पैसा र मदिराले मासिँदै राउटे समुदाय

जितेन्द्र थापा/सुर्खेत

दक्षिण एसियाका लगभग अन्तिम घुमन्ते जातिमध्ये एक हो राउटे समुदाय। जंगलमा घुम्दै फिर्दै घुमन्ते जीवन बिताउने यो समुदायको छुट्टै संसार थियो। बाँदरको सिकार, कन्दमूललगायत जंगलमै उत्पादन हुने फलफूल खाएर जीविकोपार्जन गर्थे। जंगलमै भए पनि उनीहरू खुसी र बलिया थिए। लोभलालच गर्दैनथे। घुमन्ते आदिवासी जनजातिको अन्तिम र एक मात्र बचेको समुदाय राउटे समुदायको अलग्गै पहिचान थियो। आफ्नै राजा, आफ्नै सरकारको नीति नियमभित्र बाँच्थे।

जंगलमा काठका भाँडाकुँडा उत्पादन गरेर नजिकका गाउँमा अन्नसँग साट्दै उनीहरू आत्मनिर्भर बन्थे। आफ्नै चालचलन रीतिथिति र बोलीमा तटस्थ थिए।

यो समुदाय कर्णाली र सुदुरपश्चिम र लुम्बिनी प्रदेश आसपासका जंगलमा फिरन्ते जीवन बिताउँदै आफ्नो दैनिकी गुजार्दै आएको समुदाय हो। दक्षिण एसियाका लगभग अन्तिम घुमन्ते जातिको रुपमा रहेको राउटे समुदाय पछिल्लो समय संकटमा छ। जंगलको सुनसान सुन्दर र स्वच्छ वातावरणमा हुर्किएको यो समुदाय लोभलालचमा फसेको छ। सरकारले गरेको पहल र नागरिकको बढ्दो चेतनाले गर्दा उनीहरु समाजको निकट हुन थालेका छन्। समाजसँग साइनो लगाउदै नजिक फिर्दै गर्दा उनीहरुको जीवनमा सकारात्मक परिर्वतनभन्दा बढी नकारात्मक हाबी भयो।

समाजको नजिक सर्दा उनीहरुको घरधुरी र पारिवारिक संख्या समाजका अन्य आम मान्छेजस्तै बढ्ने ठाउँमा घट्दै गइरहेको छ। २०६८ को जनगणना तथ्यांकअनुसार नेपालमा जम्मा ६ सय १८ जना संख्यामा राउटेको बसोबास थियो भने विसं २०७८ को जनगणनाअनुसार हाल यो समुदायमा कूल ४६ घरधुरी छन्। राउटेहरूको संख्या १ सय ४३ मा खुम्चिएको छ।

विगतमा स्वास्थ्यका हिसाबले बलिया र फुर्तिला देखिने राउटे पछिल्लो समय कमजोर र रोगी बन्दै गइरहेका छन्। उबेलाका हट्टाकट्टा बलिया राउटे पैसा र मदिराको लतले दिनहुँ कमजोर हुन थालेका छन्।

दुई÷तीन दशक पहिलेसम्म घना जंगलसहितको यहाँको क्षेत्र राउटेका लागि सुरक्षित बासस्थान थियो। तर, पछिल्लो समय विकास, सहरीकरण तथा आधुनिकीकरणको बढ्दो प्रभावले उनीहरुको अवस्था नै फेरिएको छ। बढ्दो आधुनीकीकरणले राउटेको जीवन, दर्शन, संस्कृति र सभ्यता संकटोन्मुख अवस्थामा छ।

भत्ता पाएपछि परनिर्भर राउटे

आफ्नै राजा, आफ्नै सरकारको नीति नियमभित्र बाँच्ने राउटे समुदाय जंगलको राजा हो। यो समुदायका नागरिकले गरेको दुःख देखेर उनीहरूको जीविकोपार्जनमा टेवा पुर्याउन र जंगल फडानी रोक्न सरकारले भत्ता वितरण सुरु गरेको थियो। तर त्यही भत्ता उनीहरुकै लागि अभिशाप भएको छ।

गल फडानी रोक्न र उनीहरुको जीविकोपार्जन सहज बनाउनसुरुमा पाँच सय रुपैयाँ भत्ता दिइएको राउटेका महामुखिया महिनबहादुर शाही बताउँछन्। ‘सहरको सरकारले राम्रो गरेको छ। नराम्रो गर्या छैन। हामुरको लागि मैनामैनामा भत्ता पठायाउँछ,’ शाही भन्नुहुन्छ, ‘कति गुण मान्याउँछ, कति राम्रो मान्याउँछ। हामीलाई धेरैधेरै काम पनि गर्नुपर्दैन भन्या छ।’

