नेपालमा कुस्ती: चुनौतीहरू बिच संस्कृतिको संरक्षण

रामविकास चौधरी/रूपन्देही

‘कुस्ती’को जन्म छ, तर व्यवस्थापन छैन, पहलवान जोगेन्द्र यादव भन्नुहुन्छ, “परम्परागत रूपमा जरा गाडेको यो खेलले आफ्नो ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई खतरामा पार्ने चुनौतीसँग जुधिरहेको छ ।”

सम्मरीमाई–४, रुपन्देहीका पहलवान रामचन्द्र यादवले दशक अघिका अखडाहरू देखिन छोडेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “आजका युवाहरूमा खेलको शौक छ, तर सरोकारवालासँग संरक्षणको चाहना छैन ।”

पहलवान घनश्याम मिश्रले कुस्तीको जीवन्त विगत सम्झिँदै सार्वजनिक चासोमा आएको ह्रासप्रति दुःख व्यक्त गर्नुहुन्छ । उहाँका भन्नुहुन्छ, “कुस्तीको सार अनुसार संस्कृतिको ह्रास रोकिनुपर्छ ।” मिश्रका अनुसार यसले स्वास्थ्य, शक्ति र स्फूर्तिलाई बढवा दिन्छ, आत्म नियन्त्रण र व्यक्तित्व विकासमा पनि लाभ पुर्याउछ ।

कुस्ती एक अनुशासनको खेल हो । यो मानिस–मानिस लडाइँको कला हो । कुस्ती प्रतियोगिता गोलाकार खाडलमा हुन्छन्, प्रायः माटोले भरिएको हुन्छ, जसलाई “अखाडा” भनिन्छ । “अखाडाले खेलाडीका लागि प्राकृतिक सतह मात्र प्रदान गर्दैन अपितु यसले माटो र खेलको सम्बन्धलाई प्रतीकात्मक महत्त्व राख्छ”–पहलवान राम किशुन यादव भन्नुहुन्छ,–यसले आध्यात्मिक र दार्शनिक आयामहरूसँग शारीरिक पराक्रमको मिश्रण गर्दछ ।”


कुस्ती खेलाडीलाई पहलवान र यसका प्रशिक्षकलाई “उस्ताद” भनिन्छ । उस्तादले आफ्ना प्रशिक्षार्थी पहलवानलाई निर्देश गर्दछन् । यो प्रतियोगितामा समान स्तरका खेलाडीहरू बिच निष्पक्ष प्रतिस्पर्धा सुनिश्चित गर्दै, पहलवानहरूलाई विभिन्न तौल वर्गहरूमा वर्गीकृत गरिन्छ । अखाडामा देखिने यो अभ्यासले खेलकुदमा नयाँ रणनीति, निष्पक्षताको तत्त्व थप्नुका साथै अनुशासन र आचार संहिताको पालनालाई समेट्छ ।

“कुस्तीले खेलाडीमा शारीरिक र मानसिक सहनशीलताको माग गर्दछ । असाधारण सहन शक्ति भएका व्यक्तिहरूलाई आकार दिन्छ । शारीरिक बलको खेती गर्छ । यसको सहभागीहरूको समग्र फिटनेसमा योगदान पुर्याउँछ”–मायादेवी गाउँपालिका रुपन्देहीका पहलवान नजाबुद्दीन मुसलमान भन्नुहुन्छ, –आफ्नै समृद्ध इतिहास र विविध रूपहरू भएको कुस्ती, खेलको कला, शारीरिक र मानसिक विकास खोज्ने व्यक्तिका लागि प्रेरणाको स्रोत हो ।”

दक्षिण एसियाली राष्ट्रहरूमा कुस्तीको अभ्यास बढी छ । यो खेल प्रायः नेपाल, भारत, श्रीलङ्का, बङ्गलादेश, भुटान, पाकिस्तान, अफगानिस्तान लगायतका राष्ट्रहरूमा बढी खेलिन्छ । कुस्तीले ती क्षेत्रहरूमा महत्त्वपूर्ण भूमिका खेल्छ जहाँ युद्ध र वीरताको महत्त्व बढी हुन्छ । प्राचीन सभ्यतादेखि खेलिँदै लोकप्रियता प्राप्त गरेको यसको महत्वबारे पुराण, महाभारत र रामायण लगायतका धार्मिक तथा, साहित्यिक ग्रन्थहरूमा पनि उल्लेख छ ।

