कागजमा मात्र चल्छ वाटर ट्रिटमेन्ट प्लान्ट

अनिल तिवारी

एक दशक देखि सिर्सिया नदीको प्रदुषण नियन्त्रण विभिन्न निकायहरूको लागि चासोको विषय बन्दै आए पनि नदि प्रदुषण नियन्त्रणमा खासै सुधार देखिएको छैन। दुइटै स्थानीय चुनाव, संघ र प्रदेशको चुनावमा ‍ सिर्सिया नदिको प्रदुषण नियन्त्रण महत्वपूर्ण मुद्दा  बनेपनि चुनाव पछि मुद्दा सिर्सियाको फोहोर पानीमा नै बगाइनथ्यो। छठपर्वमा मात्र नदिको प्रदुषण केही हदसम्म उद्योगहरूको स्वेच्छाले नियन्त्रण गर्ने बाहेक सँधै नदी प्रदुषित रुपमा बग्ने गरेको छ। यसका पछाडि  वीरगन्ज पथलैया कोरिडोरका उद्योगहरूले कानुनी प्रावधानलाई लत्याउनु नै हो। सबैजसो उद्योगले फोहोर पानी प्रशोधन संयन्त्र वा वाटर ट्रिटमेण्ट प्लान्ट कागजमा मात्रै चलाउने गरेका छन्।

अहिले आएर सिर्सिया नदी प्रदुषण नियन्त्रण अभियानलाई वीरगन्ज महानगरपालिकाले स्थानीय प्रशासनको सहकार्यमा तिव्रता दिइको छ। तर उक्त अनुगमनले  नदीको प्रदुषणलाई कति हदसम्म नियन्त्रण गर्ने हो ? त्यो आउने समयको कार्यवाहीले देखाउने छ। यो साता सुरु गरिए प्रदुषण अनुगमनमा विगत जस्तै नदी आसपास रहेका उद्योगहरू नै मुख्य कारक भएको जनाइएको छ।

सिर्सिया नदी प्रदुषण नियन्त्रण अभियानद्वारा मंगलबार वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ सिर्सिया आसपास रहेका ४ वटा उद्योगको अनुगमन गरिएको छ। उद्योगबाट निस्किने रसायनसहित फोहोर पानी सोझै नदीमा मिसाउने गरिएको  जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिनु भयो।

अनुगमन टोलीले श्री निधी टेक्साइल्स प्रालि, ब्रिटानिया नेपाल प्रालि, शक्ति दाल मिल र शक्ति वायर्सको अनुगमन गरेको थियो। अनुगमनका क्रममा निधी टेक्साइल्सले उद्योगबाट निस्केको फोहोर पानी सोझै नदीमा मिसाउने गरेको सहायक प्रमुख पौडेलको भनाइ थियो।

यो उद्योगले दैनिक डेढ लाख लिटर केमिकल सहितको फोहोर पानी उद्योगबाट सोझै सिर्सिया नदीमा मिसाउने गरेको प्रारम्भिक अनुगमनमा थाहा भएको सहायक प्रजिअ पौडेलको भनाइ थियो। कतिपय उद्योगहरूले  वाटर ट्रिटमेन्ट प्लान्ट नराख्ने ,राखेकोले पनि उक्त प्लान्ट नचाउने गरेको र  सिर्सिया नदिमा रसायन युक्त पानीहरू छाड्ने गरिएको अनुगमनको ठहर छ। फोहोर पानी सोझै नदीमा फाल्ने गरेकोले पनि नदि प्रदुषित हुने गरेको वीरगञ्ज महानगरपालिका वातावरण शाखाका प्रमुख देवेन्द्र चौधरीको भनाइ छ।  उद्योगले फोहोर पानीका साथै नदी दुर्गन्धित बनाउने छाई ,खरानी पनि नदीमै फाल्ने गरेको भेटिएको प्रमुख देवेन्द्र चौधरीले बताउनुभयो। विगत जस्तै यसपाली पनि नदि प्रदुषित गर्ने उद्योगहरूलाई  अनुगमन टोलीले तत्काल ट्रिटमेण्ट प्लान्ट राख्न र फोहोर पानी सोझै नदीमा नमिसाउन चेतावनी दिएर फर्केको छ।

यस्तै बिस्कुट उत्पादन गर्ने ब्रिटानियाले ट्रिटमेन्ट प्लान्ट हुँदाहुँदै पनि पानी प्रशोधन नगरी फोहोर पानी सोझै नदीमा मिसाइने गरेको पाइएको छ। यस्तै शक्ति वायर उद्योगले त्यहाँबाट निस्केको पानी जम्मा गर्न पोखरी बनाए पनि उक्त पोखरी उद्योगको प्रदुषित पानीलाई स्वच्छ बनाउनेमा खासै प्रभावकारी नहुँदा उद्योगका रसायनहरू सोझै नदीमा मिसिने गरेको  चौधरीको भनाइ थियो।

नदीलाई दुर्गन्धित बनाउने गरी विभिन्न रासायनिक लेदोसहितको फोहोर पानी फाल्ने उद्योगलाई  पहिलो पटक चेतावनी दिइएको र आउँदा दिनमा यस्तो कार्य दोहोरिएको  पाइएमा सोझै कारवाही गरिने महानगरपालिकाले जनाएको छ।

वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमको नेतृत्वमा विभिन्न उद्योगहरूमा पुगेको अनुगमन  टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल,  महानगरको वातावरण शाखाका देवेन्द्र चौधरी, नेपाल प्रहरीका अधिकारीहरूको सहभागिता रहेको थियो।

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको सक्रियतामा आइतबार बसेको बैठकले नदी प्रदुषण नियन्त्रणका लागि उद्योगको अनुगमन गर्ने निर्णय गरे अनुसार महानगरपालिकाले मंगलबार देखि अनुगमन सुरु गरेको जनाइएको छ।

 

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

अनिल तिवारी /वीरगञ्ज का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link