बुद्ध जन्मभूमि-रूपन्देही ५:  सदाबहार नेता शाह र नयाँ अनुहार घिमिरेकाबीच कडा प्रतिस्पर्धा

चन्द्रकान्त खनाल/रूपन्देही

गौतमबुद्धको जन्मभूमि लुम्बिनी रहेको रूपन्देही क्षेत्र नं ५ मा कांग्रेसबाट लामो समयदेखि भरत शाहले निर्वाचन लड्दै आउनु भएको छ। पार्टीभित्र कुनै निर्वाचन जित्न नसके पनि शाहले संसदीय निर्वाचन भने आश्चर्यजनक तरिकाले  चुनाव जित्दै आउनु भएको छ।

यसपटक पनि रूपन्देही ५ मा उम्मेदवार रहेका शाह नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनका साझा उम्मेदवार रहनुभएको छ। उहाँ विरुद्ध एमाले–राप्रपा–जसपा गठबन्धनले एमालेका वासुदेव घिमिरेलाई प्रतिस्पर्धा गराएको छ।

शाह र घिमिरेसँगै यस क्षेत्रमा १७ जना उम्मेदवार रहनुभएको छ। तर मुख्य प्रतिस्पर्धा शाह र घिमिरेकाबीच नै हुने देखिएको छ। शाह २०५६ मा पनि चुनाव जितेका नेता हुनुहुन्छ। नेता शाहले २०७४ मा वाम गठबन्धनका माओवादी उम्मेदवार डिलाराम आचार्यलाई ठूलो मतान्तरले पराजित गर्नु भएको थियो।

वाम गठबन्धनले अधिकांश स्थानमा जित निकाले पनि यहाँ उल्टै शाहले फराकिलो अन्तरले जित निकाल्नु भएको थियो। २०७४ मा शाहले ३३ हजार ८८ मत ल्याएर विजयी हुँदा आचार्य २० हजार ४३८ मतमा रोकिनु भएको थियो। तर, अहिले उहाँ आचार्य शाहको प्रचारमा रहनु भएको छ।

शाहसँग एमालेका नयाँ अनुहारसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। तिलोत्तमा नगरपालिकालाई उत्कृष्ट बनाएर चर्चामा कमाउनु भएका निवर्तमान मेयर घिमिरे एमाले गठबन्धनका उम्मेदवार रहनुभएको छ। २०७० र २०७४ सालको निर्वाचन जित्नुभएका शाहलाई  घिमिरेले पहिलो पटकको प्रयासमै संसद् छिर्न नदिने रणनीतिमा लाग्नु भएको छ।

एमालेमा दुई उम्मेदवारको मनोनयन

यसक्षेत्रमा पहिलेदेखि नै उम्मेदवारीको चर्चा भएका नेता खिमलाल भट्टराईलाई पार्टीले समयमै कुनै निर्णय दिन सकेन। राष्ट्रियसभामा विपक्षी दलको नेता रहेका र अझै डेढ वर्ष उहाँको कार्यकाल रहेकाले पनि उहाँलाई सो क्षेत्रमा उम्मेदवार बनाउने विषयमा पार्टीभित्र एकमत हुन सकेन।

 तर क्षेत्रीय कमिटीबाट एकल रुपमा भट्टराईको नाम सिफारिस भएको, भट्टराई त्यो सुविधा छाडेर मैदानमा जान तयार भएको, कांग्रेस नेता शाहलाई पराजित गर्नसक्ने निष्कर्षसहित उहाँलाई पुन उम्मेदवार बनाइएको  बताइएको छ। नेता घिमिरेले मनोनयनको अघिल्लो दिन अबेर टिकट पाउनु भयो। क्षेत्र नं ३ मा दावी गरेका उहाँलाई ५ को टिकट दिइएको थियो। तर, पार्टीभित्रैबाट अर्को समूहले खिमलाललाई राजीनामा गर्न लगाएर उहाँलाई आधिकारिक उम्मेदवार बनाउने गरी पुनश्च दबाब दियो र मनोनयनकै दिन आश्चर्यजनक रुपमा त्यो निर्णय आयो।

