क्रिकेटमाथि नेपालमा श्रृंखलावद्ध प्रहार

फिक्सिङ र सट्टेबाजीलाई प्रवेश गराएको गम्भीर आरोप क्यानमाथि लाग्न पुगेको छ ।

आशुतोष अधिकारी

धेरै समय भएको थियो नेपाली क्रिकेटले आफ्नो सही बाटो बिराएको । पछिल्ला पाँच–सात वर्षको अवधिमा नेपाली क्रिकेटको क्षेत्रमा, मैदानभित्र र मैदान बाहिर समेत, भएका विविध गतिविधिहरुको सामान्य विश्लेषण मात्र गर्ने हो भने पनि यसको विकासको गति किन र कसरी अवरुद्ध हुन पुग्यो भन्ने कुरा बुझ्न धेरै गाह्रो पर्दैन ।
यो कालखण्डमा नेपाली क्रिकेटले श्रृंखलावद्ध रुपमा अनेकथरिका विवाद, अनावश्यक राजनीतिक हस्तक्षेप र गुटबन्दी, बाह्य हस्तक्षेप र प्रतिवन्ध जस्ता समस्याहरुको मारमा नराम्ररी पिल्सिल्नु प¥यो । यस्तै यावत् समस्याहरुका कारण अन्तर्राष्ट्रियस्तरमा नेपाली क्रिकेटको स्तरमा बढ्नुको साटो झन् घट्दै गयो, नेपालको छवि धुमिल हुँदै गयो र नेपाली क्रिकेटको साख लगातार तल–तल गिर्न पुग्यो ।

सन् २०१४–१५ ताका नेपाली क्रिकेटमा बिजारोपण गरिएको चरम राजनीतिक हस्तक्षेप र गुटबन्दीको वृक्ष आजको मितिसम्म आइपुग्दा लगातार फल्दै फुल्दै झाँगिएर आएको छ र त्यसको नियति आज नेपाली क्रिकेटले भोग्नु परिरहेको छ ।

नेपाली क्रिकेटमा चरम राजनीतिक हस्तक्षेप र क्यानका पदाधिकारीद्वारा भएका आर्थिक अनियमितताका कारण २०१६ मा विश्व क्रिकेट परिषद् (आइसीसी)ले नेपाली क्रिकेटमाथि तीन वर्षको प्रतिवन्ध नै लगाउनु परेको थियो । त्यो दिन नेपाली क्रिकेटको लागि एउटा कालो दिन थियो ।
नेपालमाथि प्रतिवन्ध लागिसक्दा पनि नेपाली क्रिकेटको बागडोर सम्हालेर बसेकाहरु आफ्नो स्वार्थको घेराबाट टसमस नहुँदा त्यसको महंगो मूल्य नेपाली क्रिकेटले नै चुकाउनु परेको छ । यस बीचमा नेतृत्वको अकर्मण्यताका कारण खेलाडीहरुले विद्रोह गर्नुपर्ने अवस्था समेत सिर्जना भएका छन् । नेपाली क्रिकेटको श्रीबृद्धिमा ठूलो योगदान दिएका नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारख खड्काको राष्ट्रिय टोलीबाट भएको दुखद् बहिर्गमनलाई यही पाटोसँग जोडेर हेर्न सकिन्छ ।

पछिल्ला पाँच–सात वर्षभित्र अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा नेपालको प्रदर्शनलाई मूल्यांकन गर्ने हो भने पनि सन्तोष गर्न सकिने कुनै ठाउँ छैन । बाहिरबाट हेर्दा नेपालको प्रदर्शन ठिक–ठाक देखिए पनि महत्वपूर्ण र निर्णायक प्रतिश्पर्धाहरुमा नेपाल प्रायः चुक्दै आएको छ ।
एशिया कप छनौटमा निराशाजनक प्रदर्शन पछि गत वर्षको फेबु्रअरीमा युएईमा सम्पन्न टी–२० विश्वकप छनौटको निर्णायक खेलमा चुक्दा नेपालले विश्वकप खेल्न पाउने स्वर्णीम मौका गुमाउनु परेको थियो । त्यस्तै विश्व क्रिकेट लिगमा लगातारको खराब प्रदर्शन पछि नेपालको एकदिवशीय मान्यता समेत धरापमा परेको छ ।

