मधेश प्रदेशका मुख्यमन्त्रीको राजीनामा माग, राजीनामा दिने कुरो छैन: मुख्यमन्त्री राउत

अनिल तिवारी

मधेश प्रदेशका मुख्य मन्त्री लालबाबु राउतलाई राजीनामा दिन निकै दबाब परेको छ। पार्टी अध्यक्ष उपेन्द्र यादवले मुख्यमन्त्री राउतलाई मुख्यमन्त्री पदबाट राजीनामा दिन निर्देशन दिएपछि दबाब बढेको हो। जसपा नेपालको राजनीतिक समितिको बैठकमा सहभागी हुन काठमाडौं पुगेका मुख्यमन्त्री राउत अझै प्रदेश फर्किएका छैनन्। प्रदेश सरकारका केही मन्त्रीहरूलाई टेलिफोन गरी केन्द्रीय अध्यक्षले मुख्यमन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको पार्टी स्रोतको भनाइ छ।
केन्द्रीय अध्यक्ष यादवले दुईटा कारण देखाउँदै राउतलाई तुरुन्त मुख्यमन्त्री पद छाड्न निर्देशन दिएका हुन्। ‘मुख्यमन्त्री स्वच्छता अभियान’ र ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियानमा भएको चरम अनियमितताको कारण देखाउँदै राजीनामा माग गरिएको जसपाका एक केन्द्रीय नेताले बताए। उनले भने– ‘बेटी बचाउ, बटी पढाउ’ अभियानमा त अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा नै दर्ता गरिसक्यो।’
पहिलो चरणको साइकल खरिदमा मुख्यमन्त्रीले हस्ताक्षर गरेको कागज नै लुकाइएको जस्ता गम्भीर विषयले गर्दा उनको राजीनामा माग गरिएको स्रोतको भनाइ छ। केन्द्रीय नेताले भने– ‘मधेसमा हाम्रो सरकारले बेइज्जती मात्र कमायो, के मुद्दा लिएर चुनावमा जाने ?’

प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव घोषणा भइसकेको अवस्थामा चुनावी मुद्दाबाट बच्न पनि पार्टी अध्यक्ष यादवले राउतको राजीनामा मागेको भए पनि भित्री कुरा अर्कै भएको स्रोतको दाबी छ। राजीनामाको मुख्य मुद्दा मधेस विश्वविद्यालयको उपकुलपतिको नियुक्तिलाई मानिएको छ। वीरगञ्जमा स्थापना हुन लागेको मधेस विश्वविद्यालयको उपकुलपतिमा मुख्यमन्त्री राउतले ठाकुरराम बहुमुखी क्याम्पसका अवकाश प्राप्त प्राध्यापक दीपक शाक्यलाई एक हप्ता अगाडि नियुक्त गरेका छन्। केन्द्रीय अध्यक्षको इच्छाविपरीत मुख्यमन्त्रीले शाक्यलाई नियुक्त गरेपछि राजीनामा माग्न थालिएको हो। शाक्यलाई नियुक्ति गर्न चुनावी खर्चको बाहाना बनाएर लाखौं रुपैयाँ चलखेल गरिएको पार्टी स्रोतको दाबी छ।
जसपामा मुख्यमन्त्रीका दाबेदार
मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा दिन दबाब बढेसँगै जसपामा मुख्मन्त्री बन्न नयाँ समीकरण सुरु भएको छ। दाबेदारहरूको दौडधुप शक्तिकेन्द्रमा सुरु भएको छ। यद्यपि मुख्यमन्त्री राउत सहजै राजीनामा दिने पक्षमा छैनन्। राउतको राजीनामाको चर्चासँगै मुख्यमन्त्रीका लागि सभामुख सरोजकुमार यादव, अर्थमन्त्री शैलेन्द्र साह, पार्टी प्रवक्ता मनिष सुमन र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय यादवको सक्रियता बढेको हो। सभामुख दलको सदस्य हुने प्रावधान नरहेकाले सरोज यादव जसपामा अधिकारिता नभए पनि उनको राजनीतिक सक्रियता जसपामा छ। उनी हाल औपचारिक रूपमा कुनै पनि दलको सदस्य छैनन्।
राउतको नेतृत्वमा चुनावमा जाँदा अपेक्षित परिणाम आउन नसक्ने उच्च तहका जसपाका नेताहरूको आकलनले पनि मुख्यमन्त्री नयाँ बन्ने/बनाउने दौडधुप सुरुभएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचारसम्बन्धी एउटा मुद्दामा राउत जोगिए पनि अरु मुद्दामा उनी अख्तियारको फन्दामा पर्न सक्ने आकलन नेताहरूले गरिरहेका छन्। मुख्यमन्त्री कार्यालयद्वारा सञ्चालित कैयौं योजनामा भ्रष्टाचार भएको आरोपमा अख्तियारले अनुसन्धान गरिहेको छ। न त प्रदेश सरकारले अहिलेसम्म भ्रष्टाचार सम्बन्धी आरोपको खण्डन नै गर्न सकेको छ।
मुख्यमन्त्री राउतसँग राजीनामाबारे सोध्दा ‘मैले किन राजीनामा दिने ? पार्टीमा यस्ता उतार चढाव आइरहन्छन्, हल्ला भइरहेका हुन्छन्। मैलै राजीनामा दिने कुरै छैन’ भन्नुभयाे।
पार्टीका एक केन्द्रीय सदस्यका अनुसार मुख्य मन्त्री राउतसँग केन्द्रीय अध्यक्षले राजीनामा मागेकै हुन् तर उनलाई राजीनामा गराउँदा पार्टीमा ठूलै खैलाबैला हुने बुझेपछि अध्यक्ष पछि सरेका हुन्।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

अनिल तिवारी /वीरगञ्ज का अन्य पोस्टहरु:
मधेश प्रदेशका मुख्यमन्त्रीको राजीनामा माग, राजीनामा दिने कुरो छैन: मुख्यमन्त्री राउत
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link