आफूहरू जहाँ गए पनि त्यहीँ सहरको सरकार भत्ता लिएर आउँदा आफूहरूलाई खुसी लागेको उनको भनाइ छ।

पहिले–पहिले नयाँ मान्छेलाई आफनो बसोबास क्षेत्रभित्र छिर्नै नदिने राउटे समुदाय अचेल फेरिएका छन् । कुनै समय पैसा छुँदा पाप लाग्ने मान्यतामा बाँचेका उनीहरु अचेल हिँड्दा हिँड्दै पैसा माग्ने अवस्थामा पुगेका छन् ।

सरकारले आर्थिक वर्ष २०६४÷०६५ सालदेखि एकजना बराबर मासिक ५ सय रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएको थियो। त्यसकै एक वर्षपछि पाँच सयबाट वृद्धि भएर एक हजार गरायो। आव २०७५÷ ७६ मा वृद्धि भएर दुइ हजार पुगेको थियो भने २०७६ सालबाट ३ हजार र ७७ बाट वृद्धि भएर चार हजार भत्ता पुगेको राउटे समुदायमा जोडी शिक्षकका रुपमा २०७५ बाट सोसेकबाट खटिएका लालबहादुर खत्रीले बताउनुभयो।

तत्कालीन समयमा भत्ताका रुपमा मासिक भत्ता बुझ्न थालेपछि उनीहरुले अर्थमन्त्रीलाई ‘पैसा मन्त्री’ का रुपमा बुझ्न थालेका थिए। त्यसबेलादेखि नै उनीहरूले पैसा छाप्ने अर्थमन्त्री भेटेपछि अब आफूहरूले केही गर्नु नपर्ने बुझिसकेका थिए। उनीहरूलाई लाग्न थाल्यो– ‘पैसा मन्त्रीले पैसा बनाउँछ र प्रधानमन्त्रीले बाँड्छ।’

मासिक भत्ता पाउन थालेपछि जंगलबाट उनीहरु २०६६ सालमा पहिलोपटक बालुवाटार छिरेका थिए। तत्कालीन समयमा उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), तत्कालीन राष्ट्रपति रामवरण यादव, अर्थमन्त्री बाबुराम भट्टराई लगायतलाई भेटेर हातले बनाएको काठको सामग्री उपहार दिएका थिए।

पहिले–पहिले नयाँ मान्छेलाई आफनो बसोबास क्षेत्रभित्र छिर्नै नदिने राउटे समुदाय अचेल फेरिएका छन्। कुनै समय पैसा छुँदा पाप लाग्ने मान्यतामा बाँचेका उनीहरु अचेल हिँड्दा हिँड्दै पैसा माग्ने अवस्थामा पुगेका छन्।

राउटे समुदायमा पहिले बाहिरी मान्छे नजाँदा जाँडरक्सीलगायत कुलतबारे थाहै नपाएको तर, पछिल्लो समय समाजको नजिक बस्दा र सहरका मान्छे जान थालेपछि राउटे समुदायमा मदिराको लतले सिंगो समुदाय नै बिग्रदै गएको महामुखिया शाही बताउनुहुन्छ। ‘हाम्रो समुदायका मान्छेले यसरी खादैन थियौँ,’ उहाँले भन्नुभयोे, ‘पहिले हामी जहाँ बस्यौँ त्यहीको समाजले र जनताले सिकायो। खत्तम हुन्छ भनेनन्। सहर र गाउँले पहिले खान सिकायो। ‘खान सिकियापछि त खाइयो। अहिले छोड्न मुस्किल भएको छ। पैसा नहुँदा छट्पटी हुन्छ। पैसो आयो भने खान मन लागिहाल्छ। त्यस्ले गर्दा पनि हाम्रो समुदायमा ठूलो असर गरेको छ।’

जंगलबाट गाउँबस्तीको नजिक भएपछि पहिलेभन्दा परिर्वतन भएको अर्का मुखिया सूर्यनारायण शाहीले बताउनुभयो। ‘समाजको नजिक सर्दा हामीले रक्सि खान मात्र सिकेनौँ,’ उहाँले भन्नुभयोे, ‘पहिले जुत्ता लगाउँदैनथियौं। अहिले लाउन सिक्याँ। सबै सहरले सिकायो त।’