सात राष्ट्र सम्मिलित प्रतियोगितामा नेपाल छैठौँ स्थानमा छ । प्रतियोगिताको अन्त्यसँगै शीर्ष ५ टोलीको मात्र एकदिवशीय मान्यता यथावत् रहने प्रावधान छ, यस्तोमा नेपालको प्रदर्शन अझै खस्कँदै जानु चिन्ताको विषय बन्न पुगेको छ ।

चरम् राजनीतिक हस्तक्षेपका कारण नेपाली क्रिकेटको बागडोर यो खेल बुझ्दै नबुझेका पार्टीका झोले कार्यकताहरुको हातमा पुगेको धेरै समय बितिसकेको छ । क्रिकेट नै नबुझेकाहरुलाई क्रिकेटको कार्यकारी निकायको जिम्मेवारी सुम्पिइँदा क्रिकेटको विकासका लागि आवश्यक कदम चाल्न क्यान पूर्णतः असफल भएको छ ।

काठमाडौंमा जारी नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामार्फत नेपाली क्रिकेटमा आधिकारिक रुपमा स्पट फिक्सिङ र सट्टेबाजीलाई प्रवेश गराएको गम्भीर आरोप क्यानमाथि लाग्न पुगेको छ । संसारभर लोकप्रिय भारतको इन्डियन प्रिमियर लिग (आइपीएल) कै फ्रेञ्चाइज मोडलमा सञ्चालन गरिने भनेर बहुप्रचारित नेपाल टी–२० लिगको आयोजनासँगै थुप्रै विवाद र समस्याका चाङ पनि सतहमा आएका छन् ।

क्रिकेट विकासका लागि आवश्यक योजना र कार्यक्रमहरु कार्यान्वयन हुन नसक्दा आज देशको ‘ग्रासरुट क्रिकेट’ को अवस्था दयनीय बन्न पुगेको छ । जनस्तरमा क्रिकेट खेललाई लोकप्रिय बनाउन क्यानले कुनै ठोस कदम अगाडि बढाउन नसक्दा आम मानिसमा रहेको क्रिकेट खेलप्रतिको आकर्षणमा समेत कमी आएको पाइएको छ । फरक–फरक उमेर समूहका वा विद्यालय र कलेजस्तरका धेरैभन्दा धेरै क्रिकेट प्रतियोगिताहरुको आयोजना हुन सकेमात्र ‘ग्रासरुट’ बाट क्रिकेटको विकास सम्भव हुन्छ ।

यसका लागि क्रिकेटका बढीभन्दा बढी पूर्वाधारको विकास गर्नुपर्ने हुन्छ । तर नयाँ प्रतियोगिताहरुको आयोजना र पूर्वाधार विकास, यी दुवै विषयप्रति क्यान उदासीन भइदिँदा नयाँ खेलाडी उत्पादनदेखि राष्ट्रिय टोलीको प्रदर्शनमा समेत ह्रास आएको छ ।
यस्तै अनिश्चितताका बीच जसोतसो चलिरहेको नेपाली क्रिकेटलाई त्यतिबेला अर्को झट्का लाग्यो जतिबेला नेपालका प्रख्यात क्रिकेटर सन्दिप लामिछाने बलात्कारको आरोपमा पक्राउ परे ।

२०२२ को सेप्टेम्बर ६ मा एक नावालिग युवतीले काठमाडौंमा सन्दिप विरुद्ध बलात्कारको मुद्दा दायर गरेकी थिइन् । त्यतिबेला केन्यासँगको श्रृंखला खेल्न राष्ट्रिय टोलीको नेतृत्व गर्दै नैरोवी गएका सन्दिप त्यहाँबाट पनि क्यारेवियन प्रिमियर लिग खेल्न वेष्टइन्डिज पुगिसकेका थिए ।
उनीमाथि यस्तो गम्भीर आरोप लागेपछि क्यानले तत्कालै उनको कप्तानको पद खोसेको थियो भने उनलाई राष्ट्रिय टोलीबाट पनि निलम्बन गरिएको थियो । सन्दिपमाथि यस्तो आरोप लाग्नेबित्तिकै विदेशी फ्रेञ्चाइज लिग खेल्ने सम्भावना समेत तत्काललाई समाप्त भएका कारण उनी त्यताबाट गोप्यरुपमा अमेरिका लागेका थिए ।

