कपिलवस्तु १ मा बलदेवलाई गठबन्धनको भर एमालेका बलरामलाई स्वतन्त्रको डर

चन्द्रकान्त खनाल/रूपन्देही

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको चुनामा कपिलवस्तु क्षेत्र नं. १ मा सत्ता गठबन्धनका साझा उम्मेदवार चक्रपाणी खनाल (बलदेव) र एमालेका जिल्ला इन्चार्ज बलराम अधिकारीबीच चुनावी भिडन्त हुने भएको छ।
नेकपा माओवादीका केन्द्रीय सचिव तथा पूर्वमन्त्रीसमेत रहेका चक्रपाणी खनाल (बलदेव) र नेकपा एमालेका जिल्ला इन्चार्ज एवं संविधानसभा सदस्य बलराम अधिकारीबीच मुख्यत: महाभिडन्त हुने देखिएको हो।
तीन निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा क्षेत्र नम्बर १ मा ‘हेबिवेट’ उम्मेदवार बलदेवलाई टक्कर दिन बलराम निर्वाचनमा होमिएका छन् । यी दुवैतर्फका उम्मेदवार जिल्लामा पाका नेताका रूपमा परिचित छन् । अघिल्लो निर्वाचनमा साझेदार सहकर्मीका रूपमा रहेका थिए– बलदेब र बलराम अधिकारी । उनै खनाल र अधिकारी आगामी मंसिर ४ को आमनिर्वाचनमा भने आमने–सामने भिडन्तका लागि चुनाबी मैदानमा आफ्ना एजेन्डासहित जनताको घर घरमा भोट माग्न हिँडिरहेका छन्।
उनीहरूले पहिले गरेका काम र अब गर्ने कामका बारेमा पनि बताइरहेका छन्। ०७४ सालमा एमालेकै समर्थनमा उम्मेदवार भएका माओवादी केन्द्रका नेता बलदेवले कपिलवस्तु १ मा २९ हजार ७९९ मत ल्याएका थिए। नेपाली कांग्रेसका उम्मेदवार दीपकुमार उपाध्यायले भने २८ हजार ८५३ मत पाएका थिए। उता ०७४ को निर्वाचनका मुख्य प्रतिस्पर्धी रहेका बलदेव र उपाध्याय अहिले वाम लोकतान्त्रिक गठबन्धनका कारण एकै ठाउँमा रहेका छन्।
स्थानीय निर्वाचनको आधारमा भोट
गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कपिलवस्तु क्षेत्र नम्बर १ मा ३० वडाध्यक्षहरूको मतलाई आधार मान्दा कांग्रेस नै अघि छ। र एमालेका वडाध्यक्षले २६ हजार ८२३ र कांग्रेसका वडाध्यक्षहरूले २८ हजार २७१ मत ल्याएका थिए।
त्यस्तै, जसपाको १३ हजार ५१०, माओवादी केन्द्रको ९ हजार ३३८, एकीकृत समाजवादीको ३ हजार ७२२, लोसपाको ३ हजार ४२४, राप्रपाको २ हजार ४८० रहेको छ। हाल कायम रहेको वाम लोकतान्त्रिक गठबन्धनअन्तर्गत नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको प्राप्त मतलाई आधार मान्दा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको भोट बढी रहेको छ। १लाख४१ हजार मतदाता रहेको यो क्षेत्रमा वाम लोकतान्त्रिक गठबन्धनको मतबढी रहेको छ।
एमालेका अधिकारी पनि २०७० सालमा त्यो क्षेत्रबाट निर्वाचित भएका थिए। अहिले पनि उनी यसै क्षेत्रमा उम्मेदवारी दिएर मत माग्दै हिँडेका छन्।
खनालले के गरे कृषिमन्त्री हुँदा
तत्कालीन प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकारसमेत भइसकेका बलदेव २०७४ सालमा कपिलवस्तु १ बाट निर्वाचित भई कृषिमन्त्री भए। उनको कार्यकाल छोटो भए पनि मुख्य गरी जमिन र कृषिक्षेत्रको नीति निर्माणमा काम गरी जमिनको व्यवस्थापन ४ प्रकारबाट गर्ने कार्य आरम्भ गरेका थिए।
कृषिमन्त्री रहँदा खनालले व्यावसायिक, कृषि, उद्योग र सुकुम्वासीका लागि योजना निर्माण गरे भने मालपोतमा व्यापक भ्रष्टाचार हुने देखिएकाले अनलाइन प्रणालीमा ल्याउने काम समेत गरेका थिए। त्यसवेला जमिनको चक्लाबन्दीको विषय र कृषिमा युवा भन्ने कार्यक्रम निकै प्रभावकारी थियो।
तत्कालीन अवस्थामा भारतीय खसीबोका आयातमा कडाइ गर्ने र धुलो दुध आयातमा कटौती गरी स्वदेशी उत्पादनलाई बढावा दिने कार्य बलदेव मन्त्री हुँदाको प्रमुख र ऐतिहासिक कार्य हो तर उनलाई तत्कालीन प्रम केपी ओली नेतृत्वको सरकारले बीचैमा मन्त्री पदबाट हटाएकाले आफ्ना अधुरा काम गर्न मत माग्दै हिँडेका छन् ।
अधिकारीका योजना
