बुटवल– बेलहिया मेट्रो ट्रेन-खाणको सपना 

चन्द्रकान्त खनाल/रूपन्देही

भैरहवाको परिचय फराकिलो बन्दै गएको छ। सिद्धार्थनगर नगरपालिका गौतमबुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार हुनुका साथै मुलुकको दोस्रो ठूलो भन्सार नाका र अन्तर्राष्ट्रिय विमानस्थल भएको सहर हो।

तर पनि लामो समय सही राजनीतिक नेतृत्वको अभाव भएका कारण विकासमा पछाडि पर्नुपरेको गुनासो गर्छन् स्थानीयहरू। उनीहरूको भनाइमा भैरहवाले व्यवस्थित सहरीकरण र विकास दिने राजनीतिक अभिभावक पाएन। स्थानीय बासिन्दाको विकासको त्यही सपना दिने प्रयासमा हुनुहुन्छ, कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाण। यसपालि यसै क्षेत्रमा पर्ने रूपन्देही क्षेत्र नम्बर ३ बाट उम्मेदवार खाणले भैरहवाको संस्थागत विकासलाई नेतृत्व प्रदान गर्दै विशेष योजना नै अघि सार्नु भएको छ। उहाँ गठबन्धनको तर्फबाट उम्मेदवार बन्नु भएको हो।

२०४८ सालदेखि जिल्लामा उम्मेदवार हुँदै आउनु भएका खाण सधैँ रूपन्देही क्षेत्र नं. ३ बाटै निर्वाचनमा सहभागी हुँदै आउनु भएको छ। २०४८ मा पहिलो पटक निर्वाचन लड्दा पनि उहाँ क्षेत्र रूपन्देही ३ नै थियो। त्यसबेला निर्वाचन क्षेत्रको केन्द्र फरक थियो। त्यतिबेला बुटवल उक्त निर्वाचन क्षेत्रको केन्द्र थियो। २०६४ मा पनि उनको निर्वाचन क्षेत्र रूपन्देही ३ नै थियो। त्यसबेला मुख्य केन्द्र मणिग्राम थियो। २०७० मा निर्वाचन लड्का पनि उनको क्षेत्र क्षेत्र नम्बर ३ नै थियो। अहिले पनि खाण रूपन्देही ३ बाटै निर्वाचन लडनु भएको छ। यसपटक भने सदरमुकाम भैरहवा केन्द्र रहेको छ।

सधैँ भैरहवा केन्द्रित बनेर राजनीति गर्ने योजना बनाएका खाणले सदरमुकाम लक्षित गरेर ठूला विकास योजना ल्याउनु भएको छ। आइएनएस-स्वतन्त्र समाचारसँग कुरा गर्दै खाणले आफ्नो पहिचान बनाइसकेको भैरहवालाई खाणले अन्तर्राष्ट्रिय रुपमा समेत स्थापित गर्ने गरी योजना अगाडि ल्याएको बताउनु भयो। उहाँले बुटवल–भैरहवा–बेलहीया व्यापारीक मार्गमा मेट्रो ट्रेनको सपना अगाडि ल्याउनु भएको छ। खाणका अनुसार मेट्रो ट्रेनको सञ्चालनका लागि सम्भाव्यता अध्ययन थाल्ने हो।

‘जे कुरा संकल्प पत्रमा ल्याएका छौं, त्यो पुरा गरेरै छाड्छौ,’ मन्त्री खाण भन्नुहुन्छ ‘भैरहवा मात्र होइन रूपन्देहीको समग्र विकासका लागी हामी प्रतिबद्ध छौं।’ उहाँले पहिलो प्राथमिकतामा भैरहवालाई लुम्बिनी प्रदेशकै महत्वपूर्ण औद्योगिक, व्यापारिक एवम् पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने छ।

त्यस्तै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानलाई बढाइने र नेपालका विभिन्न सहरहरूमा पनि आन्तरिक उडान तथा कार्गो सेवा सुचारु गर्ने रहेको छ। रोजगारीमा स्थानीयलाई प्राथमिकता र सिद्धार्थनगर नगरपालिका वरपर ‘सिद्धार्थ चक्रपथ’ निर्माणका लागि यथाशीघ्र डि.पि.आर. गरि निर्माण कार्यको थालनी अर्को महत्वपूर्ण योजना उहाँले अगाडि सार्नु भएको छ।

