सर्वहारा वर्गको राज्यसत्ता स्थापना गर्न भन्दै विद्रोही (नेकपा माओवादी)ले २०५२ फागुन १ गते जनयुद्ध घोषणा गर्यो। जनयुद्ध घोषणा पश्चात् जनयुद्धमा होमिनेको लहर चल्यो। जनयुद्धका चर्का चर्का नारा लागेपश्चात् चुलोचौको सिमित नारीहरू पनि होमिए।
चुलोचौकोमा सिमित रहेका नारीहरू युद्धकै क्रममा जनयुद्धताका बेला उकाली ओराली हुँदै तराईका समथर भुभाग हुँदै पहाडका खोँचसम्म पुगे। त्यही तराईको समथर भुभाग हुँदै पहाडको खोँचसम्म यात्रा गर्ने चेली हुनुहुन्छ दैलेखको ठाटीकाँध गाउँपालिका – २ टोम्टाल्लाकी उर्मिला थापा (रुपा)।
चुलोचौकोमा सीमित उर्मिला पनि जनयुद्धका चर्का नारापश्चात् चुलोचौको छाडेर युद्धमा होमिएको बताउनुहुन्छ। दश वर्षे सशत्र जनयुद्धमा होमिएकी उर्मिला अहिले फेरि चुलोचौकोमै सिमित हुनुभएको छ। तत्कालिन माओवादीले सुरु गरेको माओवादी युद्धले सर्वहारा वर्गको राज्य स्थापना हुनुका साथै सर्वहारा वर्गमाथि हुने थिचोमिचोको अन्त्य हुन्छ भन्ने सपनाका साथ युद्धमा होमिनु भएकी उर्मिलाको सपना अधुरै रह्यो। “माओवादी युद्धले यो मुलुक परिर्वतन भएर युद्धका बेला चर्का नारा लगाउने त्यही माओवादीले अधिकारको दुरुपयोग गर्दै आफ्नालाई मात्रै जागिर दिने गरेको छ। जनयुद्धमा होमिएका घाइते अपाङ्ग अहिले पनि गाउँबस्तिका झपडीभित्रका कुनाकन्दरामा बस्दै आएका छन्,”उर्मिला थापा(रुपा) भन्नुहुन्छ।
जनयुद्धमा होमिदा महिला हिंसाको अन्त्य हुन्छ। बालबिवाह, बहुबिवाहको अन्त्य हुन्छ। सर्वहारा वर्गको राज्यसत्ता स्थापना भयो भने उत्पिडित नागरिकका दिनहरू आउँछन्। सहज रुपमा बाच्न सक्छन्” भन्ने ठुलो आशाका साथ उर्मिला पनि २०५८ साउन ८ गते माओवादी जनयुद्धमा होमिनुभयो ।
माओवादीतिर यात्रा
दुल्लु नगरपालिका साविको ९ माइती घर भएकी उर्मिला थापा (रुपा) को घर नजिकै प्रहरी चौकी थियो। उर्मिला नौ कक्षामा पढ्दै हुनुहुन्थ्यो। साँझ विहान विद्यालय आउँदा जादा प्रहरी दुःख दिइरहन्थयो। बेला बेला भन कहाँ छन् माओवादी भन्दै समय समयमा उर्मिलालाई चौकीमा बोलाइरहन्थे। प्रहरीले त्यसरी सताउन थालेपछि अन्तः उहाँ माओवादी हुने निर्णय गर्नुभयो। “महिला मुक्ति, जातीय मुक्तिका निम्ति लड्नुपर्छ” भनेर घरमा आउने माओवादी साथीहरूले उर्मिलालाई साहस दिइरहन्थे। माओवादी युद्धमा लाग्नको लागि एक दिन उर्मिलाले बुबालाई भन्न आँट गर्नुभयो- “बुबा म जनयुद्धमा जान्छु।” त्यति भन्न नपाउँदै बुबाले “त्यसो भए जनयुद्धमा जाने भए पहिले तेरो दोपट्टा दिएर जानु पहिले म मर्छु त्यसपछि मात्र जनयुद्धमा लाग्नु भनेर भनेको कुरा” रुपाको मस्तिष्कमा ताजै छ।
निरन्तर बुबालाई सम्झाइ बुझाई गरेर अन्तः बिहान बुबा निदाएको मौका पारेर बिहानको झिसमिसेमै घर छाडेर गीताचौर तर्फ लाग्नुभयो। त्यसपछि माओवादी युद्धमा निरन्तरता दिनुभयो।
