मिडिया सबलीकरण र पत्रकारको रोजगारी सुरक्षा गर्न १३ बुँदे ‘वसन्तपुर घोषणापत्र’

‘मिडिया कमजोर हुँदा सरकार पनि कमजोर हुन्छ : मुख्यमन्त्री चौधरी

प्रकाशन तथा प्रशारण संघ लुम्बिनीको आयोजनामा भदौ १ र २ गते बुटवलमा सम्पन्न मिडिया सम्मेलन २०८० ले १३ बुँदे वसन्तपुर घोषणापत्र जारी गरेको छ। लुम्बिनी प्रदेशभित्रका झन्डै दुई सय मिडिया सञ्चालकहरूको सहभागितामा भएको सम्मेलनले लुम्बिनी केबलकारको टप स्टेसन पाल्पाको तिनाउ गाउँपालिका ३ वसन्तपुरबाट १३ बुँदे वसन्तपुर घोषणापत्र २०८० सार्वजनिक गरेको हो।

घोषणापत्रमा समानुपातिक विज्ञापन वितरण प्रणालीलाई नीतिगत रुपमा व्यवस्था गरी कार्यान्वयन गर्न र मिडिया हाउसमा हाल देखिएको आर्थिक संकट समाधानका लागि तीनै तहका सरकारहरुले मिडिया सबलीकरणका कार्यक्रम सञ्चालन गर्न माग गरिएको छ।

यस्तै तीनै तहका सरकारले प्रदान गर्ने विज्ञापनको समानुपातिक वितरण प्रणालीका आधारमा रेडियो, पत्रपत्रिका, टेलिभिजन र अनलाइनलाई दिइने विज्ञापन सीधै सञ्चारगृहलाई उपलब्ध गराउने व्यवस्था मिलाउन माग गरिएको छ।

सरकारले लिँदै आएको विद्युतीय सञ्चारमाध्यमको नवीकरण दस्तुर र रोयल्टी दस्तुरमा पूर्ण छुटको व्यवस्था गर्न र रेडियो, टेलिभिजन, अनलाइन, छापामाध्यम तथा सञ्चार उद्योगको विद्युत् महसुलमा छुटको व्यवस्था अविलम्ब सुरु गर्न पनि माग गरिएको छ।

सरकारले सञ्चारगृहलाई दिँदै आएको लोककल्याणकारी विज्ञापनको रकम शतप्रतिशत वृद्धि गर्न, रेडियो र टेलिभिजनको लाइसेन्स नवीकरण व्यवस्थालाई सरल र सहज बनाउन, दर्ताबिना कतिपय मिडिया सञ्चालन भएकाले यसको अनुगमन गरी दर्ता प्रक्रिया र कानुनी दायरामा ल्याउन, संघीय शासन पद्धतिको मर्मलाई समेत ध्यानमा राखेर प्रेस पास वितरण, लोककल्याणकारी विज्ञापनसम्बन्धी निर्णय, भुक्तानी, वर्गीकरण र अनुगमन जिल्लास्तरमै हुने गरी संयन्त्र तयार गर्न माग गरिएको छ।

प्रेस काउन्सिल नेपालले मिडिया विकास कोषमार्फत प्रादेशिक र स्थानीय मिडियाको विकासमा लगानी गर्न, मिडिया उपकरण खरिदमा ब्याज अनुदान दिने व्यवस्थालाई अझ प्रभावकारी बनाएर मोफसलका मिडियालाई विशेष प्राथमिकताका साथ सहयोग गर्न, बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्वको शान्ति सहरका रुपमा विकास र लुम्बिनी प्रदेशको पर्यटन प्रवद्र्धनका लागी बुटवल र पाल्पालाई जोड्ने गरी लुम्बिनी प्रदेशको पहिलो लुम्बिनी केबलकार सञ्चालन भएकाले यसको बजार प्रवद्र्धनमा प्रदेशका सबै सञ्चारमाध्यमले सकारात्मक सहयोग गर्ने र निजी क्षेत्रलाई प्रदेशस्तरमा अन्य पर्यटकीय पूर्वाधार विकासका लागि थप लगानीको वातावरण सिर्जना गर्न पनि सरकारसँग माग गरिएको छ।

लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मिडिया सम्मेलनको उदघाटन गर्दै सरकारको आलोचना गरेर लेख्न सञ्चारमाध्यम र पत्रकारहरुलाई आग्रह गर्नुभयो। मुख्यमन्त्री चौधरीले सकारात्मक आलोचनाले मात्रै सरकारलाई सही मार्गदर्शन गरी गल्ती कमजोरी सच्याउन मौका मिल्ने बताउनुभयो। राजनीतिक परिवर्तनमा मिडियाको ठूलो योगदान रहेको स्मरण गर्दै मिडिया बलियो भए मात्र सरकार बलियो हुने चौधरीको भनाइ थियो।

‘मिडिया कमजोर हुँदा सरकार पनि कमजोर हुन्छ। तसर्थ मिडिया बलियो हुनुपर्छ भन्ने प्रदेश सरकारको मान्यता छ,’ मुख्यमन्त्री चौधरीले भन्नुभयो, ‘मिडियाले सरकारको गुनगान गाउनु पर्दैन, आलोचनात्मक ढंगले लेख्नुस्। तर कसैलाई सिध्याउने गरी मिडिया लाग्नुचाहिँ हुँदैन।’

मिडिया सबलीकरणमा प्रदेश सरकार साथमा रहेको भन्दै मुख्यमन्त्री चौधरीले सरकारको प्राथमिकता विकास र समृद्धि भएकाले त्यसमा साथ दिन सञ्चारमाध्यमलाई आग्रह गर्नुभयो। प्रदेश सरकारले वर्षमा २ लाख जनालाई रोजगारी दिने लक्ष्य रहेको र प्रदेशभरि त्यसको सम्भावना रहेको मुख्यमन्त्रीको दाबी छ। ‘हामीसँग बुद्ध जन्मस्थल लुम्बिनी, स्वर्गद्वारी, आदिवासी जनजातिका संस्कृति र प्रशस्त हिल स्टेसन छन्,’ मुख्यमन्त्री चौधरीले भन्नुभयो, ‘प्रदेशको समृद्धि र लगानीका लागि सरकारले अन्तराष्ट्रियस्तरमा पनि छलफल गरिरहेको छ।’

सम्मेलनमा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, अग्रज पत्रकार कनकमणि दीक्षित,युवराज घिमिरे, डा. बालकृष्ण चापागाईंलगायतले सञ्चारमाध्यमले बहुआयामिक चुनौतीको सामना गरिरहेको उल्लेख गर्नुभयो।

सम्मेलनमा प्रदेशभरका छापा, विद्युतीय र अनलाइन गरी करिब दुई सय जना सञ्चारउद्यमी र पत्रकारको सहभागिता थियो। सम्मेलनमले मोफसलका मिडियाको सबलीकरण, पत्रकारको रोजगारीको सुरक्षा, विज्ञापन दररेटमा एकरुपतालगायतका विषयमा वसन्तपुर घोषणापत्र जारी गरिएको प्रकाशन तथा प्रशारण संघ लुम्बिनीका अध्यक्ष नवराज कुँवरले बताउनुभयो।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

चन्द्रकान्त खनाल/रूपन्देही का अन्य पोस्टहरु:
मिडिया सबलीकरण र पत्रकारको रोजगारी सुरक्षा गर्न १३ बुँदे ‘वसन्तपुर घोषणापत्र’
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link