‘नेपालको एउटा आधुनिक, उत्कृष्ट, सुविधा सम्पन्न र उदाहरणीय जिल्ला, क्षेत्र र भैरहवा बनाउने हाम्रो संकल्प छ’, गृहमन्त्री खाणले भन्नुभयो, ‘यसलाई मूर्तरूप दिन हामीलाई सबैले साथ र सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएका छौं।’

खाणले बेलहियादेखि पोखरासम्मको सिद्धार्थ राजमार्गलाई स्तरोन्नति, बेलहियामा निर्माणाधीन ‘एकीकृत भन्सार चौकी (आईसीपी)’, विशेष आर्थिक क्षेत्र विद्युतीय सबस्टेसन निर्माण तथा व्यवस्थित सञ्चालनका लागि नीतिगत निर्णय, सिद्धार्थनगरभित्र रहेको कारागारलाई उचित ठाउँमा स्थानान्तरण गरि त्यहाँ रहेका व्यक्तिहरूलाई सीपमूलक तालिमका साथै ध्यान, योगा, शारीरिक व्यायाम जस्ता कार्यक्रमहरू सञ्चालन गर्ने, सिद्धार्थ नगरभित्रका अटो भिलेजलाई एकै ठाउँमा सुव्यवस्थित गर्ने योजना पनि अघि सारेको बताउनु भयो।

खाणले सार्वजनिक गरेको संकल्प पत्रमा यस क्षेत्रमा रहेको स्वर्गद्वारी घाटलाई सुविधायुक्त बनाइने र क्रियापुत्री बसेर कार्यसम्पादन गर्न मिल्ने गरी भवन निर्माण गर्ने, सिद्धार्थ नगरभित्रको क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय खेल सञ्चालन गर्न सकिने किसिमले स्तरोन्नति गर्ने, भीम अस्पतालको स्तर वृद्धि गरि २४ घण्टे प्रयोगशाला सहितको सुविधासम्पन्न आइसीयु, सिसियु तथा एनआईसीयु सेवा थप गर्ने उल्लेख छन्।

भैरहवा बहुमुखी क्याम्पसमा पूर्वाधार थप गरी आधुनिक तथा गुणस्तरीय शिक्षा प्रदान गर्ने व्यवस्था मिलाउने, पक्लिहवामा रहेको कृषि क्याम्पसलाई भौतिक सुविधा सम्पन्न बनाइनेछ भने कृषि तथा पशु चिकित्सा शिक्षा दुवैमा सिट सङ्ख्या वृद्धि गर्न आवश्यक पहल गर्ने, पक्लिहवा कृषि क्याम्पस हाताभित्र सुविधासम्पन्न पशु अस्पताल निर्माण गरी यथाशीघ्र सञ्चालन गर्ने, डन्डा खोलामा कोरिडोर निर्माण गर्ने, भैरहवामा लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो ‘अन्न भण्डारण गृह’ निर्माण गर्ने, कार्यक्रम रहेको छ।

सिद्धार्थ नगरमा अत्याधुनिक चिस्यान गृह स्थापना गर्नुका साथै लुम्बिनी प्रदेशको भौगोलिक अवस्था र वातावरण सुहाउँदो विउ–बिजनहरू तयार गर्न अनुसन्धान केन्द्र सञ्चालन गर्न पहल गर्ने योजना बनाएको वताउनु भयो। कृषि औजारहरू (जस्तै : हाते ट्याक्टर, धान, गहुँ काट्ने मेसिन आदि) तयार गर्ने व्यवस्था मिलाउने जस्ता महत्वपूर्ण योजना उहाले समेटनुभएको छ। यस क्षेत्रमा खाडसँग पुर्वमन्त्री दिपक बोहरा प्रतिस्पर्धामा  उभिनु भएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

चन्द्रकान्त खनाल/रूपन्देही का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link