काकाकुल वीरगन्ज महानगर, समस्या समाधानमा सरकारको छैन ठोस योजना

अनिल तिवारी

वीरगन्ज–२६ सुगौली गाउँमा बुधबार राति माइकिङ गरी बिहीबार बिहान चोकमा भेला हुन अनुरोध गरियो। वडाध्यक्ष शम्भु मिश्राले गर्नुभएको अनुरोधअनुसार बिहीबार बिहान सबै गाउँले भेला भए। सबैको रायसुझावमा गाउँका कुवा (इनार) सफा गर्ने अभियान सुर गरिएको बताउँदै वडाध्यक्ष मिश्राले भन्नुभयो, ‘नगर प्रमुखज्यूलाई गाउँका वडामा कुनै ध्यान छैन, वहाँ सहरमै के–के अभियान चलाइराख्नुभएको छ। वडाको बजेट र क्षमताअनुसार आफू गाउँलेको पानीको जोहोमा लागेको छु।’

गाउँमा रहेका आधा दर्जन इनार सफा गराएर पानीको व्यवस्थापन गरिरहेको उहाँको भनाइ थियो।

यस्तै वीरन्ज–१० का वडाध्यक्ष सुशील साह कानुलाई एक हप्तादेखि भ्याइ–नभ्याइ छ। सबै काम छोडेर खानेपानी व्यवस्थापनमा लाग्नुभएको छ। आफ्नो वडामा पर्ने घडिहर्वा, आदर्शनगर, अशोक वाटिकालगायतका स्थानीयलाई खानेपानी व्यवस्थापनको वैकल्पिक व्यवस्था गर्ने अभियान कानुले चलाउनुभएको छ। एक हप्तामा आधा दर्जनभन्दा बढी डिप बोरिङ गराएर घरघरमा खानेपानीको धारा जडान गरेको बताउनुभयो। ‘खानेपानीको अभावबारे महानगरपालिकाले के गरेको छ, के गर्दैछ मलाई केही थाहा छैन,’ उहाँले भन्नुभयो, ‘अहिले पानीकै व्यवस्थापनमा लागेको छु। सबै चापाकल सुकेका छन्। मोटरले पानी तान्न छोडेको छ।’

लगभग एक महिना अघिदेखि सुरु भएको कल सुक्ने समस्या क्रमशः वीरगन्जका सबै वडामा बढ्दै गएको छ। सीमावर्ती भारतीय गाउँको अवस्था पनि उस्तै छ। सुरुमा छपकैया, आदर्शनगर, लक्षुमणवामा देखिएको पानीको समस्या वीरगन्ज सहरसहित अलौ, सुगौली, बहुअरीलगायत अधिकांश वडा र गाउँटोलमा बढ्दै गएको छ। सहरवासीका लागि खानेपानी संस्थानले सप्लाई गरेका धारा विकल्प भएपनि गाउँको अवस्था भने भयावह बनेको छ। पानीको समस्या समाधान गर्न स्थानीय, प्रदेश र केन्द्रीय सरकारसँग अहिलेसम्म कुनै ठोस ययोजना छैन।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय ४ का प्रमुख किशोरप्रसाद यादवले आफ्नै घरको कल सुकेको बताउनुभयो। ‘बिहानदेखि बाल्टिनमा पानी ओसार्दैमा हैरान छु,’ उहाँले भन्नुभयो।

जलवायु परिवर्तनका कारण एक वर्षदेखि पानी नपर्दा यो सम्या उत्पन्न भएको यादवको भनाइ छ। ‘पानी परिरहेको छैन। वनविनाश पनि उस्तै छ। त्यसमा पनि सहरको घनाबस्ती, बचेको जग्गामा पनि ढलान गर्ने चलनले गर्दा धर्ती रिचार्ज हुन सकेको छैन,’ उहाँले भन्नुभयो, ‘सुरुमा एक सय ५० फिटमा पाइने पानीको लेयर अहिले दुई सय ३०÷४० मा झरिसक्यो। अब हामीले हाम्रो रहनसहन परिवर्तन गर्नुपर्छ।’

