लुम्बिनीको मायादेवी मन्दिरमा राखियोअनधिकृत मूर्ति

रामविकास चौधरी/रूपन्देही

लुम्बिनीस्थित मायादेवी मन्दिरभित्र अनधिकृत रूपमा मूर्ति राखिएको छ । पुरातत्त्व महाशाखाको अनुमतिबिना लुम्बिनी विकास कोषले २५६८औँ बुद्ध जयन्तीको अवसरमा जेठ १० गते सो मूर्ति राखेको हो ।

विश्व सम्पदा सूचीमा सूचीकृत धार्मिक, सांस्कृतिक तथा पुरातात्त्विक महत्वको जीवन्त सम्पदा स्थल मायादेवी मन्दिरभित्र नियम विपरीत अनधिकृत नयाँ बुद्ध मूर्ति राखिएको भन्दै स्थानीयले आपत्ति जनाएका छन् ।

युनेस्को समेतले सम्पदा स्थलमा संरचनात्मक परिवर्तन र अनधिकृत कार्यको विषयमा चिन्ता व्यक्त गरेको लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरामुद्दीन खाँले बताए । उनले भने, ‘विश्व सम्पदा स्थललाई खतराको सूचीमा राख्न किन नपर्ने भनेर युनेस्कोले लुम्बिनी विकास कोषलाई १० बुँदे स्पष्टीकरणसमेत माग गरेको स्थितिमा मन्दिरभित्र उसको सहमतिबिना नयाँ मूर्ति राख्नु प्राचीन सम्पदा संरक्षण ऐनसमेतको मान्यता विपरीत छ ।’

विश्व सम्पदा स्थलको मूल्य मान्यता विपरीत मायादेवी मन्दिरमा भइरहेको अनधिकृत कार्यले जीवन्त सम्पदामाथि प्रहार भएको खाँले बताए । उनले भने, ‘युनेस्कोद्वारा सूचीकृत विश्व सम्पदा स्थलको धार्मिक, सांस्कृतिक र पुरातात्त्विक महत्वलाई जोगाउन सम्पदा स्थल दिशानिर्देशको कडाइका साथ पालना सुनिश्चित गर्नु महत्त्वपूर्ण छ ।’ लुम्बिनीमा विकास कोषको बढ्दो अनधिकृत गतिविधि क्षम्य नभएको संयोजक खाँको चेतावनी छ ।

मायादेवी मन्दिरमा नयाँ गजुर स्थापना गरिएको छ, जसलाई थाइल्यान्डका दाताहरूले आर्थिक सहयोग गरेका थिए । यो गजुर स्वयम्भू स्तुपाको आकारमा डिजाइन गरिएको भन्दै महाअभियानका सहसंयोजक मेघनाथ आचार्यले आपत्ति जनाए । आचार्यले पुरातात्त्विक महत्वको मन्दिरलाई मर्मत सम्भार तथा जीर्णोद्धार गर्ने बहानामा कोषले स्थानीयलाई मान्य नहुने गरी स्वरूप परिवर्तन गर्ने योजना कार्यान्वयनमा लागेको बताए ।

मायादेवी मन्दिरको संरचना परिवर्तन हुने गरी जीर्णोद्धारको कार्य तथा मन्दिरभित्र अनधिकृत रूपमा नयाँ मूर्ति राख्ने कार्यले लुम्बिनीको परम्परागत धार्मिक तथा सांस्कृतिक महत्वलाई प्रभाव पार्न सक्ने भन्दै युनेस्को समेतले त्यसतर्फ सावधानी अपनाउन आग्रह गरेको सह संयोजक आचार्यले बताए ।

यस विषयमा लुम्बिनी विकास कोष पुरातत्त्व महाशाखा प्रमुख हिमाल उप्रेतीले स्वरूप परिवर्तनको काम र नयाँ मूर्ति राख्दा लुम्बिनीको ऐतिहासिक र धार्मिक महत्वमा असर पर्ने स्वीकार गरे । युनेस्कोले त्यस्ता गतिविधिमा सावधानी अपनाउन सुझाव दिएको पनि उनले बताए । उप्रेती आफैँले नयाँ मूर्ति स्थापनाबारे अनभिज्ञ रहेको दाबी गर्दै आन्तरिक सञ्चार र अनुगमनमा त्रुटि भएको बताए ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

राम बिकास चौधरी/ लुम्बिनी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link