जंगलमा घुम्दै फिर्दै घुमन्ते जीवन बिताउने राउटे समुदायको छुट्टै संसार थियो। बाँदरको शिकार, कन्दमुललगायत जंगलमै उत्पादन हुने फलफूल खाएर जीविकोपार्जन गर्थे । जंगलमै भएता पनि उनीहरू खुशी र बलिया थिए। लोभलालच गर्दैन थिए। अलग्गै पहिचान थियो। आफ्नै राजा, आफ्नै सरकारको नीति नियमभित्र बाँच्ने राउटे समुदाय परिचित थियो।
जंगलमा काठका भाडाकुडा उत्पादन गरेर नजिकका गाउँहरूमा अन्नसँग साट्दै उनीहरू आत्मनिर्भर थिए। आफ्नै चालचलन रितिथितीमा अडिक थिए। उनीहरूको एक बोली थिए। अरुले भनेको पनि र आफुले भनेको पनि पु¥र्याउथे। आफुले भनेको कुरामा विश्वास घात नगर्ने उनीहरू अरुले केही दिन्छु भनेर विश्वासघात गरेको कुरामा अडिक र आफु बलियो भएर पनि लैजान्थे। त्यसैले पनि गाउँमा राउटे पुग्ना र देख्ना साथ सबैजना रमाइलो मान्दै हेर्थे पनि र सजक पनि हुन्थे। कति कुरा बोल्ने कति नबोल्ने भनेर। यो समुदाय कर्णाली र सुदुरपश्चिम र लुम्बिनी प्रदेश आसपासका जंगलमा फिरन्ते जीवन बिताउदै आफ्नो दैनिकी गुजार्दै आएको समुदाय हो। यो घुमन्ते जातिको रुपमा रहेका राउटे समुदाय पछिल्लो समय संकटमा छ। जंगलको सुनसान सुन्दर र स्वच्छ वातावरणमा हुर्किएको यो समुदाय त्यो संसार छोडेर लोभलालचको संसारमा पुगेको छ।
यो समुदाय स्वार्थी संसारमा पाइला टेकेको छ। उनीहरूले त्यो संसार छोडेर क्रमस सरकारले गरेको पहल र नागरिकको बढ्दो चेतनाले गर्दा उनीहरू समाजको निकट बस्दै आउन थालेका छन् । समाजसँग साइनो गाँस्न पुगे। समाजमा घुलमिल हुन नजिक सरे। नजिकको समाजसँग साइनो लगाउदै नजिक फिर्दै गर्दा उनीहरूको जीवनमा सकारात्मक परिर्वतन मात्र आएन। सकारात्मक परिर्वतन भन्दा नकारात्मक परिर्वतन बढी हाबी भयो।
समाजको नजिक सर्दा उनीहरूको घरधुरी र पारिवारिक संख्या समाजका अन्य आम मान्छेजस्तै बढ्ने ठाउँमा उनीहरूको संख्या घट्दै गइरहेको छ। २०६८ को जनगणना तथ्यांकअनुसार नेपालमा जम्मा ६ सय १८ जना संख्यामा राउटेको बसोबास थियो। तर विसं २०७८ को जनगणना अनुसार हाल यो समुदायमा कूल ४६ घरधुरी छन भने जम्मा राउटेहरूको सङ्ख्या १ सय ४३ मा खुम्चिएको छ।
विगतमा स्वास्थ्यका हिसाबले बलिया र फुर्तिला देखिने राउटे पछिल्लो समय कमजोर र रोगी बन्दै गइरहेका छन्। जंगलबाट नजिकको समाज नजिकै बस्दा सकारात्मक कुरा सिक्ने ठाउँमा नकरात्मक कुरामा बढी जोड दिन थालेका छन्। जस्दे गर्दा उनीहरूको संख्या दिनहुँ घट्दो अवस्थामा पुगेको छ। उबेलाका हड्डाकठ्ठा बलिया राउटे पैसा र मदिराको लतले दिनहुँ कमजोर हुँदै गएका छन्। आधुनिकतामा होम्मिएसँगै उनीहरूको मृत्युदर बढ्दै गएको छ भने उनीहरूको पेशा नै संकटमा पर्न थालेको । पहिले राउटे गाउँमा पुग्दा सबैजना रमाइलो मान्थे। अहिले खिसिट्युरि गर्छन।
