बुटवल चौराहदेखि गोलपार्कसम्मको ३.२५ किमि सडक ८ वर्षमा पनि अधुरै, तीनपटक म्याद थप

चन्द्रकान्त खनाल/रूपन्देही

देशको प्रमुख व्यापारिक तथा आर्थिक केन्द्र बुटवलको मुख्य बजार क्षेत्रमा रहेको सवा तीन किलोमिटर सडक निर्माण सुरु भएको झन्डै एक दशक पुग्न लाग्यो। तर अहिलेसम्म पूरा हुन सकेको छैन। ०६९ सालमा ४ लेनमा निर्माण भएको यो खण्ड पछि ६ लेनमा विस्तार सुरु भएपछि हालसम्म निर्माण पूरा नहुँदा यो क्षेत्र अस्तव्यस्त छ।

बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको ३.२५ किमि सडक विस्तारको काम सुरु भएको ८ वर्ष र रकम ३५ करोड खर्च भइसकेको छ। तर, यहाँ आधा जति पनि काम पूरा भएको छैन।

मुख्य सडकमा हाल सामान्य लेभल मिलाउने डिबिएमको काम मात्रै भएको छ। पिचको काम झनै सुरु भएकै छैन। यो सडकलाई अन्तर्राष्ट्रियस्तरको अस्फाल्ट पिच गर्ने योजना छ।

८ वर्षमा आधा पनि काम भएन

सुरुका केही वर्ष साइट क्लियर नहुँदा र मुद्दामामिलाको झमेला हुँदा निर्माणकार्य प्रभावित भए पनि पछि यी सबै समस्या समाधान हुँदासमेत कामले गति लिएको छैन। सम्झौताअनुसार २०७६ असोज १२ गतेसम्म सक्नुपर्ने थियो। तर, समयै काम सम्पन्न नभएपछि फेरि म्याद थप भयो।

अन्तिमपटक भन्दै थप भएको म्यादको अवधि पनि २०७९ चैत ३० गतेसम्म काम सक्नुपर्ने थियो। तर, त्यो अवधिमा पनि पूरा नभएपछि फेरि ०८० असार मसान्तसम्मका लागि म्याद थप भयो।

अन्तिमपटक भन्दै फेरि पनि २०८० असार मसान्तसम्ममा काम सक्नुपर्ने गरी म्याद थपिएको अवधिमा धुलो उड्ने क्षेत्रमा टालटुल भयो, पुष्पलाल पार्क र चौराहाका गोलचक्करमा ढलान भयो। तर अरु प्रगतिचाहिँ भएन।

अहिलेसम्म यो सडक खण्डमा ४८ प्रतिशत काम पूरा भएको सडक डिभिजन कार्यालय बुटवलको प्रतिवेदनमा छ।

डिभिजन कार्यालय बुटवलका प्रमुख डिई विसुनदास लामाले मुख्य बजार क्षेत्रको मुख्य सडकखण्डमै निर्माणकार्य सुस्त हुँदा नकारात्मक सन्देश गइरहेको बताउनुभयो। साह्रै ढिलासुस्तीमा निर्माण भइरहेको र पटक–पटक म्याद थप्दासमेत प्रगति शून्यजस्तै रहेको लगायतका विवरणसहित माथिल्ला निकायमा पत्राचार गरिएको डिई लामाले बताउनुभयो।

निर्माण कम्पनीका सञ्चालक पेम्बा लामा लामो सयमदेखि इन्जिनियरको समेत सम्पर्कमा नरहेको उनीहरू बताउँछन्। कम्पनीका प्रतिनिधिसमेत सम्पर्कमा आएका छैनन्। तर, फेरि म्याद थप गरी पाऊँ भन्दै निवेदन भने कार्यालयमा पेस भएको छ।

