चार वर्षमा पनि बनेन पुल

राजनीतिको आडमा कालोसूचीधारी पप्पु कन्सट्रक्सनलाई लापर्बाही गर्ने छुट

अनिल तिवारी

वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहले पार्टीकै नेताकै अर्घेलोले गर्दा वीरगञ्जको विकासकार्यले गति लिन नसकेको गुनासो केन्द्रीय अध्यक्ष उपेन्द्र यादव समक्ष गर्नुभएको छ । हालै वीरगञ्जमा सम्पन्न जनता समाजवादी पार्टीको केन्द्रीय विस्तारित समितिको बैठकमा मञ्चासीन केन्द्रीय सदस्य एवम निलम्बित सांसद हरिनारायण रौनियारप्रतिको अप्रत्यक्ष गुनासो थियो । कार्यक्रममा मेयर सिंहले स्वागत मन्तव्य व्यक्त गर्दै भन्नुभयो– ‘अध्यक्षज्यू, पार्टीकै नेताहरू ठेक्का लिने, समयमा काम नगर्ने, अरुको ठेक्का पर्दा कानुनी अर्धेलो थप्ने जस्ता कार्यले गर्दा महानगरका कतिपय विकास कार्यले गतिलिन नसकेको अवस्था छ ।’ मेयर सिंहले कालोसूचीको अग्रस्थानमा रहेको पप्पु कन्स्ट्रसन प्रति लक्षित गर्दै भन्नुभएको थियो ।

यस्तै पर्साको तिलावे पुलको उद्घाटन कार्यक्रमका अधिकांश वक्ताहरूले पुल निर्माणमा पप्पु कन्स्ट्रसनको ढिलोपनाले गर्दा जिल्लावासी सबैले सास्ती खेप्न बाध्य हुनुपरेको भन्दै  तीव्र आक्रोश व्यक्त गरे । विकास निर्माणमा अवरोध पुर्याउने कुनै पनि पार्टीका जनप्रतिनिधिले बदमासी गरे आफूले कडा कारबाही गर्ने चेतावनी समेत दिए ।

यद्यपि ‘पप्पु गोलमाल’ है भने जस्तै यो कम्पनीको कार्यगतिमा कुनै सुधार आएको छैन । पप्पु कन्स्ट्रसनको कारण एक वर्षमा निर्माण हुने  पुल चार वर्षमा पनि बन्न सकेको सकेको छैन । पटक पटक कालो सूचीमा परेकोे पप्पु कन्सट्रक्सनको लापरबाहीले वीरगन्ज महानगरवासी समेत सास्ती खेप्न बाध्य भएका छन् ।

कार्यप्रगतिको नाममा एक वर्षमा एउटा पायाको निर्माण, अर्थात् चार वर्ष बितिसक्दा तीनवटा पाया मात्र बनाइएको छ । पुल निर्माण सम्पन्नताको काम राम भरोसे जस्तै भएको स्थानीयको गुनासो छ । वीरगन्ज महानगरपालिका सिर्सियाका राजेस पटेलले पुल निर्माण नभएका कारण वर्षामा टापु जस्तै जीवन बिताउनु परेको बताए ।

पुल निर्माण गरिरहेको कालोसूचीधारी पप्पु कन्सट्रक्सनको अटेरीले गर्दा यो योजना अल्पत्र परेको स्थानीयको गुनासो छ। एक वर्षमा निर्माण गर्ने गरी ठेक्का पप्पु कन्सट्रक्सनले लिएको थियो तर निर्माण कार्य चार वर्षमा पनि सम्पन्न हुन सकेको छैन । त्यतिमात्र होइन कार्यप्रगति पनि कछुवा गतिमा भइरहेको छ । पप्पु कन्स्ट्रक्सनको कार्यशैलीमा सुधार नआएको यही योजनाले पनि प्रमाणित गरिरहेको छ । ठेक्का पाएको चार वर्षमा पनि निर्माण कार्य सम्पन्न हुन नसकेकाले वीरगन्जसँग जोडिएको सिर्सिया गाउँको जनजीवन वर्षा याममा कस्टकर हुने गरेको छ । पुल निर्माणभएपछि गाउँलाई वीरगन्जसँग जोडने र कालोपत्र गर्ने योजना रहको छ । महानगरपालिकाको वडा नम्बर २५ मा रहेको यो पुलको निर्माणकार्यमा ठेकेदारको हदैसम्मको लापरबाही रहेको स्थानीयको आरोप छ । पटक पटक तकेता गर्दा पनि ठेकेदारले अटेरी गरेका कारण निर्माणकार्यमा खासै प्रगति नभएकोे वडा अध्यक्ष अशुतोष चतुर्वेदीको गुनासो छ । उहाँले भन्नुभयो– ‘हामीले ठेकेदारलाई पटक पटक ताकेता गर्दा पनि काम सुरु गरिरहेको छैन’। कार्यालयका कर्मचारीहरूको पनि मिलिभगत भएकाले गर्दा ठेकेदारको अटेरीपन बढेको अध्यक्ष चतुर्वेदीको आरोप थियो ।

