डिडिसीमा भुक्तानी समस्या, किसानले तीन महिनादेखि दूध बेचेको पैसा पाएनन्

दुग्ध विकास संस्थानले दुग्ध किसानको ११ करोड रुपैयाँभन्दा बढी भुक्तानी दिन बाँकी छ ।

ध्रुव भट्टराई/मोरङ

धनकुटा नगरपालिका वडा नम्बर १ हिलेकी किसान शान्ति नेपालले आफ्नो गाउँको सहकारीलाई दूध बिक्री गरेको तीन महिनाको पैसा पाउनुपर्ने छ।

पाँच वर्षदेखि दूध बिक्री गरेर घरखर्च टारिरहेकी उहाँले सहकारीलाई आफ्नो दूधको पैसा आए–नआएको हरेक दिन गएर सोध्नुहुन्छ। तर, उद्योगबाट पैसा आएको जवाफ पाउनुहुन्न।

‘दाना, चोकर र श्रमको खर्च एकातिर, पैसा नआउने समस्या अर्कातिर,’ शान्तिको मनमा अशान्ति छ, ‘अब दूध बिक्री गर्ने हामीजस्ता किसानले घिउ किन्नुपर्ने र दूधको मूल्य त्यसैमा कटौती गर्नुपर्ने प्रस्ताव आएको छ।’

दुग्ध विकास संस्थान (डिडिसी) ले नै दूधको पैसाबराबरको घिउ दिने प्रस्ताव गरेको छ। पैसा नपाएपछि दसैं कसरी मान्ने?

नेपालले हिलेकै श्री चञ्चलादेवी बहुउदेशीय दुग्ध उत्पादक सहकारी संस्थाले नेपाल सरकार स्वामित्वको दुग्ध संकलन केन्द्रमा दूध बिक्री गर्ने गर्नुभएको थियो।

चञ्चलादेवी बहुउद्देशीय दुग्ध उत्पादक सहकारी संस्थाका व्यवस्थापक भीम मल्लका अुनसार सहकारीमा आबद्ध एक सय बढी किसानले तीन महिनादेखिको रकम भुक्तानी पाएका छैनन्। किसानले सो संकलन केन्द्रमार्फत डिडिसीले खरिद गरेकोे दूधको ३८ लाख रुपैयाँभन्दा बढी रकम भुक्तानी पाउन बाँकी छ।

मल्लका अनुसार सहकारीले नै सरकारी स्वामित्वको दुग्ध विकास संस्थानबाट लाखौं भुक्तानी नपाएपछि किसानको भुक्तानी रोकिएको हो। अहिले आएर संस्थानले प्रतिनिधिमार्फत दूधको पैसाबराबरको घिउ किनेर कटाउन भनेको छ।

‘यहाँका किसानहरूले २०६० सालदेखि दूध उत्पादन र बिक्री गरिरहेका छन्। हामीले पहिलोपटक यस्तो समस्या भोगिरहेका छौं,’ मल्लले भन्नुभयो, ‘महिनामा दुईपटक गरेर हामीले ६ पटकको पैसा पाउन बाँकी छ।’

धनकुटा हिलेकी शान्ति नेपालको जस्तै पिडा छ इलामकी सावित्रा राउतको पनि। दूध बेचेर गुजारा चलाउँदै आएकी राउतले पनि तीन महिनादेखि दूध बिक्री गरेको एक पैसा पाउन सक्नुभएको छैन।

‘डिडिसीले तीन महिनादेखिको दूधको पैसा दिने अहिलेसम्म छाटकाँट देखाउँदैन,’ राउतले भन्नुभयो, ‘दूधको पैसाले दसँैको गर्जो टार्ने आशा यो वर्ष निराशामा बित्लाजस्तो छ।’

शान्ति र सावित्राजस्तै कोशी प्रदेशका ८ हजार बढी किसानलाई सहकारीले महिनौँदेखि दूधको भुक्तानी नदिएपछि दसैँ कसरी मनाउने भन्ने चिन्ता बढेको छ।

‘नेपालीको मुख्य चाड दसैँ नजिकै आइसक्यो। तर दुग्ध विकास संस्थानलाई दूध बेचेका सहकारीका सदस्य किसानले लामो समयदेखि भुक्तानी पाएका छैनौँ,’ इलामस्थित कन्याम चिलिङ सेन्टरका व्यवस्थापक रविन निरौलाले भन्नुभयो, ‘अब कसरी दसैँ मनाउने भनेर सबै चिन्तामा छन्।’

