कोशी अस्पताल : कोभिड नियन्त्रण त भयो तर प्रयोगविहीन भए अर्बौंका स्वास्थ्य उपकरण

ध्रुव भट्टराई/मोरङ

 कोभिड नियन्त्रणसँगै कोशी प्रदेशको कोशी अस्पताल कोभिड उपचार केन्द्रका अर्बौं रुपैयाँका स्वास्थ्य उपकरण प्रयोगविहीन भएको छन्।

प्रारम्भिक चरणको कोभिड नियन्त्रणका लागि दातृ निकाय र नागरिकस्तरबाट अर्बभन्दा बढीको लगानीमा निर्माण भएको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रका उपकरण प्रयोगविहीन अवस्थामा पुगेका हुन्।

हाल प्रदेश सरकारको मातहतमा रहेको यो उपचार केन्द्रलाई एक वर्षअघि संक्रमण रोग तथा सघन उपचार केन्द्रका रूपमा रूपान्तरण गरिएको थियो।

लामो समयदेखि प्रयोगमा आउन नसक्दा संक्रमण रोग तथा सघन उपचार केन्द्रको दुईवटा भवनमा रहेका अत्याधुनिक र मूल्यवान् उपकरण प्रयोगमा नआउँदै बिग्रिने अवस्थामा पुगेका छन्।

नागरिक स्तर र दातृ निकायले तत्कालीन समयमा ती स्वास्थ्य उपकरण प्रदेश सरकारलाई उपलब्ध गराएको थियो। तत्कालीन अवस्थामा नागरिक स्तर, निजी क्षेत्र, प्रदेश सरकार र दातृ निकायको सहयोगमा १० दिनमा सञ्चालनमा ल्याइएको यो अस्पताल स्थापना र सञ्चालनका लागि त्यसबेला अर्बभन्दा बढी लगानी भएको थियो।

नागरिकको स्तर र दातृ निकायले उपलब्ध गराएका अर्बौं मूल्यका स्वास्थ्य सामग्री प्रयोगविहीन रहेर बिग्रिने अवस्थामा पुग्दा समेत त्यसको उचित व्यवस्थापन र सदुपयोगबारे कोशी प्रदेश सरकारले कुनै तयारी गरेको छैन।

कोभिड सुरु भएलगत्तै विराटनगरमा जनस्तरबाट गठन गरेको नागरिक केयर सेन्टर र स्विस सरकारको सहयोगमा महानगर १० स्थित नेसनल टे«डिङको पुरानो भवन र गोदामलाई पुनर्निर्माण गरेर प्रदेश सरकार मातहतमा दातृ निकाय, जनस्तर र संघसंस्थाले उपलब्ध गराएका अत्याधुनिक उपकरणसहितको दुई सय शय्याको कोभिड अस्पताल सञ्चालन गरिएको थियो।

संक्रामक रोग तथा सघन उपचार केन्द्र हाताभित्र रहेको उत्तरपट्टिको भवनमा अस्पतालमा ३६ वटा भेन्टिलेटर, २१ वटा आइसियू, ४७ वटा एचडीयूको व्यवस्था छ। तर गएको ज्येष्ठ ५ गतेयता एक जना पनि संक्रमित छैनन्।

यसैगरी दक्षिणतर्फको भवनमा दातृ निकायले उपलब्ध गराएका करोडौँ मूल्यका स्वास्थ्य उपकरण जडानको कार्य पनि हुन नसकेको केन्द्रका प्रशासन प्रमुख अनुपम राजवंशीले बताउनुभयो।

‘कोभिड नियन्त्रणसँगै अस्पतालमा बिरामी भर्ना भएका छैनन्,’ राजवंशीले भन्नुभयो, ‘अस्पतालमा भएका स्वास्थ्य उपकरण प्रयोगमा आउन सकेका छैनन्।’

राजवंशीका अनुसार गएको वैशाख र जेठ महिनामा मात्र तीन जना संक्रमित उपचारका लागि अस्पताल भर्ना भएका छन्। जेठ ५ गते एक संक्रमित उपचार गरी घर फर्केपछि नयाँ संक्रमित अस्पतालमा भर्ना भएका छैनन्। गत आर्थिक वर्षको साउनदेखि ज्येष्ठ २५ सम्म अस्पतालमा ९७ जना संक्रमित उपचारका लागि भर्ना भएका थिए।

नागरिकस्तर र दातृ निकायको आर्थिक तथा भौतिक सहयोगमा कोभिड संक्रमण केही नियन्त्रणमा आएपछि यो अस्पताललाई कुनै विशेषज्ञ अस्पतालका रूपमा सञ्चालन गर्ने उद्देश्यले प्रदेश सरकारले स्थापना गरेको थियो।

