साउन महिना आउनेबित्तिकै श्रावणी गीत गुन्जिन थाल्थ्यो । महिलाहरू सुमधुर स्वर सुसेल्दै झुला (पिङ) मा रमाउने गर्थे । श्रीमान्हरू टाढा भएका नवविवाहित बेहुलीलाई संकेत गर्ने बिछोडका गीत सुन्नु आफैंमा लोककला ज्वलन्त उदाहरण बन्थ्यो ।
‘समय बित्दै जाँदा रुखहरू लोप हुँदै गए । त्यहाँ बहुमन्जिला भवन ठडिन थाले, घरमा आँगनको अस्तित्व नै हराउँदै गयो,’ डा.सतिस उपाध्यायले भन्नुभयो, ‘यस्तो अवस्थामा पिङ र श्रावणी गीतहरू पनि सम्झना बनेर हाम्रो परम्पराबाट लोप हुँदै छन् ।’
साउन महिनाको एकादशी तिथि कृष्ण जन्माष्टमीमा भगवान्लाई पिङमा झुलाउने चलन अहिले पनि कपिपय मन्दिरमा छ । पर्यावरणविद् डा. उपाध्याय मल्हार गाउँदै पिङ खेल्ने परम्परा, नागपञ्चमी, तिज र रक्षाबन्धनको सौन्दर्य सम्झिँदै हुनुहुन्छ !
‘पहिले आतुरताका साथ साउनको प्रतीक्षा हुन्थ्यो । मनसुन सुरु हुनेबित्तिकै गाउँका गल्लीदेखि सहरसम्म पिङ सजाइन्थ्यो,’ उहाँले भन्नुभयो, ‘छोरीचेली ससुराघरबाट माइतीघर आउने तथा श्रावणी गीत गाउँदै पिङ खेल्ने गर्दा रक्षाबन्धनको ज्योति पनि दोब्बर हुन्थ्यो ।’
अहिले साउन महिना सकिएर भदौ लाग्दा पनि त्यसको बोध हुन सकेको छैन । हर्ष र उल्लासको संगम साउनको हरियाली तिज त्योहारसँगै अन्त्य हुँदैछ । साथीसँगै बसेर सुख–दुःख बाँड्ने, मेहन्दी लगाउने र पिङ खेल्ने परम्परा तथा श्रावणी गीत कतै देखिएका सुनिएका छैनन् ।
‘न पहिलाको जस्तो पिङ खेलेको कतै देखिएको छ, न त श्रावणी शुभ गीत गाएको कतै सुनिएको छ,’ ७८ वर्षीय राम दयाल ठाकुर भन्नुहुन्छ, ‘शरीरमा उमंग र उत्साह भर्ने पिङको परम्परा तथा कजरी, तिज र मल्हार गीतले समय परिवर्तनसँगै आफ्नो पहिचान हराउँदै छ ।’
‘साउन महिनामा खेलेका खेलहरू अहिले सम्झनाको हिस्सा मात्र बनेका छन्,’ अवधी संस्कृतिमा विशेष दख्खल राख्ने ठाकुरले भन्नुभयो, ‘नागपञ्चमीमा पिङ खेल्ने चलन अझै कायम रहे पनि साउनको त्यो गीत, जमघट र त्यो खुसी सम्झनामा मात्र समेटिएका छन् ।’
‘पहिला मयूर, पपिहा र कोयललगायतका चराको सुमधुर स्वरले मनसुन आउँदै गरेको संकेत गथ्र्यो । अहिले कीटनाशकको बढ्दो प्रयोगले ती चराचुरुङ्गीको व्यवहार र घुमफिर लगभग सकिएको छ भने पिङ खेल्ने परम्पराको रौनकता पनि घट्दो छ,’ ठाकुरले सुनाउनुभयो ।
साउनमा पिङ खेल्ने धार्मिक परम्परा मुख्यतः नेपाल र भारतका अनेक भागहरूमा मानिन्छ । यो परम्परा निर्वहन गर्न परिवारबाट सबै वृद्ध, वयस्क र बालबालिकाहरू सँगै उपस्थित हुन्छन् । यसलाई श्रीकृष्ण र उहाँका प्रिय गोपीका राधाको प्रेम र समर्पणको प्रतीक पनि मानिन्छ ।
साउन महिनाको पिङले हिन्दू परम्परामा विशेष महत्व प्राप्त गरेको छ । नेपाली भाषाको ‘पिङ’ शब्दलाई भोजपुरीमा ‘झलुवा’ वा ‘हिडोला’ पनि भनिन्छ । यसले सामाजिक बन्धन, आफ्नो मौलिक सांस्कृति, र परिवारि जमघटको महत्वलाई प्रचार गर्न मद्दत पुर्याउँछ ।
नागपञ्चमीको अवसरमा पिङ खेल्नुलाइ निकै शुभ मानिन्छ । यो दिन पिङ खेल्दै गीत गाउने कन्यालाई धेरै पुण्य फल प्राप्त हुने पण्डित अजय मिश्रले बताउनुभयो । ‘हरियाली तिजको अवसरमा पिङ खेल्दा मनलाई शान्ति र खुसी प्राप्त हुन्छ,’ उहाँ भन्नुहुन्छ, ‘यसबाहेक भगवान् भोलेनाथले माता पार्वतीका लागि पिङ सजाएर आफ्नो हातले झुलाएको जनविश्वासअनुसार श्रीमान्ले आफ्नी श्रीमतीलाई झुलाउने गरेको देखिन्छ । यसो गर्दा एकअर्का बीचमा धेरै माया बस्छ र परिवारमा खुसीयाली पनि छाउँछ ।’
