आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि गुल्मी क्षेत्र नं २ मा पूर्वसहकर्मीबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ। क्षेत्र नं. २ मा पूर्वसहकर्मी सत्ता गठबन्धका तर्फबाट एकीकृत समाजवादीका केन्द्रीय सचिव रामकुमारी झाँक्री र एमालेका सचिव गोकर्ण बिष्टबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो।
दुवै क्षेत्रमा केन्द्रमा पहुँच राख्ने नेता प्रतिनिधिसभा सदस्यका लागि एकापसमा प्रतिस्पर्धाको दौडमा हुनुहुन्छ। गोकर्ण विष्ट र रामकुमारी झाँक्री पहिले एमालेमै हुनुहुन्थ्यो। २०७४ को निर्वाचनमा बाम गठबन्धनका तर्फबाट विष्टले गुल्मी २ बाट प्रत्यक्ष निर्वाचन जित्नुभयो भने झाँक्री २०७४ एमालेबाट सामानुपातिक सांसद बन्नुभएको थियो।
विगतका निर्वाचनमा विष्टलाई जिताउन झाँक्रीको महत्वपूर्ण भूमिका हुने गरेको थियो। दुबै एउटै पार्टीको कार्यक्रममा सँगै हुन्थे। प्रतिस्पर्धी कांग्रेस वा माओवादी हराउन भूमिका खेल्थे तर २०७७ पुस ५ गते भएको संसद् विघटनले झाँक्री र विष्टको राजनीतिक दल अलग अलग भयो। झाँक्री एकीकृत समाजवादीमा लाग्नुभयो भने विष्ट एमालेमै रहेका हुनुहुन्छ। एमाले सचिव समेत रहेका विष्टले गुल्मीमा २०५६, २०७० र २०७४ मा चुनाव जित्नुभएको थियो।
अहिले विष्ट र झाँक्री गुल्मी क्षेत्र नं. २ मा प्रतिनिधिसभाका लागि प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। सो क्षेत्रमा पर्ने रेसुंगा, मदाने र इस्मामा कांग्रेसले जितेको छ। धुर्कोट र मालिका माओवादी केन्द्र र मुसिकोट मात्रै एमालेले जितेको छ।
चौथोपटक चुनावी प्रतिस्पर्धामा उत्रेका गोकर्ण विष्ट भन्नुभन्यो– विकास निर्माणका कतिपय काम अगाडि बढाएको र पूरा हुने चरणमा रहेकाले आफू सबैको ‘साझा प्रतिनिधि’ हुने गरी काम गर्न निर्वाचनमा होमिएको छु।
उता सोही क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवार एकीकृत समाजवादी सचिव रामकुमारी झाँक्रीले समाज परिवर्तनका लागि राजनीतिक बाटो रोजेकाले विगतमा सहयात्रा गरे पनि अहिले मित्रवत् प्रतिस्पर्धा हुनु स्वाभाविक रहेको बताउनु हुन्छ। उहाँले दलले बनाएको घोषणापत्र अनुसार काम गर्ने बताउनुभयो।
स्थानीयका अनुसार गाउँपालिका र नगरपालिकाको मतको आधारमा अहिले संघको निर्वाचमा तुलना गर्न नमिल्ने बताउँछन्। जिल्लामा २ लाख २९ हजार ४ सय ९५ मत रहेको छ भने क्षेत्र नं. २ मा १ लाख १४ हजारभन्दा बढी मत रहेको जिल्ला निर्वाचन कार्यलयको तथ्यांकमा उल्लेख छ।
प्रतिनिधिसभा उम्मेदवार एकीकृत समाजवादी सचिव रामकुमारी झाँक्रीले समाज परिवर्तनका लागि राजनीतिक बाटो रोजेकाले विगतमा सहयात्रा गरे पनि अहिले मित्रवत् प्रतिस्पर्धा हुनु स्वाभाविक रहेको बताउनु भयो। उहाँले दलले बनाएको घोषणा पत्र अनुसार काम गर्ने बताउनु भयो। त्यसैगरी चौथोपटक चुनावी प्रतिस्पर्धामा उत्रिएका गोकर्ण विष्ट विकास निर्माणका कतिपय काम अगाडि बढाएको र पूरा हुने चरणमा रहेकाले आफू सबैको ‘साझा प्रतिनिधि’ हुने गरी काम गर्न निर्वाचनमा होमिएको बताउनुहुन्छ।
