रूपन्देही २: विष्णु पौडेलको प्रतिस्पर्धामा जनमुक्तिले इतिहास रच्ला त?

चन्द्रकान्त खनाल/रूपन्देही

रूपन्देही  एमालेको प्रतिष्ठा जोडिएको रूपन्देही क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य पदमा एमालेले उपाध्यक्ष विष्णु पौडेललाई उम्मेद्वार बनाएको छ। २०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा दोब्बर मत अन्तरले निर्वाचित पौडेलका सामु यो निर्वाचन त्यति सहज भने देखिँदैन। उक्त निर्वाचनमा नेपाली कांग्रेसका नेता युवराज गिरी उहाँका मुख्य प्रतिस्पर्धी हुनुहुन्थ्यो। तर अहिले नेपाली काँग्रेस सहितको सत्ता गठबन्धन दलहरूको तर्फबाट राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय कार्यकारी अध्यक्ष केशवबहादुर थापा प्रतिस्पर्धामा हुनुहुन्छ।

२०७४ सालको निर्वाचनमा तेस्रो भएको जनमुक्ति पार्टीबाट केबी पुन प्रतिस्पर्धामा हुनुहुन्थ्यो। यो निर्वाचनमा जनमुक्तिले केन्द्रीय कार्यकारी अध्यक्ष थापालाई उम्मेद्वार बनाएको छ। एमाले उपाध्यक्ष पौडेललाई राप्रपा र जनता समाजवादी पार्टीको समर्थन छ भने जनमुक्ति पार्टीका उम्मेदवार थापालाई सत्ता गठबन्धनमा आवद्ध दलहरू नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको साथ रहेको छ।

गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा क्षेत्र नं. २ मा पर्ने बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र सैनामैना नगरपालिकामा नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएका छन्। स्थानीय तहको निर्वाचनमा यही सत्ता गठबन्धनका दलहरूको चुनावी तालमेल थियो। त्यस्तै एमालेको विभाजन र अहिले यो गठबन्धनमा राष्ट्रिय जनमुक्ति पार्टी पनि थपिएका कारण सत्ता गठबन्धनका दलका उम्मेदवारहरूको जित निश्चित रहेको नेपाली काँग्रेस क्षेत्र नं. २ का कार्यवाहक सभापति पर्शुराम ढकाल बताउनु हुन्छ।

त्यस्तै २०७४ को निर्वाचनमा एमालेलाई माओवादी केन्द्रको साथ थियो। अहिले माओवादी केन्द्र सत्ता गठबन्धनमा छ। वितेको ५ वर्षमा पौडेलले यहाँको विकासमा राम्रोसँग ध्यान नदिएको, यहाँ भएका राम्रा कार्यालयहरू बाहिर गएको, सुकुम्बासीका समस्या जस्ताको त्यस्तै रहेको लगायतका कारणले यो पटक आफूहरूले मत पाउनेमा सत्ता गठबन्धन ढुक्क छ।

त्यस्तै एमालेलाई मुख्य रुपमा मतदाता ढाटेको आरोप छ। अघिल्लो निर्वाचनमा एमालेले प्रदेशको स्थायी मुकाम बुटवलमा राख्ने बाचा गरेको थियो। तर प्रदेशको राजधानी बुटवलबाट सार्ने प्रस्ताव एमालेले नै गर्यो। सत्ता गठबन्धनबाट क्षेत्र नं. २ को प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका तीनैजना उम्मेदवारको अनुहार नयाँ हो। प्रतिनिधि सभामा राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय कार्यकारी अध्यक्ष केशवबहादुर थापा सहित प्रदेश सभा सदस्य पदमा (क) बाट नेपाली कांग्रेसका युवा नेता महासमिति सदस्य दीर्घबहादुर (कुमार) केसी र (ख) बाट माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य बामदेव क्षेत्री उम्मेदवार हुनुहुन्छ।

प्रतिनिधिसभा सदस्य पदमा एमाले उम्मेदवार पौडेल र प्रदेश सभाका उम्मेदवारहरू यस अघि ५ वर्षे कार्यकाल पूरा गरिसकेका र सत्ता गठबन्धनबाट प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य पदका उम्मेदवारहरू नयाँ अनुहार भएका कारण पनि एमालेबाट रुष्ट मतदाताको लागि सहज विकल्प भएको नेपाली कांग्रेसका क्षेत्रीय सचिव प्रजापाल गिरी बताउनु हुन्छ। चुनावी प्रचारप्रसारमा मतदाताले देखाएको सकारात्मक प्रतिक्रियाले सत्ता गठबन्धनका दलहरूलाई थप उत्साहित भएको माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पोलिटव्यूरो सदस्य गोविन्द केसी बताउनु हुन्छ।त्यसो त सत्ता गठबन्धनले सुरुमा प्रतिनिधि सभा सदस्य पदमा एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङलाई उम्मेदवार बनाएको थियो।