आफूमाथि यौनशोषण जस्तो जघन्य आरोप लागेपछि कसैको सम्पर्कमा नआएको सन्दिप त्यसको दुई हप्तापछि फेसबुक लाइभमार्फत सार्वजनिक भएका थिए । त्यहाँ उनले आफूलाई फसाइएको बताएका थिए भने न्यायको लागि कानूनी लडाइँ लड्ने भन्दै सहयोगका लागि क्यानसँग आग्रहसमेत गरेका थिए ।

आफूमाथि आरोप लागेको एक महिनापछि अन्ततः नेपाल फर्किएका सन्दिप त्यसयता कानुनको कठघरामा छन् । उनको मुद्दाको अन्तिम फैसला हुन बाँकि नै भएका कारण उनी पूर्पक्षका लागि केन्द्रिय कारागारमा थुनामा छन् ।

सन्दिप प्रकरणमा सत्यतथ्य जे–जस्तो भएपनि उनीजत्तिका प्रतिभाशाली र अन्तर्राष्ट्रिय मञ्चमा समेत लोकप्रियता कमाउँदै नेपालको नाम संसारभर फैलाउन सफल खेलाडीको यो अवस्था हुनुले नेपाली क्रिकेटलाई भने ठूलो क्षति पुगेको छ ।

एकातिर सन्दिप लामिछानेलाई आफ्नो आदर्श मानेर उनको पथमा चल्न खोज्ने युवा खेलाडी तथा उनका समर्थकको मनमा यस घटनाले नराम्रो चोट दिएको छ भने अर्कातिर यही घटनाका कारण उनका समकक्षी साथीहरुको मनोबल समेत गिर्न पुगेको अवस्था छ ।

अन्तर्राष्ट्रिय स्तरमा चर्चित सन्दिप यसरी यौन प्रकरणमा फसेपछि अन्य नेपाली खेलाडीहरुका लागि विदेशी फ्रेञ्चाइज लिगको ढोकासम्म पुग्न अबका दिनमा अझै कठिन हुने अनुमान गर्न सकिन्छ । त्यसैले सन्दिप प्रकरणलाई पनि नेपाली क्रिकेटको एउटा दूर्भाग्य मान्न सकिन्छ ।
यी र यस्ता थुप्रै कठिनाइहरुका बीच पनि जसोतसो अगाडि बढिरहेको नेपाली क्रिकेटको आकाशमा अहिले संकटका नयाँ–नयाँ काला बादलहरु मडारिन आइपुगेका छन्– स्पट फिक्सिङ र सट्टेबाजीका रुपमा ।

काठमाडौंमा जारी नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामार्फत नेपाली क्रिकेटमा आधिकारिक रुपमा स्पट फिक्सिङ र सट्टेबाजीलाई प्रवेश गराएको गम्भीर आरोप क्यानमाथि लाग्न पुगेको छ । संसारभर लोकप्रिय भारतको इन्डियन प्रिमियर लिग (आइपीएल) कै फ्रेञ्चाइज मोडलमा सञ्चालन गरिने भनेर बहुप्रचारित नेपाल टी–२० लिगको आयोजनासँगै थुप्रै विवाद र समस्याका चाङ पनि सतहमा आएका छन् ।
सबैभन्दा ठूलो विवाद क्यानले आठ वर्षका लागि नेपाल टी–२० लिगको आयोजनाको सम्पूर्ण अधिकार सुम्पिएको भारतीय कम्पनी सेभनथ्रीस्पोर्टस्लाई लिएर छ । भारतमै समेत विवादित यो कम्पनीको मुख्य उद्देश्य नै जुवा (सट्टेबाजी) खेलाउनु हो भन्ने कुरा कसैबाट लुकेको छैन ।
यस्तो जानकारी हुँदाहुँदै पनि ५१ पन्नाको सम्झौतापत्र बनाएर प्रतियोगिताको सम्पूर्ण अधिकार यस्ता विवादास्पद कम्पनीलाई सुम्पने क्यान पदाधिकारीको नियतमाथि नै सबैभन्दा पहिलो प्रश्न खडा हुन पुगेको छ ।

क्यानले सार्वजनिक खरिद ऐन विपरीत ग्लोबल टेन्डर आह्वान नै नगरी चोरबाटोबाट सेभनथ्रीस्पोर्टसलाई नेपाल टी–२० लिगको आधिकारिकता सुम्पिएको थियो । शुरुमा कमर्शियल पार्टनर भनिए पनि सम्झौतापत्र अनुसार प्रतियोगिताको सम्पूर्ण महत्वपूर्ण अधिकार सो कम्पनीलाई नै दिइएको छ ।