प्रदेश सरकारका तत्कालीन स्वास्थ्य तथा सामाजिक विकासमन्त्री जीवन घिमिरे अस्पतालमा निजी अस्पतालका भन्दा अत्याधुनिक उपकरण र मूल्यवान् सामग्री भएको बताउनुहुन्छ। तर, दुई वर्षदेखि प्रयोगविहीन भएर खिया लाग्न सुरु भएपछि सहयोगी जनस्तर र दातृ निकाय पनि खिन्न भएको घिमिरेको बुझाइ छ। उहाँका अनुसार प्रदेश सरकारले कुनै पनि एक–दुई वटा रोगको विशेषज्ञ सेवा सञ्चालन गर्ने हो भने सर्वसाधारणले स्वास्थ्य क्षेत्रमा राहत पाउने थिए।

यो अस्पताल सञ्चालन गर्न निजी स्तरबाट करिब तीन करोड रुपैयाँ सहयोग जुटेको थियो।

नागरिक केयर सेन्टरका अध्यक्ष पवन साराडाले भन्नुभयो, ‘स्विस सरकारले ९६ शय्याको बेग्लै अस्पताल भवन निर्माण गरी आवश्यक उपकरणसमेत उपलब्ध गराएको थियो। त्यो सबै प्रयोगविहीन हुँदा दुःख लागेको छ।’ यसरी दातृ निकायले निःशुल्क उपलब्ध गराएका सामग्री प्रदेश सरकारले सदुपयोग नै गर्न सकेको छैन।

स्विस सरकारले अस्पताललाई आवश्यक पर्ने उपकरण, शय्या, १५० सिलिन्डर क्षमताका दुईवटा अक्सिजन प्लान्ट, फोहोर व्यवस्थापन, मर्चरी र दुईवटा वाटर ट्रिटमेन्ट प्लान्टको व्यवस्था गरेको थियो। २४ घण्टामा १ सय ५० सिलिन्डर क्षमताका दुईवटा अक्सिजन प्लान्ट र दुईवटा वाटर ट्रिटमेन्ट प्लान्ट भने अहिले सञ्चालनमा छन्।

स्विस सरकारले यस अस्पतालका लागि अलग्गै भवन निर्माणसहित एबीजी मेसिन, वाईप्याप १० थान, सी प्याप १० थान, डेफी विलेट एक थान, भेन्टिलेटर २० थान, पेसेन्ट मनिटर ४० थान, जेनेरल बेड सय थान, अटो प्लेट दुई थान, अक्सिजन प्लान्ट दुई थान, वाटर ट्रिटमेन्ट प्लान्ट दुई थान र करिब दुई करोड रुपैयाँको लागतमा फोहोर व्यवस्थापन केन्द्र स्थापना गरेर प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो।

नागरिक केयर सेन्टरका अध्यक्ष साराडाले स्विस सरकारले निर्माण गरेको भवनमा २१ वटा आइसियु र ४७ वटा एचडीयूको व्यवस्था गरिएको बताउनुभयो।

त्यसमा भर्ना भएका बिरामी र अन्यले भवनभित्र फेरेको सासलाई फिल्टर गरी कीटाणुरहित बनाएर बाहिर फाल्ने अत्याधुनिक मेसिनसमेत जडान गरिएको थियो। यति धेरै स्वास्थ्य उपकरण रहेको अस्पताल लामो समयदेखि प्रयोगविहीन हुनु आफैँमा लज्जाको विषय हुने भन्दै यसको सही सदुपयोग गर्नतर्फ प्रदेश सरकारको ध्यान जान आवश्यक रहेको सारडाले औंल्याउनुभयो।

अत्याधुनिक स्वास्थ्य उपकरण र अन्य सामग्री प्रयोगविहीन रहेको स्विकार्दै प्रदेशकी स्वास्थ्य सचिव डा. सुधा देवकोटाले कोभिड संक्रमति फाट्टफुट्ट देखिएकाले पनि यो अस्पताललाई अन्य सेवा प्रयोजनका निम्ति प्रयोग ल्याउन सकिने अवस्था अहिले नै नरहेको बताउनुभयो।

डा. देवकोटाले त्यहाँ भएका स्वास्थ्य उपकरणको उचित व्यवस्थापन र सदुपयोगबारे छलफल भइरहेकाले प्रदेश सरकार छिटै टुंगोमा पुग्ने जानकारी दिनुभयो।

तत्कालीन स्वास्थ्यमन्त्री जीवन घिमिरेको पालामा प्रदेश सरकारले आपत्कालीन अवस्थामा एक्सन प्लान बनाएर कोभिड अस्पताल निर्माण गर्दा स्विस सरकारले आवश्यक सहयोग गरेको थियो।

तत्कालीन जयराम यादव स्वास्थ्यमन्त्री रहँदा २०७९ जेठ १८ गतेदेखि प्रदेश सरकारले संक्रमण रोग तथा सघन उपचार केन्द्रअन्तर्गत प्रदेश सरकारले अहिले प्राथमिक तहको स्वास्थ्य सेवा केन्द्र सञ्चालन गरेको छ। जहाँ दैनिक सरदर २५ जना बिरामीले ओपिडी सेवा लिँदै आएका छन्।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

ध्रुव भट्टराई/मोरङ का अन्य पोस्टहरु:
कोशी अस्पताल : कोभिड नियन्त्रण त भयो तर प्रयोगविहीन भए अर्बौंका स्वास्थ्य उपकरण
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link