श्रीमती र म छिमेकी मुलुक भारत भ्रमणमा थियौँ। भ्रमणको उद्देश्य श्रीमतीलाई खुसी तुल्याउनु थियो। श्रीमतीले केही महिनायता माइत जान कर गर्दै आएकी थिइन् । भ्रमणको बहाना यो पनि बन्यो । अन्ततः हामी भारतको भेलाही पुरन्दारा पुग्यौँ । ससुराली पुगेका ज्वाइँको स्वागत नहुने कुरै भएन।
परिवारिक जमघटले ७५ वर्ष कटिसक्नुकी सासुआमा खुसी हुनुहुन्थ्यो। त्यही खुसीमा मनपर्ने घोनसारीको भुजादेखि भान्टाको चोक्खा र सागलगायत खाना–नास्ताको मेसो मिलाउन थाल्नुभयो। समाचार, भलाकुरीकै क्रममा मैले ठूलो जेठानलाई बिहेबारीको कुरा चलाउँदै भने, ‘हजुरकी छोरीको पढाइ सकिएकाले बिहेका लागि केटा हेर्ने समय आयो। भन्नुहुन्छ भने नेपालतिर केटा हेर्थें।’
आफ्ना श्रीमान्को कुरा टिप्दै जेठानी भाउजूले झट्ट जबाफ फर्काउनु भो, ‘बाबु इन्जिनियर बिटियाको क्यों करें नेपालमे सादी ? अब त छोरी गृहणी बन्ने होइन। नेपालमा नागरिकता पाउन उस्तै मुस्किल छ भन्ने सुन्छौँ। अनि उनले त्यहाँ कसरी जागिर गर्छिन्।’
म उहाँलाई भारतीय सञ्चारमाध्यमा आएजस्तो नेपालको अवस्था नरहेको सम्झाउन खोजेँ तर सकिनँ। अर्थात् नेपालमा उठिरहेको नागरिकता विषयले गर्दा भारतीयहरूले नेपालमा छोरीचेली दिने चलन पातलिँदै गएको छ।
दुई दशकअगाडिसम्म सिमावर्ती भारतीयको पहिलो रोजाइ नेपालकै केटा बिहे गर्ने हुन्थ्यो। नेपालमा बिजुलीबत्तीको सुविधा, पढे–लेखेका केटाले छिटो जागिर पाउने, शान्ति सुव्यवस्थालगायत कारणले सिमावर्ती वैवाहिक सम्बन्ध पारस्परिक थियो। तर क्रमशः त्यो क्रम कम हुँदै गएको छ।
जसले जे भने पनि नेपाल–भारत सम्बन्ध भौगोलिक निकटता, समान संस्कृति र सम्पदा तथा वैवाहिक सम्बन्धमा एकअर्कामा आश्रित छ। विशेषगरी खुला सिमाना, निर्बाध आवागमन, दुवै देशका ‘जन–जन’बीचको प्रगाढ सम्बन्ध एवं वैवाहिहिक सम्बन्धले जोडिएको पारिवारिक नाता र समान सांस्कृतिक सम्पर्कले थप प्रगाढ बनाउँदै लगेको छ। यसमाथि समय समयमा विभिन्न प्रोपोगान्डा पनि हुने गरेका छन्। यद्यपि यस्ता प्रापोगान्डा जनस्तरबाटै निरुत्साहित हुँदै आएका छन्।
केही वर्षयता भारतबाट नेपालमा केटा माग्न आउने ‘अगुवाहरू’को क्रम पातलिएको छ। माओवादी जनयुद्धका बेला मुलुकले खेपेको हिंसा, त्यसपछि मधेस आन्दोलनलगायतका विभिन्न राजनैतिक कारणले खासगरी उत्तर प्रदेश र बिहारमा वैवाहिक सम्बन्ध पातलिँदै जानुको कारण पुरुषको तुलनामा महिलाको जनसंख्या कम हुनु पनि एक हो।
भारतीय प्रधानमन्त्रीले जनसंख्या नियन्त्रणका लागि चलाएको नारा ‘हम दो, हमारे दो’ र त्यसपछि लिगंमा आधारित भ्रूण परीक्षणले पुरुषको तुलनामा महिलाको जनसंख्या कम भएको छ । जसले गर्दा पनि नेपाली केटाप्रतिको भारतीय अभिभावकको चाहनालाई कम गरेको छ। यसको मुख्य कारण हो गर्भपतन।