क्यानले भारतीय कम्पनीलाई प्रतियोगिताको आयोजनाको अधिकार दिएको विरोधमा राष्टिय टोलीका पूर्वखेलाडी तथा एभरेष्ट प्रिमियर लिगका आयोजक अमिर अख्तरले सर्वोच्च अदातलमा रिट नै दायर गरेका थिए ।

उनले त्यति नै बेला विदेशी कम्पनीलाई यसरी ल्याउँदा उसले कालो धन भित्र्याउन सक्ने, क्रिकेटमा फिक्सिङ हुन सक्ने र भ्रष्टाचार बढ्न सक्ने भन्दै क्यानलाई त्यसो नगर्न सचेत गराएका थिए तर उनले उठान गरेका विषयमाथि कुनै सुनुवाई भएन ।

पटक–पटक मिति सरेर अन्तिममा गत २४ डिसेम्बरदेखि काठमाडौंको त्रिभुवन विश्वविद्यालय खेल मैदानमा चलिरहेको ६ टोली सम्मिलित नेपाल टी–२० लिगको खेलहरुसँगै एकपछि अर्का विवादास्पद घटनाहरु अगाडि आइरहेका छन् ।

प्रतियोगिताका ६० प्रतिशत खेलहरु सम्पन्न भइसकेको अवस्थामा जनवरी २ तारिखका दिन प्रतियोगिताका आधिकारिक कमेन्टेटर सचिन तिमिल्सिनाले फेसबुक लाइभमार्फत केही खेलाडीको नाम तोकेरै ‘प्रतियोगिता गलत मानिसहरुको हातमा गइसकेको, नेपाल टी–२० लिगमा स्पट फिक्सिङ र सट्टेबाजी भइरहेको, त्यसैकारण आफू प्रतियोगिताबाट अलग भएको’ सार्वजनिक गरेपछि एकाएक यहाँको माहोल तात्न पुगेको थियो ।
तिमिल्सिनाको यस्तो घोषणा लगत्तै काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले समेत आफ्नो एक खेलाडीलाई ‘फिक्सिङ’को प्रस्ताव आएको बताएपछि भने यस विषयले क्यान र राष्ट्रिय खेलकुद परिषद्को मात्र होइन गृह मन्त्रालय र नेपाल प्रहरीको समेत ध्यान आकर्षण गरेको थियो ।

क्रिकेटको सर्वोच्च निकाय आइसीसीले समेत यो विषयमाथि चासो देखाउँदै आवश्यक कदम अघि बढाएको छ । नेपाल टी–२० लिग शुरु हुनुभन्दा अघिबाटै विदेशी खेलाडीको श्रमस्वीकृतिदेखि उनीहरुको पारिश्रमिक भुक्तानीसम्मका विषयहरुमा विवाद रहँदै आएका थिए । गत मंगलवार पारिश्रमिक विवादकै कारण काठमाडौं नाइट्स र विराटनगर सुपर किंग्सबीचको खेलको टस हुन नसक्दा दुई घण्टा खेल अवरुद्ध हुन पुगेको थियो ।
आयोजक सेभेनथ्रीस्पोटर्सका मालिक पनि सम्पर्कविहिन भएपछि क्यानले आयोजकले नदिए आफूले ब्यहोर्ने आश्वासन दिएपछि दुई घण्टा ढिलोगरी ९–९ ओभरको खेल खेलाइएको थियो । जनवरी ११ तारिखसम्म चल्ने भनिएको नेपाल टी–२० लिग आजका दिनसम्म जसोतसो गर्दै चलिरहेको छ तर पारिश्रमिक विवादकै कारण कुनै पनि बेला प्रतियोगिता रोकिनसक्ने सम्भावना भने कायमै छ ।

नेपाल टी–२० लिगमा सम्झौता अनुसार तोकिएको समयमा पारिश्रमिक नपाएर निराश बनेका विदेशी खेलाडीहरु ‘स्पट फिक्सिङ’ को प्रसङ्गले झनै झस्किएका छन् । स्पट फिक्सिङको विषयमाथि प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले नै अनुसन्धान थालेका कारण धेरै विदेशी खेलाडीहरु प्रहरीको उच्च निगरानीमा रहेको बताइएको छ ।

