जुम्लाको पातारासी गाउँपालिका ३ छुमचौरकी मनमाया (परिवर्तित नाम) ३३ वर्षकी हुनुभयो। दुई छोरा र एक छोरीकी आमा उहाँ चौथोपटक गर्भवती हुनुभयो। घरको पारिवारिक र आर्थिक अवस्था कमजोर भएकी उहाँको इच्छा चौथो सन्तान नजन्माउने थियो। त्यसैले गर्भपतन गर्न उहाँ नजिकैको हेल्थ पोस्टमा पुग्नुभयो तर सुरक्षित गर्भपतन गर्ने उहाँको आशा–निराशामा परिणत भयो। उक्त हेल्थ पोस्टमा न गर्भपतनसम्बन्धी औषधि थियो न त तालिमप्राप्त जनशक्ति नै। उहाँ निरास भई केही घण्टा हिँडेर एउटा मेडिकलमा पुगेर औषधि लिएर घर फर्किनुभयो।
उहाँ एक प्रतिनिधि पात्र मात्र हुनुहुन्छ। उहाँजस्तै कैयौँ गर्भवती महिला स्वास्थ्यको पहुँचमा नहुँदा र जथाभावी बाहिरको औषधि प्रयोग गर्दा पाठेघरलगायतका समस्या भोग्न बाध्य छन्।
नाम मात्रका स्वास्थ्यकर्मी, छैनन् तालिमप्राप्त
जुम्लाको पातारासी गाउँपालिका–३ को छुमचौर हेल्थ पोस्टमा तीन जना स्वास्थ्यकर्मी कार्यरत भए पनि तालिमप्राप्त छैनन्। तीमध्ये एक जना अनमी तीन वर्षका लागि अध्यन बिदामा निस्किनुभएको छ। उहाँको सट्टामा एक जना अनमी आउनुभएको छ तर, उहाँ पनि सुरक्षित गर्भपतनसम्बन्धी तालिम लिनुभएको छैन। स्वास्थ्य संस्थामा गर्भपतनका लागि औषधि र जनशक्ति दुवै नहुँदा आएका सेवाग्राहीलाई पनि फिर्ता पठाउनुपरेको छुमचौर हेल्थ पोस्टका इन्चार्ज लोकबहादुर रावत बताउनुहुन्छ। ‘म आएको ७ वर्ष भयो। ११÷१२ वर्षपहिले गर्भपतनसम्बन्धी काम यसरी–उसरी गर्नुपर्छ भन्ने थियो त्यसपछि कुनै तालिम छैन,’ उहाँले भन्नुभयो।
कर्णाली प्रदेशमा सुरक्षित गर्भपतन सेवाप्रदायक स्वास्थ्य संस्थाको संख्या पर्याप्त नहुनु र भएका ठाउँमा पनि पर्याप्त जनशक्ति नहुँदा ग्रामीण भेगका महिलाहरू असुरक्षित गर्भपतन गराउन बाध्य छन्।
अहिले पातारासी गाउँपालिकाभरिको अवस्था यस्तै छ। गर्भपतन गर्न सेवाग्राही त आउँछन्, तर औषधि र दक्ष जनशक्ति नहुँदा फर्केर जान्छन्। बाहिर महँगोमा जथाभावी औषधि किनेर खान्छन्। कर्णाली प्रदेशमा सुरक्षित गर्भपतन सेवाप्रदायक स्वास्थ्य संस्थाको संख्या पर्याप्त नहुनु र भएका ठाउँमा पनि पर्याप्त जनशक्ति नहुँदा ग्रामीण भेगका महिलाहरू असुरक्षित गर्भपतन गराउन बाध्य छन्। यसैकी उदाहरण हुनुहुन्छ मनमाया। कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतको तथ्यांकअनुसार कर्णालीमा ५७ प्रतिशत महिलाले अझै पनि असुरक्षित गर्भपतन गराउने गरेका छन्। यसको मुख्य कारण गर्भपतन गराउने स्वास्थ्य संस्था र जनशक्ति अभाव हो।
१० जिल्ला रहेको कर्णालीमा ७० वटा मात्रै स्वास्थ्य संस्थाहरू गर्भपतनका लागि सूचीकृत भएको निर्देशनालयको तथ्यांक छ। यी स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा त छ तर, पर्याप्त जनशक्ति भने अभाव छ। भौगोलिक हिसाबले विकट १० वटै जिल्लामा गर्भपतन गराउने स्वास्थ्य संस्थाको अभावले प्रायः महिला असुरक्षित गर्भपतनको बाटो रोज्न बाध्य हुने गरेका छन्।
सुरक्षित गर्भपतन गराउने स्वास्थ्य संस्थाको जिल्लागत तथ्यांकअनुसार सुर्खेतमा १३, कालिकोटमा २०, सल्यानमा ५, मुगुमा ९ वटा स्वास्थ्य संस्था गर्भपतनका लागि सूचीकृत छन्। त्यस्तै दैलेखमा १३, जुम्लामा २, हुम्लामा १, रुकुम पश्चिममा १, डोल्पामा १ र जाजरकोटमा एउटा स्वास्थ्य संस्था सुरक्षित गर्भपतनका लागि सूचीकृत छन्। विडम्बना ! सूचीकृत स्वास्थ्य संस्थाहरूमा नै दक्ष जनशक्तिको अभाव छ।
