रङ्ग फेरिएको होली

अनिल तिवारी

कारोना कहरका कारण गएका दुई बर्ष फिका फिका भएको फागु यो वर्ष धुमधामका साथ मनाइदै छ। मुलुकमा स्थानिय चुनाव नजिकै आएर होला यसपाली मधेशमा होली चुनावी रङ्गमा रङ्गिएको छ। अहिलेका र भविष्यमा हुन चाहने जनप्रतिनिधिहरूलाई फागुको शुभकामना आदानप्रदानको कार्यक्रममा सहभागी हुन भ्याई नभ्याई छ।

भोजपुरी र मैथलीमा “फगुवा” वा “होली” भनिने प्रेम र सद्‍भावको पर्व फागुको रङ्गरुप समयचक्रसँगै बददिदै गएको छ। “रङ्गको यस त्यौहारको आफ्नै रङ्ग फेरिएको छ, यसको गीतसङ्गीतका रस हराएको छ,” भोजपुरीका लोक सङ्गीतकार मास्टर  लालबहादुर शास्त्री भन्नुहुन्छ, “हामीले विगतमा देखेको मौलिक होली र अहिलेको होलीको नाममा गरिने गतिविधि निकै फरक छन्।”

दुईबर्षको कारोनाको विभिन्न लहरबाट बाँचेर यस वर्षको होली धुमधामका साथ मनाउने साहित्यकार तथा उद्योग वाणिज्य संघ मधेस प्रदेशका अध्यक्ष गणेश लाठ बताउनुहुन्छ।वसन्त ऋतुको आगमनसँगै रङ्ग र उमङ्गका साथ प्रत्येक बर्ष मनाउने होली पर्वको आफ्नै महानता रहेको लाठको तर्क छ।

सामाजिक र धार्मिक दुष्टिकोणले होली पर्वको परम्परा हराउदै गएको गुनासा पनि छदैछ। फागुन शुक्ल पक्षको अष्टमीदेखि हरेक साँझ गाउँ–गाउँमा स्थानिय भाखामा फागुको लोकगीत “होरी” जम्थ्यो। होलिका दहनको लागि निश्चित ठाउँमा “समद”को बाँस (टुप्पोमा स्त्रीपुरुषको आकृति झुण्ड्याएर ठड्याइने) गाडेपछि “होरी” जम्न सुरु हुन्थ्यो। समदमा जलाउनका निम्ति पराल, दाउरा लगायत वस्तुहरू जम्मा गर्ने जिम्मा किशोरहरूले आपसेआप लिन्थे।होलीका दहन गरिको दोश्रो दिन होली मनाउने चलन तराइमा छ। होलीका दहन अर्थात समदको आगोमा पोलेको अनाज गोठमा झुण्डाउएमा गाईवस्तुलाई रक्षा हुन्छ, भन्ने जनविश्वास पनि छ।

भक्त प्रह्लादको सत्यको जित भएको सम्झनामा होली मनाइने गरिएको लोकमान्यता छ। फागुनको पुर्णिमाका दिन मनाइने फगुवा (होली)मा सामेल हुन मुग्लान (भारत) गएकाहरू केही दिन अगावै आइपुगेका हुन्थे। छठमा परदेशबाट घर फर्कन नसक्नेहरू होलीमा जरूर आइपुग्थे। आफन्तहरू परिवारमा भेला भएर र गाउँ भरी मिलेर एकसाथ मनाइने पर्वलाई सद्‍भाव र मिलनको पर्व मानिन्छ। वर्षभरी बोलचाल बन्द भएका बिरोधीहरू पनि त्यो दिन अँकमाल गरेर रङ्ग अबिर साट्ने, शत्रुभाव बिर्सिने र सम्बन्ध नवीकरण गर्ने मान्यता छ। केही बर्षयता भने “होलीमा कयौं बिसंगत पक्ष देखिएको” विश्लेषक एवम् पत्रकार चन्द्रकिशोरको ठम्याइ छ।

फगुवाको रङ्गरुप बद्लिनुमा धेरै वटा कारण रहेको पत्रकार चन्द्रकिशोर बताउनुहुन्छ। “राजनीतिको प्रभावले समाज विभाजित भएपछि पहिले जस्तो हार्दिकता रहेन, आधुनिकताको नाउँमा पनि बद्लाव र बिकृति देखिएका छन्”, पत्रकार चन्द्रकिशोर भन्नुहुन्छ, “फागुको भनेरे बजाइने छाडा गीतले गर्दा यौन उन्मादको पर्वको रुपमा होली प्रस्तुत भएको छ। र, यससँग जोडिएको समाजको गलत छवि पनि बन्ने गरेको छ।” पत्रकार चन्द्रकिशोरका अनुसार पलाँसबाट घरमैं तयार भएको रङ्ग र बाँसको पिचकारी अब होलीमा देखिदैन। लोलादेखि ढलको पानीसम्मले होलीलाई बिगारेको छ।

