गुल्मी १: पाँचौं पटक चुनावी मैदानमा भिड्दै चन्द्र भण्डारी र प्रदीप ज्ञवाली 

चन्द्रकान्त खनाल/रूपन्देही

गुल्मी जिल्लाको क्षेत्र नं १ मा २०५६ सालदेखि प्रतिस्पर्धामा निरन्तर रहेका नेपाली कांग्रेसका प्रभावशाली नेता डा चन्द्र भण्डारी र नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली पाँचौं पटक चुनावी मैदानमा उत्रिनु भएको छ।

दुवै नेताहरू वैचारिक र वाक कलामा खरिएका नेता मात्र होइन जनस्तरमै परिचित अनुहार हुनुहुन्छ। चन्द्र भण्डारी नेपाली कांग्रेसको इतर समूहको दोस्रो वरियतामा पाटीको महाधिवेशनमा उठ्नु भएका नेता हुनुहुन्छ। प्रदिप ज्ञवाली पनि एमालेको मूलधारका प्रभावशाली नेता हुनुहुन्छ।

दुवै पार्टीका प्रभावशाली नेताहरू एकै क्षेत्रमा प्रतिस्पर्धामा उत्रेको यो पहिलो पटक भने होइन। २०५६ देखि भण्डारी र ज्ञवालीबीच निरन्तर प्रतिस्पर्धा भइरहेको छ। यो बीचमा तीन पटकका निर्वाचन ज्ञवालीले जित्नुभएको थियो भने एउटा निर्वाचन भण्डारीले जित्नुभएको थियो।

२०५६, २०६४ र ०७४ को निर्वाचनमा ज्ञवालीले जित्नुभएको थियो भने दुई जनाको प्रतिस्पर्धामा २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा भने भण्डारीले जित्नुभएको थियो। २३ वर्षदेखि दुई नेताबीच चुनावी प्रतिस्पर्धा हुँदै आएको छ। भण्डारी यस पटक सत्ता गठबन्धनको साझा उम्मेदवार बन्नु भएको छ।

२०७४ सालको निर्वाचनमा एमाले माओवादी नेकपा माले सहितको गठबन्ध हुँदा भण्डारी पराजित हुनुभयो। ज्ञवालीले ३७ हजार ८१४ मत प्राप्त गर्दा भण्डारीले ३० हजार २५६ मत पाउनु भएको थियो।  तर अहिले अवस्था फेरिएको छ। अहिले कांग्रेस नेतृत्वको गठबन्धनमा नेकपा माओवादी केन्द्र, एमालेबाट टुक्रिएको नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चासमेत सामेल छन्। ती दलको मत भण्डारीलाई जाँदा चुनावी गणित भण्डारीको पक्षमा रहेको भण्डारी पक्षको आँकलन छ।

स्थानीय कांग्रेसका नेता रुद्र भण्डारी भन्नुहुन्छ, “यस पटक भण्डारीलाई चुनाव जित्न सहज छ किनभने पहिलोको जस्तो एमालेको जनमत छैन । चुनाव जित्ने अनि गाउँ नफर्कने नेताहरू, जिल्लामा सुरु गरेका योजना अस्तव्यस्त हुँदा सम्म वास्ता नहुनु, एमाले फुट्नु, माओवादीको  संगठन बिस्तार हुँदा रुरु गाउँपालिका जस्तो एमाले क्षेत्रमा माओवादीले चुनाव जित्नु र अहिलेको स्थानीय तहमा भएको गठबन्धनको अवस्थाले पनि चुनाव जित्न सहज भएको छ।”

स्थानीय कांग्रेस नेता हरि ज्ञवाली भन्नुहुन्छ, “कांग्रेस भित्रको अन्तरद्वन्द्व नभएको भने होइन छ तर अहिले कांग्रेसमा दुबै पक्ष केन्द्रमा मिलेपछि फुटको अवस्था अहिले छैन। सामान्य मतमतान्तर त नहुने कुनै पार्टीमा छैन तर अहिले गुल्मी १मा त्यो अवस्था छैन।”

स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले प्राप्त गरेको मतका आधारमा गुल्मी–१ मा नेपाली कांग्रेसले ३१ हजार २९४ मत पाएको थियो। एमालेले ३५ हजार ७०१ मत प्राप्त गरेको थियो। माओवादीले ४ हजार ९७० मत ल्याउँदा राष्ट्रिय जनमोर्चाले १ हजार ६०० र नेकपा एसले ४९७ मत प्राप्त गरेका थिए।

सत्ता गठबन्धनको मत यो क्षेत्रमा ३८ हजार ३६१ छ, जुन एमालेको भन्दा २ हजार ६सय ६० बढी हो। गठबन्धनको मत एकै ठाउँमा जोड्दा ज्ञवालीलाई विरासत कायम राख्न चुनौती रहेको छ।स्थानीय तह निर्वाचनमा ज्ञवालीको आधार क्षेत्र मानिने रुरु गाउँपालिकामा गठबन्धनको सहयोगमा माओवादीले चुनाव जितेको छ भने चन्द्रकोट गाउँपालिकामा एमाले पछिल्लो समय केही कमजोर बनेको, १२ स्थानीय तहमध्ये मध्ये ३ वटामा खुम्चिएको कारण ज्ञवालीलाई रोक्न सकिने तर्क कांग्रेस नेताहरूको छ।

