रुपन्देही ३: बालकृष्ण खाण र दीपक बोहोराबीच प्रतिस्पर्धा

चन्द्रकान्त खनाल/रूपन्देही

रुपन्देहीको क्षेत्र नं. ३ बाट प्रतिनीधिसभा सदस्य पदमा उम्मेद्वार बन्नुभएका गृहमन्त्री बालकृष्ण खाणसँग राप्रपाका नेता दीपक बोहोरा प्रतिस्पर्धामा हुनुहुन्छ। काँग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको पाँच दलीय सत्ता गठबन्धनका साझा उम्मेद्वार गृहमन्त्री खाणलाई राष्ट्रिय जनमुक्ति पार्टीले समेत समर्थन गरेको छ। त्यसो त राप्रपा नेता बोहोरालाई नेकपा एमाले र जनता समाजवादी पार्टीको समर्थन छ।
रुपन्देहीको क्षेत्र नं. ३ मा सत्ता गठबन्धनको तर्फबाट प्रतिनीधिसभामा काँग्रेस नेता गृहमन्त्री खाणसहित प्रदेश सभा क मा लोकतान्त्रिक समाजवादी पार्टीका नेता सन्तोष पाण्डे तथा प्रदेश ख मा नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल उम्मेदवार हुनुहुन्छ।
त्यस्तै एमाले राप्रपा र जसपा गठबन्धनबाट प्रतिनिधिसभामा राप्रपा नेता बोहोरासहित प्रदेशसभा सदस्य पदमा क बाट जसपाका महेन्द्र यादव र ख बाट एमालेका तुलसी चौधरी चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ। रुपन्देहीको क्षेत्र नं. ३ मा सिद्धार्थनगर नगरपालिका, शुद्धोधन गाउँपालिका, बुटवल उपमहानगरपालिकाको वडा नम्बर १४, १५, १६, १७, १८ र १९, मायादेवी गाउँपालिकाको वडा नम्बर ७ र ८, ओमसतीया गाउँपालिकाको वडा नम्बर २, सियारी गाउँपालिकाको वडा नम्बर १, २, ३, ६ र ७ तथा तिलोत्तमा नगरपालिकाको वडा नम्बर १३ र १४ पर्दछन्। उक्त क्षेत्रमा करिब १ लाख ३६ हजार मतदाता छन्। यतिबेला गृहमन्त्री बालकृष्ण खाण अहिले जनताका घर घरमा मतमाग्दै हिँडिरहनु भएको छ। उहाँ अहिले आफ्ना मतदातासँग सोधिरहनु भएको छ– ‘आफ्नो गाउँ, टोल र क्षेत्रमा विकासका लागि के गर्नुपर्ने छ ? जनताका समस्या के के हुन् र कसरी समाधान गर्ने ? अब रुपन्देहीलाई कस्तो विकासको आवश्यक छ ? के गर्दा जिल्लामा रोजगारी सिर्जना हुन्छ ? भन्दै जिल्लाबासीको भावना बुझ्दै हिँडिरहनु भएको छ।
उहाँले मुलुकको विकासको मुख्य केन्द्र बनाउने गरी काम गरिने बताउनु भयो। उहाँले रुपन्देहीको तीव्र आर्थिक, भौतिक, तथा पूर्वाधार र मानवीय विकासका लागि आफू निरन्तर लागिपरेको जनाउँदै अहिले भइरहेको विकासको कामलाई अझै फराकिलो बनाउँदै लैजाने बताउनु भयो।
गृहमन्त्री खाणले हरेक दृष्टिकोणले रुपन्देही विकासका लागि उपयुक्त ठाउँ भएको उल्लेख गर्दै काँग्रेस र पाँच दलीय गठबन्धनले जिल्लालाई देशकै नमूना बनाउने बताउनु भयो। २०४८ सालदेखि रुपन्देहीबासीले आफूलाई निरन्तर सहयोग, माया र सद्भाव देखाउँदै आएको स्मरण गर्दै उहाँले जनताको भरोसालाई कहिल्यै कमी हुन नदिएको र आगामी दिनमा नदिने बताउनु भयो।
‘तपाईंहरूको यही मायाका कारण मैले जिल्लामा साना–ठूला सबै किसिमका योजनाहरू ल्याउन, कार्यान्वयन गर्न र सफल तुल्याएर जनताको जीवनमा परिवर्तनको महसुुस गराउन सफल भएको हुँ’, ‘केही मानवीय विकासमा योगदान दिने र ठूला परियोजना ल्याएर सम्पन्न गराउन पनि यसपटक गठबन्धनले फेरि जित्न जरुरी छ।’
गौतमबुद्ध विमानस्थल, व्यापारिक मार्ग, सिँचाइ तथा कृषिका साना–ठूला दर्जनौं योजना रुपन्देहीमा भिœयाएर र ती योजना सफल तुल्याउन काँग्रेसले अग्रणी भूमिका खेलेको बताउनु भयो।
तिनाउ र दानव नदीका कारण हुने गरेको कटान रोक्न आफू सिँचाइमन्त्री हुँदा जनताको तटबन्ध कार्यक्रम ल्याएर रोकथाम गरेको; विद्यालय, मन्दिर, पार्क बनाएर आम्दानीको स्रोत बढाएको बताउनुभयो। साथै अब रोहिणी नदीका कारणले हुने नदी कटानलाई पनि व्यवस्थित गरिने बताउनु भयो।
मोतीपुर औद्योगिक क्षेत्रको क्षेत्रफल घटाएर त्यहाँ स्थायी बसोबास गर्ने व्यक्तिहरूको समस्या दिगो रूपमा समाधान गर्नेतर्फ औद्योगिक क्षेत्रलाई राष्ट्रकै नमुना औद्योगिक क्षेत्रका रूपमा विकास गरिनेछ।

