अंग्रेजलाई पराजित गरेको खुसियालीमा तानसेनमा भगवती जात्रा, यात्रुलाई भाडामा ५० प्रतिशत छुट

चन्द्रकान्त खनाल/रूपन्देही

बुटवलको जितगढीमा भएको युद्धमा अंग्रेज फौजलाई नेपाली सेनाले पराजित गरेको खुशियालीमा आज पाल्पाको तानसेनमा ऐतिहासिक भगवती जात्रा मनाइने भएको छ। सदरमुकाम तानसेनमा जितगढी युद्धको सम्झनामा रणउजिरेश्वरी भगवतीको रथयात्रा निकाल्न लागिएको हो। २०३ औं संस्करणको रूपमा जात्रा निकाल्न थालिएको मन्दिर व्यवस्थापन समिति अध्यक्ष अशोक कुमार महर्जनले बताउनुभयो।

९ वटा उपसमिति गठन गरेर जिम्मेवारी बाँडफाँट गरिएको छ। जात्रामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र नेपाली सेनाका बलाधिकृत रथी सरोजप्रताप राणाको उपस्थिति रहने अध्यक्ष महर्जनले बताउनुभयो।

जात्रामा ५० हजारभन्दा बढीको सहभागिता रहने अनुमान आयोजक पक्षको छ। जात्रामा सहभागी हुन गुल्मी, अर्घाखाँची, स्याङ्जा, पर्वत, कास्की, रुपन्देही, काठमाडौँ लगायतका जिल्लाबाट समेत श्रद्धालु भक्तजनहरू आएका छन्।

भगवती जात्राका लागि मन्दिर सरसफाइ र रङरोगन सजावट गरिएको छ भने रथयात्रामा डुलाउने खटसमेत तयार पारिएको छ। खटयात्रा (विजय उत्सव) समपन्न गर्न झन्डै ६७ लाख खर्च हुने ब्यवस्थापन गुठीले जनाएको छ।

साइतअनुसार आज दिउँसो सवा १२ बजेदेखि साढे १२ बजेसम्म भगवतीको रथ उठाइने सचिव प्रकाशनाथ गोंगलले बताउनुभयो। रथयात्राले तानसेन बजार परिक्रम गर्नेछ। भगवतीको रथयात्राले नेपाल अंग्रेज युद्धको जितगढी युद्धलाई सम्झाउँछ।

वि.सं.१८७१÷७२ तिर जितगढीमा भएको अंग्रेज युद्धमा तत्कालीन कर्णेल उजिर सिंहको नेतृत्वमा गएको नेपाली फौजले अंग्रेज फौजलाई परास्त गरेको थियो।

भगवतीको भाकल गरी युद्धमा गएका सिंहले साम्राज्य विस्तारवादको नेतृत्व गरेको अंग्रेज फौजलाई परास्त गरेको खुसियालीमा विजयोत्सवसहित भगवतीको रथयात्रा निकाल्ने चलन छ।

जितगढीको युद्ध ऐतिहासिक मानिन्छ। युद्धमा विजय प्राप्त गरेपछि खुसियालीमा कर्णेल उजिरसिंहले भगवती मन्दिरको मर्मतसम्भार गर्नुका साथै सिन्दुर जात्रा गरी बजार परिक्रमा गराउनुभएको थियो। १८७७ सालदेखि हरेक वर्ष पाल्पामा भगवती जात्रा भव्यताका साथ मनाउन थालिएको हो।

भगवती जात्रा निकालिने दिन आज पाल्पामा सार्वजनिक विदा दिइएको छ। प्रदेश सरकारले विज्ञप्ति जारी गरी बिदा दिएको जनाएको हो।

विजयउत्सवमा सहभागी यात्रुहरुलाई भाडामा ५० प्रतिशत छुट

पाल्पा सदरमुकाम तानसेनमा आज भगवती रथ जात्रा विजयउत्सवमा सहभागी हुन आउजाउ गर्ने यात्रुहरुलाई पश्चिम नेपाल बस व्यवसायीले भाडामा ५० प्रतिशत छुट दिएको छ। नेपालको गौरवमय इतिहासलाई जनमासमा पुर्याउन पश्चिम नेपाल बस व्यव्सायी समितिले एक दिनका लागी बिहान बुटवलदेखि पाल्पा र साँझ पाल्पादेखि बुटवलसम्म आउजाउ गर्ने यात्रुहरुलाई ५० प्रतिशत भाडा छुट दिएको जनाएको छ।

समितिले यात्रुहरुको रेडर्क राख्न बुटवल र पाल्पाको टिकट काउन्टरबाट टिकट काटेका व्यक्तिहरुलाई भाडा छुट दिने निर्यण गरेको समितिका अध्यक्ष दधिराम खरेलले बताउनुभयो। यसै गरी होटल तथा रेष्टुरा व्यवसायी समिति पाल्पाले पनि भगवती जात्रामा आउने भक्तजनलाई लक्षित गरी खानामा १० प्रतिशत र बासमा २० प्रतिशत छुट दिने निर्णय गरेको छ।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

चन्द्रकान्त खनाल/रूपन्देही का अन्य पोस्टहरु:
अंग्रेजलाई पराजित गरेको खुसियालीमा तानसेनमा भगवती जात्रा, यात्रुलाई भाडामा ५० प्रतिशत छुट
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link