दुई÷तीन दशक पहिलेसम्म घना जङ्गलले भरिभराउ यहाँको क्षेत्र राउटेका लागि सुरक्षित बासस्थान थियो। तर, पछिल्लो समय विकास, सहरीकरण तथा आधुनिकीकरणको बढ्दो प्रभावले उनीहरूको अवस्था नै फेरिएको छ। दक्षिण एसियाका अन्तिम घुमन्ते जाति राउटे नेपाल र नेपालीका लागि खजाना भए पनि बढ्दो आधुनिकीकरणले राउटेको जीवन, दर्शन, संस्कृति र सभ्यता संकटोन्मुख अवस्थामा छ। यो समुदाय केही दिन अघि मात्र बसाइ सरेर नारायण नगरपालिका ९ लोहोरेको खोला छेउमा बसेका छन्।
भत्ता पाएपछि परनिर्भर राउटे
आफ्नै राजा, आफ्नै सरकारको नीति नियमभित्र बाँच्ने राउटे समुदाय जंगलको राजा हो। राउटे समुदायका नागरिकले गरेको दुःख देखेर उनीहरूको जीविकोपार्जनमा टेवा पुगोस भन्दै सरकारले २०६४÷०६५ सालमा भत्ता उपलब्ध गराएको थियो। जंगल फडानी रोक्न र उननीहरूको जीविकोपार्जनमा सहयोग पुगोस् भन्नका लागि वितरण गरिएको भत्ता उनीहरूकै लागि अभिश्राप भएको छ। पहिले जंंगलमा घुमन्ते जीवन बिताउदै काठ बाट बनेका भाडाकुडा नजिकको गाउँमा लिएर बेचेर गुजारा चलाउथ्ये। जंगल फडानी रोक्न र उनीहरूको जीवन यापनि सहजताको लागि सुरुमा पाँचसय भत्ता दिइएको राउटेका महामुखिया महिन बहादुर शाही बताउनुहुन्छ। ‘सहरको सरकारले राम्रो गरेको छ। नराम्रो गर्याउ छैन। हामुरको लागि मैनामैनामा भत्ता पठायाउँछ,’ उहाँ भन्नुहुन्छ, ‘कति गुण मान्याउँछ, कति राम्रो मान्याउँछ। हामीलाई धेरै धेरै काम पनि गर्नुपर्दैन भन्या छ।’ आफूहरू जहाँ गए पनि त्यहीँ सहरको सरकार भत्ता लिएर आउँदा आफूहरूलाई खुसी लागेको उहाँ बताउनुहुन्छ ।
राउटे समुदायका नागरिकलाई सरकारले २०६४/०६५ सालदेखि एकजना बराबर मासिक ५ सय रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएको थियो । एक वर्ष पछि पाँचसयबाट वृद्धि भएर एकहजार भएको थियो। २०७५/ ७६ मा वृद्धि भएर दुइहजार पुगेको थियो भने २०७६ सालबाट ३ हजार र ७७ बाट वृद्धि भएर चार हजार भत्ता पुगेको राउटे समुदायमा जोडि शिक्षकका रुपमा २०७५ बाट सोसेकबाट खटिएका लालबहादुर खत्रीले बताउनुभयो।
तत्कालीन समयमा भत्ताका रुपमा मासिक भत्ता बुझ्न थालेपछि उनीहरूले अर्थमन्त्रीलाई ‘पैसा मन्त्री’का रुपमा बुझ्न थालेका थिए। त्यो बेला देखि नै उनीहरूले बुझिसकेका थिए हामीले केही नगरे पनि हुन्छ अब हामीसँग पैसा छाप्ने अर्थमन्त्री भेटिसक्यौँ भनेर उनीहरूलाई लाग्थ्यो, ‘पैसा मन्त्रीले पैसा बनाउँछ र प्रधानमन्त्री बाँड्छ।’
मासिक भत्ता पाउन थालेपछि जंगलबाट उनीहरू २०६६ सालमा पहिलो पटक बालुवाटार छिरेका थिए। तत्कालीन समयमा उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), तत्कालीन राष्ट्रपति रामवरण यादव, अर्थमन्त्री बाबुराम भट्टराई लगायतलाई भेटेर हातले बनाएको काठको सामाग्री उपहार दिएका थिए।
पहिले पहिले नयाँ मान्छेलाई आफनो बसोबास क्षेत्रभित्र छिर्नै नदिने राउटे समुदाय अचेल फेरिएका छन। कुनै समय पैसा छुँदा पाप लाग्ने मान्यतामा बाँचेका उनीहरू अचेल हिड्दा हिड्दै पैसा माग्ने अवस्थामा पुगेका छन्।