पहिले आफूहरू जंगलमा रहेर पनि आत्मनिर्भर रहेको तर, सरकारले मासिक भत्ता दिन थालेपछि परनिर्भर हुनुका साथै अल्छि भएको मुखिया शाहीले स्विकार्नुभयो। ‘तपाईं अल्छि हुनुभयो ? मदिरा पनि उत्तिकै पिउनुहुन्छ ? अब सरकारले तपाईहरुलाई मासिक भत्ता नदिने निर्णय गरे के गर्नुहुन्छ ? भन्ने प्रश्नमा मुखिया सूर्यनारायण शाहीले भन्नुभयो, ‘अब के गर्नु ? मासिक भत्ता हटाए उही पुरानै काठका भाडा बनाएर गाउँमा बेचेर परिवार पाल्छौँ।’

रक्सी भनेको पहिले राउटेलाई थाहा नभएको र खाएपछि मरिन्छ भन्ने लागेकै बेला ‘सहरका मान्छे’ले खान सिकाएको शाहीको दाबी छ। ‘कोही मान्छ पापी रैछ। यो लिच्ची (रक्सी) खाएपछि केही हुँदैन भनेर खान सिकायो। अहिले त हामीले बोइलर पनि खान थाल्यौं,’ आफ्नो समुदायमा आएका परिवर्तनबारे उहाँले भन्नुभयो, ‘सबै सिक्दैछौं। एक दिन हाम्रा केटाकेटी पनि घरमा बस्न सिक्लान् त के रे ?’

 

र्सदिला भएका कारण पनि राउटेमा रक्सीमोह बढेको जोडी शिक्षक खत्री बताउनुहुन्छ। पहिले कमै पिउने उनीहरुले मासिक एक हजार भत्ता आउन थालेदेखि रक्सी खान सुरु गरेका थिए। ‘अहिले नखाऊ भने पनि मान्दैनन्। उल्टै रक्सी उत्पादन गर्ने कम्पनी बन्द गर त्यसपछि खान छोड्छौँ भन्छन्,’ खत्रीले हाँस्दै सुनाउनुभयो।

सरकारको लगानी बालुवामा पानी

कर्णाली प्रदेश सरकारले राउटे समुदायको मूल प्रवाहीकरण कार्यक्रम (राहत तथा पुर्नस्थापना क्षतिपूर्ति शीर्षकमा प्रत्येक वर्ष लाखाँै रकम छुट्याउँछ। सरकारले छुट्याएको रकम बालुवाको पानी भएको लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठानकी अध्यक्ष तथा राउटेहरूकी भान्जीका रूपमा परिचित सत्यदेवी खड्काले बताउनुभयो।

‘पारम्परिक तथा आफ्नै मौलिकतासहितको यो समुदायको अचेल खानपिनको शैली बदलियो। मदिराको कुलत बढ्यो। सहरिया खानपिनमा रुचि बढ्यो, जसले गर्दा राउटेको स्वास्थ्यअवस्थासमेत कमजोर बन्न पुग्यो,’ खड्काले भन्नुभयो।

राउटे समुदायमा पछिल्लो पाँच वर्षयता २६ जना शिशु जन्मिएका छन्। समुदायमा सोसेक नेपालले सञ्चालन गरेको राउटे परियोजनाले उपलब्ध गराएको तथ्यांकमा अनुसार २०७५ साउनदेखि २०७८ मंसिरसम्म २६ जना शिशु जन्मिएका छन्। त्यसयता समुदायमा शिशु जन्मिएका छैनन|। पाँच वर्षको अवधिमा जन्मिएका २६ शिशुुमध्ये १४ जनाले ज्यान गुमाइसकेका छन|। यसले राउटे समुदायमा बालमृत्युदर ५० प्रतिशतभन्दा बढी देखाउँछ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले दिएको तथ्यांकअनुसार राउटेको मूल प्रवाहीकरणका लागि भनेर प्रदेश सरकारले २०७५÷७६ देखि हालसम्म एक करोड रुपैयाँ छुट्याएको छ। २०७५÷७६ मा २० बजेट छुट्याएकोमा ४ लाख खर्च भएको थियो, ०७६÷७७ मा ५० लाख छुट्याइएको दुइलाख मात्र खर्च भएको। २०७७÷७८ मा २० लाख छुट्याइएकोमा ढाइ लाख खर्च भएको थियो। २०७८÷७९ मा नौ लाख मा चार लाख खर्च भएको गरी करिब एक करोड रुपैया छुट्याएको सामाजिक सुरक्षा तथा महिला विकास शाखा अधिकृति अनिता ज्ञवालीको भनाइ छ। आर्थिक वर्ष २०७९÷८० मा राउटेका लागि भनेर छुट्टै बजेट नछुट्याइएको ज्ञवालीले जानकारी दिनुभयो।