उम्मेदवारी मनोनयनका दिन दुई वटा टिकट आएपछि एमालेबाट घिमिरेसँगै खिमलाल भट्टराईले पनि उम्मेदवारी दर्ता गराउनु भएको थियो। सुरुमा दर्ता गराएकाले घिमिरेको उम्मेदवारी कायम भयो। पार्टीबाट टिकट वितरणका क्रममा भएको कमजोरीका कारण सिर्जित समस्या समाधान गर्दै भट्टराईको मन जित्ने र साथ लिने चुनौती घिमिरे सामु छ। भट्टराईले घिमिरेलाई पूर्ण सहयोग नगरेको त्यहाँका कतिपय नेता कार्यकर्ताले आरोप लगाए पनि उहाँ आफैं चुनावी कमान्डर बनेर खटिनुभएको छ। वासुदेवले कम मत ल्याए त्यसको अपजस भट्टराईलाई जाने भएकाले पनि उहाँलाई निर्वाचनको माहोल बनाउने चुनौती छ। तर भट्टराई र घिमिरे पोखरेल र पौडेलपक्षका नेता भएको बताइएको छ।

स्थानीय चुनावको मत 

स्थानीय तह निर्वाचनको मतअनुसार यहाँ एमाले पहिलो दल हो। गठबन्धन हुँदा पनि सत्तारुढ दलहरूभन्दा एमाले गठबन्धन ६ हजारभन्दा बढी मतले अगाडि छ। वडाध्यक्षमा आएको मतअनुसार एमालेको २७ हजार १४५, जसपाको ९ हजार ३३७ र राप्रपाको २ हजार ८१३ मत छ। तीनै पार्टीको मत जोड्दा ३९ हजार २९५ हुन्छ।

त्यस्तै कांग्रेसको २६ हजार ८८८, माओवादीको ४ हजार ६२६ र नेकपा एसको १ हजार १६३ मत छ। सत्ता गठबन्धनको कुल मत ३२ हजार ६७७ हुन्छ। सत्ता गठबन्धनमा रहेको लोसपाको यहाँ ३ हजार ५५६ मत रहेको छ। उसले आफ्नो उम्मेदवार उठाएको छैन। यहाँ सिके राउत नेतृत्वको जनमत पार्टी र लोसपाको पनि राम्रो प्रभाव छ।

पालिका निर्वाचनमा वडाध्यक्षको मतलाई आधार मान्दा यो क्षेत्रमा जनमतको ५ हजार ६५६ मत देखिन्छ। जनमतको आफ्नै उम्मेदवार छन्।यो क्षेत्रमा सैनामैना नगरपालिकाका ५, ६, ७, ८, ९, १० र ११, कञ्चन गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिकाका वडा नम्बर १ देखि ११ सम्म, मायादेवी गाउँपालिका र गैडहवा गाउँपालिका पर्छन्।

उम्मेदवारका प्रतिबद्धता

सत्ता गठबन्धनका उम्मेदवार शाह रूपन्देही ५ मा आफूले धेरै विकास गरेको बताउनु हुन्छ। ‘पहिले यहाँको अवस्था कस्तो थियो अहिले कस्तो भयो रु शिक्षा, स्वास्थ्य, विकास र बेरोजगारी हटाउने मेरा योजना हुन्छ, शाहले भन्नुभयो ‘अर्थ राज्यमन्त्री रहँदा राज्यको बजेट परिचालन गरी बनाएका पुल, बाटो र खानेपानीलगायतका योजनाका कारण मलाई मतदाताले विजयी गराउँछन्। अझै पनि धेरै गर्न बाँकी छ। ती बाँकी काम पूरा गर्न म आउन लागेको हो।’

एमाले गठबन्धनका उम्मेदवार घिमिरेले विश्व शान्तिको मुहान लुम्बिनीलाई केन्द्रमा राखेर रूपन्देही ५ मा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, र सरसफाइलाई प्राथमिकता दिने बताउनु भयो। ‘तिलोत्तमा नगरपालिकामा जस्तै क्षेत्र नम्बर ५ मा पनि विकासका काम गरेर देशमै परिचित बनाउनेछु’, उहाँले भन्नुभयो, ‘शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, सामाजिक सशक्तीकरणका क्षेत्रमा धेरै काम गर्ने योजना छन्।’

यहा प्रदेश सभातर्फ एमालेबाट ५ ९१० मा भूमिश्वर ढकाल र ५ ९२० मा रामचन्द्र यादव उम्मेदवार रहनु भएको छ। सत्ता गठबन्धनले ५ ९१० मा माओवादी केन्द्रका विनोद पहाडी र ५ ९२० मा कांग्रेसका फकरुद्दिन खान उम्मेदवार रहनु भएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

चन्द्रकान्त खनाल/रूपन्देही का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link