साउनको पहिलो हप्तासम्म तराईमा उल्लेख्य पानी परेको छैन। यस वर्षको खडेरीले खानेपानीको समस्या भयावह बनाएको छ।

वीरगन्जसहित महानरका अधिकांश वडाका चापा कल सुकेपछि जनता समाजवादी पार्टिका पर्सा जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवले कारोनापछि खानेपानीको समस्या प्राकृतिक विपद्कै रूपमा सिर्जना भएको बताउनुभयो। ‘यसमा सरकारी स्तरबाटै पहल गरिनु पर्दछ,’ उहाँले भन्नुभयो, ‘सरकारले तत्काल समन्वय गरेर पानीको वैकल्पिक व्यवस्थापन गर्नुपर्छ।’

वीरगन्जको गहवा, श्रीपुर, रानीघाट, अशोक वाटिका, प्रगतिनगर, छप्कैया, भेडीयाही, नगवालगायत सबै ठाउँमा पानीको संकट भएको स्थानीय बताउँछन्। सामाजिक संजालमा अहिले सबैभन्दा बढी पानीकै गुनासाहरु महानगरपालिकासँग व्यक्त गरिँदै छ।

महानगरपालिकाको खानेपानी संस्थान शाखाका प्रमुख भोगेन्द्र चापागाईंका अनुसार जमिनमा पानीको स्तर घटेर मोटरले समेत नतान्ने अवस्था भएका कारण सहरी क्षेत्रमा पानीको समस्या आएको बताउनुभयो। पानी परेपछि मात्र यसको समाधान हुने चापागाईंको भनाइ छ। ‘जमिनमुनि हुने पानीको लेबल बढीमा २८/२९ फिट हुनुपर्छ। सतहमुनिको पानीको लेबल घटेर अहिले ३१ फिटमा झरिसकेको छ। यसबाट गर्मीले जमिन सुक्यो भनेर बुझ्न सकिन्छ,’ उहाँले भन्नुभयो।

यसअघि, हरेक घरमा कल राखेर पानीको आवश्यकता पूर्ति गर्ने चलन बढ्दा खानेपानी संस्थानमार्फत आपूर्ति हुने पानीका ग्राहक कम थिए। पहिले सरकारी धारा जडान नगर्ने ग्राहक पनि अहिले धारा जडानका लागि धाइरहेको खानेपानी संस्थान वीरगन्ज शाखाका प्रमुख इन्जिनियर निरन महर्जनले बताउनभुयो। धारा जडानका लागि दैनिक एक दर्जन हाराहारीमा निवेदन आउने उहाँको भनाइ छ।

तराईलगायत सीमावर्ती क्षेत्रमा देखिएको पानीको अभाव मानव सिर्जित समस्या भएको बुझाइ वरिष्ठ पत्रकार चन्दकिशोरको छ। आवश्यकताभन्दा बढी पानीको दोहन, चुरे विनाश, रुख माँसिदै जानुजस्ता कारणले पानीको समस्या उत्पन्न भएको उहाँको धारणा छ।

पानीको समस्या लिएर प्रधानमन्त्री प्रचण्डकोमा पुगे सांसद यादव

जनता समाजवादी पार्टीका सचेतक एवं पूर्वमन्त्री प्रदीप यादवले वीरगन्जमा देखिएको पानीको समस्या समाधान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अनुरोध गर्नुभएको छ।

बिहीबार नेता यादवले प्रधानमन्त्रीसँग भेटेर वीरगन्जको समस्याप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो। प्रधानमन्त्री प्रचण्डले संघीय सरकारका खानेपानी मन्त्री महिन्द्रराय यादवलाई समस्या समाधान गर्न निर्देशन दिएको सांसद यादवले जानकारी दिनुभयो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

अनिल तिवारी /वीरगञ्ज का अन्य पोस्टहरु:
काकाकुल वीरगन्ज महानगर, समस्या समाधानमा सरकारको छैन ठोस योजना
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link