
चन्द्रकान्त खनाल/रूपन्देही
नेपालमा सन् २०२२ देखि २०२५ सम्म अर्थात आगामी तीन वर्ष भित्र औलो निवारण गर्ने सरकारको लक्ष्य छ। औलो निवारणका लागि स्थानीय औलो बिरामीको संख्या शून्य हुनुपर्छ। तर शून्यमा झार्ने सरकारको यो लक्ष्य लुम्बिनी प्रदेशमा भने पूरा हुने छैन। विदेशबाट आउने औलोको बिरामीको बढ्दो सङ्ख्या यो चुनौति सृजना गरेको हो।
स्थानीय औलोका बिरामीको संख्या घटेपनि भारतबाट आयातीय औलोको बिरामीको संख्यालाई कम गर्न चुनौती रहेको लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. बिनोदकुमार गिरीले बताउनु भयो।
यस आर्थिक वर्षमा लुम्बिनी प्रदेशमा १ सय ४० जना औलाको बिरामी मध्ये ८ जना मात्र स्थानीय औलो बिरामीको संख्या रहेको डा. गिरीले बताउनु भयो। डा. गिरी भन्नुभयो, ‘१ सय ३२ जना खुल्ला सिमाबाट प्रवेश गरेका बिरामी छन्।’
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक रामजन्म कुर्मीले सन् २०२५ सम्म औलो बिरामीको संख्या शुन्यमा झार्ने लक्ष्यका साथ अगाडी बढेको बताउनु भयो। औलोका कारण नेपालमा सन् २०१६ मा २४ जनाको मृत्यु भएको थियो भने सन् २०२१ मा १ जनाको मात्र मृत्यु भएको थियो।
त्यसपछि हालसम्म औलोका कारण कुनै पनि बिरामीको मृत्यु भएको छैन। ‘नेपालमा औलो बाट हुने मृत्य शुन्यमा झारेका छौं’ निमित्त निर्देशक कुर्मीले भन्नुभयो ‘आगामी तीन वर्ष भित्र औलो बिरामीको संख्यालाई पनि शुन्यमा झार्नेछौं।’
‘शून्य औलो अबको थालनी, नवीनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने नाराका साथ विश्व औलो दिवस मनाइएको छ। आ.व. २०७९/०८०मा लुम्बिनी प्रदेशमा औलोको बिरामी सबैभन्दा धेरै भेटिएको छ। कर्णालीमा ३०, गण्डकीमा १९, बागमतीमा २७, मधेश प्रदेशमा ४४ र कोशी प्रदेशमा १२ जना औलोका बिरामी फेला परेका छन्। लुम्बिनी प्रदेशभित्रका १२ वटै जिल्लामा औलोका बिरामी भेटिएका छन्।
लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै १ सय ४० जना औलोका बिरामी रहेको निर्देशनालयका फोकल पर्सन खिमलाल पाण्डेले बताउनु भयो। उहाका अनुसार प्रदेशको सबै भन्दाधेरै बाँकेमा ९३ जना औलोका बिरामी रहेका छन्।
‘नरैनापुर औलाका बिरामीको संख्या अनुसार उच्च जोखीममा रहेको छ’ पाण्डेले भन्नुभयो, ‘वडा नं ३ लाई उच्च जोखिममा राखेर यसको निवारणमा लागेका छौं।’ दोस्रोमा कपिलवस्तुमा १२ जना, बर्दियामा चार, दाङमा चार, रुकुमपूर्वमा एक, रोल्पामा एक, प्युठानमा तीन, अर्घाखाँचीमा एक, गुल्मीमा दुई, रुपन्देहीमा आठ, पाल्पामा पाँच, नवलपरामीमा छजना बिरामी फेला परेका छन्।
औलो रोग विशेषगरी एनोफिलिज जातको संक्रमित पोथी लामखुट्टेको टोकाईबाट सर्ने चिकित्सकहरु बताउछन। नेपालमा मुख्यगरी औलोको दुई किसिमका परजीविहरु पाइने गरेको छ। ती हुन्, प्लाज्मोडियम फाल्सिपारम र प्लाज्मोडियम भाइसेक्स। यी दुईमध्ये प्लाज्मोडियम फाल्सिपारमले गराउने औलो रोड बढी जटिल र जोखिमयुक्त हुन्छ।
औलो रोगका लक्षण