अनादिकालमा मानव विकाससँगै कुस्ती खेलको विकास भएको अन्तर्राष्ट्रिय ख्याति प्राप्त पहलवान केशव दासको बुझाइ छ । यो खेल देशको प्रतिष्ठासँग जोडिएको र मानिसको स्वास्थ्यसँग गाँसिएको विषय भएको उहाँको भनाइ छ । उहाँका अनुसार, “युद्ध र वीरताको पर्याय नेपालमा परम्परागत र सांस्कृतिक रूपमा मूल्यवान् कुस्ती यहाँको गौरवपूर्ण साझा संस्कृति, आपसी सद्भाव, रणनीतिक सङ्घर्ष र राष्ट्रिय एकताको प्रतीक हो ।”

नवलपरासी जिल्ला घर भएका केशव दासले शारीरिक स्वास्थ्य, आत्माको निपुणता, र सामाजिक तथा सांस्कृतिक मूल्यहरूमा योगदानको लागि कुस्तीको वकालत गर्नु हुन्छ । यसको व्यवस्थापन र जनचेतनाको भूमिकामा जोड दिँदै निर्णायक भूमिका खेल्नका लागि सरकारलाई उहाँको आग्रह छ । उहाँले कालाजंग, धोबी पछाड़, मच्छीगोता, सांडीतोड, निकाल, टांगी, बगलडूव र गदालेट दांवलाइ कुस्तीको प्रमुख कला बताउनुहुन्छ ।

कुस्तीलाई दयानन्द सरस्वती, स्वामी विवेकानन्द, र अन्य योगीहरूले शारीरिक स्वास्थ्य, आत्माको प्रभुत्व, र सामाजिक तथा सांस्कृतिक मूल्यहरूको एक हिस्सा बताउनु भएको छ । कुस्तीको शाब्दिक विवरण पुरातात्त्विक तथा पौराणिक शास्त्र, खासगरि ग्रिक तथा संस्कृत महाकाव्यबाट सुरु हुन्छ । रामायणमा रावण–सुग्रीव, महाभारतमा भीमसेन–जरासन्ध तथा विभिन्न बलशाली पहलवानहरू बिचको मुठभेडको वर्णन गरिएको छ ।

कोटहीमाई–३, रुपन्देही घरभइ लुम्बिनी प्रदेश ‘मुख्यमन्त्री स्वयंसेवक कार्यक्रम’का कुस्ती प्रशिक्षक राजेन्द्र यादवले परम्परागत खेलको पुनरुत्थानका लागि साझा प्रयासको आवश्यकतामा जोड दिनुहुन्छ । ‘सिद्धार्थ भीम पुरस्कार २०५७’का विजेता, यादवले नेपालमा कुस्तीको प्रतीक मानिने सांस्कृतिक र राष्ट्रिय एकताको संरक्षणको महत्वलाई जोड दिँदै हाल १२ जना खेलाडीहरूलाई आफ्नै गाउँ पर्सियामा प्रशिक्षण दिइरहनु भएको छ ।

पहलवान तथा प्रशिक्षक यादव भन्नुहुन्छ, “मानवको शक्ति प्रदर्शन गर्ने कुस्तीको खेल एक युगमा सुरु भएको हो जब मानिसलाई हतियारको प्रयोगबारे थाहा थिएन । त्यस समयमा, यस प्रकारको युद्धमा क्रूर बल हाबी थियो ।” उहाँका अनुसार, पशु लगायतका अन्य शक्तिलाई जित्नका लागि त्यस समयमा मानिसले विभिन्न प्रकारका युक्तिहरू प्रयोग गर्न सिकेको हुनुपर्छ र त्यसैबाट ‘कुस्ती’ वा ‘मल्ल युद्ध’ खेलको विकास भएको हुनुपर्छ ।


बहरल्ली, भितरल्ली, तुतवा, इरानी, मुल्तानी, भालुकस, बांगुडु, चपरास, अन्टी, सखी, रामबाण, एकहरीपट, दोहरीपट, सन् दुई हजार, खेमे, भरन्दाज, रुम, गुड, महाउती, साल्तो, बैगसाल्तो गुठ्ठी, दाउँपेचबारे बताउँदै प्रशिक्षक यादवले छिडकी, तेजाब छिडकी, अकलकाटे पहाण र जुडो पहाण दाँव नेपालमा प्रचलित रहेको भन्नुहुन्छ । यादवले नेपालमा कम्तीमा एक जिल्ला एक सुविधा सम्पन्न प्रशिक्षण केन्द्र हुनुपर्ने बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “नेपालमा कुस्तीका लागि सरकारले खासै पहल गरेको नदेखिए पनि युवाहरूमा कुस्तीप्रतिको रुचि बढाउन धेरै पटक कुस्ती प्रतियोगिता आयोजना गरेको छ । यसका लागि प्रशिक्षण केन्द्रहरू पनि छन्, जसले खेलाडीहरूलाई विशेषज्ञता र प्रविधिमा तालिम दिने काम गरिन्छ ।” उहाँका अनुसार बि.सं.२०२८ पुस १४ देखि २०५७ सम्मा बर्सेनि सिद्धार्थनगर नगरपालिकाले ‘सिद्धार्थ भीम पुरस्कार’को आयोजना गर्दथ्यो ।

