सिँगारिएका नदी तथा तथा जलाशयका घाटहरूमा बनाइएको साना स्तूप आकार प्रतिमाको पूजासँगै अस्ताउँदो सूर्यलाई अर्घ दान गरिन्छ। गाउँ बस्तीको लागि एउटै पूजा थलोको रूपमा छठ घाट हुन्छ। सबै जातजाति सँगै बसेर विधिहरू सम्पन्न गर्छन्। महिलाले व्रत गर्दा पुरुषले टाउकोमा पूजा सामग्रीको भारी आस्थाका साथ छठ घाटसम्म लैजाने र ल्याउने चलन रहेको छ। षष्ठिका दिन अस्ताउँदो सूर्यलाई अर्घ दान गरी उपासना गरेका व्रतालु सप्तमी तिथिमा उदाउँदो सूर्यलाई अर्घ दिएपछि व्रत उद्यापन गर्छन्। अटुट आस्थाको रूपमा रहको छठ पर्व विधि बारे व्रतालु इन्दु देवी यसरी बताउनु हुन्छ।
पहिलो दिन ‘नहाए–खाए के’ चलन छ, जसमा व्रतालुले विशेष विधिपूर्वक नुहाएर खाने गर्दछन्। संस्कृतिका जानकारहरूका अनुसार कठिन विधिका साथ मनाइने यस व्रतमा भोजनमा मांसाहार मात्र होइन लसुन प्याज समेत वर्जित हुन्छ। ३६ घण्टा चल्ने उपवासमा व्रतालुले पानी समेत खाँदैनन्। दिउँसो भरी निराहार बसेका बर्तालु पञ्चमीको दिन बेलुकी माटाको नयाँ र चोखो चुल्होमा अगहनी चामलमा दूध र गुड (भेली) हालेर ‘रसियाव’ र चोखो पारिएको गहुँको पिठोको रोटी पकाएर पूजा गरी खाने र प्रसाद स्वरूपमा अरूलाई समेत खुवाउने विधि गरेर उपवास सुरु गर्छन्। चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरू नुहाएर अरबा अरबाइन भोजन गर्ने गर्दछन् भने दोस्रो दिन साँझ प्रसादको रूपमा चामल, सक्खर र दूध मिलाएर बनाएको खीर ग्रहण ग्रहण गरी खरना गर्दछन्। त्यस्तै तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने भने चौथो दिन बिहान उदाउँदो सूर्यको अर्घ्य दिएपछि छठको विधिवत् समापन हुन्छ। सन्तान उत्पादनको लागि दैवी कृपाको अपेक्षा यस व्रतले गर्दछ। झट्ट हेर्दा यो सूर्यको पूजा झैँ देखिए पनि पुराण अनुसार यो मूल प्रकृतिको छैटौँ अंशबाट उत्पन्न भएकी भगवती षष्ठी देवीको पूजा हो। महाभारत कालमा द्रौपदीसहित पाण्डवहरूले अज्ञात वासमा रहँदा गुप्त वास सफल होस् भनी सूर्यदेवको आराधना गरेको र सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको कथन पनि प्रचलित रहेको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
अनिल तिवारी /वीरगञ्ज का अन्य पोस्टहरु:
- ओलीको ‘फेक–पुराण’ सुनाउन २४ विद्यालय बन्द
- सरकारहरू कुस्तीमा उदासिन
- सिर्सिया नदी प्रदुषित गर्ने सिद्धि टेक्साइललाई ३० हजार जरिवाना
- पुरेत आयात गर्न बाध्य हामी
- मातेका वडाध्यक्षले कुटे सफाइकर्मी, श्रीमान् र सौताले मारे कान्छीलाई
- वीरगन्ज महानगरको चुनौती बन्यो सिर्सिया नदी प्रदूषण
- दसैंको मुखमा तस्करी : ५० लाखभन्दा बढीका अवैध कम्प्युटर बरामद, तस्कर फरार
- दसैंको मुखमा प्रशासकीय अधिकृतलाई मन्त्री सचिवालयको फोन– भेटघाट गर्ने कि सरुवा जाने?
- पुनमको हत्या “चोर”ले गरेको प्रहरीको दाबी
- पालिकाले गर्यो शिक्षक सरुवा, विरोधमा विद्यार्थी, लाठी चार्ज, ६ विद्यार्थी घाइते