होलीमा मादक पदार्थ सेवन गर्ने र छाडापन बढेको छ। केही बर्षयता “होली मिलन समारोह”, “होली शुभकामना आदानप्रदान”, र “होलीको पार्टी” को सङ्ख्यासँग मांसाहार र रक्सीको खपत बढेको छ। रङ्ग–अबिर साट्ने तथा मिठो परिकार खाने–खुवाउने होलीको प्रमुख पाटो हो “होरी” अर्थात बिशेष गीतसङ्गीत। अब भने लोक भाकाको होरीको धुनमा ढोलक, डम्फा, मजिरा र झाल बज्न छोडेका छन्। साउण्ड बक्समा घन्किन्छन् भोजपुरीको नाममा अभद्र गीत।

भोजपुरीका साहित्यकार उमाशंकर द्विवेदी अहिले बज्ने गीतलाई “होरी” मान्न तयार हुनुहुन्न। “धेरै भयो होरी सुन्न पाएको छैन”, द्विवेदी भन्नुहुन्छ–”पहिलेका होरी बिशिष्ठ र ओजपुर्ण हुन्थे, अब त्यो गाउने–सुन्ने मान्छे छैनन्।” द्विवेदीका अनुसार हिन्दीको “रङ्ग बरसे भिजे चुनरवाली”, भोजपुरीमा बनाइएका “धिरेसे रङ्गवा डाल हो राजा” र “लुटता होली लाहार देवरा लुटता” जस्ता गीत भने “होरी” हुँदै होइनन्। होरीका तीन रस भएको वताउनुहुन्छ द्विवेदी। रामा रसमा सबभन्दा बढी होरीका भाकाहरू छन्। “लइका राम धनुष कइसे तुरिहे, हँसेला जनकपुर के लोग” र “राम खेलस होरी, लक्षुमन खेलस होरी, लंका के राजा रावन खेलस् होरी” लगायतका भाका रामा रसका हुन्। त्यस्तै “सादा आनन्द रहे इहे द्वार, मोहन खेलस होरी” जस्ता कृष्ण रसका होरी पनि १ दशक अघिसम्म खुबै गाइन्थ्यो।

द्विवेदीका अनुसार लोकरसको “जोगिरा सर रर” मा खुबै नाँच हुन्थ्यो। अब होलीमा यि गीतसङ्गीत बिरलै सुन्न पाइन्छ। “अहिले अश्लिलता र अभद्रताको बढावा छ,” भन्ने द्विवेदीको बुझाई हो। “पहिले जस्तो सद्‍भाव र परम्परा रहेन,” लोक गायक शम्भु पाण्डेयले भन्नुहुन्छ, “हरेकको दैलोमा होरी गाउनु नै मुल पर्व हो, त्यसको लागि समाजिक माहोल अब छैन्।” धनी गरिब सबै पुग्थे एक अर्काको दैलोमा होरी गाउन। “मट्का फोड्ने” चलन हिन्दी सिनेमाको पर्दाबाट निस्केर नेपालका शहरी क्षेत्र मज्जाले प्रवेश गरेको छ। यता आफ्नो होरी भने लोप हुने भयो।

एउटाको पाहुना गाउँ भरीको “मेहमान” हुने दिन अब रहेन्। होलीमा छोरीबहिनी काहाँ सनेस (कोसेली) लग्दै गरेको र रङ्ग पोतिएर मानिसहरू आवतजावत गरेको दृष्य देखिन छोडेको छ। श्रीपञ्चमीदेखि होलीसम्म आउने जाने पाहुनालाई रङ्ग लगाई बिदाई गर्ने चलन थियो। “नचिनेको मानिसलाई पनि रङ्ग लगाउने र अंगालो हाल्नेसम्मको हार्दिकता हुन्थ्यो”, पाण्डेयले भने। थरीथरीका परिकार खाई–खुवाई गरेपछि पचाउनको लागि भाँग खाने पालो आउथ्यो। ठंडइ, लस्सी, भँगपेडा र भाँगोलाको ठाउँ अहिले रक्सीले लिएको छ। बद्लाव कै परिणाम हो, सद्‍भावको पर्व भनिए पनि होलीमा सुरक्षा सतर्कता बढाइने गरिएको छ। पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेत भन्नुहुन्छ, “होलीमा होहल्ला र झैझगडा नियन्त्रण गर्न विशेष किसिमको सूरक्षा सतर्कता तय गरिएको छ।”

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

अनिल तिवारी /वीरगञ्ज का अन्य पोस्टहरु:
रङ्ग फेरिएको होली
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link