साउन शुक्ल पक्षको पञ्चमी तिथिमा पर्ने नागपञ्चमीको एक महत्वपूर्ण अंग हो, साउन महिनाको पिङ । यसको रौनकता सावन महिनाभरि देखिन्छ । यसले आपसी सौहार्द र प्राकृतिक सौन्दर्यताका साथै स्थानीय कला, संस्कृति र परम्परालाई झल्काउँछ ।
पहिला साउन लागेपछि घरमा पाहुनाको जमघट हुन्थ्यो । बगैचामा पिङ खेलिन्थ्यो, खानाका विभिन्न परिकार बनाइन्थ्यो, राति अबेरसम्म महिलाहरू एकै ठाउँमा श्रावणी गीत गाएर रमाइलो हुन्थ्यो तर आजको व्यस्त जीवनशैलीमा ती दृश्य र गीतहरू विरलै देखिन्छन्, सुनिन्छन् ।
‘साउनमा पिङ खेल्ने परम्पराले मानिसमा सदगुण, नैतिकता र आदर्श सामाजिक सम्बन्धका मूल्यको प्रतिनिधित्व गर्दछ, सन्त राम लगन दासले भन्नुभयो,’ यसले मानवाधिकार, शान्ति, सामाजिक सद्गुण, पर्वको महत्व, धार्मिकता, आदर्श, र सांस्कृतिक एकतामा विश्वास राख्दछ ।
युवती वा महिलाले मात्रै खेल्ने भन्ने होइन । केटाकेटी, किशोर–किशोरी, अधबैंसे र बृद्ध–बृद्धासमेत पिङ खेल्ने गर्छन् । खास कुरा त सबै जातजातिका मान्छे सँगै खेल्ने गर्छन् । आपसी प्रेम र सामाजिक सद्भाव देखिने साउनको पिङमा धनी–गरिब जस्तो केही हुँदैन,’ उहाँले भन्नुहुन्छ, ‘जेठ महिनाको तातो र असारको चिसो दिनपछि श्रावणी मनसुनको शीतल वर्षा र रमाइलो मौसममा आतुरताका साथ छोरी–चेलीको माइत आगमन र पिङ (हिडोला) को पर्खाइ अहिले पनि हुन्छ ।’
उहाँका अनुसार, यसले मनोरञ्जन मात्रै होइन, स्वास्थ्यमा पनि विशेष फाइदा पुर्याउँछ ।
साउन महिनाको रमाइलोमा भिजेको हेर्न चाहनेले जुनसुकै गाउँमा जाँदा, केटाकेटी, महिला र युवतीहरू पिङमा झुम्मिएका देखिन्थे । साउनका ती पिङहरू गाउँका धेरै ठाउँमा आँप, नीम वा इमलीका रुखमा बाँधिएका हुन्थे, । अचेल न ती रुखहरू छन्, न पिङ खेल्नेको रौनकता ।
‘त्यो अवसरमा जातजाति र वर्गीय बन्धनबाट मुक्त भई सामाजिक सद्भाव र सभ्यताको उदाहरणस्वरुप महिलाहरूको सुमधुर स्वरले समेट्ने प्रतीकात्मक लोकगीतजस्तै केही हृदयस्पर्शी आकांक्षाको कथा र व्यथा सुनिन्थ्यो । त्यसको शैली बेग्लै छ,’ पण्डित वीरेन्द्र मिश्रले भन्नुभयो ।
पण्डित मिश्रका अनुसार यसले परम्परा, र मानवताको साझा र मूल महत्वको परिचय दिन्छ । योे आवसरमा मानिसले आफ्नो धार्मिक र सांस्कृतिक धरोहरको मूल महत्वलाई पुनः प्रत्यक्ष अनुभव गर्छ । साथै धर्म, समृद्धि, प्रगति र आपसीे सम्बन्ध संरक्षणमा पनि मद्दत गर्छ ।
साउनको पिङले धार्मिक तथा सांस्कृतिक विरासत र प्राकृतिक सम्बन्धका साथै लोपहुदै गरेको समृद्ध जीवनशैलीलाई प्रस्तुत गर्छ । यसले आत्म उत्कृष्टता र सांस्कृतिक परिप्रेक्ष्यलाई बढाउँछ भने पारम्परिक समृद्धि, सामाजिक समानता, र नेपालको विविधतालाई पनि स्वागत गर्छ ।
‘धार्मिक, सांस्कृतिक, पर्यावरणीय तथा स्वास्थ्यकीय महत्व बोकेको साउनमा पिङ खेल्नुको उद्देश्य महिला, किशोर–किशोरी तथा बालबालिकाहरूलाई आदिवासी संस्कृति, परिप्रेक्ष्य र परिपर्वहरूको महत्व बुझाउने र प्रोत्साहित गर्ने क्रियाकलाप गर्नु हो,’ त्रिभुवन विश्वविद्यालय। भैरहवा बहुमुखी क्याम्पसका उपप्राध्यापक डा. त्रिभुवन बरईले बताउनुभयो ।