धनकुटा छथर जोरपाटीमा रहेको श्रीकृष्ण कृषि सहकारी संस्थाका अध्यक्ष भरत कार्कीले दुग्ध उत्पादक कृषकका लागि एक मात्र आम्दानीको स्रोत दूध भएकाले लामो समयदेखि भुक्तानीमा समस्या हुँदा किसान मारमा परेको बताउनुभयो।

‘दैनिकजसो किसानहरूले भुक्तानीका लागि ताकेता गर्छन्,’ कार्कीले भन्नुभयो, ‘डिडिसिले विभिन्न समस्या देखाउँदै सहकारीलाई तीन महिनादेखि भुक्तानी रोकेको छ। अब हामीले किसानलाई पखर्नु भनेर आश्वासन दिनेबाहेको अर्को विकल्प छैन।’

किसानले दसैँअगाडि नै रकम भुक्तानी गर्न सहकारी र संकलन केन्द्रमा दैनिक ताकेता गरिरहे पनि डिडिसीले भुक्तानी नदिएका कारण सहकारीहरू निरीहजस्तो भएको कार्कीको भनाइ छ।

दुग्ध विकास संस्थानको विराटनगरले कोशी र कोशी प्रदेशका दुग्ध वितरण आयोजनाले विभिन्न सहकारीमार्फत इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र सप्तरी जिल्लाबाट दैनिक २५ हजार लिटर दूध संकलन गर्दै आएका छन्। जसमा कोशी प्रदेशका ८ हजार बढी किसान आबद्ध छन्।

दुग्ध विकास संस्थानका कोशी प्रदेशका ती सहकारीमा आबद्ध किसानबाट दैनिक २५ हजार लिटर दूध संकलन हुन्छ। तर संस्थानले किसानबाट खरिद गरेको तीन महिनाको ११ करोड रुपैयाँभन्दा बढी भुक्तानी दिन बाँकी छ।

संस्थानको विराटनगरे आयोजना प्रमुख परमेश्वर चौधरी व्यापारमा आएको हा्रसका कारण किसानलाई समयमै भुक्तानी दिने समस्या भएको बताउनुभयो।

अहिले पनि ठूलो मात्रामा दुग्धजन्य पदार्थ लामो समयदेखि स्टोरमा थन्किएका कारण किसानलाई जेठ महिनापछिको भुक्तानी दिन नसकिएको स्विकार्नुभयो। डिडिसीले जेठ महिनासम्म किसानसँग खरिद गरेको दूधको भुक्तानी गरेको बताउँदै चौधरीले भन्नुभयो, ‘विराटनगर आयोजनाको मात्र होइन संस्थानका सबै आयोजनामा यस्तै अनुपातमा बक्यौता छ। हामी किसानलाई सकेसम्म दसैँअगाडि नै भुक्तानी दिन पहल गरिरहेका छौँ।’

चौधरीले पछिल्लो समय घिउ बिक्री नभएको र बढी भएको दूधबाट पाउडर (धुलो दूध) बनाएर राख्नुपर्दा चालु पुँजी अभाव भएको पनि बताउनुभयो। अहिले पनि साढे २० करोड रुपैयाँको धुलो दूध, मख्खन र घिउ विराटनगर आयोजनामा स्टक रहेको चौधरीको भनाइ छ। गत जेठयता ४ करोड रुपैयाँबराबरको ५० टन पाउडर दूध, ८ करोडबराबरको ८० मेट्रिकटन मख्खन, साढे ८ करोडको ८ मेट्रिकटन घिउ स्टोरमा थन्किएको जानकारी दिनुभयो।

आयोजना प्रमुख चौधरीका अनुसार संस्थानले यसअघि विभिन्न सहकारीमार्फत किसानबाट खरिद गरेको दूधको पैसा पाक्षिक रुपमा उपलब्ध गराउँदै आएको थियो। यसले किसानको दूध खरिदबापत पाक्षिक २ करोड रुपैयाँ भुक्तानी दिने गरेको थियो।

संस्थानको विराटनगरमा रहेको दुग्ध वितरण आयोजनाले इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र सप्तरी जिल्लाबाट दूध संकलन गर्दै आएको छ। कोशी प्रदेशका यी जिल्लाबाट संकलन हुने दूधमध्ये ७० प्रतिशत दूध जिल्लाबाहिर दुग्ध विकास संस्थान र निजी डेरीमार्फत निकासी हुने गरेको छ।

 

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

ध्रुव भट्टराई/मोरङ का अन्य पोस्टहरु:
डिडिसीमा भुक्तानी समस्या, किसानले तीन महिनादेखि दूध बेचेको पैसा पाएनन्
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link