‍अर्घाखाँचीमा पुष्पालाई गठबन्धको भर, टोप बहादुरलाई एमालेकै डर

चन्द्रकान्त खनाल/रूपन्देही

मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागी अर्घाखाँचीमा सत्ता गठबन्धका साझा उम्मेदवार कांग्रेसका केन्द्रिय सदस्य पुष्पा भुसाल तथा एमालेका सचिव टोप बहादुर रायमाझी बिच प्रतिस्पर्धा हुने भएको छ।

११ जना संघीय उम्मेदवार रहेपनि जिल्लामा दुई जना बीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। करिब १० वर्षपछि प्रत्यक्ष चुनाव लड्न लाग्नुभएकी पुष्पा भुसाल र १५ वर्षदेखि निरन्तर सांसद रहँदै आउनुभएका रायमाझी पहिलो पटक आमनेसामने हुनुहुन्छ।

२०६४ सालको संविधानसभा निर्वाचनमा कांग्रेसबाट  क्षेत्र नं २ मा भुसाल निर्वाचित हुनुभएको थियो भने २०७४ मा  समानुपातिक सांसद बन्नु भएको थियो। यस पटक प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धामा हुनुहुन्छ भने २०७४ सालको निर्वाचनमा एमालेसँगको तालमेलमा नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित हुनुभएको हो रायमाझी। २०६४ सालको संविधानसभा निर्वाचन भएयताका सबै निर्वाचन रायमाझीले जित्दै आउनुभएको छ। भुसाल भने २०७० सालको निर्वाचनमा नेकपा एमालेका दुमन थापासँग हार्नुभएको थियो।

संघ र प्रदेश निर्वाचनमा गठबन्धनबाट उम्मेदवार हुनुभएकी भुसाल र एमालेका उम्मेदवार रायमाझी बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। गठबन्धनकी  साझा उम्मेदवार भुसालले हालसम्म प्राप्त उपलब्धीको रक्षा गर्न सके मात्र आगामी भविष्य निर्धारण हुने भएकोले संविधान जोगाउँदै देशलाई आर्थिक  तथा सामाजिक रूपान्तरणका लागि गठबन्धनका उम्मेदवारलाई बिजयी बनाउनु पर्ने बताउनुभयो।

उहाँले लामो सङ्घर्षबाट बनेको संविधान र मुलुकका उपलब्धि खारेज गर्नेलाई जिताए देशले हार्ने भएकोले गठबन्धनका नेताहरूलाई बिजयी बनाउनु पर्ने बताउनुभयो। त्यसो त उपसभामुखसम्म हुनुभएकी भुसालका सन्दर्भमा संविधान बनाउन भूमिका खेलेको भएपनि विकासमा खासै चासो नदिएको  स्थानीयको भनाई छ। तर भुसाल भने अब देशको मुख्य कानुन संविधान बनेकोले सरकारको ध्यान अब विकास  तर्फ जाने बताउनुहुन्छ।

तीन पटकसम्म निर्वाचित एमालेका सचिव टोपबहादुर रायमाझी नेकपा माओवादी केन्द्रबाट २०६४, २०७० र २०७४ सालको निर्वाचनमा नेकपा एमाले र राष्ट्रिय जनमोर्चा गठबन्धनबाट निर्वाचित हुनुभएको हो। नेकपा विघटन हुँदा माओवादी छोडेर ओली कित्तामा उभिनु भएका रायमाझी अहिले नेकपा एमालेमा हुनुहुन्छ। रायमाझीले अधुरा काम पूरा गर्न र राष्ट्र बनाउने भिजन आफूलाई बिजयी बनाउन आग्रह गरेका गर्नुभएको छ।

नेतृत्वमा रहँदा चार पटक मन्त्री तथा उपप्रधानमन्त्री समेत हुनुभएका रायमाझीले उल्लेख्य काम गर्न नसको स्थानीयको गुनासो छ। जिल्लामा भुसाल, रायमाझीका अतिरिक्त ९ जना पनि प्रतिस्पर्धामा छन्। तर, उनीहरूको प्रभाव न्यून रहेको अनुमान गरिएको छ। संघीय निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका खलिल मियाँ, जनता समाजवादी पार्टी नेपालका नेत्र बहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका हरिप्रसाद भुसाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका होम नारायण बेल्बासे, हाम्रो नेपाली पार्टीका दुर्गा बन्जाडे लगायत प्रतिस्पर्धामा हुनुहुन्छ।