‘अहिले महिला र बालबालिकासमेत मोबाइल र भिडिओ गेममा झुम्मिन्छन्, न कि प्रकृति, पढाइ र पिङमा,’ बरईले भन्नुभयो, ‘साउन महिनामा झुला झुल्ने र कजरी, तिज र मल्हारलगायतका श्रावणी गीत गाउने परम्परा लोप हुनुको कारण मनोरञ्जनको आधुनिक र प्रचुर साधन पनि हो ।’
साउने पिङ लोप हुनुको कारण आराम र मनोरञ्जनका साधन मान्नुहुन्छ प्राध्यापक डा.बरई । ‘वर्षायामको धर्म र पुण्य अब किताबमा मात्र सीमित छन् । धार्मिक अनुष्ठानका हिसाबले साउनको महिमा अहिले पनि महत्वपूर्ण छ । तर प्रकृतिसँगको मेलमिलापमा बाँच्ने परम्परा हराउँदै गएकोछ,’ बरईको ठहर छ ।
बरईक अनुसार झन्डै दुई दशकअघिसम्म झुला (पिङ) र मेहन्दीबिना साउन महिनाको कल्पना पनि गर्न सकिँदैनथ्यो । सम्मरीमाई गाउँपालिका उपाध्यक्ष प्रियंका सिंह शाहीले भन्नुभयो, ‘तर आजको समयमा मनसुनको झुला पटक्कै देखिएको छैन । यसको कारण जनघनत्व बढ्नु र रुख काट्नु पनि हो ।’
मानिसहरू अहिले घरको छतमा वा आँगनमा नै रेडिमेड फ्रेम लगाएर फलामको पिङमा झुल्दै मन सन्तुष्ट पार्न थालेको शाहीले बताउनुभयो । प्रकृतिसँग मेलमिलापमा बाँच्ने परम्परा लोप हुँदै साउनमा एक महिनादेखि सहर र ग्रामीण भेगमा पिङ खेल्ने अवधि पनि सकिन लागेको उहाँको भनाइ छ ।
धार्मिक, सांस्कृतिक र पारम्परिक महत्वको साउने झुलाले असारे खेतीमा होमिएर थकित भएकाहरूलाई स्फुर्ति प्रदान गर्नुका साथै मानिसमा उब्जिएका नैराश्यता र वैमनस्यता हटाउन विशेष भूमिक खेल्ने गरेको लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोषकुमार पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘श्रावणी संस्कृति र पिङ खेल्ने परम्पराको सन्दर्भमा प्रदेश सरकारले संरक्षणकारी भूमिका खेल्ने छ ।’
महिलाहरूकोलागि चाडपर्वको विशेष महिना साउनको यस अवसरमा परिवार र मित्रसँगको आतिथ्य, समृद्धि, खुसी, र सम्बन्धहरूको महत्वपूर्ण अंश हुन्छ । यस अवसरले घरमा दिदी बहिनी र छोरी चेलीको जमघट, मित्रसँगको एकता र मिलनसम्मको विशेष वातावरण बनाउँछ । सामाजिक जीवनमा यस्तो महत्वपूर्ण धार्मिक तथा संस्कृतिक परम्पराको संरक्षण हुनैपर्ने उहाँको अनुभव छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
राम बिकास चौधरी/ लुम्बिनी का अन्य पोस्टहरु:
- लुम्बिनीको विकास र संरक्षणका लागि कोषका पदाधिकारीहरूको राजीनामा माग
- पर्यटन मन्त्री विरुद्ध लुम्बिनीमा नाराबाजी, राजीनामा माग
- सिमान्चलमा सरयु नहरको सन्त्रास !
- लुम्बिनीको मायादेवी सुत्केरी पथ: संरक्षणको पर्खाइमा ऐतिहासिक धरोहर
- सडक निर्माण भएपछि खुसी छन् कोटीमाईका स्थानीय
- बुद्धको मावली दाबी गरिएको मर्चवार क्षेत्रमा पुरातात्त्विक सम्पदाको निरीक्षण
- रुपन्देहीको मर्चवारः सामुदायिक विद्यालयको बस निजी विद्यालयलाई भाडामा
- मुसहर बालबालिका विद्यालय बाहिर: निःशुल्क शिक्षा नीतिमा चुनौती
- आफ्नै गाउँको सडक निर्माणमा काम नपाउँदा मुसहरहरूको दुखेसो
- फोहोरमा भेटिए लुम्बिनीका बहुमूल्य मूर्तिहरू