४७ घण्टापछि भेटियो सन्त कुमारको शव, ३ युवाको मृत्युले शोकमा गाउँ 

रामविकास चौधरी/रूपन्देही

दुर्गा मूर्ति विसर्जनका क्रममा दानव खोलामा डुबेर हराइरहेका सन्त कुमार राजभरको शव भेटिएको छ । बिहीबार दिउसो १२ः४५ बजेदेखि दानव खोलामा हराइरहेका २० वर्षीय सन्त कुमारको शव आज दिउसो ११ः४५ बजे स्थानीयले फेला पारेका हुन ।

मूर्ति विसर्जनका क्रममा कोटहीमाई गाउँपालिका–१ दुइमोहानघाट स्थित दानव खोलामा  मङ्गलवार सन्त कुमारसँगै डुबेर हराइरहेका २४ वर्षीय अजय कुमार नाउ र १८ वर्षीय अजय राजभरको शव सोही दिन स्थानीयले खोजतलासका क्रममा फेला पारेका थिए ।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको गोताखोर सहितको उद्धारक टोलीले मङ्गलवारबाट दानव खोलामा हराइरहेका कोटहीमाई १ अमरगन्जका सन्त कुमारको खोजी कार्य गर्दै गर्दा स्थानीयले  ४७ घण्टापछि शव फेला पारेको प्रहरीले जनाएको छ ।  कोटहीमाई गाउँपालिका–१ निवासी २४ वर्षे अजयकुमार नाउ जिल्ला प्रहरी कार्यालय पाल्पामा कार्यरत हुनुहुन्थ्यो । परिवारसँग दसैँ मनाउन गाउँ आउनुभएको थियो । दसैँको अवसरमा गाउँ नजिकै लाग्ने मेला हेर्न जानुभएको नाउ कहिल्यै नफर्कने गरी जानुभयो ।

कात्तिक ७ गते दुर्गा मूर्ति विसर्जनका क्रममा नदीमा डुबेर अजयकुमारको मृत्यु भयो । अजयकुमारसँग अन्य दुई जनाको पनि सोही क्रममा मृत्यु भयो । मूर्ति विसर्जनका लागि नदीमा पुगेका अन्य दुई डुबेपछि उनीहरूलाई बचाउने क्रममा नाउले पनि ज्यान गुमाउनुभयो ।

कोटहीमाई गाउँपालिकाकै वडा–५ मा नजिकका गाउँमा बनाइएका मूर्तिहरू विसर्जन गर्ने चलन छ । दसैँको टीकाका दिन अमरगन्जसहित अन्य गाउँका ल्याइएका मूर्तिहरू विसर्जन हुँदै थिए ।

मूर्तिलाई पानीमा सेलाएपछि अजय भर र सन्तकुमार भरसहितका स्थानीय युवाहरू मूर्तिलाई पूरै डुबाउन भन्दै नदीको गहिरो रहेकोतर्फ जान थाले । प्रत्यक्षदर्शीका अनुसार त्यहाँ जाने क्रममा सन्तकुमार भर डुब्न थाल अजयले उनलाई ताने, लगत्तै अर्का युवा अजय भर पनि डुब्न थाले, उनलाई जोगाउन सन्तकुमार र अजय नाउ अगाडि बढे, यसै क्रममा तीन जना नै डुबे ।

दानव नदी गहिरो रहेको र तीनै जना पौडी खेल्न नजान्ने भएकाले तीनै जना नदीमा हराएको प्रत्यक्षदर्शीको भनाइ छ । दुर्गा मूर्ति विसर्जनमा गएका कोटहीमाई गाउँपालिका–१ बस्ने १८ वर्षीय अजय राजभर, २४ वर्षीय अजयकुमार नाउ र २० वर्षीय सन्तकुमार भरको मृत्यु हुन पुग्यो ।

दसैँको दश दिनसम्म हर्षोल्लास गरी दसैँ मनाएका यी तीन जना गाउँले युवाहरू एकैसाथ अस्ताए । तीन जना युवालाई गुमाएको अमरगन्ज गाउँ त्यसयता शोकमा डुबेको छ ।

डुबेकामध्ये अजयकुमार नाउ र अजय भरको शव केही घण्टामै फेला परे पनि सन्तकुमार भरको शव करिब ४७ घण्टापछि मात्र फेला परेको छ । सन्तकुमारको शव फेला पर्दासम्म उहाँकै भाइ पर्ने अजय भरको त्रिवेणीमा र अजयकुमार नाउको दानव खोलामा अन्त्येष्टि भइसकेको थियो । सन्त कुमारको शव पोस्टमार्टमको प्रक्रियामा रहेको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक कञ्चन तामाङले बताउनुभयो ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

राम बिकास चौधरी/ लुम्बिनी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link