पश्चिम नवलपरासी २: देवेन्द्रराज कँडेललाई दीपेन्द्र अधिकारीको चुनौती ?

चन्द्रकान्त खनाल/रूपन्देही

राजनीतिमा स्थायी शत्रु हुँदैन भन्ने उदाहरण अहिले सरकार वा प्रतिपक्षमा रहेका दल तथा तिनीहरूका नेताको सहकार्यले प्रमाणित गरेको छ। अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवा ०५२ सालमा प्रधानमन्त्री हुँदा माओवादीले सरकारसँग राखेका मागप्रति वेवास्ता गरेको भन्दै माओवादीले सशस्त्र युद्ध गरेको थियो।

त्यसपछि कांग्रेसकै नेतृत्वमा सरकार रहेको बेला ०५८ सालमा माओवादीलाई उसले सुरु गरेको युद्धलाई आतंकवाद र नेताकार्यकर्तालाई आतङ्ककारी घोषणा गर्दै शीर्ष नेताहरूको टाउकाको मूल्य तोक्ने अहिले गठबन्धनको मुख्य सहयात्री माओवादीकै  एक  ठाउँमा रहेर  चुनावको लागी मुख्य सहयात्री भएका छन्।

पश्चिम नवलपरासी क्षेत्र नं २ मा उम्मेदवार रहेका देवेन्द्रराज कँडेललाई कांग्रेस एमालेको हाराहारीमा मत रहेकाले  माओवादीका मत जितका लागि आवश्यक भएको हो। एमालेले जसपाको साथ पाएको र राप्रपाले लोसपाको साथ पाएकाले पनि उहाँलाई माओवादीको साथ चाहिएको हो। नेता कँडेलले भने आफू तत्कालीन सरकारको प्रतिनिधि भएकाले घोषणा गरेको र अहिले अवस्था फेरिएको सबैले पुराना विषय बिर्सेको बताउनु भयो।

तीन दशकयता निरन्तर चुनाव लड्दै आएका नेता कँडेललाई सत्ता गठबन्धन दलको साथ रहेको छ भने प्रतिस्पर्धामा नयाँ उम्मेदवार रहेका छन्। यो बीचमा उहाँ अधिकांश नयाँ अनुहारसँग निर्वाचन लड्दै आउनुभएको छ। कँडेलले यस क्षेत्रबाट यसअघि ६ पटक चुनाव लड्नू भएको थियो। जसमा ३ पटक जित्नुभयो। कँडेल २०५६ र २०५८ सालमा २ पटक गृह राज्यमन्त्री बन्नुभएको थियो। कँडेलले एकपटक जिल्ला पार्टी सभापति र २ पटक केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालिसकेका नेता हुनुहुन्छ।

०५१ सालमा सद्भावना पार्टीका दुर्गा चौधरीलाई पराजित गरेर संसद् यात्रा सुरु  गरेका कँडेल त्यसयता नियमित लड्दै आउनु भएको छ। उहाँले २०५६ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ध्रुवबहादुर प्रधानलाई पराजित  गर्नु भएको थियो।

२०६४ सालमा साविक ५ नम्बर क्षेत्रबाट उम्मेदवार रहेका उहाँ  तत्कालीन मधेसी जनाधिकार फोरमका रामवचन चौधरीसँग पराजित हुनुभएको थियो। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा क्षेत्र परिवर्तन गरेर तत्कालीन नवलपरासी–४ बाट उम्मेदवार बनेका कँडेल एमालेका नेता बैजनाथ चौधरीसँग पराजित हुनुभएको थियो।

२०७४ सालमा उहाँले तत्कालीन वाम गठबन्धनबाट माओवादीका उम्मेदवार घनश्याम यादवलाई भारी मतान्तरले पराजित गरेर पुन: संसद्  प्रवेश गर्नु भएको थियो। अहिले उहाँका प्रमुख प्रतिस्पर्धी नेकपा एमालेका जिल्ला अध्यक्ष तथा पूर्व प्रदेश सांसद दीपेन्द्र अधिकारी रहनुभएको छ। कांग्रेसलाई सत्तारुढ गठबन्धनको साथ छ। एमालेले जसपासँग तालमेल गरेको छ भने राप्रपाले लोसपासँग तालमेल गरेर यस क्षेत्रको चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

पार्टी संस्थापन समूहको पहुँचमा रहनुभएका कँडेलको यो क्षेत्रमा प्रतिस्पर्धामा कोही नभएको बताउनु हुन्छ  कांग्रेस नेता भरत थापा।  नेता कँडेलले आफ्नो बुवा १५ सालमा नवलपरासीबाट सांसद बनेर धेरै काम गरेको र आफूले राजनीति सुरु गरेपछि पनि धेरै कामको सुरुवात गरेको बताउनुहुन्छ। मैले यो क्षेत्रमा महेशपुर नाकालाई स्तरोन्नति बनाउने घोषणा गरेको थिएँ, छोटी भन्सारलाई स्तरोन्नति भएको छ, सो क्षेत्रको भौतिक पूर्वाधारमा पनि उस्तै काम भएको छ, यो नाका हुँदै सुनवल पाल्पाको माथागढी हुँदै कालीगण्डकी कोरिडोरमा जोड्न सडक आयोजना अगाडि सारेको छु, भारतीय पर्यटकलाई सिधै गण्डकी प्रदेशसँग जोडेर यसको विकास गर्ने योजना छ म आउने कार्यकालमा त्यो काम पूरा गर्छु।’ उहाँले भन्नुभएको छ।