गृहमन्त्री खाणले तिनाउ नदीको छेउछाउमा स्थानीयलाई अधिकतम लाभ मिल्ने गरी व्यापारिक प्रयोजनका लागि ६ लेनको सडक निर्माण गर्ने बताउनु भयो। ‘त्यसको छेउ–छाउमा वृक्षारोपण गरी हरियाली सडक बनाइनेछ, साथै हरियाली पार्कहरूको समेत निर्माण गरिने छ’, खाणले भन्नुभयोे– ‘यहाँ हुने अवसरमा स्थानीयलाई प्राथमिकता दिइने छ।’

बिकासको लागि गृहमन्त्रीका खाँणको संकल्प पत्र
रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ रुपन्देहीमा पाँच दलीय सत्ता गठबन्धनले राष्ट्रिय र दीर्घकालीन महत्वका योजना अगाडि सारेको छ। पाँच दलीय गठबन्धनले आगामी मसिंर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै तयार पारेको संकल्प पत्रमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक र सांस्कृतिक विकास, उद्योग, व्यापार, पर्यटन, कृषि, खेलकुद लगायतका क्षेत्रमा महत्वपूर्ण योजनाहरु समावेस गरिएको छ।
निर्वाचन क्षेत्र, जिल्ला, छिमेकी जिल्लाहरुको मात्रै नभई सिंगो मुलुकको विकासमा समेत दीर्घकालीन प्रभाव पार्न सक्ने महत्वपूर्ण योजनाहरू समावेश गरेर गठबन्धनले आइतबार भैरहवामा आयोजित एक कार्यक्रमका बीच संकल्पपत्र सार्वजनिक गरेको हो।
गठबन्धनको संकल्प पत्रमा ‘मर्चवारदेखि मुस्ताङसम्म’ बन्ने सडक निर्माणलाई विशेष रूपमा प्रारम्भ गर्न पहल गर्ने, बुटवल–भैरहवा–सुनौली हाइवेमा मेट्रो ट्रेन सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने, बेलहियामा निर्माणाधीन ‘एकीकृत भन्सार प्रणाली’ तत्काल निर्माण प्रारम्भ गर्न पहल गर्ने, परासीदेखि कपिलवस्तुसम्म १३२ केभीको विद्युतीय प्रसारण लाइन निर्माण गर्न पहल गर्ने, बुटवलदेखि गोरखपुरसम्मको विद्युतीय प्रसारण लाइन यथाशीघ्र निर्माण गर्न पहल गर्ने, कालीगण्डकी–तिनाउ डाइभर्सन परियोजना निर्माणका लागि विशेष जोड दिने, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानलाई बढाउने र नेपालका विभिन्न शहरहरूमा पनि आन्तरिक उडान तथा कार्गो सेवा सुचारु गर्नुका साथै रोजगारीमा स्थानीयलाई प्राथमिकता दिइने जस्ता राष्ट्रिय महत्वका विषयवस्तु समावेश गरिएको छ।
भैरहवालाई लुम्बिनी प्रदेशकै महत्वपूर्ण औद्योगिक, व्यापारिक एवम् पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने, सिद्धार्थनगर नगरपालिका वरपर ‘सिद्धार्थ चक्रपथ’ निर्माणका लागि यथाशीघ्र डिपीआर गरी निर्माण कार्यको थालनी गर्ने, तिनाउ–दानव नदीमा ‘जनताको तटबन्धन’ कार्यक्रम थप प्रभावकारी बनाउने तथा डण्डा–रोहिणी नदीमा पनि नदी कटानलाई व्यवस्थित गर्ने जस्ता कार्यक्रम समावेश छन्।