औलो रोगका परजीवी भएको लामखुट्टेले टोकेपछि १० देखि १५ दिनभित्रमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, जोर्नीहरु दुख्ने, असजिलो महसुस हुनेजस्ता सामान्य लक्षण देखा पर्छन्।
निरन्तर वा दिन बिराएर ज्वरो आउने, शरीरका भित्री अंगहरु फियो, कलेजो सुन्निने, रगतको मात्रा कमी हुने तथा परजीवीको प्रकृति अनुसार विभिन्न लक्षण देखिने हुन्छ। यो रोगले गम्भीर रूप लिएमा मानिसको मृत्यु समेत हुने सम्भावना हुन्छ।
नेपाली कामको सिलसिलामा विभिन्न ठाउँ जाने गर्छन्। विशेषगरी औलोको जोखिम बढी भएको भारतबाट काम गरेर फर्किनेहरुले औलो लिएर आउने गर्छन्। अफ्रिकी देशहरुमा पनि औलोको जोखिम बढी छ, त्यहाँबाट आएका मानिसमा पनि औलोको जोखिम हुन्छ। लुम्बिनीका सुनौली नेपालगञ्ज नवलपरासीको लगायका क्षेत्रबाट बढी भारत तथा तेश्रो मुलकबाट आउने गर्दछ।
औलोको रोकथाम र उपचार
खास गरेर औलोको उच्च जोखिममा रहेका केही जिल्ला छन्। ती जिल्लामा औलो नियन्त्रणका लागि चेतनामूलक कार्यक्रमहरु सञ्चालन भइरहेका छन्। ज्वरो आएका बिरामीलाई रगत जाँच गर्ने र मलेरियाको संक्रमण देखा परे तत्काल उपचार गर्ने गरेका जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख गौरब ढकालले भन्नु भयो।
शंकास्पद बिरामी तथा बिरामीहरुको रक्त नमूना संकलन गरी परीक्षण गरेपछि मात्र औलो भए/नभएको पत्ता लगाउन सकिन्छ। नेपालमा औलो रोगको लक्षणहरुका आधारमा परीक्षण, सूक्ष्मदर्शक यन्त्रद्वारा रगत जाँच गरी औलो रोग भए नभएको निदान गरिन्छ।
औलो रोगको उपचारका लागि नेपालमा विभिन्न थरिका औषधि सरकारको तर्फबाट निःशुल्क उपलब्ध छ। परजीवीको प्रकार अनुसार रोगको उपचार पनि छुट्टाछुट्टै हुनेगर्छ। स्वास्थ्यकर्मीको सल्लाह बमोजिम पूर्णरुपमा औषधि सेवन गर्नुपर्ने हुन्छ।
औषधि निष्प्रभावि बन्दै जानु पनि औलो रोग नियन्त्रणमा समस्याको विषय हो। यद्यपि, कुन औषधिले काम गर्छ, कुनले गर्दैन भनेर नेपालमा बेलाबेला औषधिमाथि अनुसन्धान भइरहेको छ। विशेषज्ञहरु अनुसन्धानका आधारमा औषधिका रेजिमहरु परिवर्तन भएका छन्, जसले गर्दा अहिले त्यस्तो समस्या खासै देखिएको भने छैन ढकालले भन्नुभयो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
चन्द्रकान्त खनाल/रूपन्देही का अन्य पोस्टहरु:
- अर्थतन्त्र चलायमान बनाउन आर्थिक क्रान्ति जरुरी : प्रधानमन्त्री दाहाल
- २० प्रतिशतसम्म बजेट कटौती गर्दै लुम्बिनी प्रदेश
- आर्थिक संकटमा लुम्बिनी प्रादेशिक अस्पताल, करोडौंको उपकरण प्रयोगविहीन
- गाईभैँसीमा ‘लम्पी स्किन’ रोग देखिएपछि पशुपालनबाट पलायन हुँदै किसान, उत्पादन पनि घट्यो
- वसन्तपुरको कामाख्या मन्दिरमा सप्ताहव्यापी पूजाआराधना सुरु, भोलिदेखि लुम्बिनी केबलकार सञ्चालन
- लुम्बिनीमा वैदेशिक लगानीका ६७ उद्योग, जिडिपीमा १४ प्रतिशत योगदान
- गुल्मीका तीन पालिका प्रमुखले दिए बेलायतका मेयरलाई नेपाल भ्रमणको निम्तो
- बुटवल उपमहानरपालिकाद्वारा १ वर्षे उपलब्धि सार्वजनिक, के–के भए काम?
- दक्ष जनशक्ति उत्पादन तथा आपूर्ति गर्न रोजगार मेला
- लुम्बिनी प्रदेशको व्यापारिक सहर बुटवलमा दुईवटा केबलकार सञ्चालन हुँदै