कम्प्लेक्स बनाउन विराटनगर महानगरले खाली गराएको गुद्री बजार बन्यो पार्किङस्थल, व्यापारीको बिल्लीबाठ

ध्रुव भट्टराई/मोरङ

विराटनगरको केसलिया रोडमा भाडामा बस्दै आएकी वृद्ध महिला ज्वालादेवी जैसवालले विराटनगर ९ गुद्री बजारमा (पुरानो गुद्री) मा तरकारी बेचेको पाँच बर्ष भएको थियो। तर उहाँ अहिले सो तरकारी बेच्ने पेसाबाट पलायन भएर घरमा बस्नुभएको २ वर्ष बित्न लाग्यो।

३ मंसिर ०७८ मा विराटनगर महानगरपालिकाले पुरानो गुद्रीमा २५ तले व्यावसायिक भवन बनाउने योजनासहित गुद्री खाली गरेपछि जैसवालको तरकारी बेच्ने पेसा सधैंका लागि सकियो।

‘गुद्रीमा तरकारी बेचेरै आफ्नो परिवार पाल्दै आएका हामी गरिबलाई त्यहाँबाट लखेटियो,’ उहाँ भन्नुहुन्छ, ‘ठूलो भवन बन्छ भनेको पनि २ वर्ष बितिसक्यो। तर अहिलेसम्म भवन बनाउने अत्तोपत्तो छैन।’

जैसवालजस्तै पुरानो गुद्रीमा लामो समयदेखि तरकारी व्यापार गदै आएका पंकज कामत अहिले सुनसरीको सोनापुरमा रहेको एक जुट मिलमा मजदुरी गर्दै आउनुभएको छ। मेयर नागेश कोइरालाले गुद्रीमा तरकारी बेच्न रोक लगाएपछि तरकारी पसल छाडेर मजदुरी गर्न बाध्य भएको कामत बताउनुहुन्छ।

‘वर्षौंदेखि तरकारी व्यापार गरेर बसेका हामीलाई त्यहाँबाट लखेट्ने काम भयो,’ कामतले भन्नुभयो, ‘गुद्रीबाट लखेटिएपछि परिवार चलाउन मजदुरी गर्न विवश भएँ।’ व्यावसायिक भवन बनाउने उद्देश्य राखेको खाली गराइएको गुद्री अहिले पार्किङस्थलका रुपमा परिणत भएको छ।’

दोहोरो इन्टरनेसनलले बनाउने २५ तले व्यावसायिक भवनको डिजाइन गरिएको तस्बीरदोहोरो इन्टरनेसनलले बनाउने २५ तले व्यावसायिक भवनको डिजाइन गरिएको तस्बिर

महानगरले भनेअनुसार गुद्री खाली गराइएको लामो समयसम्म पनि २५ तले व्यावसायिक भवन बनाउने कुरा अहिलेसम्म अत्तोपत्तो छैन। उल्टै खाली गरिएको गुद्रीलाई निःशुल्क पार्किङस्थल बनाइएको छ।

१५ कार्तिक ०७८ मा विराटनगर महानगरपालीकाले प्रदेश सरकार, प्रदेश नं १ को प्रदेश लगानी प्राधिकरण र महानगरपालिकाबीच पुरानो गुद्री रहेको स्थान ‘बी’ प्लटमा सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरको व्यापारिक भवन बनाउन समझदारी भएको भयो। सोहीअनुरुप गुद्री बजार खाली गराउने काम महानगरले गरेको थियो।

महानगरपालिकाको स्वामित्वमा रहेको पुरानो गुद्री बजारको १४ कठ्ठा ५ धुरमा नेपालकै अग्लो २५ तल्ले व्यापारिक कम्प्लेक्सको निर्माण हुने बताइएको थियो। परियोजना सुरु गर्न उक्त जग्गामा बसोबास गर्ने सर्वसाधारण एवं उनीहरुका सटर, पसल, कबल हटाउनुपर्ने सर्त थियो। ३ महिनाभित्र महानगरले परियोजना निर्माणस्थल खाली गराई प्रदेश लगानी बोर्डलाई उपलब्ध गराउनुपर्नेसमेत सहमतिपत्रमा उल्लेख गरिएको थियो।

लगानी बोर्डले जग्गा उपलब्ध भएको ३ महिनाभित्र डिपिआर तयार गरी शिलान्यास गर्ने बताइएको थियो। सोहीअनुसार गएको वैशाखमा भवन शिलान्यास गर्ने योजना भए पनि आवश्यक तयारी पूरा नहुँदा तोकिएको समयमा शिलान्यास गर्ने काम हुन नसकेको प्रदेश लगानी प्राधिकरण कोशीका सूचना अधिकारी वासुदेव कुँवरले बताउनुभयो।

उहाँले पछिल्ला समय प्रदेशमा देखिएको राजनीतिक अस्थिरता कारण समयमै काम हुन नसकेको भन्दै अब भने चाँडै व्यापारिक कम्प्लेक्स निर्माणको बाटो खुलेको जानकारी दिनुभयो।

