दुर्गा मूर्ति विसर्जनका क्रममा दानव खोलामा डुबेर हराइरहेका सन्त कुमार राजभरको शव भेटिएको छ । बिहीबार दिउसो १२ः४५ बजेदेखि दानव खोलामा हराइरहेका २० वर्षीय सन्त कुमारको शव आज दिउसो ११ः४५ बजे स्थानीयले फेला पारेका हुन ।
मूर्ति विसर्जनका क्रममा कोटहीमाई गाउँपालिका–१ दुइमोहानघाट स्थित दानव खोलामा मङ्गलवार सन्त कुमारसँगै डुबेर हराइरहेका २४ वर्षीय अजय कुमार नाउ र १८ वर्षीय अजय राजभरको शव सोही दिन स्थानीयले खोजतलासका क्रममा फेला पारेका थिए ।
घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको गोताखोर सहितको उद्धारक टोलीले मङ्गलवारबाट दानव खोलामा हराइरहेका कोटहीमाई १ अमरगन्जका सन्त कुमारको खोजी कार्य गर्दै गर्दा स्थानीयले ४७ घण्टापछि शव फेला पारेको प्रहरीले जनाएको छ । कोटहीमाई गाउँपालिका–१ निवासी २४ वर्षे अजयकुमार नाउ जिल्ला प्रहरी कार्यालय पाल्पामा कार्यरत हुनुहुन्थ्यो । परिवारसँग दसैँ मनाउन गाउँ आउनुभएको थियो । दसैँको अवसरमा गाउँ नजिकै लाग्ने मेला हेर्न जानुभएको नाउ कहिल्यै नफर्कने गरी जानुभयो ।
कात्तिक ७ गते दुर्गा मूर्ति विसर्जनका क्रममा नदीमा डुबेर अजयकुमारको मृत्यु भयो । अजयकुमारसँग अन्य दुई जनाको पनि सोही क्रममा मृत्यु भयो । मूर्ति विसर्जनका लागि नदीमा पुगेका अन्य दुई डुबेपछि उनीहरूलाई बचाउने क्रममा नाउले पनि ज्यान गुमाउनुभयो ।
कोटहीमाई गाउँपालिकाकै वडा–५ मा नजिकका गाउँमा बनाइएका मूर्तिहरू विसर्जन गर्ने चलन छ । दसैँको टीकाका दिन अमरगन्जसहित अन्य गाउँका ल्याइएका मूर्तिहरू विसर्जन हुँदै थिए ।
मूर्तिलाई पानीमा सेलाएपछि अजय भर र सन्तकुमार भरसहितका स्थानीय युवाहरू मूर्तिलाई पूरै डुबाउन भन्दै नदीको गहिरो रहेकोतर्फ जान थाले । प्रत्यक्षदर्शीका अनुसार त्यहाँ जाने क्रममा सन्तकुमार भर डुब्न थाल अजयले उनलाई ताने, लगत्तै अर्का युवा अजय भर पनि डुब्न थाले, उनलाई जोगाउन सन्तकुमार र अजय नाउ अगाडि बढे, यसै क्रममा तीन जना नै डुबे ।
दानव नदी गहिरो रहेको र तीनै जना पौडी खेल्न नजान्ने भएकाले तीनै जना नदीमा हराएको प्रत्यक्षदर्शीको भनाइ छ । दुर्गा मूर्ति विसर्जनमा गएका कोटहीमाई गाउँपालिका–१ बस्ने १८ वर्षीय अजय राजभर, २४ वर्षीय अजयकुमार नाउ र २० वर्षीय सन्तकुमार भरको मृत्यु हुन पुग्यो ।
दसैँको दश दिनसम्म हर्षोल्लास गरी दसैँ मनाएका यी तीन जना गाउँले युवाहरू एकैसाथ अस्ताए । तीन जना युवालाई गुमाएको अमरगन्ज गाउँ त्यसयता शोकमा डुबेको छ ।
डुबेकामध्ये अजयकुमार नाउ र अजय भरको शव केही घण्टामै फेला परे पनि सन्तकुमार भरको शव करिब ४७ घण्टापछि मात्र फेला परेको छ । सन्तकुमारको शव फेला पर्दासम्म उहाँकै भाइ पर्ने अजय भरको त्रिवेणीमा र अजयकुमार नाउको दानव खोलामा अन्त्येष्टि भइसकेको थियो । सन्त कुमारको शव पोस्टमार्टमको प्रक्रियामा रहेको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक कञ्चन तामाङले बताउनुभयो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
राम बिकास चौधरी/ लुम्बिनी का अन्य पोस्टहरु:
- लुम्बिनीको विकास र संरक्षणका लागि कोषका पदाधिकारीहरूको राजीनामा माग
- पर्यटन मन्त्री विरुद्ध लुम्बिनीमा नाराबाजी, राजीनामा माग
- सिमान्चलमा सरयु नहरको सन्त्रास !
- लुम्बिनीको मायादेवी सुत्केरी पथ: संरक्षणको पर्खाइमा ऐतिहासिक धरोहर
- सडक निर्माण भएपछि खुसी छन् कोटीमाईका स्थानीय
- बुद्धको मावली दाबी गरिएको मर्चवार क्षेत्रमा पुरातात्त्विक सम्पदाको निरीक्षण
- रुपन्देहीको मर्चवारः सामुदायिक विद्यालयको बस निजी विद्यालयलाई भाडामा
- मुसहर बालबालिका विद्यालय बाहिर: निःशुल्क शिक्षा नीतिमा चुनौती
- आफ्नै गाउँको सडक निर्माणमा काम नपाउँदा मुसहरहरूको दुखेसो
- फोहोरमा भेटिए लुम्बिनीका बहुमूल्य मूर्तिहरू