परम्परागत सीप संकटमा

कुनै समय आफूले बनाएका सामग्री बोकेरै गाउँ–गाउँ डुलेर अन्नसँग साटेर जीविकोपार्जन गर्ने राउटे समुदाय सीप संरक्षण नहुँदा उनीहरुको सीप संकटमा पर्दै गएको। यो समुदायले सरकार र संघसंस्थाबाट पैसा सहयोग पाउन थालेपछि भाँडाकुँडा बनाउन छोडेको छ भने बिस्तारै मदिराको कुलतमा फस्दै गइरहेको छ। यसको मुख्य कारण सरकार रहेको सोसेक नेपालबाट खटिएका जोडी शिक्षक लालबहादुर खत्री बताउनुहुन्छ।

मदिराकै कारण जन्मदर घट्दो मृत्युदर बढ्दो

२०७२ सालमा राउटे युवा कपिल शाही जलेर सख्त घाइते हुनुभयो। उहाँलाई काठमाडौंसम्म पुर्याएर उपचार गरिएको थियो। तर, आगोले पोलिएको घाउ निको भएन। घाउको दुखाइ कम गर्न उहाँले मदिराको सहारा लिनुभयो। अत्यधिक मदिरा सेवनले उहाँको ज्यान गयो।

गत मंगलबार मात्र अत्यधिक मदिरा सेवन गरेर आगो नजिकै सुतेका राउटे युवा नारायण शाही गम्भीर घाइते हुनुहुन्छ। कर्णाली प्रदेश अस्पतालमा उपचार हुन नसकेपछि उपचारका लागि काठमाडौँ लगिएको उहाँको शरीरको ३० प्रतिशत भाग जलेको छ।

मदिराको अत्यधिक सेवनका कारण ज्यान गुमाउने समुदायका अर्का युवा हुनुहुन्छ, शिवराज शाही। बजारमा पाइने लिचीजस्ता मदिराको लतमा फसेका शिवराजले २०७८ वैशाखमा ज्यान गुमाउनुभएको थियो। पछिल्लो पाँच वर्षमा राउटे समुदायका २९ जनाले ज्यान गुमाएका छन्। ज्यान गुमाउनेमा १९ जना बालबालिका र १० जना वयस्क उमेरका छन्। त्यसमध्ये धेरैजसो वयस्क उमेरका राउटे नागरिक मदिरा सेवनका कारण मृत्यु भोगेका छन्।

सरकारले भत्ताबापत दिने पैसाले राउटे समुदायमा मृत्युदर मात्र होइन जन्मदर पनि घटेको खत्रीको भनाइ छ। ‘म प्रत्येक दिन राउटे दम्पतीसँग भेटेर मदिराकै कारण तपाईंहरुको जनसंख्या घटेको र कुनै बच्चा नजन्मेको भनेर मदिरा नपिउन आग्रह गर्छु,’ उहाँले भन्नुभयोे, ‘केही समय मान्छन्। तर सरकारले चार महिनाको भत्ता एकैपटक दिएपछि फेरि पिउन थाल्छन्।’

राउटे समुदायमा पछिल्लो पाँच वर्षयता २६ जना शिशु जन्मिएका छन्। समुदायमा सोसेक नेपालले सञ्चालन गरेको राउटे परियोजनाले उपलब्ध गराएको तथ्यांकमा अनुसार २०७५ साउनदेखि २०७८ मंसिरसम्म २६ जना शिशु जन्मिएका छन्। त्यसयता समुदायमा शिशु जन्मिएका छैनन|।पाँच वर्षको अवधिमा जन्मिएका २६ शिशुुमध्ये १४ जनाले ज्यान गुमाइसकेका छन|। यसले राउटे समुदायमा बालमृत्युदर ५० प्रतिशतभन्दा बढी देखाउँछ।

परियोजनाका जोडी शिक्षकको रूपमा राउटे बस्तीमा खटिएका खत्रीले अभिभावकले मदिरा सेवन गरेर नवजात शिशुको हेरचाह नगर्दा शिशुहरूले जन्मिएको एक हप्ताभित्रै ज्यान गुमाउने गरेको बताउनुभयो। ‘राउटेको बसाइ नै त्यस्तै छ। चिसो भुइँमा सुत्छन्। पोषणयुक्त खानपिन छैन। त्यसमाथि अभिभावक मदिराको लतमा फस्दा शिशुले अकालमै ज्यान गुमाइरहेका छन् भने मदिराले वयस्क नागरिकको स्वास्थ्य अवस्था पनि बिग्रिँदै गएको छ,’ उहाँले भन्नुभयो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

जितेन्द्र थापा/सुर्खेत का अन्य पोस्टहरु:
पैसा र मदिराले मासिँदै राउटे समुदाय
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link