चुलो चौकोमै सिमित
बुबालाई फकाउँदै दैलेख हुँदै जनयुद्धमा उदायकी रुपा थापा अहिले झुपडीको चुलो चौकोमै सिमित हुनुभएको छ। जनयुद्धताका बेला जनयुद्धमा सँगै हिडेकी रुपा अहिले एक्लै हुनुहुन्छ। उहाँलाई कसैको साथ छैन। जनयुद्धमा होमिदा दैलेख हुँदै जाजरकोटको मुचकोट पुग्नुभयो। केही समय त्यतै बस्नुभयो। महिला मुक्ति, जातीय मुक्तिका बारेमा त्यही बसेर जागरुक बनाउने काम गर्नुभयो। साउन देखि तीन महिना त्यतै बसेर आफुले पनि टेर्निङ लिनुभयो। उहाँको प्रेरणाले चुलो चौकोमा सिमित कैयौँ चेलीहरू युद्धमा होमिन तयार भएका थिए। तर, उहाँ अहिले आफै पीडित र अशक्त हुनुभएको छ।
मर्न र मार्न तयार
तीन महिनाको टेर्निङ पाएपछि सहज महशुस भयो। माओवादी युद्धमा होमिसकेपछि रुपालाई लागिसकेको थियो राज्यसत्ता पलउनको लागि कित मर्नुपर्छ कि मार्नुपर्छ। राज्यसत्ता पल्टाउनको लागि जतिबेला जे पनि हुन सक्छ भन्ने मानसिकतामा तयार भइसकेको थियो। एक छाक खाना खाएर पनि राज्यसत्ता पल्टाउनका निम्ति लागेको अहिले पनि ताजै छ। राज्यसत्ता पल्टाएर सर्वहारा वर्गको राज्यसत्ता स्थापना गर्न तयारी थियो। २०५८ साल फागुनको महिना अछामको मङ्गलसेन आक्रमण गर्न टोली अगाढी बढ्दै थियो। रातीको साढे नौ बजेर फायर भयो। रातीको नौ बजे सुरु भएको लडाइ बिहान चार बजे मात्र सकिएको थियो। माओवादीले बिजय प्राप्त गरेको थियो। रुपाको आँखै अगाडी उहाँका थुप्रै साथीहरू सहिद भएकाे स्मरण ताजै छ। जनयुद्धमा लड्दै गर्दा उहाँ सेक्सन भिसि हुनुभयो।
उर्मिला भन्नुहुन्छ, “दैलेखको नौमुलेबाट बिदाई भएर जाजरकोट तर्फ लागियो। जाजरकोटबाट सल्यान पुग्न भेरी तर्नुपर्ने हुन्थ्यो। भेरीमा नाउ थिएन। चैत्रको महिना लौकाको (चिन्नु) ढाडमा बाँधेर भेरी तर्नुपर्ने बाध्यता थियो। ढाडमा चिन्नु बाँधेर अरु अरु एकसय पचास जना लस्कर सुतेर तर्नेक्रममा सुर्खेतको रोशन चौभरी बगेका थिए। बगेर तलसम्म पुग्दा पनि बाइबाइका हातहरू हल्लाउदै क्रान्ति सफल पार्न निर्देशन दिएको प्रष्ट थियो। ठुलो भेरी बचाउन सक्ने परिस्थिती थिएन। एकजनालाई बचाउन खोज्दा सबैजनाको मृत्यु हुने थियो।”
प्युठान सदरमुकाम हान्ने योजना
उर्मिला भन्नुहुन्छ, “सल्यान हुँदै प्युठान सदरमुकाम हान्ने योजनामा अघि बढ्यौँ। अन्तिम पोष्टमा पुग्दा उताबाट आर्मि आयो। सिस्नेको भिरमा भिडन्त भएको थियो। त्यो भिडन्तमा परेर सातजना सहीद भए। त्यसपछि रातारात रातीको बाटो तीनवटा बटालियन कमाण्डरका करिब १५ सयजना बाटो छिचोल्दै अघि बढ्यौँ। एकजना अघि हिडेर त्यसको पछि पछि अरु हिडेका थियौँ। बिचमा एकजना फुत्केमा सबैजनाको ज्यान जान्थ्यो। रातभरी हिडेर भोलीपल्ट रोल्पाको गाममा पुगियो। रातको निन्द्रा, थकाइ नभनेर गामको भिडन्तमा पनि भोकभोकै लडेको रुपा बताउँनुहुन्न्छ। राती दुइ बजेसम्म लड्दा माओवादीले पूर्ण बिजय गरेको थियो। त्यसपछि रुकुम पुगियो। त्यहाँ पुग्दा प्रहरी आफै सुरुङ खनेर भागेर गाम पुगेको थियो।”