अर्घाखाँचीमा प्रतिनिधिसभा सदस्यका लागि ११ जना, प्रदेश सभा (क) का लागि ७ र प्रदेश सभा (ख) का लागि ७ जना उम्मेदवार रहेका छन्। प्रदेश सभामा (क) मा गठबन्धका तर्फबाट राष्ट्रिय जनमोर्चाका सागर केसी र एमालेका तर्फबाट चेतनारायण आचार्य प्रदेश सभा (ख) मा गठबन्धनका तर्फबाट कमल भुसाल र एमालेका तर्फबाट रामजी घिमिरे प्रतिस्पर्धामा हुनुहुन्छ।

मुख्य प्रतिस्पर्धी मानिएका भुसाल र रायमाझीको चुनाव लक्षित कार्यक्रमले तिव्रता पाउँदै जाँदा कसले बाजी मार्ने भन्ने रोचकता बढ्दै गएको छ।  लगातार तिन पटक निर्वाचन आफ्नो पक्षमा पार्न सफल रायमाझी चौथो जित निकाल्दै अपराजित यात्रा कायम राख्ने कसरतमा हुनुहुन्छ भने अर्घाखाँचीबाट एक मात्र महिला उम्मेदवार भुसाल गठबन्धनको साख जोगाउँदै रायमाझीको अपराजित यात्रालाई पुर्णविराम लगाउने दाउमा हुनुहुन्छ।

स्थानिय तहमा गठबन्धन अगाडि

नेपाली कांग्रेस ३७९२५, एमाले ४८२६०, नेकपा माओवादी केन्द्र ७७९०,राष्ट्रिय जनमोर्चा ४,२९४, नेकपा एकिकृत समाजवादी ३७६३ रहेको छ। एमाले ४८२६०  रहेको छ भने गठबन्धनको मतः ५३७७२ रहेको छ। गएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा गठबन्धन करिब पाँच हजार ५ सय मतले अगाडि छ।

तर, निर्वाचनमा चार हजार बढी मत बदर भएकोमा त्यसलाई आधा–आधा गर्दा पनि गठबन्धन सात हजार ५ सयले अघि रहेको नेपाली कांग्रेसका जिल्ला सभापति केशव श्रेष्ठले को भनाई छ।उता रायमाझीले आफूलाई दस हजार भन्दा बढी ‘पपुलर’ मत खस्ने दावी गर्नुभएको छ। गठबन्धन मतमा अगाडि भएपनि स्थानिय तहमा आफुहरूको बहुमत रहेकाले संघीय तथा प्रदेश निर्वाचन नेकपा एमालेले जित्ने दावी गर्नुभयो। गठबन्धन भित्र असन्तुष्टी जनाउँदै राष्ट्रिय जनमोर्चा र नेकपा एकिकृत समाजवादीले उम्मेदवारी दर्ता गराएका थिए।

छलफल पछी उम्मेदवारी फिर्ता लिएर भुसाललाई समर्थन गरेपछी अहिले गठबन्धन एकजुट छ। यस अवस्थामा गठबन्धनको अवस्था बलियो देखिएको छ। लगातार चुनाव जित्नुभएका टो‍पबहादुर रायमाझी यो पटक पनि चुनाव जित्न एमाले बनेर आएको स्थानीयको भनाई छ। जसबाट एमालेका पुराना कार्यकर्ता र मतदाताचाहिँ रूष्ट छन्। चुनावै  पिच्छे रूप बदलेर आउनुभएका रायमाझीलाई अहिले चुनाव जित्न फलामको चिउरा चपाउनु जस्तै हुने बताए।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

चन्द्रकान्त खनाल/रूपन्देही का अन्य पोस्टहरु:
‍अर्घाखाँचीमा पुष्पालाई गठबन्धको भर, टोप बहादुरलाई एमालेकै डर
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link