लुम्बिनीको एक चिम्टी माटो बेचेर पनि आर्थिक समृद्धि हासिल गर्न सकिन्छ : मन्त्री पाण्डे

चन्द्रकान्त खनाल/रूपन्देही

लुम्बिनी प्रदेश सरकारका बिनाविभागीय मन्त्री सन्तोष पाण्डेले लुम्बिनीको एक चिम्टी माटो बेचेर पनि आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ ।

गोरखापत्र प्रकाशनको १२३ओैं वर्ष प्रवेश तथा संस्थानको ६१औं वार्षिकोत्सवका अवसरमा गोरखापत्रको लुम्बिनी प्रदेश कार्यालयले बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले नेपालीले भारतबाट एक बोतल जल बोकेर आउने गरेको स्मरण गर्दै संसारभरका बौद्ध मार्गीलाइ लुम्बिनीको एक चिम्टी माटो पनि प्रसाद हुने धारणा राख्नुभयो । ‘विदेशी पर्यटकले लुम्बिनीको माटो महँगो डलरमा किन्ने भएकाले यहाँ आउने पर्यटकलाई माटोसँगसँगै बुद्धको तस्वीर, बुद्ध अंकित टोपीसमेत बेच्नुपर्छ,’ उहाँको भनाइ थियो, ‘यसो भएमा आर्थिक समृद्धि हुन सक्छ ।’ यस्तै, मन्त्री पाण्डेले गोरखापत्रले जनताका मुद्दा बोक्नुपर्ने उल्लेख गर्दै जनताका मुद्दा उठाउन सञ्चारमाध्यमलाई आग्रह गर्नुभएको छ। उहाँले समाज रुपान्तरणका लागि जनताका एजेन्डामा सरकारलाई झकझक्याउने र सरकारका नीति जनतालाई बुझाउने गरी कलम चलाउन पत्रकारलाई आग्रह गर्नुभएको हो ।

‘सरकारको छायाँ नपारौं, सत्य तथ्य समाचार निर्धक्क लेखौँ, नेपालको सिंगो इतिहास बोकेको गोरखापत्रको थप ब्रान्डिङ गर्न जरुरी छ,’ मन्त्री पाण्डेले भन्नुभयो । यस्तै, उहाँले जनताको पक्षमा कलम चलाउने पत्रकारहरुको सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको समेत उल्लेख गर्नुभयो । ‘गोरखापत्र संस्थान नै संघीय सरकारमातहतको हो, यसमा काम गर्नेहरु सबैको सुरक्षा जरुरी छ, सरकारले थप ध्यान दिनुपर्छ,’ मन्त्री पान्डेको भनाइ थियो ।

सोही अवसरमा पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष रामराज पोखरेलले पत्रकारिता नेताका भजन गाउने साधन बन्न थालेकोप्रति चिन्ता व्यक्त गर्दै राज्यले पत्रकारको पेसागत सुरक्षाको ग्यारेन्टी गर्न आग्रह गर्नुभयो । नेपालमा पर्यटन क्षेत्रको विकासका लागि राज्यले आधार तयार गरिदिनुपर्ने उहाँको भनाइ थियो । गण्डकी प्रदेशको पर्यटन विकास लोभलाग्दो भएको चर्चा गर्दै लुम्बिनीमा अथाह सम्भावना भएर पनि यथेष्ट काम हुन नसकेको गुनासो गर्नुभयो । यसैगरी, पर्यटन व्यवसायी माधव नेपालले राज्यले पत्रकारको सुरक्षा गर्नुपर्ने र मुलुकको आर्थिक समृद्धिका लागि गोरखापत्रले अहम् भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो ।

नेपाल पत्रकार महासंघ रूपन्देहीका निवर्तमान अध्यक्ष यानेन्द्र जिसीले गोरखापत्रको इतिहास जोगाउने दायित्व सरकारको रहेको भन्दै यसका सञ्चालक भने जनता नै रहेको उल्लेख गर्नुभयो । ‘पत्रिकाले खबरदारी र निगरानी गरोस्, सेल्फ सेन्सरसीपमा छौँ, मिडियामा सरकारको छाया नपारौं, कसैको इन्ट्रेस्टमा समाचार नबनोस्, समाचार ब्रेक गर्न सक्नुपर्छ, सरकारलाई खबरदारी गरोस्,’ जीसीको भनाइ थियो ।

यस्तै, बुटवल उद्योग बाणिज्य संघका महासचिव विमलराज भट्टराईले १९५८ देखि सही दिशा निर्देशका लागि पत्रकारिता गरिरहेको भन्दै गोरखापत्रको प्रशंसा गर्नुभयो । कृषि, पर्यटन आर्थिक समृद्धिको आधार भएको भन्दै किसानका उत्पादन बेच्ने वातावरण सरकारले बनाउनुपर्ने बताउनुभयो । नाट्टा लुम्बिनीका अध्यक्ष रचना पन्तले गोरखापत्रको बिश्वसनियता अरुको भन्दा बढी र आधिकारिकता रहेको उल्लेख गर्दै पर्यटन नै विकासको आधार रहेको बताउनुभयो भने रूपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल गोरखापत्रले जनमानसको विश्वास जित्नुपर्ने भन्दै अब आर्थिक क्षेत्रलाई जोड दिन आग्रह गर्नुभयो ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

चन्द्रकान्त खनाल/रूपन्देही का अन्य पोस्टहरु:
लुम्बिनीको एक चिम्टी माटो बेचेर पनि आर्थिक समृद्धि हासिल गर्न सकिन्छ : मन्त्री पाण्डे
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link