गुरुङको उम्मेदवारी खारेज भएपछि सत्ता गठबन्ध र जनमुक्ति बिच प्रतिनिधि सभामा प्रतिनिधि सभामा जनमुक्तिका उम्मेदवारलाई समर्थन गर्ने र प्रदेश सभा र जिल्लामा अन्य क्षेत्रमा पनि जनमुक्तिले सत्ता गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने भद्र सहमति भएको हो। सोही अनुसार आफूहरू चुनावी अभियानमा होमिएको र मतदाताको प्रतिक्रिया पनि सकारात्मक पाएको राष्ट्रिय जनमुक्ति पार्टीका रूपन्देही जिल्ला अध्यक्ष प्रेमबहादुर थापा बताउनु हुन्छ। २०७४ सालमा विष्णु पौडेलले आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर बुटवललाई प्रदेशको राजधानी बनाउने अठोटका साथ आफूलाई जिताउन आग्रह गर्नु भएको थियो। भारी मतान्तरले निर्वाचन जितेर मन्त्री पनि हुनुभयो। प्रदेश राजधानी बुटवलबाट दाङ सरेपछि एमाले र पौडेलसँग बुटवलबासीले मन दुखाएका छन्।

राजधानीका सवालमा मन दुखाएका बुटवलवासीलाई क्षतिपूर्ति स्वरुप बुटवललाई आर्थिक केन्द्र बनाउने बताउँदै आउनु भएको छ। चुनावी अभियानमा घरदैलोमा रहेका उहाले मतदातालाई सम्झाउँदै फकाउँदै पनि हुनुहुन्छ। यो निर्वाचन राष्ट्रिय जनमुक्ति पार्टीले नयाँ इतिहास रच्ने अवसरको रुपमा लिएको छ भने सत्ता गठबन्धनमा आवद्ध दलहरू एमालेले किल्लाको रुपमा लिएको क्षेत्र नं. २ लाई पल्टाउने राम्रो अवसरको रुपमा लिएका छन्। त्यस्तै एमाले उम्मेदवार पौडेललाई व्यक्तिगत रुपमा जित निकाल्नु तछ नै भन्दै आएको गढ जोगाउनु पर्ने चुनौती पनि छ।यो निर्वाचन क्षेत्रमा २०६४ सालको संविधान सभा निर्वाचन यता एमालेले हार व्यहोर्नु परेको छैन। अहिले हारेमा व्यक्तिगत रुपमा पौडेललाई क्षेती त हुने नै छ, संगसंगै त्यो भन्दा ठूलो क्षेती एमालेले व्यहोर्नु पर्ने छ। स्थानीय चुनावमा काँग्रेसले जीतेपनि त्यपछि पनि तिनाउमा धेरै पानी बगिसकेको उम्मेद्वार पौडेल बताउनु हुन्छ।

यो निर्वाचन पौडेलका लागि धेरै सहज भएको एमालेले महसुस गरेको छ। सत्ता गठबन्धको प्रमुख दल नेपाली कांग्रेसले आफ्नो दलको उम्मद्वार नपाएका कारण एमालेको जित सुनिश्चित भएको एमाले नेताहरू बताउँछन्।एउटा हाईट बनाएको नेतालाई जिताउँदा यहाँको विकासका कामहरू सहज रुपमा अगाडि बढ्नेछन् भन्ने कुरा मतदाताले राम्रोसंग बुझेको एमाले बुटवल नगर कमिटी अध्यक्ष किशन ज्ञवाली बताउनु हुन्छ।

चुनावी मतको अङ्कगणित

रूपन्देही क्षेत्र नम्बर २ मा बुटवल उपमहानगरपालिकाको वडा नम्बर १ देखि १३ सम्म, सैनामैना नगरपालिकाको वडा नम्बर १, २, ३, ४ र तिलोत्तमा नगरपालिकाको १, २, ३, ४, ५ र ६ पर्छ। यी तिनै पालिकाको प्रमुख नेपाली कांग्रेसले जितेको छ। जबकी २०७४ सालको स्थानीय निर्वाचनमा यी तिनै पालिका एमालेले जितेको थियो।

स्थानीय तहको निर्वाचनमा रूपन्देही क्षेत्र नम्बर २ अन्तर्गत पर्ने वडामा नेपाली कांग्रेसका वडाध्यक्षले कुल ३४ हजार ९५९ मत पाए। एमालेले ३३ हजार १८७, राप्रपाले ३ हजार ९२०, माओवादी केन्द्रले ३ हजार ८८ र एकीकृत समाजवादीले १ हजार ३८२ मत ल्याएका थिए। यस्तै जनमुक्तिले बुटवल उपमहानगरपालिका बाहेक यस क्षेत्रमा पर्ने अन्य पालिकाका वडाध्यक्षले २ हजार ७० मत पाएका थिए। स्थानीय तहको निर्वाचनमा एमालेले बुटवलमा जनमुक्तिलाई केही वडा सदस्य दिएर तालमेल गरेको थियो।

समग्रमा रूपन्देही क्षेत्र नं २को अवस्था हेर्नुहो भने राष्ट्रिय जनमुक्तिको बुटवल खासगरी रूपन्देही क्षेत्र नम्बर–२ मा जनाधार कमजोर रहेको छ। अर्को तर्फ केशवबहादुर पहिलो पटक निर्वाचन लड्न लाग्नु भएको छ।  उहाँ पूर्ण रुपमा सत्ता गठबन्धन अर्थात् नेपाली कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीको मतमा भर पर्नुपर्ने छ। निर्वाचनमा कांग्रेस माओवादीका सबै कार्यकर्ताले केशवबहादुरलाई मत दिन्छन् दिदैँनन् त्यो निर्वाचनको मत परिणामले नै बताउला।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

चन्द्रकान्त खनाल/रूपन्देही का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link