बारामा आचारसंहिताको व्यापक उल्लंघन: मत माग्न घरघरमा मासु, टोलटोलमा भोज

अनिल तिवारी

बाराको सदरमुकाम कलैयामा होटलका कर्मचारीहरूलाई भ्याइ नभ्याई छ । पहिले सुनसान जस्तै हुने कलैयाका सेकुवा पसलहरू  अहिले भरि भराउ हुन थालेका छन् । होटलमा आउने अधिकांश दलका नेता वा कार्यकर्ताहरू नै अहिले होटलका ग्राहक हुने गरेका छन् । बैशाख १० गतेको उपनिर्वाचन नजिकिँदै जाँदा मधेस प्रदेशको राजनैतिक ध्यानाकर्षण बारा तिर केन्द्रित हुँदै गएको छ । 

चुनावी क्षेत्रका प्राय सबै  घरघरमा मत माग्दै मासु बाढ्ने  तथा  टाेल टाेलमा अहिले पनि भाेज गर्दै हिड्ने उम्मेदवार तथा कार्यकर्ताहरूले आचारसंहिताको धज्जी उडाइरहेका छन् । यस्ताे विकृति रोक्न  निर्वाचन कार्यालयले कुनै पहल गर्न नसकेकाे समाजसेवीकाे गुनासाे छ ।

केन्द्रीय देखि प्रदेश सरकारका मन्त्री हुँदै सबै दलका नेताहरूले अहिले बारा जिल्ला भरिभराउ हुने गरेको छ । प्रतिनिधिसभा सदस्यको यो उपनिर्वाचनमा सहभागी दलहरूद्वारा आचारसंहिता उल्लंघन पनि भैइरहेको छ । आचारसंहिता उल्लंघन गर्दै दलहरूले  विभिन्न गतिविधि गर्ने होडबाजी नै चलेको छ । आचारसंहिता कार्यान्वयन गराउने तथा उल्लंघन भए कारबाहीसमेत गर्ने अधिकार प्राप्त निर्वाचन कार्यालय यसलाई नियन्त्रण गर्न निरिह देखिएको छ ।

चुनावी सरगर्मी तातिदै जाँदा दलका प्रचारका स्तरमासमेत अत्यन्तै निकृष्ट हुँदै गएको छ । उम्मेदवार जिताउन बनाइएका समाजिक सञ्जालबाट हदैसम्मको नकारात्मक आक्रमण प्रतिआक्रमण गर्नुका साथै असभ्य टिप्पणीहरू व्याप्त हुन थालेको छन् ।

मुख्यरूपमा सिके राउत र उपेन्द्र यादव बीच देखिएको चुनावी प्रतिस्पर्धा टोलटोलमा झगडाको कारण बन्न थालेको छ । सिके राउत पक्षले उपेन्द्र यादवलाई भगौडा साबित गर्न समाजिक सञ्जालमा हदैसम्मको आक्रमण गरिरहेकाछन् ।  त्यस्तै उपेन्द्र यादव पक्षले सिके राउतलाई कालानाग देखि बिखण्डनकारी बनाएर सामाजिक सञ्जालहरूमा प्रचार गर्न थालेका छन् । यता गाउँघरका घरदैलोसम्ममा कार्यकर्ताहरू आफ्ना उम्मेदवारलाई जिताउन आचारसंहिता उल्लंघन गर्दै चुनावी अभियानमा सक्रिय छन् ।

घरदैलो भेटघाट र नमस्कार गर्दै मत माग्ने पार्टीका सांसदसमेत रहेका केन्द्रीय नेताहरूले नै आचारसंहिता उल्लंघन गरिरहेका छन् । सरकारका तर्फबाट भने औपचारिकता लागि अनुगमन गरिए पनि सत्ताधारी दलका नेताहरूबाटै आचारसंहिता उल्लङ्घनका गतिविधि रोकिएको छैन ।

आचारसंहिता अनुगमन अधिकृत हरिकृष्ण बरालले भन्नुभयो– ‘सामाजिक सञ्जालमा आचारसंहिता उल्लंघन व्यापक छ । नियमनको लागि बैठक चाँडै बस्दैछौँ । सुरुदेखि नै तराईमा यस्तै अभ्यास चलिआएकोले पनि यसको पालनाको लागि कठिन भैरहेको छ ।’

बारा जिल्ला क्षेत्र नम्बर २ मा पर्ने गाउँहरू अहिले मधेसको तिहार छठ जस्तै रंगीचंगी  देखिएका छन् । मठमन्दिर देखि चोक, चौतारा, विद्यालय, स्वास्थ्य केन्द्रहरूमा व्यापक पोस्टर, पम्प्लेट, तुल ब्यानर, झण्डा झुन्डयाइएका छन् ।

बैशाख १ गते देखि भोज भतेरको क्रम पनि बढ्दै गएको छ । कार्यकर्ता देखि आम मतदाता समेतको घर घरमा मत संख्या अनुसार मासु देखि मादकपदार्थको व्यवस्थापनमा कार्यकर्ताहरू लागी परेका छन् । साँझ पर्ने बितीकै गाउँका विभिन्न टोलमा सामूहिक भोजहरू समेतको आयोजन भइरहेको छ । गाउँले पसलहरूलाई पनि चुनावी चटारो लागेको छ । किराना पसलहरूमा चामल दाल नपाए पनि रक्सी, र चिसो पेय  पदार्थहरू पहिलेको तुलनामा अहिले फ्रिजहरू भरिएका छन् ।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

अनिल तिवारी /वीरगञ्ज का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link