सहर नै कुरुप बनाउने र दुई राजमार्ग गिज्याएको सडकखण्ड

बुटवलको मुख्य बजार क्षेत्रमा जम्मा ३.२५ किलोमिटर सिद्धार्थ राजमार्गको खण्ड हो। यही खण्डमा पूर्व–पश्चिम महेन्द्र राजमार्ग पनि पर्छ। दुई महत्वपूर्ण र अन्तर्राष्ट्रिय राजमार्ग क्षेत्र र बुटवलकै मुख्य बजार क्षेत्र विगत ८ वर्षदेखि कुरुप बनेको छ।

‘यहीँका बासिन्दा हौं, यही सडकका उपभोक्ता पनि हौं, ठेकेदारलाई बिन्ती बिसाएर काम गराउनुपरिरहेको अवस्था छ तर पनि प्रगति पटक्कै भएन,’ सडकको निर्माणको साइट हेरिरहेका सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर अरुण खत्रीको गुनासो छ।

इन्जिनियर खत्रीले सडकको श्वेतपत्रजस्तै प्रतिवेदन माथिल्ला निकायमा रायसहित पेस गरिएको बताउनुभयो।

ठेकेदारलाई पेस्कीसहित झन्डै ३५ करोड भुक्तानी

दी कञ्चनजंघा–बिरुवा जेभी नामको निर्माण कम्पनीले यही सडक खण्डका लागि हालसम्म २७ करोड ४० लाख ६७ हजार भुक्तानी लगिसकेको छ। यसका अलवा उसले ७ करोड ४६ लाख रुपैयाँबराबरको पेस्की पनि लगेको छ र यसको फस्र्यौट गर्न भने बाँकी छ। पेस्कीसहित ३४ करोड ८६ लाख ६७ हजार रुपैयाँ निर्माण कम्पनीले सडक डिभिजन कार्यालय बुटवलको लेखा शाखाको विवरणमा छ।

कार्यालयका सूचना अधिकारी इन्जिनियर महेश्वर लम्सालले पटक–पटक गरेर भुक्तानी भएको, म्याद थपिएको तर, काममा प्रगति नभएपछि कार्यालयले विकल्पको खोजी गरेर प्रतिवेदनमाथि पठाएको बताउनुभयो।

अब ठेक्का तोडिन सक्छ

३.२५ किमि सडक निर्माणका लागि सडक विभागले ६५ करोड लागत स्टिमेट राखेको थियो। दी कञ्चनजंघा–बिरुवा जेभी निर्माण कम्पनीले भ्याटसहित ५३ करोड ९७ लाख ९९ हजार ४६७ रुपैयाँमा मा ठेक्का लिएको थियो। २०७३ चैत १७ गते ठेक्का सम्झौता भएको थियो।

तीन पटकसम्म थपिएको म्यादसम्म पनि प्रगति नभएपछि सम्बन्धित अधिकारीहरू ठेक्का तोड्ने मनस्थितिमा पुगेको स्रोतले बताएको छ। यद्यपि सम्बन्धित कार्यालयले भने यसबारेमा आधिकारिक जानकारी दिएको छैन। सडकको अवस्था हेरिरहेका सम्बन्धित इन्जिनियरले रायसहितको विस्तृत प्रतिवेदन सडक निर्देशनालय काठमाडौँमा पठाइसकेका छन्।

ठेक्का तोड्दा राज्यलाई अर्को ठेक्का लगाउन चाहिने करिब २६ करोडबराबरको रकमको जोहो नभएकाले यसबारेमा निर्णय हुन ढिलाइ भइरहेको स्रोतले बताएको छ। ठेक्का तोडियो भने निर्माण कम्पनी स्वतः कालोसूचीीमा पर्ने, उसले लगेर फस्र्यौट गर्न बाँकी करिब ८ करोड रकमको दोब्बर जरिवाना तिर्नुपर्ने हुन सक्छ।

 

 

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

चन्द्रकान्त खनाल/रूपन्देही का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link