बुद्ध परिक्रमा सडकको दुबैतिर नालीसहितको फुटपाथ निर्माण गर्न विशेष पहल गर्ने, मोतीपुर औद्योगिक क्षेत्रको क्षेत्रफल घटाएर त्यहा स्थायी बसोबास गर्ने व्यक्तिहरूको समस्या दिगो रूपमा समाधान गरी त्यस औद्योगिक क्षेत्रलाई राष्ट्रकै नमुना औद्योगिक क्षेत्रका रूपमा विकास गर्नुका साथै साथै त्यस क्षेत्रका वासिन्दाहरूलाई रोजगारीको सुनिश्चितता गर्ने।
वेलहियादेखि पोखरासम्मको सिद्धार्थ राजमार्गलाई स्तरोन्नति गर्ने, तिनाउ नदीको छेउछाउमा व्यापारिक प्रयोजनका लागि ६ लेनको बाटो निर्माण गर्ने र त्यसको छेउ–छाउमा वृक्षारोपण गरी हरियाली सडक बनाइनुका साथै हरियाली पार्कहरूको समेत निर्माण गर्ने गठबन्धनको संकल्प छ।
यस क्षेत्रभित्र रहेका पालिकाबाट निस्केका फोहरहरूको उन्नत अत्याधुनिक प्लान्ट मार्फत उर्जा, मल तथा अन्य कच्चा पदार्थ समेत उत्पादनको व्यवस्था गर्ने, सिद्धार्थनगरभित्र रहेको कारागारलाई उचित ठाउँमा स्थान्तरण गर्ने र कारागारभित्र रहेका व्यक्तिहरूलाई सीपमूलक तालिमका साथै ध्यान, योगा, शारिरिक व्यायाम जस्ता कार्यक्रमहरू सञ्चालन गर्ने, बर्दघाटदेखि कृष्णनगरसम्मका क्षेत्रलाई सुव्यवस्थित सहरीकरण गरी विकास गर्ने, सिद्धार्थ नगरभित्रका अटोभिलेजलाई एकै ठाउँमा सुव्यवस्थित गर्ने, यस क्षेत्रमा रहेको स्वर्गद्वारी घाटलाई सुविधायुक्त बनाउने र क्रियापुत्री बसेर कार्यसम्पादन गर्न मिल्ने गरी भवन निर्माण गर्ने, नेपालकै मत्स्य गाउँका रूपमा विकास हुँदै गएको दयानगर–छपिया, अमुवा, मानपकडी, मानमटेरिया, हर्नैया, मैनहिया क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गरी ‘नमुना कृषि पर्यटन’का रूपमा विकास योजना गठबन्धनको छ।
पश्चिम अमुवामा रहेको स्वास्थ्य चौकीको स्तरोन्नति गरिने र फर्साटिकरमा १५ शैयाको आधारभूत अस्पताल यथाशीघ्र सम्पन्न गर्ने, यस क्षेत्रमा सरकारी तथा निजी मेडिकल र इन्जिनियरिङ कलेजको स्थापनाका लागि विशेष जोड दिने, भैरहवा बहुमुखी क्याम्पसमा पूर्वाधार थप गरी आधुनिक तथा गुणस्तरीय शिक्षा प्रदान गर्ने व्यवस्था मिलाउने, यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पस, शुद्धोधन, जनता उच्च मा.वि., सियारी तथा रूपन्देही क्याम्पस, सिद्धार्थनगरको स्तरोन्नती र प्राविधिक विषयमा थप कार्यक्रम सञ्चालन गर्न विशेष पहल गर्ने, पक्लिहवामा रहेको कृषि क्याम्पसलाई भौतिक सुविधा सम्पन्न बनाउने र कृषि तथा पशु चिकित्सा शिक्षा दुवैमा सिट संख्या बृद्धि गर्न आवश्यक पहल गर्ने, पक्लिहवा कृषि क्याम्पस हाताभित्र सुविधासम्पन्न पशु अस्पताल निर्माण गरी यथाशिघ्र सञ्चालन गर्ने योजना संकल्प पत्रमा उल्लेख छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

चन्द्रकान्त खनाल/रूपन्देही का अन्य पोस्टहरु:
रुपन्देही ३: बालकृष्ण खाण र दीपक बोहोराबीच प्रतिस्पर्धा
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link