राजनीतिक आडमा ठेक्का लिने पप्पु कन्सट्रक्सन, निर्माण कार्य गर्न पटक पटक म्याद थप्ने र कबोल गरिएको भन्दा तेब्बरसम्म पनि लागत वृद्धि गर्न सघाउने सरकारी प्राविधिकलाई कारबाही गर्ने कसले ?

महानगरपालिकाले विभिन्न वडाको गरी १६ टुक्रामा २७ किलोमिटर सडक, नाला, कल्भर्ट निर्माण गर्ने योजनाको  ठेक्का स्वच्छन्द, पप्पु र युनाइटेड बिल्डर्सले ज्वाइन्ट भेन्चरमा सकार गरेका छन् तर निर्माण सम्बन्धी सबै काम पप्पुले गरिरहेको छ । वीरगञ्ज उपमहानगरलाई महानगर घोषणा गर्दा वीरगन्ज आसपासको १६ वटा गाविसहरू जोडिएका थिए । अर्थात् महानगर वरपरका गाउँहरूलाई वीरगन्ज सहरसँग जोड्ने सरकारको सघन सहरी महत्वकांक्षी योजनाको ठेकेदारको लापर्बाहीको शिकार भएको छ । महानगरको विकासकार्य नै कछुवा गतिमा हिँड्न बाध्य भएको छ ।

एक वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७५ साल जेठ ९ गते सम्झौता गरिएको थियो । सबै निर्माण कार्य २०७७ जेठ ८ गते सम्मपन्न गर्नुपर्ने  थियो । कोरोना लगायतका विभिन्न कारण देखाउँदै निर्माण कार्य सम्पन्नताको मिति दुई पटक थपिएपछि पनि आगामी चैत मसान्तमा सबै कार्यपूरा गर्नुपर्ने समयावधि तोकिएको छ । चार वर्ष बितिसक्दा पनि रु ७५ करोड २० लाख ८५ हजार ५०५ रुपैयाँको यो योजनाको ६० प्रतिशत काम मात्र सम्पन्न भएको छ । पुलबाहेक अहिलेसम्म १४ किलोमिटर सब–बेस, १२ किलो मिटर कालोपत्रे र ११ किलोमिटर नालाको काम मात्र भएको छ ।

तत्कालीन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय र वर्तमानमा सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय पर्साको प्रत्यक्ष निगरानीमा भइरहेको छ । तोकिएको समयमै काम सम्पन्न नभए ठेकेदार कम्पनीलाई कडाभन्दा कडा कारबाही गरिने कार्यालय प्रमुख झपटबहादुर थापाको भनाइ छ । उहाँले भन्नुभयो– ‘हामीले अन्तिम पटक म्याद थपेका छौं, समयमा काम भएन भने कालोसूचीमा राख्छौं ।’

जसरी भए पनि ठेक्का सकार गर्ने तर विभिन्न बहाना देखाएर निर्माण कार्य नगरी अलमल्याएर कार्याअवधि लम्ब्याउने पप्पु कन्सट्रक्सनको पुरानै रणनीति हो  । जनता समाजवादी पार्टीका निलम्बित सांसदको रूपमा रहेका हरिनारायण रौनियार पप्पु कन्सट्रक्सनको सञ्चालकबाट कागजी रूपमा अलग्गिएको भनिए पनि कम्पनीको लागि हदैसम्म क्रियाशील रहने उनको पुरानो रवैयामा सुधार नआएको आरोप वीरगन्ज महानगरपालिकाको छ । पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई विभिन्न प्रभावमा पारेर राजनीतिक आडमा विकास योजनाको ठेक्का लिँदै आएको पप्पु कन्सट्रक्सनको व्यवहारले  पर्सावासी आजित भएको गुनासो समेत रहेको छ । राजनीतिक आडमा ठेक्का लिने पप्पु कन्सट्रक्सन, निर्माण कार्य गर्न पटक पटक म्याद थप्ने र कबोल गरिएको भन्दा तेब्बरसम्म पनि लागत वृद्धि गर्न सघाउने सरकारी प्राविधिकलाई कारबाही गर्ने कसले ?

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

अनिल तिवारी /वीरगञ्ज का अन्य पोस्टहरु:
चार वर्षमा पनि बनेन पुल
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link