मातेका वडाध्यक्षले कुटे सफाइकर्मी, श्रीमान् र सौताले मारे कान्छीलाई

अनिल तिवारी

वीरगन्ज महानगरपालिकाका एक  वडाध्यक्षले आइतबार राती सफाइकर्मीलाई कुटपिट गरेका छन्। महानगरपालिका वाड नम्बर २५ सिर्सियाका वडा अध्यक्ष आशुतोष चतुर्वेदीले महानगरपालिकाका सरसफाइ शाखामा कार्यरत ट्याक्टर ड्राइभर नेक महमदलाई कुटपिट गरेका हुन। हेलमेट र मोबाइल प्रहारबाट घाइते भएका महमदको उपचार नारायणी केन्द्रीय अस्पतालमा गरिएको छ। वीरगन्जमा  फूलपाती र अष्टमीमा दशैको मेला लाग्ने गर्दछ। मेलाबाट फोहर भएको बाटोघाटोलाई सफाइ गर्ने क्रममा राती साढे दश बजे ट्याक्टर ड्राइभरलाई कुटपिट गरेका हुन। रक्सीले मातेका वडाध्यक्ष चतुर्वेदीले वीरगन्जको आदर्श‍नगरमा आइतबार राती महानगरपालिकाको ना १ द २६१ नम्बरको ट्याक्टर रोकेर सफाइ काम बन्द गर भन्दै आफू र मेयरलाई तथानाम गाली गर्दै कुटपिट गरेको ड्राइभर नेक महमदले बताए। सफाइकर्मी ड्राइभर नेक महमदको भनाइमा, ‘के भयो, तपाई हाम्रो मुखिया जी हो, नकुट्नु होस् भन्दा भन्दै, वडाध्यक्षजीले म माथि हेलमेट र मोबाइल प्रहार गरी रहनु भयो। ’

ड्राइभरलाई   कुटपिट गरिरहेको  थाहा पाएपछि घटनास्थलमा पुगेको महिला सफाइकर्मीहरूले प्रतिवाद गर्दै वडा अध्यक्ष चतुर्वेदी माथि झाडु प्रहार गर्दै लखेटेको प्रत्यक्षदर्शीले बताए। केही समय देखि  सामाजिक सञ्जालमा  मेयरको विरोध गर्दै आएका वडा अध्यक्ष चतुर्वेदीले मेयर राजेशमानको  रिसमा दारुको झोकमा सफाइकर्मीलाई कुटपिट गरेको एक कर्मचारीको भनाइ  छ। उनीहरूको भनाइमा, उहाँ केही कुरा नमिलेर मेयर साहेबको विरोध गर्दै आउनु भएको थियो ,त्यही कुराको रिसमा महानगरका कर्मचारीलाई कुटपिट गर्नु भएको छ। कर्मचारीलाई कुटपिट गर्ने वडाध्यक्ष माथि कार्यवाही नभए सरसफाइको सबै कार्य बन्द गरी हडतालमा जाने चेतावनी समेत कर्मचारीहरूले दिएका छन्।

श्रीमानले मारे श्रीमती

 वीरगन्जमा छुरा प्रहारबाट एक महिलाको मृत्यु भएको छ। आफ्नै श्रीमानले गरेको छुरा प्रहारबाट वीरगन्ज महानगरपालिका वडा नं.१४ बहुअरीकी महिमा खातनुको ज्यान गएको प्रहरीले जनाएको छ। शनिवार राति घरायसी झगडाको कारण श्रीमानले प्रहार गरेको छुराबाट गम्भीर घाइते भएकी महिमाको आइतबार बिहान १० बजे मृत्यु भएको हो।
छुरा प्रहारबाट गम्भीर घाइते भएकी महिमाको वीरगन्ज हेल्थ केयरमा उपचार क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डिएसपी) ध्रुव कुमार श्रेष्ठले बताउनु भयो।
छुरा प्रहार गर्ने  श्रीमान् इजहारुल हक अन्सारी फरार भए पनि घटनामा संलग्न अर्की आरोपी जेठी श्रीमती नुर जहान खातुनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
मृतक महिमा इजहारुलकी कान्छी श्रीमती हुन्। जेठी श्रीमतीले सन्तान नपाए पछि इजहारुलले जिल्ला बारा कलैया उपमहानगरपालिकाको घुसुकपुरुवा निवासी मृतक महिमासँग विवाह गरेका थिए।  महिमाबाट एउटा छोरा र एक छोरी रहेका छन्। मृतकको शव पोस्टमार्टमको लागि वीरगन्जस्थित नारायणी अस्पतालमा राखिएको छ।

आवरण तस्बिरः कुटिएका ड्राइभर नेक महमद

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

अनिल तिवारी /वीरगञ्ज का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link