लामो समय देखि  प्रतिस्पर्धामा रहेका यी नेताहरू एकले अर्कोलाई धेरै आलोचना गर्दैनन् र अनावश्यक आरोप पनि धेरै लगाउँदैनन्। चुनाव जित्दा एकले अर्कालाई सम्मान गर्ने शैली दुवैको छ। २०७० मा भण्डारी निर्वाचित हुँदा ज्ञवालीले खादा ओढाएर गरेको सम्मान २०७४ मा जित्दा भण्डारीले ज्ञवालीलाई त्यसै गरेर साट्नु भएको थियो।

भण्डारी जिल्ला र क्षेत्रमा सक्रिय रहँदै आएको र सांसद हुँदा र नहुँदा आफ्नो क्षेत्रका समस्यामा सँधै चासो र सहभागिता दिने नेता भएकाले यसपटक उहाँको जितमा कुनै समस्या नभएको रुरुका कांग्रेस निकट व्यवसायी गोपाल ज्ञवाली बताउनुहुन्छ।

गोपाल ज्ञवालीको भनाइमा ‘बलियो गठबन्धन, एमालेको आधार इलाकामा माओवादीले स्थानीय तहमा बढाएको जनमत, प्रदेशमा माओवादीका बलियो उम्मेदवार सुदर्शन बरालको उम्मेदवारी, प्रदीप ज्ञवाली सत्तामा रहँदाका असन्तुष्टि भण्डारीका जित्ने आधार हुन।’

अर्कोतिर शालीन र बौद्धिक नेताका रूपमा परिचित ज्ञवालीले निरन्तर काम गर्ने तर प्रचार नगर्ने स्वभाव रहेको र जितेपछि मन्त्री बन्ने पहुँचमा रहिरहेकाले पार्टी बाहिरका मत पनि आउने एमाले तर्क एमाले केन्द्रीय सदस्य जंग नेपाली  बताउनुहुन्छ।

यो क्षेत्रको प्रदेशसभा ‘क’ मा कांग्रेस नेता धनेन्द्र कार्की र एमाले नेता चिन्तामणि पाण्डेय तथा ‘ख’ मा माओवादी नेता सुदर्शन बरालसँग एमाले नेता सदस्य पर्शुराम पाण्डेयले प्रतिस्पर्धा छ। यो क्षेत्रको प्रदेश १ (क) मा ५७, ५७९ र १ (ख) ६१७०९ मतदाता रहेका छन्।

यो क्षेत्रमा भुवन अर्याल लौरो अभियान लिएर प्रतिस्पर्धामा उत्रिनुभएको छ। “सधै अरुका लागि समय दिइयो, ऊर्जावान् समय दिइयो तर उनीहरूको स्वार्थ मात्र पूरा भयो, नागरिकका लागि केही गर्न सकेनन्, त्यसैले अहिले म आफै मैदानमा पुगेको हुँ, सबैको माया पाएको छु, अब वैकल्पिक शक्तिलाई नागरिकले परीक्षण गर्ने समय आएको छ,” भुवन अर्यालले भन्नुभयो।

तर लौरो अभियान लिएर चुनावी मैदानमा उत्रनु भएका अर्याल सुरुदेखि नै एमालेका भएको कारण अहिले एमालेका भोट काट्ने बताइन्छ। अर्यालले धेरै मत ल्याउने बताएपनि ५ हजार बढी मत उहाँको आउने स्थानीय गोकर्ण ज्ञवाली बताउनुहुन्छ। यो अभियानको कारण पनि डा भण्डारीलाई चुनावको लागी सहज हुने गोकर्ण ज्ञवाली बताउनुहुन्छ।

प्रतिनिधि सभा सदस्यको लागि गुल्मी क्षेत्र नं १ बाट उम्मेदवार बन्नुभएका गठबन्धनका नेता डा चन्द्र भण्डारी आफ्नो एजेन्डाको सहित जनताको घरमा मत माग्न गएको बताउनुहुन्छ। डा चन्द्र भण्डारी भन्नुहुन्छ, “मैले भनेको छु देशमा ब्यापक भ्रष्टाचार भयो यसको अन्त्य मेरो मुख्य एजेन्डा हो  त्यस्तै विकासको नाममा बजेट विकासमुखी भन्दापनि वितरणमुखी भयो यसको अन्त्य अर्को मेरो एजेन्डा हो। त्यस्तै मैले  स्वास्थ्य शिक्षा अनिर्वाय निशुल्क गर्नुपर्ने छ समग्रमा भन्दा भ्रष्टाचार, कुशासन, महँगी र अधिनायकवादको आकांक्षासमेत मुख्य विषयमा टेकेर हामी निर्वाचनमा केन्द्रित छौ। हामी बोल्ने मात्र होइन गर्ने भएकोले जनतासँग मत मागेका छौ जित्ने आधार मेरो यही हो।”

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

चन्द्रकान्त खनाल/रूपन्देही का अन्य पोस्टहरु:
गुल्मी १: पाँचौं पटक चुनावी मैदानमा भिड्दै चन्द्र भण्डारी र प्रदीप ज्ञवाली 
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link