गठबन्धनबाट प्रदेशसभा २(१) मा बाबुराम भट्टराई निकट चिनक कुर्मी र २ (२) मा कांग्रेसका बैजनाथ कलवार उम्मेदवार रहनुभएको छ।  एमाले–जसपा तालमेलबाट प्रदेशसभा २(१) मा एमालेका थानप्रसाद गैरे र २(२) मा जसपाका धरेन्द्र यादव उम्मेदवार छन्।

एमाले जिल्ला उपसचिव राजनकुमार आचार्यले कँडेलले निरन्तर जिल्लाबाट चुनाव लड्दै आए पनि यस क्षेत्रको विकासमा प्रभावकारी काम गर्न नसकेको भन्दै यसपटक एमालेले जित्ने बताउनुभयो। आचार्य भन्नुहुन्छ, ‘एमाले–जसपा गठबन्धनले सत्तारुढ गठबन्धनलाई पराजित गर्छौं, जित हाम्रो हुन्छ। दीपेन्द्र अधिकारीले जित्नुहुन्छ।’

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल र राप्रपाबीच तालमेल छ। यहाँ राप्रपा–लोसपा गठबन्धनबाट राप्रपाका नेता धुव्रबहादुर प्रधानले प्रतिस्पर्धा गर्नु भएको छ भने प्रदेश २(१) मा लोसपाका पञ्चराम चौधरी र २ (२)मा पनि लोसपाकै नगेन्द्र अग्रहरीले प्रतिस्पर्धा रहनुभएको छ। यो क्षेत्रमा कांग्रेसका कँडेल र एमालेका अधिकारीबीच मुख्य प्रतिस्पर्धा हुने स्थानीयको आँकलन  गरिएको छ।

जनता र समाजप्रति आफूले गरेको योगदानले गर्दा नवलपरासीका जनताले आफूलाई नै विजयी बनाउने कँडेल दाबी छ। सुनवलदेखि महेशपुर बोर्डरसम्मको क्षेत्रमा आफूले सडक पूर्वाधार निर्माणलाई विशेष प्राथमिकता दिएको उहाँको भनाइ छ। नवलपरासी हुँदै बाइपास सडक, परासी बजारको ४ लेन सडक, हुलाकी राजमार्ग, महेशपुर छोटी भन्सारलाई मूल भन्सारमा परिणत गर्ने कामहरू भएका छन्।

कँडेलकै पहलमा महेशपुर भन्सारलाई राजमार्गसँग जोड्ने महेशपुर–सुनवल सडक ४ लेनमा परिणत गरी व्यापारिक मार्गको रूपमा परिणत गर्न करीब १ अर्ब ३३ करोड बजेट व्यवस्थापनका साथै निर्माण कार्य प्रारम्भ भएको छ। सीमा क्षेत्रको विकासको मुख्य उद्देश्यसहित नवलपरासी र रुपन्देहीको बोर्डरलाई जोड्ने महेशपुर–सुनवल जोड्ने गरी भन्सीपुर–सनहीदेखि पडरीसम्म १४ किलोमिटरको रणनीतिक सडक निर्माणका लागि करिब ४० करोड बजेट व्यवस्थापन गरी कामको सुरुआत भएको छ।

कँडेलले नवलपरासीको विकासका लागि आफू निरन्तर लागेका कारणले नै जनता आफ्नो साथमा रहेका बताउनु भयो। उखु किसान, केरा खेती गर्ने किसान बाढीको समस्या लगायतको दीर्घकालीन समाधान र आफ्नै पहलमा शुरू भएका योजनाको सफल कार्यान्वयनका लागि पनि आफूले पुन: उम्मेदवारी दिनुपरेको कँडेल बताउनुहुन्छ।

एमाले उम्मेदवार अधिकारी पछाडि परेको दक्षिणी क्षेत्रसहित पश्चिम नवलपरासीको विकासका लागि आफूहरू निरन्तर लागिपरेकाले एमालेलाई चुनाव जित्न कुनै समस्या नरहेको दावी गर्नुहुन्छ। प्रदेश सांसद हुँदा स्थानीय क्षेत्रमा गरेका कामहरू, नेकपा एमालेको एजेण्डा, जसपाको मत नै आफ्नो जित्ने आधार भएको उहाँको दावी छ।

यस्तो छ स्थानीय चुनावको मतभार

स्थानीय तहमा वडाध्यक्षको मतलाई आधार मान्दा कांग्रेस अगाडि छ, कांग्रेसको २५ हजार ६८६, एमालेको २३ हजार ३४२, माओवादीको ९ हजार १५१, राप्रपाको ८ हजार ८७८, जसपाको ७ हजार ३११, लोसपाको ४ हजार ५८० र नेकपा एकीकृत समाजवादीको ८८५ मत छ।

२०७४ सालको निर्वाचनमा कांग्रेसका कँडेल वाम गठबन्धन भन्दा ८ हजार मत कम थियो तर चुनावको नतिजा आउँदा कँडेलले १० हजार मतान्तरले वाम गठबन्धनलाई हराउनु भएको थियो। नवलपरासी निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यका लागि ११ राजनीतिक दल र ७ स्वतन्त्र गरी १८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

चन्द्रकान्त खनाल/रूपन्देही का अन्य पोस्टहरु:
पश्चिम नवलपरासी २: देवेन्द्रराज कँडेललाई दीपेन्द्र अधिकारीको चुनौती ?
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link