यस्तै, सिमावर्ती उपल्लो जातका अभिभावकमा शिक्षाप्रति आएको जागरुकताले युवायुवती शिक्षाको पहुँचमा छन्। प्रधानमन्त्री मोदीले छोरीहरूलाई उकास्न चलाएको विभिन्न नारासँगै प्रदेश सरकारले दिँदै आएको सुविधाले पनि छोराकै हाराहारीमा छोरीहरू पनि उच्च शिक्षा हासिल गर्न अगाडि बढेका छन्, जसले गर्दा पनि नेपालमा प्रस्तावित वैवाहिक सम्बन्धभन्दा पहिला नागरिकता र जागिरका कुरा सोधिनु र सोच्नु स्वाभाविक हो।
विचाराधीन अवस्थामा रहेको नागरिकता विधेयक र मधेस आन्दोलनपछि नेपालमा उठिरहेका विभेदका विषयले पनि भारतीयलाई धेरै कुरामा सशंकित बनाएको छ। यसले सिमावर्ती मनोविज्ञानलाई प्रभाव पारिरहेको छ। नेपालमा गएका आफ्ना छोरीचेलीको भविष्य कतै ओझेलमा त परेको छैन भनेर त्रसितसमेत हुने गरेका छन्।
यसैगरी नेपालमा बढ्दै गएको महँगी र बेरोजगारीले पनि भारतीय बेहुलीको भविष्य उज्ज्वल नभएको तर्क दिनेहरू भ्रमणका क्रममा प्रशस्तै भेटेँ। सिमावर्ती क्षेत्रमा विद्यमान दहेज प्रथा र त्यसमा पनि केटाको मोलतोलले गर्दा महँगिदोे वैवाहिक रीतिरिवाजप्रतिको लगानी, बेहुला र उसको परिवारको आम्दानी, भविष्यको सुनिश्चतता तथा सामाजिक लेखाजोखाका विषय पनि हेर्ने गरिएको छ। छोरी दिँदाको लगानी र त्यसपछि उसले पाउने सुखसुविधा पनि विवाहका लागि हेरिने गरिएको छ।
भारतमा मात्र नभई नेपालकै तराईमा पनि गर्भपतन फेसन र चिकित्सकीय व्यापार बन्दै गएको छ। यसको रोकथाममा राज्यका सम्बन्धित निकाय असक्षम देखिएका छन् । यसले अहिले भारतका छोरीचोली दिन नमानेझैँ भोलि हाम्रै देशमा पनि विवाह गर्न छोरीहरूको संकट आइपर्नेछ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
अनिल तिवारी /वीरगञ्ज का अन्य पोस्टहरु:
- पर्सामा बालिका बलत्कार, बिचौलियाको सक्रियतामा मुद्दा दबाउने प्रयास भएको आरोप
- मेयर संम्लग्न किर्ते नागरिकता प्रकरण: एक हप्ता देखि जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन
- शिविर लगाएर धार्मिक ठगी, पक्राउ पर्ने सूचना पाएपछि फरार भए काली कम्बल
- उपेन्द्र यादवको चर्को बिरोध पछि जसपा सरकारमा नजाने सङ्केत
- दलाई लामा र चिसिँदै गएको अमेरिका चिन सम्बन्ध !
- क्याम्पसको नवनिर्मित भवनमा गाई गोठ, भवन निर्माणमा अनियमितता भएको आरोपपछि ठेक्कापट्टाको फाइल नै गायब
- किर्ते नागरिकता प्रकरण: सूचना माग्दा प्रमाण गायब, प्रमाण लुकाउन १० लाखको चलखेल भएको आशङ्का
- वीरगन्जको एक सहकारीमा महानगरपालिको सिलबन्दी, जीवी राईलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन
- मेयर जोडिएको किर्ते नागरिकता प्रकरण: छानबिन गर्न समिति गठन
- नक्कली बाबु बनेर नागरिकता दिने वीरगन्ज महानगरपालिका प्रमुख सिंह विरुद्ध उजुरी दर्ता