अव्यवस्थापनको सिकार नारायणी अस्पतालमा फालाफाल अक्सिजन प्लान्ट

अनिल तिवारी

राज्यका व्यवस्थापक तथा योजनाकारहरूको अव्यवस्थापन तथा दूरदर्शिताको अभावले गर्दा नारायणी अस्पतालमा दुईवटा अक्सिजन प्लान्ट जोडिएका छन् भने एउटा अक्सिजन प्लान्ट अलपत्र राखिएको छ। नचाहिने ठाउँमा श्रोत खनाउने तर आवश्यक ठाउँमा भने श्रोतको अभाव छ।  कसले के का लागि र किन तीन तीन वटा अक्सिजन प्लान्ट किन्यो भन्ने बुझाउन सक्ने अधिकारी अस्पतालमा छैन।

राज्यले व्यवस्थापनमा देखाएको उदासिनता र जनप्रतिनिधिको कमजोरीको कारण वीरगञ्जको नारायण अस्पताल आफै रोगी बन्दै गएको छ। मधेस प्रदेशमा रहेको एक मात्र यो केन्द्रिय अस्पतालमा भ्रष्टाचार र कमिसनतन्त्रको खेला पनि ठूलै छ।  यसबाट अस्पताल थला पर्दै गएको हो।

लगभग ४ वर्ष अगाडि यो अस्पतालाई  केन्द्रिय अस्पताल घोषणा गरिएपनि चरम राजनैतिक स्वार्थ, राजनैतिक प्रतिशोधका कारण अहिले पनि पुरानै ढर्रामा चल्न बाध्य छ।  कोरोनाको समयमा अक्सिजनको अभावले मध्य तराईका कतिपयले यस अस्पतालमा आफ्नो ज्यानसमेत गुमाए। राज्यको अदूरदर्शिता, मधेस प्रदेश तथा स्थानीय निकायका समन्वयको कमीले गर्दा त्यसबेला अक्सिजन सिलिन्डरको तानातान भएपनि  नारायणी अस्पतालमा अहिले अक्सिजन सिलिन्डर मात्र होइन प्लान्ट नै फालाफाल भएको छ।
चाहिए जति अक्सिजनको सिलिन्डर नपाएकोले कोरोनाको दुबै लहरमा अक्सिजन सिलिन्डरको तानातान थियो।  केन्द्रिय र तराईकै सबै भन्दा बढी चाप भएको नारायणी अस्पतालमा अक्सिजन प्लान्ट नभएको कारण पनि अक्सिजन सिलिन्डरको अभाव देखिए पछि तत्कालीन सांसद विमल श्रीवास्तवले आफ्नो संसदीय कोषबाट अक्सिजन प्लान्ट लगाउने घोषणा गर्दै त्यही आर्थिक वर्ष प्लान्ट जडान गरी सञ्चालनमा समेत ल्याइयो।
त्यसपछि अक्सिजन प्लान्ट दिने होडबाजी नै चल्यो। संघीय सरकार र अन्य दातृ निकायको होडबाजीको  कारण अहिले नारायणी अस्पतालमा प्लान्ट नै जडान नगर्ने अवस्था उत्पन्न भएर  फालाफालको अवस्था  छ।
अस्पतालमा दुईवटा प्लान्ट जोडिए पनि एउटैले अस्पतालको आवश्यकता पूरा भएको छ।  अस्पताल अहिले अक्सिजन उत्पादनमा आत्मनिर्भर मात्र छैन अस्पतालमा अक्सिजन फालाफाल छ।  हाल अस्पताल परिसरमा २ वटा अक्सिजन प्लान्ट सञ्चालनमा छन् भने अर्को एक प्लान्टका उपकरण जडान नै नगरी फालिएको अवस्थामा  छ।
अस्पतालका प्रवक्ता डा उदयनारायण सिंह अस्पताल परिसरमा पहिलो प्लान्टको रुपमा करिब डेढ वर्ष अघि लिक्विड अक्सिजन प्लान्ट सञ्चालनमा आएको बताउनुहुन्छ।  नेपाल सरकारको लगानीमा जडान गरिएको यो प्लान्टले एक पटकमा २० टन अक्सिजन उत्पादन गरी रहेको छ, जसले अस्पतालको अक्सिजनको माग १ देखि डेढ महिना सम्म सहजै धानेको छ।
त्यस बाहेक निवर्तमान सांसद विमल श्रीवास्तवको संसदीय कोषको रकमबाट करिब १ वर्ष अघि अस्पताल परिसरमा अर्को अक्सिजन प्लान्ट जडान गरिएको  डा उदय नारायण  सिंह बताउनुहुन्छ।  २० टन क्षमताको प्रेसर स्विङ एडजरर्पसन प्लान्टले एक दिनमा करिब एक सय अक्सिजन सिलिन्डर भर्न सक्छ।  तर बेला बेलामा सञ्चालन गरी यसबाट उत्पादित अक्सिजन प्रयोग गरी रहेका छौं।  लिक्विन्ड प्लान्टको अक्सिजन अस्पतालमा पाइप प्रणालीबाट समेत बितरण गरिएको छ। अक्सिजन प्लान्ट दिने होडबाजी चलेको कारण पनि अक्सिजन प्लान्ट बढी भएको डा उदय नारायण सिहको भनाइ छ।  अस्पतालको स्विकृत शैया २ सय ५० हो भने अस्पताल प्रशासनले बिरामीको चाप धान्न ४ सय शैया सञ्चालन गरेको छ।  अस्पतालमा दैनिक ६ सय देखि ७ सयको हाराहारीमा बिरामीले ओपिडी सेवा लिन्छन्।  पर्सा, बारा, रौतहट, सर्लाहीबाट मात्र नभई छिमेकी मुलुक भारतबाट समेत बिरामीहरु यो अस्पतालमा उपचार गराउन आउछन्।
करिबवर्ष अघिनै नेपाल सरकारबाट प्राप्त तेश्रो अक्सिजन प्लान्ट जडान नै नगरी राखिएको डा सिंहले बताउनुभयो।  कोभिड महामारीको दोश्रो लहरमा अस्पतालमा कोभिडका बिरामीको अत्यधिक चा“प हुदा हामीलाई दैनिक ५ सय सिलिन्डर सम्म अक्सिजनको आवश्यकता थियो।  कोभिड महामारीको तेश्रो लहरमा भने अस्पतालले अक्सिजनको अभाव झेलेन।   कोरोना अस्पताल बनाउने लक्ष्य राखिएपनि भवन नबनेको कारण उक्त प्लान्ट अलपत्रमा परेको डा सिहको भनाइ ‍छ।

 कोरोना कालमा पर्सा देखि सर्लाही सम्मका कोरोना संक्रमित भर्ना भएर उपचार सेवा दिएको यो अस्पतालमा त्यति बेला अक्सिजन प्लान्टको चरम आवश्यकता महशुस गरिएको थियो।  दोश्रो कोरोना कालको मध्यतिर २/३ दिन अस्पतालले अक्सिजनको अभाव समेत झेलेको कारण कतिपयले ज्यान समेत गुमाए। तर सरकारी निकायको अदुरदर्शिताको कारण कुनै बेला अभावै अभाव र कुनै बेला फालाफालको बेथिती कायमै छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

अनिल तिवारी /वीरगञ्ज का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link