संकटमा राउटेः झुपडीमै जलेर मरे अर्का एक राउटे

जितेन्द्र थापा/सुर्खेत

पुस १९ गते राती राउटे समुदायका नारायण शाही सहित उनको परिवार गहिरो निन्द्रामा थिए। राती सुतेको अवस्थामा नारायण सुतेको ओछ्यानमा आगो लागेको पत्तै पाउनुभएन। जस्का कारण उहाँ ओछ्यानमै सख्त घाइते हुनुभयो । उहाँ जलेको अवस्थामा भेटिएपछि तत्काल उपचारको लागि सुर्खेत प्रदेश अस्पताल ल्याइयो। दुई दिन प्रदेश अस्पतालमा उपचार भएपछि थप उपचारको लागि उनलाई पुस २१ गते थप उपचारको लागि काठमाडौँ लगियो।  पुस २१ गते नारायणलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरिएको थियो। मध्यरातमा सुतेको ओछ्यानमै अचानक आगलागी हुँदा नारायण जलेर सख्त घाइते भएका उहाँको बुधवार निधन भएको छ।

राउटे समुदायमा आगोमा जलेर ज्यान गुमाउने नारायण प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । यसरी आगोमा जलेर राउटे समुदायमा वर्षेनी राउटे बस्तिमै जल्ने गरेका छन्। यस अघि पनि ज्यान गुमाइसकेका छन्। राउटे समुदाय बस्तिमा जल्छन्। जंगलको झुपडीदेखि सहरको अस्पतालसम्म पुग्छन्। तर, जंगलको झुपडीमा फर्किन नपाउदै उतै संसार छोड्छन्। २०७२ सालमा राउटे युवा कपिल शाही जलेर सख्त घाइते भए। कपिलको काठमाडौंसम्म पुर्‍याएर उपचार गरिएको थियो । तर, आगोले पोलिएको घाउ निको भएन। घाउको दुखाइ कम गर्न उनले मदिराको सहारा लिए। नियमित अत्यधिक मदिरा सेवनले उनलाई अन्य स्वास्थ्य समस्या देखियो। अन्ततः कपिलले २०७७ असार ३१ गते ज्यान गुमाए।

मदिराको अत्यधिक सेवनका कारण ज्यान गुमाउने समुदायका अर्का युवा हुन, शिवराज शाही। बजारमा पाइने लिचीजस्ता मदिराको लतमा फसेका शिवराजले २०७८ वैशाखमा ज्यान गुमाएका थिए।  पछिल्लो पाँच वर्षमा राउटे समुदायका २९ जनाले ज्यान गुमाएका छन। ज्यान गुमाउनेमा १९ जना बालबालिका र १० जना वयस्क उमेरका छन्। त्यसमध्ये धेरैजसो वयस्क उमेरका राउटे नागरिक मृत्युको कारण रक्सीसँग जोडिएको छ। राउटे समुदायमा आगोमा जलेर सामान्य घाइते भएका १५/२० जना अझै राउटे बस्तिमा रहेको सोसेक नेपालद्धारा बस्तिमा खटाइएका लाल बहादुर खत्री बताउनुहुन्छ। अत्यधिक मदिरा सेवनकै कारण राउटे बस्तिमा सामान्य घाइते छन्,’उहाँले भन्नुभयो, ‘सामन्य घाइते भएका साना ठुला गरेर १५/२० जनाको अहिले पनि उपचार गर्दे आएका छन्।’

जंगलमा फिरन्ते जीवन बिताउदै आएको राउटे समुदाय संकटमा पर्नु सरकारले उपलब्ध गराउने भत्ता हो। जस्का कारण उनीहरू अत्यधिक रुपमा मदिरा सेवन गर्ने र अन्तिममा मृत्युवरण गर्ने। सरकारले उपलब्ध गर्दै आएको भत्ताले उनीहरूको संख्या घट्दै आएको र दिनहुँ स्वास्थ्य कमजोर हुँदै गएको  स्वास्थ्यकर्मी बताउँछन्।

सरकारले भत्ताबापत दिने पैसाले राउटे समुदायमा मृत्युदर मात्र होइन जन्मदर पनि घटेको सोसेक नेपालबाटबाट राउटे बस्तिमा खटिएका शिक्षक लाल बहादुर खत्रीको भनाई छ। म प्रत्येक दिन राउटे दम्पतीसँग भेटेर मदिराकै कारण तपाईँहरूको जनसङ्ख्या घटेको र कुनै बच्चा नजन्मेको भनेर रक्सी नपिउन आग्रह गर्छु,’ शिक्षक लाल बहादुर खत्रीले भन्नुभयो, ‘केही समय मान्छन् पुन सरकारले चार महिनाको भत्ता एकैपटक हातमा थुर्पादिन्छ त्यस्ले गर्दा पनि धेरै पैसा देखेपछि रक्सी पिउन थाल्छन्।’

राउटे समुदायमा पछिल्लो पाँच वर्षयता २६ जना शिशु जन्मिएका छन्। समुदायमा सोसेक नेपालले सञ्चालन गरेको राउटे परियोजनाले उपलब्ध गराएको तथ्यांकमा अनुसार २०७५ साउनदेखि २०७८ मंसिरसम्म २६ जना शिशु जन्मिएका छन। त्यसयता समुदायमा शिशु जन्मिएका छैनन।

पाँच वर्षको अवधिमा जन्मिएका २६ शिशुमध्ये १४ जनाले ज्यान गुमाइसकेका छन।  यसले राउटे समुदायमा बालमृत्युदर ५० प्रतिशतभन्दा बढी देखाउँछ। परियोजनाका शिक्षकको रूपमा राउटे बस्तीमा खटिएका लालबहादुर खत्रीले अभिभावकले मदिरा सेवन गरेर नवजात शिशुको हेरचाह नगर्दा शिशुहरूले जन्मिएको एक हप्ताभित्रै ज्यान गुमाउने गरेको बताउनुभयो । ‘राउटेको बसाइ नै त्यस्तै छ, चिसो भुइँमा सुत्ने गर्छन, पोषणयुक्त खानपिन छैन, त्यसमाथि अभिभावक मदिराको लतमा फँस्दा शिशुले अकालमै ज्यान गुमाइरहेका छन। मदिराले वयस्क नागरिकको स्वास्थ्य अवस्था पनि बिग्रिँदै गएको छ।’ राउटेमा चेतनाको कमी हुँदा व्यापारीले राउटेको सोझोपनको फाइदा उठाइरहेका उहाँको बुझाइ छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

जितेन्द्र थापा/सुर्खेत का अन्य पोस्टहरु:
संकटमा राउटेः  झुपडीमै जलेर मरे अर्का एक राउटे
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link