राउटे समुदायमा पहिले बाहिरी मान्छे नजाँदा जाँडरक्सी लगायत कुलतबारे थाहै नपाएको तर, पछिल्लो समय समाजको नजिक बस्दा र सहरका मान्छे जान थालेपछि राउटे समुदायमा मदिराको लतले सिंगो समुदाय नै विग्रदै गएको महामुखिया शाही बताउनुहुन्छ । हाम्रो समुदायका मान्छेले यसरी खादैनथियौँ,’उहाँले भन्नुभयोे, ‘पहिले हामी जहाँ बस्यौँ त्यहीको समाजले र जनताले सिकायो।खत्तम हुन्छ भनेनन्। सहर र गाउँले पहिले खान सिकायो।’ ‘खान सिकियापछि त खाइयो। अहिले छोड्न मुस्किल भएको छ। पैसा नहुँदा छट्पटी हुन्छ पैसो आयो भने खान मन लागिहाल्छ। त्यस्ले गर्दा पनि हाम्रो समुदायमा ठुलो असर गरेको छ।’
जंगलबाट गाउँबस्तिको नजिक भएपछि पहिले भन्दा परिर्वतन भएको अर्का मुखिया सुर्यनारायण शाहीले बताउनुभयो । समाजको नजिक सर्दा हामीले रक्सि खान मा सिकेनौँ,’उहाँले भन्नुभयो, ‘पहिले जुत्ता लगाउँदैनथियो। अहिले लाउन सिक्याँ। सबै सहरले सिकायो त।’
पहिले आफुहरू जंगलमा रहेर पनि आत्मनिर्भर रहेको तर, सरकारले मासिक भत्ता दिन थालेपछि आफुहरू परनिर्भर हुनुका साथै अल्छि भएको मुखिया शाहीले स्वीकार्य। तपाई अल्छि हुनु भयो ? मदिरा पनि उत्तिकै पिउनुहुन्छ ? अब सरकारले तपाईहरूलाई मासिक भत्ता नदिने निर्णय गरेपछि के गर्नुहुन्छ ? भन्ने प्रश्नमा मुखिया सुर्यनारायण शाहीले भन्नुभयो, ‘अब के गर्नु मासिक भत्ता हटाए उही पुरानै काठका भाडा बनाएर गाउँमा बेचेर परिवार पाल्छौँ।’
रक्सी भनेको पहिले राउटेलाई थाहा नभएको र खाएपछि मरिन्छ भन्ने लागेकै बेला ‘सहरका मान्छे’ले खान सिकाएको शाहीले वताउनुभयो। ‘कोही मान्छ पापी रैछ। यो लिच्ची (रक्सी) खाएपछि केही हुँदैन भनेर खान सिकायो। अहिले त हामीले बोइलर पनि खान थाल्यौं,’ मुखिया सुर्यनारायण शाहीले भन्नुभयो,, ‘सबै सिक्दैछौं। एक दिन हाम्रा केटाकेटी पनि घरमा बस्न सिक्लान् त के रे ?’
पहिले आफलैले जाड राखेर खाने परम्परा थियो त्यो पनि चाडपर्वमा मात्र खान्थे। अघिपछि जंगलमै काठका भाडाकुडा बनाउन व्यस्त रहनथ्य। तर, पछिल्लो समय उनीहरू काठको भाडा पनि बनाउन जागर लगाउदैनन्। फुर्सदिला भएका कारण पनि राउटेमा रक्सिमोह बढेको जोडी शिक्षक खत्री बताउँनुहुन्छ । पहिले कमै पिउने उनीहरूले मासिक एकहजार भत्ता आउन थाले देखि रक्सि खान सुरु गरेका थिए। ,’उनले भने, ‘अहिले नखाउ भने पनि मान्दैनन्। उल्टै रक्सि उत्पादन गर्ने कम्पनी बन्द गर त्यसपछि खान छोड्छौँ भन्छन्।’
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
जितेन्द्र थापा/सुर्खेत का अन्य पोस्टहरु:
- कृषिलाई शत्रु ठान्ने राउटे समुदाय कृषिमै रमाउँदै
- विश्वासले प्राप्त गरेको सफलता
- भूकम्प पीडित -‘ओछ्याउने छ, शरीरमा लगाउने कपडा छैन’
- छोरा खोरमा, परिवार त्रिपालमा
- ‘ हामीलाई बचाउ सरकार! चिसोले मर्ने भयौँ ।’
- भूकम्पमा बाँचेकाहरूको पुकार ‘हे ईश्वर, पानी नआइज। पानी परेपछि त हामी बाँच्दैनौँ।’
- पीडामा पनि राजनीति, पहुँचका आधारमा राहत
- पशु बस्ने खोरमा १३ वर्षदेखि बन्धक हेमराज, तर किन?
- विषादी प्रयोग गर्न छोडेपछि कसरी भयो कृषि उत्पादनमा वृद्धि
- प्लास्टिकका भाँडासँग हार्दै गाउँघरका काठका ठेकी