चैतै छठ: गफै भो सिर्सिया सफा गर्ने नेताका कुरा, अहिले  जनता दुर्गन्धित र प्रदुषित पानीमा छठको अर्घ दिन बाध्य भए

अनिल तिवारी

सिर्सिया नदिलाई प्रदुषण मुक्त बनाउने वीरगञ्ज महानगरपालिकाको अभियानलाई बारा पर्साका उद्योगीहरूले पुनः एक पटक धोती लगाइदिएका छन्। उद्योगीहरूको अटेरीले गर्दा सिर्सिया प्रदुषण मुक्त अभियान सबै र सधैको लागि एउटा नारा मात्रै साबित हुदै आएको छ। झन्डै डेढ दशक देखि खोलालाई प्रदूषणमुक्त बनाउने प्रयास भइरहे पनि उद्योगहरूको अटेरीपन जारी छ। पछिल्लो समय वीरगञ्ज महानगरपालिकाको कार्यालयको पहलमा भएको प्रयास पनि प्रभावकारी भएको छैन। परिणम स्वरुप सोमबार चैते  छठ पुजाका ब्रतालुहरू दुर्गन्धित र प्रदुषित पानीमै बेलुकाको अर्घ दिएका छन्।
विभिन्न उद्योगहरूले सिर्सिया नदीमा मिसाएको रासायनिक कालो लेदो सहितका प्रदुषित पानीका कारण महानगरवासी फेरि एक पटक आजित भएका छन्। सिर्सिया नदीको किनारमा चैते छठ मनाउदै आएका ब्रतालुहरू यसबर्ष पनि उद्योगको  प्रदुषित पानीमै अर्घ दिन बाध्य भएका छन।वीरगञ्ज महानगरपालिकामा रहेको सिर्सिया खोलामा मात्रै २ दर्जनभन्दा बढी छठ घाट छन्। घडिअर्वा अन्य पोखरीले मात्रै व्रतालुहरूको चाप धान्दैन। कतिपय गाउँ तथा शहरका व्रतालुहरू सिर्सिया खोलाको घाटलाई नै परम्परागत छठ घाटको रूपमा प्रयोग गर्दै आएका छन्।
छठमा पनि पर्सा बारा औद्योगिक करिडोरका उद्योगले खोलामा आफ्नो उद्योगबाट निस्कने रसायनयुक्त फोहोर फाल्ने काम बन्द नगरेपछि व्रतालु आक्रोशित बन्दै पुजाअर्चना गरेका हुन। खोलामा बगीरहेको कालो लेदो सहितको दुर्गन्धित पानीले गर्दा छठ घाटमा आएको ब्रतालु र भक्तजनमा व्यापक आक्रोस देखिएको थियो। खोलाबाट आउने दुर्गन्धले कतिपयले यस बर्ष त नाकै छोप्न बाध्य बनाएको गुनासो  गरे।
जिल्ला प्रशासन कार्यालय पर्साका प्रवक्ता र सिर्सिया नदि प्रदुषण मुक्त बनाउने अभियानमा लागेका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले छठ पर्वलाई लक्षित गरी आइतबार देखि नै खोलामा प्रदूषित रसायन तथा फोहोर फाल्ने काम रोक्न प्रहरीलाई खटाइएको दाबी गर्नुभयो।उहाँले भन्नुभयो, ‘आइतबारदेखि नै प्रहरी परिचालन गरिएको छ,’
तर प्रहरी फर्किने बितिकै उद्योगहरूले अटेरी गरेर कारण नदिमा प्रदुषण सामाग्री पठाएको एक उद्योगीले बताए। उनले भने, ‘ प्रहरी र कर्मचारी गएपछि मशिन चलाउ छन्, उनीहरू हिडे पछि बन्द गरिहाल्छन, उद्योगीहरूको अटेरीले गर्दा नदिको यो अवस्था आएको हो।’
विगत तीन दशकदेखि प्रदूषणको शिकार बनेको सिर्सिया नदी कात्तिक महिनाकोेछठमा अलि सफा पएपनि चैतमा उद्योगहरूको लापरवाहि नै देखिएको हो।
बाराको जितपुर सिमरा उपमहानगरपालिका–३ स्थित रामवन झाडीबाट वीरगञ्ज महानगरपालिका हुँदै भारतसम्म पुगेको सिर्सिया नदिको प्रदुषणको समस्या नेपालको लागि मात्र नभइ सिमावर्ती भारतीयहरूको लागि पनि कार्तिक र चैते छठमा ठुलो चुनौतीको बिषय बन्दै गएको छ।वीरगञ्ज पथलैया कोरीडोरमा बढको उद्योगको क्रमसँगै विगत तीन दशकदेखि यो नदि प्रदूषणको शिकार बनेको छ।
खास गरि छाला उद्योगहरूबाट निस्किने सरेका कालो लेदो , रौ का टुक्रा र रसायनयुक्त पानी सिधै नदीमा मिसाउने गरिएको छ। त्यस्तै सिमेन्ट उद्योग, साबुन उद्योगहरूले आफ्नो छाईहरू नदीमै भण्डारण गर्ने गरेको छ।
छठपर्व बसेकि श्रीमतिसंगै टाउकोमा पुजा सामग्रीको दउरा लिएर रानीघाटमा पुगेका वीरगञ्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष डा. सुबोध गुप्ताले नदी प्रदुषण रोक्न सबैको पहलको आवश्यकता रहेको बताउनुभयो।उहाँले भन्नुभयो, ‘छठ पर्वको बेला मात्र नभई सधैंको लागि नदी सफा हुनुपर्छ र यसको लागि सरकारले ठोस कानुन ल्याए मात्र सम्भव हुन्छ।’ यो नदी सफा गर्नको लागि उद्योगी मात्र नभई नेपाल सरकार, स्थानीय सरकार सबै मिलेर काम गर्नुपर्ने आवश्यकता गुप्ताको झोड थियो।
तराईमा बर्षमा दोश्रो छठपर्व चैत शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ  मनाइने गरिन्छ। कार्तिकको शरद र चैतको वसन्त ऋतुमा गरि वर्षमा दुईपटक मनाइने यो पर्व सूर्य र सूर्यपत्नी षष्टीको उपासनाको पर्व हो। शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व मनाइन्छ। यद्यपि शारदीय छठ जति यो पर्व मनाउने भने देखिदैनन्। पर्वको पहिलो दिन ‘नहाय–खाय’, दोस्रो दिन दिनभरि उपवास बसेर राति सख्खरमा पकाइएको खिरमात्र खाएर ‘खरना’, तेस्रो दिनअर्थात् षष्टि तिथिमा निराहार उपवास बसेर साँझ अस्ताउँदा सूर्यलाई पवित्र जलाशयको घाटमा कम्मरसम्म पानीमा चोवलिएर अर्घ दिइन्छ, जसलाई ‘साँझको अर्घ’ भनिन्छ। अन्तिम दिन सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई घाटमै अर्घ दिएर पर्व सम्पन्न गरिन्छ। बिगतमा चैते छठ बनाउनेहरूको संख्या निकै कम भएपनि केहि बर्षदेखि क्रमश ब्रतालुहरूको संख्या बढदै गएको छ।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

अनिल तिवारी /वीरगञ्ज का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link