कर्णालीका दुर्गम ग्रामीण भेगमा अझै पनि छोरा जन्माउन नसके ‘अपुतो’ भनेर हेला गर्ने, शुद्ध भइँदैन, स्वर्गमा पुगिँदैन भन्नेसम्मका अन्धविश्वास छन्। पहिले बिहे गरेकी श्रीमतीले छोरा पाउन नसकेपछि श्रीमतीले नै श्रीमान्लाई अर्की ल्याउन सुझाउने पनि कर्णालीमै छन्। यसैगरी छोरा जन्माउने लोभमा लिंग पहिचान गरी छोरी भएमा गर्भपतनसमेत गराउने गरेका छन्।
कर्णालीका महिलाले सुरक्षित गर्भपतन सेवाको प्रयोग गर्न यस्तो सेवाको वैधताका साथै सेवा उपलब्ध गराउने स्वास्थ्य संस्थाबारे सीमित जानकारी हुनु, सुरक्षित गर्भपतन सेवा प्रदान गर्ने स्वास्थ्य संस्था सहरी क्षेत्रमा मात्र केन्द्रित हुनुले पनि असुरक्षित गर्भपतन हुने गरेको जानकारहरू बताउँछन्। साथै ग्रामीण क्षेत्रमा सेवा केन्द्र पर्याप्त नहुनु, स्वास्थ्य संस्थामा सूचीकृत स्वास्थ्यकर्मीको अभाव, आवश्यक स्वास्थ्य उपकरणको उपलब्धता नहुनु, गर्भपतनसँग जोडिएको लाञ्छना तथा हेयभावको दृष्टिकोण, गोपनीयताको अभाव, गर्भपतनको निर्णयमा पुरुषको प्रभाव रहनुलगायत थुप्रै बाध्यता र चुनौतीका कारण कर्णालीका प्रायः महिलाहरू सुरक्षित गर्भपतनको पहुँचमै आउन नसक्ने अवस्था रहेको बताइन्छ।
छोराको रहरमा ७ छोरी, फेरि पनि आस छोराकै
समाजले जसरी पनि छोरा पाउनुपर्छ भन्ने भाष्य निर्माण गरेकाले यहाँका महिलाहरू छोरा नपाउन्जेल मेसिन बनिरहन अभिशप्त छन्। छोरा नजन्माउने आमाले कस्तो हैरानी खेप्नुपर्छ भन्ने उदाहरण हुन्, दैलेखकोे ठाटीकाँध गाउँपालिका–२ की जैसरा कामी (परिवर्तित नाम)। लगातार सात वटी छोरीलाई जन्म दिएकी जैसरा र उनका श्रीमान्को छोरा पाउने धोको अझै मरेन। आठौँमा छोरा पाएपछि अहिले यो दम्पतिले सातवटी छोरीको वास्ता नगरेको स्थानीय मौरे नेपाली बताउनुहुन्छ। ‘छोराकै आसमा ७ वटी छोरी जन्माइगए,’ उहाँले भन्नुभयो, ‘अहिले छोरो पाउँदा अन्य सातवटी छोरीलाई आँखा देख्या नाइँ त्यहीका श्रीमान्–श्रीमतीले। अहिले कुल थाम्न्या छोरो भयो भनेर दुवै खुसी भयाका छन्।’
यो पनि प्रतिनिधिमूलक घटना हो। कर्णालीका दुर्गम ग्रामीण भेगमा अझै पनि छोरा जन्माउन नसके ‘अपुतो’ भनेर हेला गर्ने, शुद्ध भइँदैन, स्वर्गमा पुगिँदैन भन्नेसम्मका अन्धविश्वास छन्। पहिले बिहे गरेकी श्रीमतीले छोरा पाउन नसकेपछि श्रीमतीले नै श्रीमान्लाई अर्की ल्याउन सुझाउने पनि कर्णालीमै छन्। यसैगरी छोरा जन्माउने लोभमा लिंग पहिचान गरी छोरी भएमा गर्भपतनसमेत गराउने गरेका छन्।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
जितेन्द्र थापा/सुर्खेत का अन्य पोस्टहरु:
- कृषिलाई शत्रु ठान्ने राउटे समुदाय कृषिमै रमाउँदै
- विश्वासले प्राप्त गरेको सफलता
- भूकम्प पीडित -‘ओछ्याउने छ, शरीरमा लगाउने कपडा छैन’
- छोरा खोरमा, परिवार त्रिपालमा
- ‘ हामीलाई बचाउ सरकार! चिसोले मर्ने भयौँ ।’
- भूकम्पमा बाँचेकाहरूको पुकार ‘हे ईश्वर, पानी नआइज। पानी परेपछि त हामी बाँच्दैनौँ।’
- पीडामा पनि राजनीति, पहुँचका आधारमा राहत
- पशु बस्ने खोरमा १३ वर्षदेखि बन्धक हेमराज, तर किन?
- विषादी प्रयोग गर्न छोडेपछि कसरी भयो कृषि उत्पादनमा वृद्धि
- प्लास्टिकका भाँडासँग हार्दै गाउँघरका काठका ठेकी