तत्कालीन राजा बिरेन्द्रको जन्म दिवस पुस १४ गतेको अवसरमा बर्सेनि आयोजना हुने राष्ट्रिय स्तरको कुस्ती प्रतियोगितामा नेपाल र भारत लगायत देशका खेलाडीको सहभागिता हुने गर्दथ्यो । पुरस्कारका लागि पहलवानले लगातार तीन वर्ष दङ्गलमा प्रथम स्थान ल्याउनुपर्ने नियम थियो । पछिल्लो पटक पहलवान राजेन्द्र यादवले २०५५, २०५६ र २०५७मा लगातार प्रथम स्थान ल्याइ ‘सिद्धार्थ भीम पुरस्कार २०५७’ प्राप्त गर्नु भएको थियो ।

राजेन्द्रले पुरस्कार पाउनु पहिला उहाँका उस्ताद प्रहलाद यादव २०५२, ०५३ र ०५४मा लगातार विजयी हुनुभएको थियो । २०४९, ०५० र ०५१मा नवलपरासी जिल्ला घर भएका पहलवान राम किशुन यादवले प्रतियोगिता जित्नु भएको थियो भने २०५८ जेठ १९ गते दरबार हत्याकाण्डपछि रुपन्देही जिल्लामा सरकारी स्तरबाट कुस्ती प्रतियोगिता नभएको सिद्धार्थनगर नगरपालिकाका सूचना अधिकारी देव ज्ञवालीले बताउनु भयो ।

हुन त तराई–मधेशका विभिन्न स्थानमा कुस्ती प्रतियोगिताहरू अझै पनि प्रचलनमा छन् । नहान मेलाको अवसरमा रुपन्देहीको सतियामाइ स्थान र जोगियाबारी मेलामा कुस्ती दङ्गलको आयोजना हुने गरेको देखिन्छ । प्रतियोगिता स्थानीय स्तरको भए पनि नेपाल र भारत दुई देशका खेलाडीहरूलाई सहभागी गराइन्छ । तर पारिश्रमिक, पुरस्कार र खानपानको व्यवस्थापनमा कमीका कारण युवाहरूमा यो खेलप्रतिको रुचि घट्दै गएको देखिन्छ ।

“शारीरिक स्फूर्तिका कारण पहिला कुस्ती र पहलवानहरूको सामाजिक प्रतिष्ठा धेरै थियो, जसले निजी सुरक्षाकर्मी आवश्यक पर्दा पहलवानहरूलाई नै उपयुक्त मानिन्थ्यो,– लुम्बिनी प्रदेशका पूर्व शिक्षा तथा खेलकुद विकास मन्त्री वसीउद्दीन खाँले भन्नुभयो, –समयसँगै यो खेल र पहलवानको सङ्ख्या ओरालो हुँदैछ । मेलाको बेला आयोजकले दिने पुरस्कारको सीमित रकम र दर्शकबाट प्राप्त हुने बक्सिस बाहेक आम्दानीको अर्को स्रोत छैन ।”

लुम्बिनी प्रदेशका पूर्वसामाजिक विकासमन्त्री चन्द्र केश गुप्ताका अनुसार, पारम्परिक खेलहरू मनोरञ्जनका माध्यम मात्र नभई सामुदायिक संवादको मञ्च पनि थिए । यी खेलभित्र हाम्रो समाजको सांस्कृतिक समभाव पनि भएकोले कुस्ती ब्युँताउनु जरुरी छ । उहाँले भन्नुभयो, “कुस्तीप्रति युवाको आकर्षण बढाउन प्रदेश सरकारले काम गर्न लगेको छ । राष्ट्रिय वा अन्तर्राष्ट्रिय प्रतियोगिताका निम्ति खेलाडी उत्पादन हुन सक्छ भन्ने विश्वास छ ।”…

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

राम बिकास चौधरी/ लुम्बिनी का अन्य पोस्टहरु:
नेपालमा कुस्ती: चुनौतीहरू बिच संस्कृतिको संरक्षण
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link