यसकारण पनि विदेशी खेलाडीहरुमा एक किसिमको असुरक्षाको भावना पैदा भएको समाचार छ । आधा दर्जनजति नाम चलेका विदेशी खेलाडी र प्रशिक्षक त बीचमै प्रतियोगिता त्यागेर स्वदेश फर्किसकेका छन् भने केही फर्कने क्रममा रहेको बताएइको छ । यसले विश्वभर नेपाली क्रिकेटको विषयलाई लिएर गलत सन्देश प्रवाह गरेको छ, जसका कारण अबका दिनमा नेपालमा आयोजना हुने यस्ता प्रतियोगिताको विश्वसनीयताप्रति विदेशी खेलाडीहरु विश्वस्त हुन धेरै गाह्रो पर्ने निश्चित छ ।

विवाद नै विवादका बीच सञ्चालन भइरहेको नेपाल टी–२० लिग प्रतियोगिताले आम दर्शकलाई समेत आकर्षित गर्न सकेको छैन । प्रतियोगितामा दर्शकहरुको उपस्थितिले यस्तै देखाएको छ । आयोजकले शुरुमा रंगशालामा गएर प्रतियोगिता हेर्नका लागि प्रवेश शुल्क तीन सय रुपैयाँ तोकेको थियो ।

प्रतियोगिताको उद्घाटनकै दिन त्रिवि खेल मैदानमा दर्शकको उपस्थिति नगण्य रहेको थियो भने दोस्रो र तेस्रो दिनमा समेत मैदानमा पुगेर खेल हेर्न दर्शकको संख्या ज्यादै कम रह्यो ।

चर्को प्रवेश शुल्कका कारण दर्शक नआएको भन्दै आयोजकले त्यसलाई घटाएर एक सय रुपैयाँमा झार्दा र्शकसमेत दर्शकको उपस्थिति बढ्न सकेन । त्यति गर्दा पनि प्रतियोगिता हेर्न दर्शक नआएपछि आयोजकले अहिले प्रवेश निःशुल्क गरेको समाचार बाहिरिएको छ । यस घटनालाई पनि प्रतियोगिताको असफलताका रुपमा हेर्न सकिन्छ ।

तत्काललाई नेपाल टी–२० लिगमा भइरहेको भनिएको ‘स्पट फिक्सिङ’ को विषयमाथि क्यान, राखेप, नेपाल प्रहरीदेखि आइसीसीका प्रतिनिधिहरुले समेत सुक्ष्म निगरानी र अनुसन्धान गरिरहेको समाचार छ ।

प्रतियोगिता चलिरहेको अवस्थामै सम्पर्कविहीन भएका भनिएका सेभनथ्रीस्पोर्टसका मालिक अहिले सम्पर्कमै रहेको र शुक्रवार उनले भारतबाटै एक करोड रुपैयाँ समेत पठाएको क्यानले बताएको छ । क्यान आफ्ना गलत निर्णयहरुको प्रतिरक्षा गर्दै स्पट फिक्सिङ नभएको दावी गरिरहेको छ र यस्ता किसिमका घटना हुन नदिने प्रतिवद्धता पनि व्यक्त गरिरहेको छ तर घटनाको गहिराईमा पुगेर सत्यतथ्य बाहिर ल्याउने र दोषीलाई कारवाही गर्ने कुराप्रति भने क्यान उदासीन नै देखिन्छ ।

पछिल्ला पाँच–सात वर्षभित्र यहाँ क्रिकेटका नाममा भएका विभिन्न अवाञ्छित गतिविधिका कारण आज नेपाली क्रिकेटले यो दूरावस्था भोग्नु परिरहेको छ । वास्तवमा भन्नुपर्दा नेपाली क्रिकेट अहिले अघोषित रुपमा संक्रमणकालीन अवस्थामा पुगेको छ ।
यसका सामु बेथिती र समस्याहरुको चाङ उभिएको छ जसलाई मिलाउँदै र पन्छाउँदै नेपाली क्रिकेटलाई पुनः एकपटक माथि उठाउनु पर्ने चुनौति हाम्रा सामु खडा भएको छ । तर तत्काललाई नेपाली क्रिकेटमा देखिएको संकटको कालो बादल सजिलैसँग हटेर जाने लक्षण भने कहीँकतै देखिएको छैन ।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

आशुतोष अधिकारी का अन्य पोस्टहरु:
क्रिकेटमाथि नेपालमा श्रृंखलावद्ध प्रहार
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link