गाविसदेखि प्रदेशसम्म सँगै
तत्कालीन गाविस, पालिका र प्रदेशसभासम्म उनै उम्मेदवारबीच प्रतिस्पर्धा हुने घटना बिरलै हुन सक्छ। गुल्मी क्षेत्र २ ‘क’ का उम्मेदवारबीच यस्तै संयोग जुरेको छ। नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापतिसमेत रहेका भुवनप्रसाद श्रेष्ठ र नेकपा एमाले केन्द्रीय परिषद् सदस्य डिल्लीराज भुसालबीच २०५४ सालदेखि अर्थात् २५ वर्षदेखि प्रतिस्पर्धा भइरहेको छ।
२०५४ सालमा सम्पन्न गाविस अध्यक्ष निर्वाचनमा श्रेष्ठ र २०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा रेसुंगा नगरपालिका प्रमुखमा भुसाल निर्वाचित हुनुभएको थियो। २०७४ मा कांग्रेस, एमाले र माओवादी केन्द्र छुट्टाछुट्टै निर्वाचनमा सहभागी थिए।
यसपटक दुवै प्रदेश सांसदका लागि भिड्दै छन्। अहिले श्रेष्ठलाई माओवादी केन्द्रलगायतका दलको सहयोग छ। यस क्षेत्रमा पर्ने रेसुंगा नगरपालिका र इस्मा गाउँपालिका कांग्रेस र मुसिकोट नगरपालिका एमालेले जितेको छ।
क्षेत्र २ ‘ख’ मा गठबन्धनबाट माओवादी केन्द्र जिल्ला संयोजक बुद्धि जिसी र एमालेबाट जिल्ला इन्चार्ज दिनेश पन्थी प्रतिस्पर्धामा हुनुहुन्छ। २०७४ को निर्वाचनमा यसै क्षेत्रबाट पन्थी माओवादी केन्द्रका तर्फबाट प्रदेशमा निर्वाचित हुनुभएको थियो। उहाँलाई एमालेको साथ थियो।
पन्थीलाई जिताउन जिसी लागि पर्नुभएको थियो तर संसद् विघटनपछि एमाले र माओवादी केन्द्र अलग–अलग भए। यसपछि पन्थी सासंद पद त्यागेर एमालेमै बस्नुभयो। अहिले पूर्वसहयोद्धा जिसी र पन्थीबीच प्रतिस्पर्धा हुँदै छ।
जिसीलाई पाँच दलीय गठबन्धनको साथ छ। यो क्षेत्रमा पर्ने तीन पालिकामध्ये धुर्कोट र मालिका माओवादी केन्द्रले जितेको छ भने मदाने कांग्रेसले जितेको छ। दुवैको घर पनि मदाने–७ भनभनेमा पर्छ।
चन्द्रकान्त खनाल/रूपन्देही
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
चन्द्रकान्त खनाल/रूपन्देही का अन्य पोस्टहरु:
- दूधको गुणस्तर सुधार गर्न ल्याब स्थापनाको माग
- पूर्व मेयर हीराको कृषि मोह पाँच बिघा क्षेत्रफलमा कृषि कर्म
- तिलोत्तमामा ‘एक्स्ट्राटेक लिजेन्ड कप’ हुने
- दूध उत्पादनको क्षेत्रमा लुम्बिनी प्रदेशको २० प्रतिशत योगदान
- ६ अर्ब १८ करोडको लगानीमा लुम्बिनी प्रादेशिक अस्पताल बन्ने
- लुम्बिनीमा सबैभन्दा बढी मातृ मृत्युदर
- ‘भ्यालेन्टाइन डे’ सप्ताहमा लुम्बिनी केबलकारमा ५० प्रतिशत छुट
- गुल्मीको धुर्कोट गाउँपालिका जिल्लाकै उत्कृष्ट
- धार्मिक तथा पर्यटकीय तीर्थस्थल ‘गौमुखी’ जहाँ भक्तजन जोडी जुराउन पुग्दछन्
- लुम्बिनीमा १६ प्रतिशत बालबालिकामा ख्याउटेपना