रुकुम खारा लडाई
उर्मिला भन्नुहुन्छ, ” २०५९ जेठ १९ गते राती नौ बजेबाट लडाइ सुरु भयो। निरन्तर लडाइ चलिनै रह्यो। नौ बजे सुरु भएको लडाई बिहान पाँच बजेसम्म चल्यो। उक्त भिडन्तमा परि तीनसय जना सहीद भएका थिए। निरन्तर लडाइ लड्दा पनि माओवादी पराजय भए। रुकुमको खार आक्रमण पश्चात् अर्घाखाचिको सदरमुकाम सन्धिखर्क पुग्ने योजनामा रुपा सहित उनको टीम सन्धिखर्क पुग्यो। भदौको महिना थियो पानीमा भिज्दै विभिन्न दुःख संघर्षसँग जुध्दै टोली निरन्तर अघि बढेको थियो। अर्घाखाचिको सदरमुकाम सन्धिखर्क हान्ने योजाना माओवादीले बनाएको थियो। त्यहि तयारीमा टोली निरन्तर अघि बढेको थियो। भदौ २३ गते तीज परेको थियो। तीजको रौनक बजारमा निकै चलेको थियो। रातीको नौ बजे फायरर गर्ने योजना थियो। नौ बजे फायर गर्न सुरु गरियो। फायर चल्दा बजार सुनसान भयो। राज्यपक्ष र माओवादी पक्षबिच फायर चल्दै थियो। फायर गर्ने क्रममा म पनि गोलिको निशानाबाट उम्किन सकिनन्। राज्य पक्षको गोली लागेर ठाउँको ठाउँ ढले। गोली बायाँ खुट्टाको ह्पि हुँदै बाहिर निस्केको रहेछ । गोली लागेपश्चात् उनी ठाउँको ठाउँ ढले। उपचारको लागि लैजाने क्रममा तीन घण्टा हिडेर उपचार गरेपश्चा्त पाँच घण्टामा होस आयो।”
उपचारको लागि लखनउ यात्रा
अर्घाखाची सदरमुकाम हान्ने क्रममा घाइते हुनुभएकी उर्मिलाको उपचारका लागि नेपालमा सम्भव थिएन। घाउ चर्केकै थियो। एक महिनासम्म घाउमा लगाउने औषधीसम्म पाउनुभएन। रोल्पा पुगेर दाङ हुँदै पार्टीले समन्वय गरेर लखनउ पुर्याइयो। उहाँको उपचार त्यहाँ पनि सम्भव भएन। त्यहाँबाट पनि भारतको पन्जाबको जालन्धर पुगेर उपचार भयो। उहाँको साथमा साथजना साथीहरू थिए त्यसमध्ये तीनजनाको खुट्टा थिएन। त्यो देखेर उर्मिलालाई बेला बेला जिन्दगीबाट हार खाएजस्तै हुन्थ्यो। उपचारकै क्रममा त्यहाँ उपचारसँगै आराम गरेका बेला उहाँ त्यहाँ बसेको भारतीय आर्मीले जानकारी पाइसकेको थियो। उर्मिला भन्नुहुन्छ, “राम्रोसँग उपचार नहुँदै नेपाल फर्के। नेपाल फर्किने क्रममा पनि बाटोमा विभिन्न दुःख कष्ट भोग्दै २०६२ मा नेपाल फर्किएँ। केही समयको उपचारपश्चात् नेपाल फर्केर पनि माओवादी सेनामा जोडिन सक्ने अवस्था थिएन। नेपाल फर्केर नेपागन्ज क्षेत्रिय स्वस्थ्य विभागमा थन्काइयो।”