एमालेका केन्द्रीय सदस्यसमेत रहेका उम्मेदवार अधिकारी पुन: दोस्रोपटक निर्वाचित हुनेमा विश्वस्त देखिन्छन्। २०७० सालमा सम्पन्न निर्वाचनको नतिजा आफ्नो पोल्टामा पार्न सफल अधिकारीको तत्कालीन योजनाहरूको कार्यान्वयन गर्नका लागी आफ्नो उम्मेदवारी भएको बताउँछन्। कपिलवस्तुको निर्वाचन क्षेत्र नं १ प्रतिनिधिसभाका उमेदवार बलराम अधिकारीले जनताले आफूलाई जिताएमा कपिलवस्तुलाई पूर्वाधार विकासमा अब्बल बनाउने बताएका छन । निर्वाचनका क्रममा आम नागरिकको घरदैलोमा पुग्दै जनताका कुरा सुन्दै अधिकारीले जनभावना अनुसार अगाडि बढेको बताए। उनले जनताले जनजीवीकामा परिवर्तन र विकास खोजेका छन्, त्यो पूरा गर्ने संकल्प अगाडि सारेको बताए। जनतालाई शान्ति सुरक्षा प्रत्याभूत गर्न जीर्ण रहेका सुरक्षा निकायको भौतिक संरचना विकास गरिने लगायतका थुप्रै योजना अगाडि सारिएको बताए।
प्रदेशमा कोको छन् ?
कांग्रेसले क्षेत्र नम्बर १ को १ मा प्रदेश सदस्यमा डोलकराम घिमिरे, १ को २ मा सहसराम यादवलाई उम्मेदवार बनाएको छ। २०७४ सालमा यादव यही क्षेत्रबाट चुनाव जितेका थिए भने घिमिरे समाजसेवामा तल्लिन नेताका रूपमा परिचित छन्। उता, एमालेले क्षेत्र नम्बर १ को १ मा नेता विष्णु पन्थी र १ को २ मा मधुसुदन शरण चौधरीलाई उम्मेदवार बनाएको छ। पन्थीले २०७४ सालको निर्वाचनमा जित हासिल गरेका थिए।
बागीको दुबैलाई चुनौती
नेपाली कांग्रेसले गठबन्धन गरेर कपिलवस्तु क्षेत्र नं. १ मा माओवादी केन्द्रलाई गठबन्धनको उम्मेदवार बनाएपछि स्वतन्त्र उम्मेदवारी दिएका ललित गुरूङले कपिलवस्तु क्षेत्र नं १ चुनावी प्रचार प्रसारमा लागेका छन् । उनले घरदैलोको क्रममा वाणगंगाका विभिन्न वडामा भएका कोण सभामा बोल्दै कांग्रेसको मत आफूले पाउने जित्नका लागि कुनै समस्या नहुने बताएका छन् ।
उनले कपिलवस्तु नगरपालिकाको वडा नं ९, १० र ११ मा उनको राम्रो जनमत भएको बताइएको छ। त्यो वडामा एमाले र कांग्रेस दुबै पक्षको भोट आफ्नो पक्षमा पर्ने संभावना रहेको स्थानीय विष्णु भन्डारीको भनाइ छ। अहिलेसम्म कुनै पनि कांगे्रका नेताहरू उनको पक्षमा मतमाग्दै नहिँडेको र उनको पक्षमा मतमाग्ने अवस्था पनि नदेखिएको उनले बताए । उनले भने संघमा गठबन्धन भएकोले जिल्लामा बागी हुनुको कुनै अर्थ नरहेको समेत बताए।
त्यस्तै एमालेका उम्मेदवार अघिकारीलाई प्राप्त हुने मत पनि स्वतन्त्र उम्मेदवार नागेन्द्र्र चौधरीले काट्ने देखिएको छ। यसक्षेत्रको दक्षिण बेल्टतर्फ चौधरीको राम्रो वाहुल्य भएका कारण एमालेको भोट उनले काट्ने बताइएको छ। उनी पाटी भन्दा जातीयता तर्फको भएका कारण त्यो क्षेत्रमा एमालेकाे भोट चौधरीले आफ्नो पक्षमा पार्ने बताइएको छ। कपिलवस्तु–१ मा बाणगंगा, मायादेवी, शुद्धोधन पालिकाका सबै र कपिलवस्तुको नगरपालिकाको ७, ८, ९, १० र ११ वडा गरी ३० वडा रहेका छन् भने कुल मतदाता एकलाख ४१ हजार १३ छन् ।
नेपाल जनता पार्टीका
नेपाल जनता पार्टी कपिलवस्तुले बाम लोकतान्त्रिक गठबन्धनलाई सहयोग गर्ने भएको छ । नेपाल जनता पार्टीका जिल्ला अध्यक्ष शुशिल तिवारी र कपिलवस्तु क्षेत्र नम्बर १ का सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सचिव चक्रपाणी खनाल (बलदेव) बीच जिल्ला भरी नै सहयोग हुने गरी सहमति भएको हो ।
कपिलवस्तुको क्षेत्र नम्बर २ र ३ का उम्मेदवारहरूको उम्मेदवारी समेत निस्कृय बनाउने गरी दुवै पक्ष बीच सहमति भएको जनाइएको छ । नेपाल जनता पार्टीका जिल्ला अध्यक्ष तिवारीले आफूहरूले जिल्लाभर सत्ता गठबन्धनलाई सघाउने बताए । अहिलेको राष्ट्रिय आवस्यकतालाई मध्यनजर गर्दै यस्तो निर्णयमा पुगेको उनले बताए ।
कपिलवस्तु क्षेत्र नं १ को समग्र अवस्थालाई हेर्ने हो भने बागी उम्मेदवारले दुबै पक्षका मततान्ने अवस्था भए पनि त्यो क्षेत्रमा सत्ता गठबन्धनका चक्रपाणि खनाल र एमालेका बलाराम अधिकारी बीच प्रतिस्पर्धा रहेको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

चन्द्रकान्त खनाल/रूपन्देही का अन्य पोस्टहरु:
कपिलवस्तु १ मा बलदेवलाई गठबन्धनको भर एमालेका बलरामलाई स्वतन्त्रको डर
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link