प्रदेश लगानी प्राधिकरणको बोर्ड बैठकबाट व्यापारिक कम्प्लेक्स निर्माणका लागि दोहोरो इन्टरनेसनल काठामाडौंलाई गत साउन २९ गते लगानीका लागि स्वीकृति दिएको बताउनुभयो।

‘अब भने व्यापारिक कम्प्लेक्स निर्माणको काम चाँडै सुरु हुने अवस्था छ,’ कुँवरले भन्नुभयो, ‘बोर्डले डिपिआर र लगानी स्वीकृत गर्ने काम पूरा गरेको छ।’

दोहोरो इन्टरनेसलका सञ्चालक विपुलराज पाण्डेले भने लगानी बोर्डबाट भवन निर्माणार्थ लगानी स्वीकृत हुन ढिला हुँदा भवन निर्माणको काममा विलम्ब भएको बताउनुभयो।

‘हामी पहिलेबाटै काम सुरु गर्ने योजनामा थियौँ,’ पाण्डेले भन्नुभयो, ‘लगानी स्वीकृत भएको करिब दुई हप्ता मात्र भएको छ। यसबीचमा हामीले केही काम गर्न सक्ने अवस्था रहँदैन। सबै बिषय मिलाएर भवन निर्माणको काम शुरु गर्न अझै दुई महिना लाग्न सक्छ।’

सञ्चालक पाण्डेका अनुसार अहिले प्रदेश लगानी प्राधिकरणले प्रोजेक्ट डेभलपमेन्ट एग्रिमेन्ट तयार गरेपछि सोहीअनुसार महानगर, लगानी प्राधिकरण र दोहोरो इन्टरनेसनलबीच त्रिपक्षीय सम्झौतापछि मात्र भवन निर्माणको काम अघि बढ्नेछ।

दोहोरो इन्टरनेसनलले विराटनगरको ‘बी’ प्लटमा २५ तले बहुउद्देश्यीय भवनको लागत ४ अर्ब ५० करोड ४३ लाख ४० हजार लागतमा निर्माण गर्नेछ। जसमा कुल लगानीको ८० प्रतिशत बैँकको हुनेछ भने बाँकी २० प्रतिशत दोहोरो इन्टरनेसनलको रहनेछ।

आगामी सन् २०२६ सम्ममा निर्माण सम्पन्न हुने २५ तले बहुउद्देश्यीय भवनमा एकैसाथ ४ सय मोटरसाइकल र २ सय गाडी अटाउने सक्ने अन्डर ग्राउन्उ पार्किङसहितको भवन निर्माण हुने दोहोरो इन्टरनेसनल कम्पनीले जनाएको छ। यस्तै, भवनमा पसलसहित अफिसका लागि छुट्टै कोठा, क्यासिनोसहितको सुविधा सम्पन्न होटलसमेत हुनेछ।

सार्वजनिक–निजी साझेदारी लगानीको अवधारणमा विराटनगरको गुद्रीमा दोहोरो इन्टरनेसनल कम्पनीले निर्माण गर्ने २५ तले बहुउद्देश्यीय भवन २५ वर्षसम्म यही कम्पनीले प्रयोग गर्ने छ। त्यसबाट आएको सम्पूर्ण आम्दानी सो कम्पनीले नै लिनेछ। २५ वर्षपछि चालू अवस्थामा नै महानगरलाई सो भवन कम्पनीले हस्तान्तरण गर्ने छ। त्यसपछि भवन महानगरको स्वामित्वमा जानेछ।

गएको फागुन ०७७ मा प्रदेश–१ को सार्वजनिक–निजी साझेदारी तथा लगानी प्राधिकरण र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)नेपाल पूर्वाधार विकास बैंकबीच विभिन्न परियोजना अघि बढाउन समझदारीपत्रमा हस्ताक्षर भएको थियो। सोहीअनुसार विराटनगरको ‘बी प्लट’ मा निर्माण हुने भनिएको २५ तले बहुउद्देश्यीय भवन निर्माणका लागि आवश्य गहकार्य सुरु भएको लगानी प्राधिकरण कोशी कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार सुनसरीको बर्जुतालमा पूर्वाधार निर्माण र सोलुखुम्बुमा सगरमाथा केबलकार निर्माणार्थ अध्ययन गरिरहेको छ। सोहीयोजना अनुरुप धनकुटाको भेडेटारमा सार्वजनिक निजी साझेदारी मोडलमा २० करोडको लगानीमा स्काइ वाक निर्माण भइरहेको छ। प्राधिकरणले छनौट गरेको यो काम अहिले वन्डर्स एम्युजमेन्ट पार्क एन्ड अट्राक्सन प्रालिले गरिरहेको छ।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

ध्रुव भट्टराई/मोरङ का अन्य पोस्टहरु:
कम्प्लेक्स बनाउन विराटनगर महानगरले खाली गराएको गुद्री बजार बन्यो पार्किङस्थल, व्यापारीको बिल्लीबाठ
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link