२०६४ को चुनावमा आफ्ना अनुभूति सुनाउन भन्दै पार्टीले आआफनो जिल्ला पठाउने निर्णय गर्यो। सबैजनासँगै उर्मिला पनि आफनो दैलेख जिल्ला फर्किनुभयो। त्यो बेला पार्टीले आफुलाई क्यान्टम्यानमा पनि नराखेको गुनासो उहाँको छ। क्यान्टम्यानमा राख्दा पार्टीले पछि छुट्टै व्यवस्था हुन्छ भन्थ्यो,’उहाँले भन्नुभयो, ‘१७ वटा लडाइ लडेर अहिले न त कुनै व्यवस्था भयो। अपाङ्ग शरिर लिएर चुलौचौकोमै थन्किए।’ अहिले उहाँलाई शारिरिक,आर्थिक, सामाजिक रुपमा कसैको पनि साथ छैन। आफ्नो लगानीले देशमा केही हदसम्म परिर्वतन भएपनि आफ्नो जीवन झनै अध्यारोतर्फ धकेलिएको उहाँको दुखेसो छ। उर्मिला भन्नुहुन्छ, “हाम्रै त्यागका कारण देशको मुहार परिर्वतन भयो तर, गरिब निमुखा सर्वहारा वर्गको मुहार कहिलेही फेरिएको छैन।”
राजतन्त्रको अन्त्य गर्दै गणतन्त्रको स्थापना हुनुपर्छ भनेर तत्कालिन विद्रोही माओवादीले २०५२ फागुन १ गते जनयुद्ध घोषणा भएको थियो। गणतन्तको स्थापना गर, राजतन्त्रको अन्त गर, संविधान सभाको स्थापना गर, राजतन्त्रको अन्त गर भनेर चर्का नारा लगाउदै हिमाल, पहाड, तराईबाट गरिब निमुखा सर्वहारा जनताले गणतन्त्र स्थापनाको लागि रगतको खोलो बगाए। जसरी १७ हजार सर्वहारा वर्गले राजतन्त्र फालेर गणतन्त्र हुँदै संघीयता पनि आयो। संघ, प्रदेश हुँदै स्थानीय तहसम्म पुग्दा माओवादीले राम्रो स्थान ल्याउन नसक्दा आफुले ल्याएको व्यवस्था अर्कैको हातमा परेको उर्मिला बताउनुहुन्छ। ‘यो कार्यान्वयन भएको अवस्था छैन। अहिले बच्चा जन्माउने एउटा हुर्काउने अर्कै भयो,’ उर्मिला भन्नुहुन्छ, ‘यस्ले गर्दा अहिले देशमा सय प्रतिशतमा नब्बे प्रतिशत असत्यले सिमा नाघेको छ। यसको अन्त्यका लागि फेरी एउटा क्रान्ति आवश्यक छ।’
हिजो जनयुद्ध लड्न त्यति सजिलो थिएन। परिवार पाल्न सजिलै छ। जनयुद्ध लड्न सामुहिक थियो। परिवार पाल्न व्यक्तिका लागि थियो। उहाँलाइ अहिले जनयुद्ध लड्न नै सजिलो लाग्छ। जनयुद्धमा जति जीवन मरणको लडाइ लडे पनि त्यहाँ परिवर्तनका लागि थियो। त्यहाँ सामुहिक थियो। परिवार पाल्नका निम्ति एकजना व्याक्तिका निमित्त मात्र छ। हिजो परिर्वतनका लागि गरिएको जनयुद्ध अहिले नेताको कमाइखाने भाँडो हुँदा दुःख लागेर आउने गरेको उर्मिला भन्नुहुन्छ- “जनयुद्ध भनेको देशमा रहेका गरिब निमुखाहरूको व्यवस्था स्थापना गर्नका निमित्त भनेका थियौ अहिले त्यो भएन।”
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
जितेन्द्र थापा/सुर्खेत का अन्य पोस्टहरु:
- कृषिलाई शत्रु ठान्ने राउटे समुदाय कृषिमै रमाउँदै
- विश्वासले प्राप्त गरेको सफलता
- भूकम्प पीडित -‘ओछ्याउने छ, शरीरमा लगाउने कपडा छैन’
- छोरा खोरमा, परिवार त्रिपालमा
- ‘ हामीलाई बचाउ सरकार! चिसोले मर्ने भयौँ ।’
- भूकम्पमा बाँचेकाहरूको पुकार ‘हे ईश्वर, पानी नआइज। पानी परेपछि त हामी बाँच्दैनौँ।’
- पीडामा पनि राजनीति, पहुँचका आधारमा राहत
- पशु बस्ने खोरमा १३ वर्षदेखि बन्धक हेमराज, तर किन?
- विषादी प्रयोग गर्न छोडेपछि कसरी भयो कृषि उत्पादनमा वृद्धि
- प्लास्टिकका भाँडासँग हार्दै गाउँघरका काठका ठेकी